
राष्ट्रिय स्वतन्त्र पार्टी अस्तिसम्म धेरैका लागि ‘रवि लामिछानेको पार्टी’ थियो । अधिकांशले ‘घण्टी पार्टी’ भनी बोलाउँथे । अन्तिम मत नतिजा आइनसके पनि आगामी संसदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का लागि अलग्गै सिट लहर तोकिने प्रष्ट संकेतहरु देखिएका छन् । योसँगै अब यस नवजात पार्टीबारे कोण-प्रतिकोणबाट विमर्श सुरु भएका छन् ।
यो दलका सभापति रवि लामिछानेलाई अनलाइनखबरले दुई साताअघि चितवनस्थित उनको निवासमा भेटेको थियो । त्यस क्रममा हामीले उनलाई सोधेका थियौं, ‘तपाईंको पार्टीलाई यसपल्ट नाम र चुनाव चिह्नले साथ दिएको हो ?’
उनले भने, ‘इन्डिपेन्डेन्ट पार्टी (स्वतन्त्र पार्टी) नाम भएकाहरु अरु देशमा पनि हुन्छन् । हामी पनि त्यस्तै पार्टी हौं ।’
‘तपाईंहरु सेन्ट्रिस्ट (मध्यमार्गी) शक्ति हो ?’
यो प्रश्न झरिसक्न नपाउँदै उनले एउटा शब्द उप्काएका थिए, ‘मिडल राइट ।’
अमेरिका, युरोपमा ‘इन्डिपेन्डेन्ट पार्टी’ नाममा खुलेका दलहरु घोषित रुपमा दक्षिणपन्थी तथा अति-दक्षिणपन्थी हुने हुनाले कतै राष्ट्रिय स्वतन्त्र पार्टी पनि तिनैको प्रेरणाबाट निर्देशित भएको त होइन ? आशंका गर्न मिल्ने केही आधार र सूचकहरु थिए । नेपालका मुख्य पार्टीहरुका वैचारिक गुरु थुप्रै युरोपेली छन् । रास्वपाले पनि कतै उतैको अर्को ‘गुरु’ खोज्यो कि ?
यसबारे पर्याप्त विवेचना गर्ने समय रविसँग थिएन । उनी चुनाव प्रचारमा जान हतारिएकाले हामीले यसबारे धेरै सोध्न भ्याएनौं । उनले यसबारे कुनै बेला विस्तारमा कुरा गर्ने भन्दै छुट्टिए । यति हुँदाहुँदै पनि उनले केही प्रष्ट संकेत भने गरेका छन् । लामिछानेले भनेको ‘मिडल राइट’ शक्ति भन्नुको मतलब यो नेपालका वामपन्थी पार्टीहरुजस्तो ‘लेफ्ट या एक्स्ट्रिम लेफ्ट’ हुने छैन । अनि राप्रपा, राप्रपा नेपालजस्तो कडा दक्षिणपन्थी पनि हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी नरम सम्बद्र्धनवादी शक्तिका रुपमा नेपाली राष्ट्रिय राजनीतिमा स्थापित हुने उनको आशय थियो ।
सुरुवाती मत विश्लेषण गर्दा रवि र रास्वपा उम्मेदवारहरुले सत्ता गठबन्धन तर्फका दलहरुलाई विगतमा समर्थन दिएका मतदाताको मन खिचेको देखिन्छ । एमालेतर्फको मत तुलनात्मक रुपमा कम लिएका छन् रास्वपाका उम्मेदवारहरुले । रास्वपाले चलायमान मताधारमा बढ्ता छोएको देखिन्छ । अब वैचारिक वाद-प्रतिवाद होइन, सुशासन र डेलिभरी भन्दै रास्वपाले प्रकारान्तरले वाद-विचारकै ठाउँ लिएको छ । किनभने हरेक विकास र शासनको एजेन्डा स्वयंमा वाद-विचार हो ।
यति हुँदाहुँदै पनि सुरु-सुरुमा रविले गरेका राजनीतिक टिप्पणीमा विचार-मन्थन गर्न रुचि धेरैको थिएन । तर उनी आमवृत्तमा उपेक्षा गर्न नमिल्ने गरी संसदमा निश्चित संख्यासहित प्रवेश गर्ने तयारीमा छन् ।
कांग्रेस, एमालेलगायत दलहरुको सम्पूर्ण नतिजा हेर्न बाँकी छ । यति हुँदाहुँदै पनि रास्वपा एमाले अध्यक्ष केपी ओलीले यसअघि दाबी गरे झैं सिटविनाको पार्टी भने हुने छैन ।
ओलीले चुनावअगाडि दिएका अन्तर्वार्ताहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी र कुनै पनि खालका स्वतन्त्र उम्मेदवारहरुले एक सिट पनि नजित्ने ठोकुवा गरेका थिए । यो चुनावका प्रारम्भिक मतसंकेतहरुले उनको भनाइ प्रमाणित नहुने प्रष्ट छनक दिएका छन् ।
बरु लामिछानेले आफ्नो पार्टी अब निर्णायक शक्तिका रुपमा देखा पर्ने बताए । आज सोमबार बिहान चितवनमा उनले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर राष्ट्रिय राजनीति अघि बढ्न नसक्ने जिकिर गरेका छन् ।
समानुपातिकतर्फ रास्वपाको चिह्न घण्टीतर्फ ओइरिएको मतले उनको भनाइलाई पुट दिन्छन् । नेपालको बहुदलीय प्रतिस्पर्धामा २०४६ तथा २०५२ सालपछिका खेलाडीहरुकै वर्चस्व रहिआएकामा अब नयाँ खेलाडीको प्रवेश सम्भव देखिने पक्का छ ।
कांग्रेस र एमालेको परम्परागत भोटबैंकमा जसरी माओवादीले आफ्नो स्थान बनायो, अनि उनीहरुको मत आधारमा मधेशका क्षेत्रीय शक्तिहरुले जसरी आफूलाई उभ्याए, यसरी नै रास्वपाले पहाड र मधेशका पहाडी समुदाय बहुल क्षेत्रमा, अनि सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मधेशका भित्री बस्तीहरुमा योपल्ट अर्थपूर्ण उपस्थिति जनाउनेछन् ।
योसँगै पछिल्लो राजनीतिक परिवर्तनका प्रत्येक एजेन्डामाथि प्रश्न उठाउँदै आएको राप्रपा चुनावको अन्तिम नतिजासम्म कति सिट र संख्यामा अडिन्छ, परीक्षणको रोचक विषय बन्न गएको छ । नेपालको सन्दर्भमा राप्रपा धार्मिक कट्टरपन्थी झुकाव भएको दक्षिणपन्थी शक्तिका रुपमा चिनिएको छ । यो रिपोर्ट तयार पार्दै गर्दासम्म राप्रपाले देशभरिमा तीन स्थानमा अग्रता लिइरहेको छ ।
रवि नेतृत्वको रास्वपा भने ६ ठाउँमा अगाडि छ । समानुपातिकतर्फ यो दलले आँकलन गरेभन्दा बढी मत पाउने आकलन छ । कांग्रेसले उदार लोकतन्त्रवादी, एमालेले वाम-लोकतन्त्रवादी, माओवादीले कडा वामपन्थी शक्तिका रुपमा आफूलाई ‘लोकेट’ गर्न खोजिरहेका बेला रास्वपा नरम परम्परावादी शक्तिका रुपमा उदाएको हो ।
जनआन्दोलन, मधेसका संघर्षहरुले स्थापित गरेका परिवर्तनका एजेन्डाहरुप्रति उदासीन छ रास्वपा । तर यसको विरोधमा पनि उभिन चाहँदैन ।
राष्ट्रको गौरवमय इतिहासको चर्चा गर्न जति उत्साही छ रास्वपा, यहाँका बासिन्दाहरुले सँगाल्दै आएको विविधताका बारेमा उत्तिकै उदासीन । भ्रष्टलाई छानीछानी कारबाही गर्नेजस्ता जनोत्तेजक नाराहरु छन्, तर नीतिगत भ्रष्टाचार लगायत गम्भीर प्रकरणहरुबारे चर्चा कम छ । मेरिटोक्रेसी अर्थात् ‘योग्यतातन्त्र’ले शैक्षिक प्रमाणपत्रका आधारमा शासन चलाउन पाउनुपर्ने तर्क गर्छ । रास्वपाको नारा नै छ– जान्नेलाई छान्ने । यसले इमानदारी र योग्यतातन्त्रको पक्षमा प्राथमिक महत्व दिने दक्षिणपन्थीहरुको साझा चरित्रकै प्रतिनिधित्व गर्छ । न्यूनतम आर्थिक, सामाजिक सामान्जस्यका लागि सकारात्मक विभेद, सीमान्त वर्ग समुदायको आधारभूत माग सम्बोधन, सामाजिक न्यायजस्ता विषयमा यसका नेता तथा उम्मेदवारहरु करिब मौन छन् । लोकतन्त्रका आधारभूत शर्त मानिने यस्ता कतिपय मुद्दामा यो दलभित्र अलमल र अस्पष्टता पनि छन् । यद्यपि पार्टी स्थापनाको छोटो अवधिमै पूर्णताको अपेक्षा राख्नु बढ्ता आदर्शवादी हुन सक्छ ।
यो दलको इतिहास स्वयंमा अति छोटो छ । गत असार ७ गते खुलेको यो दलले भर्खरै पाँच महिना पार गर्दै छ । शहरको उच्च मध्यम वर्गमा पर्याप्त अपिल गरेको यो दलको मुख्य आधार भने खाडी मुलुक लगायत देशमा वैदेशिक रोजगारीमा जानेहरुको परिवार देखिन्छ ।
राप्रपाले झैं रास्वपाले हिन्दूराष्ट्र बनाउने, राजा ल्याउने, संघीयता खारेज गर्ने जस्ता नारा दिएको छैन । प्रदेशमा उठ्ने उम्मेदवार तयार भएका भए प्रदेशसभा चुनावमै पनि लड्ने तयारी थियो रास्वपाको । तर अन्तिम समयमा उनीहरुले प्रदेशसभाको औचित्यलाई कारण देखाए झैं गरी आफ्नो आन्तरिक संकट टारे ।
अहिले रास्वपा संघीयताभित्र केही प्रशासनिक खर्च घटाउने, प्रदेशसभाको ठाउँमा प्रदेश परिषद बनाउने, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री लगायत माग राखिरहेको छ, जसलाई अहिलेकै संविधानको व्यवस्थाभित्र छलफल गर्न सम्भव छ ।
धर्मलगायत विषयमा यो पार्टी प्रवेश गर्न चाहँदैन । बरु सुशासन, भ्रष्टाचार अन्त्य, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत मुद्दालाई यसका उम्मेदवारहरुले जोडतोडका साथ उठाएका छन् । विगतमा विवेकशील साझा पार्टीले यस्तै मुद्दाहरु उठाएर अघि आउन खोजे पनि रास्वपाको अभियान त्योभन्दा प्रभावकारी देखिएको छ । कारण हो, रविको बारेमा आम मानिसमा निर्माण भएको ‘उद्धारकर्ता’ छवि, अनि स्थापित दलहरुका शृंखलाबद्ध गल्तीप्रतिको आम आक्रोश ।
विश्लेषक विष्णु सापकोटा यिनै कारणले रास्वपाको पक्षमा देखिएको जनमतलाई रोचक ठहर्याउँछन् । विगतमा कांग्रेस, एमाले र माओवादीप्रति जनताको विकर्षण देखिए पनि विकल्पको राजनीति गर्छौं भन्ने विवेकशील साझाले नागरिकलाई धोका दिएका कारण अहिले रास्वपाले त्यो हिस्सा लिएको बताउँछन् उनी ।
‘विकल्पका लागि छट्पटाएका, तर विकल्प नपाएका मतदातालाई यो पार्टीले आशा जगाउन सक्यो, खासमा यो नेगेटिभ भोट नै हो,’ सापकोटा भन्छन्, ‘उनीहरुले आफू वैचारिक रुपमा को हौं भनी परिभाषित गर्न बाँकी छ । त्यसपछि मात्रै यो नयाँ पार्टीको मूल्यांकन सम्भव हुन सक्छ ।’
नेपाली समाजभित्र नरम दक्षिणपन्थी जनमत पहिलेदेखि नै कायम थियो । यसले आफ्नो प्रतिनिधि राजनीतिक संस्था भने पाएको थिएन । कम्युनिस्टहरुले आमूल परिवर्तनको नारा दिंदै लोकतान्त्रिक शैली त समाते, तर व्यवहारमा उनीहरु पुरानै शक्ति संरचनाकै हिस्सा बन्न गए । परम्परावादी रुझान भएको मतलाई विवेकशील साझा पार्टीले आकर्षित गर्दै सुशासन र विकासको एजेन्डा दिए पनि त्यो ‘परियोजना’ सफल हुन सकेन ।
विगतमा कडा दक्षिणपन्थी मत राख्दै विचार राख्ने गरेका रवीन्द्र मिश्र केही वर्षअघिसम्म त्यसै दलका अध्यक्ष बनेका थिए । मिश्रले आफूलाई ‘मोडरेट कन्जर्भेटिभ’बाट फेरि ‘एक्स्ट्रिम राइट’ कित्तामा पुनर्स्थापित गरेका छन् ।
यस्तै बेला अकस्मात् राजनीतिमा पसेका रवि लामिछानेले मिडल राइट अर्थात् केन्द्र-दक्षिणपन्थी कित्तामा आफूलाई उभ्याउन खोजेका छन् । उनी भन्छन्, ‘यो देश समृद्ध हुनेछ, सुशासन हुनेछ, न्यायमा सबैको पहुँच हुनेछ, कलकारखाना खुल्नेछन् ।’ यी सबै कसरी प्राप्त हुन्छन् भन्नेबारे उनको स्पष्ट राजनीतिक कार्यक्रम भने आउन बाँकी छ ।
सबैभन्दा मुख्य कुरा, यति धेरै उत्साहवर्द्धक मत पाएर पनि यो पार्टी साँचो अर्थमा पार्टी बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने केही समयसम्म बाँकी नै रहनेछन् । उर्जावान् तन्नेरीहरु छन्, तिनलाई एउटै साझा सोचको धागोमा उन्ने नेतृत्व बन्नेमा अहिले नै आश्वस्त हुने आधार तयार छैन । के यसले नेपालको नरम परम्परावादी धारमा अहिले देखिएको उत्साह कायम राखिराख्ला ? कि यो पनि विवेकशील साझा पार्टीजस्तै अनेक भँगालामा छरिएला ?
हामीसँग पर्खनका लागि केही समय बाँकी छ ।
– शीर्षक परिमार्जन –
प्रतिक्रिया 4