
९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेता सुजाता कोइराला दोस्रो चुनावी परीक्षामा पनि फेल भएकी छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । उनी एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् ।
संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ मत ल्याउँदै विजयी भए । कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।
यसअघि कोइराला सुनसरी क्षेत्र नम्बर ५(हाल ४) बाट पराजित भएकी थिइन् । उनी पराजित भएको दुवै क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले पटक पटक निर्वाचन जितेका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी सुनसरी ५ बाट उम्मेदवार बनेकी थिइन् । तर पराजित भइन् । सुनसरी क्षेत्र नम्बर ५ बाट गिरिजाप्रसाद कोइराला २०५१ र २०५६ मा निर्वाचित भएका थिए । यो पटक पनि बुबाकै क्षेत्र मोरङ २ बाट उम्मेदवार बनेकी थिइन् । गिरिजाप्रसादले २०४८, ०५१ र ०५६ मा मोरङ–१ बाट चुनाव जितेका थिए, उक्त क्षेत्र हाल मोरङ–२ मा पर्छ ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री भएपछि जर्मनीमा घरजम गरेर बसेकी सुजाता राजनीति गर्नका लागि नेपाल फर्किएकी थिइन् ।
त्यसबेला नै गिरिजाले छोरीलाई आफ्नो उत्तराधिकारीको रुपमा मोरङ १ (हाल मोरङ २) बाट राजनीति गराउन चाहेका थिए । तर भाउजु नोना (शेखर कोइरालाकी आमा) ले नदिएको मोरङका कांग्रेस नेताहरु बताउँछन् । त्यसपछि गिरिजाले छोरीलाई आफ्नो क्षेत्र सुनसरी–५ (हाल ४) मा उत्तराधिकारी बनाए । तर पहिलो संविधानसभा निर्वाचनमा सुनसरी ५ बाट पराजित भएपछि सुजाताले सुनसरी केन्द्रित राजनीति छाडिन् ।
यसपटक सुजाता कोइराला उम्मेदवार बनेको क्षेत्रबाट २०७४ सालमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए । पार्टीभित्र मिनेन्द्र नै टिकटको स्वभाविक दाबेदार थिए । तर कोइरालाले अन्तिम समयमा बाजी मारिन् । २०७४ सालमा मिनेन्द्र रिजालले ऋषिकेशलाई नै पराजित गरेका थिए । यो पटक ऋषिकेशले बाजी मारे ।
मोरङ–२ विगतदेखि नै कांग्रेसको बलियो संगठन रहेको क्षेत्र मानिन्छ । २०४८, ०५१ र ०५६ सालमा गिरिजाले यहाँबाट चुनाव जितेका थिए । २०५६ सालमा कोइरालाले मोरङ १ र सुनसरी ५ बाट चुनाव जितेपछि मोरङ १ छाडे । सोही वर्ष भएको उपनिर्वाचनमा कांग्रेसकै आमोदप्रसाद उपाध्याय निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि यो क्षेत्रबाट कांग्रेसबाट उपाध्याय नै निर्वाचित भए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए ।
प्रतिक्रिया 4