
बौद्ध स्तूपाको भव्यता देखेर कुन नेपाली प्रसन्न नहोला र ! तर केही दिनअघि चाबहिलमा बस्ने अनिता भट्टले भनेको सुनेर चाहिं मन खिन्न भयो । ‘त्यस्तो राम्रोसँग बनाएको स्तूपा हेर्न गयौं । मानिसको घुइँचो थियो । तर त्यहाँ जम्मा दुई वटा मात्र चर्पी थिए, त्यो पनि विदेशीलाई मात्र प्रयोग गर्न दिने भनेर बनाइएको रहेछ !’
अनिताको कुरा सुनेर मलाई त्यस्तो स्तूपाको निर्माण गर्ने इन्जिनियर, व्यवस्थापक, चन्दादाता कसैले पनि किन चर्पी बनाउने विषयमा ध्यान नदिएको होला भन्ने विचार आयो । अहिले त प्रत्येक पेट्रोल पम्पमा पनि चर्पी बनाउनुपर्छ भनेर नियम बनाइएको छ ।
मन्दिर, मस्जिद र ठूलो स्तूपा बनाउँदा हजारौं मानिस आएर घन्टौं बस्ने ठाउँमा चर्पी र पानीको बन्दोबस्त भएन भने धार्मिक आस्थाको लागि आएका मानिस कता जाने होला ? नजिकैको पसलमा गएर नित्य–कर्म गर्ने हो र ?
विदेशीको लागि चाहिं चर्पी बनाउने व्यवस्थापकले नेपालीलाई चाहिं चर्पी नबनाएको कारण नेपाली फोहोरी हुन्छन्, जताततै दिसा गरिदिन्छन् भनेर हो कि ? तर पानी र साबुनको राम्रो व्यवस्था हुने हो भने नेपालीले पनि फोहोर त गर्ने थिएनन् होला !
यति ठूलो स्तूपा बनाउनेले प्रत्येक दिन त्यहाँ कति मानिस आउँछन्, कति समय घुम्छन्, ध्यान गर्छन् भन्ने विचार त गरेकै होला नि ! त्यही अनुसार सरसफाइको व्यवस्था, बिजुली, मैनबत्ती, अगरबत्ती आदिको पनि व्यवस्था पक्कै गरेका होलान् ।
धार्मिक भावनाले ओतप्रोत भएका आन्तरिक र बाह्य पर्यटक आउन, कसरी पुनर्निर्माण भव्यताका साथ सम्पन्न गरिएको छ भन्ने थाहा पाउन, विना सरकारी सहायता दाताहरूको खुला हातले दान दिएपछि ठूलो काम गर्न सकिन्छ भनेर बुझुन् भनेर सोचिएको होला ।
यस बारेमा आमसञ्चारमाध्यममा पनि ठूलो समाचार छापिएपछि हामी नेपाली पनि गौरवान्वित भयौं । अब काठमाडौं आउने हरेक पर्यटक पुनर्निर्माण भएको स्तूपा त हेर्न जानेछन् नै ।
तर मलाई एउटै चिन्ताले सताएको छ । त्यहाँ चर्पी नभएपछि कसरी लामो समय बसेर आनन्द लिने होला ? दिसापिसाब लागेपछि कुनै राम्रो होटलमा गएर रु.१०० को चिया पिएर त्यहाँको चर्पी प्रयोग गर्ने ? तर त्यस्ता धार्मिक स्थलमा आउने सबै मानिससँग त्यसरी होटलमा गएर चियाखाने पैसा नहुन पनि सक्छ ।
अनि के उनीहरूले यति राम्रो स्तूपाको आनन्द लामो समयसम्म लिन नपाउने ? पुरुषहरूले त कुनै न कुनै तरिकाले कुनै कुनामा गएर उठेर भए पनि आफूलाई सहज बनाउँछन् होला । तर, महिलालाई यसरी जथाभावी कतै गएर ‘सहज’ हुन पनि गाह्रो पर्छ । तर त्यहाँ आउने मानिसलाई चर्पीको जरुरत हुन्छ भन्ने कुरा पनि विचार नै नगरेर चर्पीको र पानीको व्यवस्था नभएको त्यो आध्यात्मिक र धार्मिक ठाउँलाई के भन्नु ?
पैसाको अभावमा त पक्कै पनि चर्पी नबनाइएको हैन होला । पानीको व्यवस्थाको लागि पनि अर्थको अभाव त थिएन होला । केवल अभाव थियो एउटा विचारको ‘मानिस आउने ठाउँमा चर्पी र पानीको राम्रो बन्दोबस्त हुनु अनिवार्य छ ।’
यदि त्यस ठाउँमा आएका व्यक्तिहरूले कुनै दिन बेलुकासम्म घुमेर अँध्यारो भएपछि कुना–कुनामा दिसापिसाब गरे भने भोलिपल्टदेखि त्यो धार्मिक स्थलको अवस्था के हुन्छ होला ?
चर्पीको बारेमा नेपाल सरकारले यति धेरै नीति–नियम बनाएको छ । खुला दिसामुक्त देश बनाउन करोडौं रुपैयाँ खर्च गरेको छ । तर चर्पी व्यवस्थापनको अभावले गर्दा मनमा प्रश्न उब्जिन्छ । चर्पी नभएर के हुन्छ भन्ने बारेमा सरकारी कर्मचारीलाई, धार्मिक गुरुलाई बोल्न लगाइयो भने के भनेर भाषण गर्छन् होला, त्यो त भन्न गाह्रो छैन ।
कसैले पनि चर्पी सबै ठाउँमा चाहिन्न भन्दैनन् तर चर्पीको व्यवस्थापन गर्छन् होला त भन्ने प्रश्नको जवाफ दिन गाह्रो छ । धेरैजसोले ठूलो–ठूलो कार्यक्रम गर्दा चर्पीलाई चाहिं बेवास्ता गर्छन् भन्ने स्पष्ट नै छ ।
नेपालका ठूला–ठूला धार्मिकस्थल जानकीधाम, बूढानीलकण्ठ वा गोसाईंकुण्ड जताततै चर्पीको अभावले फोहोर छ । चर्पी र पानीको व्यवस्था नभएर यात्रीलाई कति समस्या छ, कसले विचार गर्ला ? जानकी मन्दिरमा केही हप्ताअघि विवाहपञ्चमीको धुमधाम भयो । लाखौं मानिसले उक्त उत्सव मनाए तर ती मानिसले उत्सव मनाएर दिसा पिसाब कहाँ गरे होलान् ? जनकपुरमा सार्वजनिक शौचालय कति छन् भनेर मैले घुमेर हेर्दा कतै पनि देखिनँ ।
धार्मिक स्थल दिसा र पिसाबले फोहोर छ भने त्यहाँ जाने भक्तजनलाई के आस्था होला र ? त्यसैले मन्दिर र स्तूपाको निर्माण गर्नेहरूले विचार गर्नुपर्छ– चर्पी र पानीको व्यवस्था गर्न !
कतिपय यो पढेर जाबो चर्पीको विषयमा के लेखेको होला भन्ने पनि होलान् । तर चर्पी नभएको ठाउँमा दुई दिन बसेर अनुभव गरे थाहा हुन्छ चर्पी कति महत्वपूर्ण छ ! चर्पी नभएकाले त नेपालका कति गाउँमा झाडापखाला हुन्छ । चर्पी नभएकाले वन–जंगल जाँदा जनावरको टोकाइको शिकार भइन्छ ।
अँध्यारोमा पिसाब गर्न जाँदा बलात्कारको शिकार हुन सकिन्छ । तराईमा चर्पीको अभावले महिला स्वास्थ्यमा पनि समस्या परेको छ । त्यस्तो हुँदा चर्पीको कुरा गर्नु परेन त ? अनि सोध्नु परेको छ, नेताहरू हो गाउँ र देवालयमा चर्पी बनाउन कहिलेदेखि आन्दोलन गर्ने ?
प्रतिक्रिया 4