+
+

बालबच्चाका लागि यसरी तयार गर्न सकिन्छ स्कुलको नास्ता 

सुनैना देवजु, पोषणविद् सुनैना देवजु, पोषणविद्
२०७९ मंसिर १८ गते १३:३४

एउटा प्रचलित भनाइ छ, ‘हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं ।’ बालबच्चाको हकमा यो कुरा अझ महत्वपूर्ण छ । बालबच्चालाई कस्तो बनाउने भन्ने कुरा त्यसैले निर्धारण गर्छ कि, हामी उनीहरुलाई कस्तो खानेकुरा खुवाउँछौं ?

बच्चाको शारीरिक र मानसिक विकास तीव्र रुपमा भइरहेको हुन्छ, जसमा खानपानको मुख्य भूमिका रहन्छ । उनीहरुलाई स्वस्थ, तन्दुरुस्त, फूर्तिलो, जाँगरिलो र सिर्जनशील बनाउन सोही अनुरुपको खानपान जरुरी हुन्छ ।

यद्यपि अहिले धेरैजसो बालबालिका जंकफुड र फास्टफुडको लतमा छन् । आफ्नै भान्साको खाना खान मन गर्दैनन् । त्यसैले त कतिपय अभिभावकले बच्चालाई विद्यालयको टिफिनमा चाउचाउ, कुरकुरे, चिप्स जस्ता खानेकुरा पठाइदिन्छन् । त्यसैगरी विद्यालयको क्यान्टिनमा मःम, चाउमिन, समोसा, चटपटे जस्ता खानेकुरा मात्र दिइने गरिन्छ । यस्ता खानेकुराले उनीहरुलाई पर्याप्त पोषण मिल्दैन, जसको असर शारीरिक र मानसिक विकासमा पर्ने नै भयो ।

हो, बच्चालाई सधैं घरको एकथरी खाना रुच्दैन । त्यसैले उनीहरुलाई सकेसम्म फरक-फरक स्वादको खानेकुरा बनाउन सकिन्छ । यस्तो गर्न त्यति झन्झटिलो र असहज पनि छैन । बालबच्चालाई खाजा नास्तामा हरेक दिन केही नयाँ खानेकुरा दिइयो भने उनीहरु खुसीसाथ खान्छन् । यसका लागि खानपानको एउटा तालिका बनाउन सकिन्छ ।

६ दिन ६ प्रकारकै परिकार बनाउन सकिन्छ, जुन पोषिलो र ताजा होस् । यी खानेकुरा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट आदि पोषकतत्वले युक्त भने हुनुपर्छ ।

आइतबार : भुटेको भात

भातलाई घिउ वा तेलमा भुटेर खाजा बनाइदिन सकिन्छ । यस्तो खाजामा सिमी, साग, च्याउ, अण्डा वा मासु पनि मिसाउन सकिन्छ । साथै केराउ, चना जस्ता गेडागुडी मिश्रण गर्न सकिन्छ ।

शुद्ध घिउ वा शुद्ध तोरीको तेलमा भात भुट्नु राम्रो हुन्छ । भातसँगै टिफिन बक्सको अर्को खण्डमा थोरै ड्राइ फ्रुट्स र फलफूल राखिदिन सकिन्छ । मौसमी फलफूल नै हुनुपर्छ । बेमौसमी सागसब्जी र फलफूल खुवाउन हुँदैन ।

सोमबार : रोटी-तरकारी

रोटी-तरकारी पनि राम्रो नास्ता हो । रोटीसँग छिपछिपे रस भएको तरकारी उचित हुन्छ । जस्तो, पनिर-मटर, आलु-काउली, उसिनेको अण्डा र आलु आदि । पनिर, अण्डा, मटरकोसो आदिबाट प्रोटिन पाउन सकिन्छ भने रोटी वा पुरीबाट कार्बोहाइड्रेट । यस्तो खानासँगै थोरै मौसमी फलफूल पनि राख्नु उचित हुन्छ ।

मंगलबार : पास्ता

बालबच्चालाई रेस्टुरेन्टकै स्वादको पास्ता बनाइदिन सकिन्छ । खासगरी सुजीको पास्ता स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । कम तेल राखेर ब्रोकाउली, गाजर, मटरकोसा, भेडे खुर्सानी मिसाएर बनाउन सकिन्छ ।

बजारमा पाइने टोम्याटो गार्लिक सस हालेर ग्रेभी बनाउन सकिन्छ । मासु मन पराउने बालबालिकाको लागि पास्तामा कुखुरा वा माछाको केही टुक्रा मिसाइदिन सकिन्छ । शाहाकारीका लागि भने भुटेको तोफु वा पनिरको केही टुक्रा राख्न सकिन्छ ।

बुधबार : पराठा

उसिनेको आलु, प्याज र काँचो पनिरलाई पिसेर हालेर, उपलब्ध भए दुई टुक्रा चिज र नुन मसला हालेर गहुँको पिठोमा पराठा बनाउन सकिन्छ । यसले आलुबाट कार्बोहाइड्रेट मात्र नभएर पनिर र चिजबाट प्रोटिन पनि पाउन सक्छ ।

बच्चाले आलुको पराठा खान मन गरेको छैन भने मुङ वा मुसुरोको दालको पराठा बनाउन सकिन्छ । त्यसको लागि एक रात भिजाएको दाललाई पिसेर अण्डाको सेतो भाग, थोरै अदुवा र नुन राखेर बनाउन सकिन्छ ।

बिहीबार : स्याण्डविच वा रोल

स्याण्डविच धेरै किसिमको तरिकाले बनाउन सकिन्छ । ब्राउन ब्रेड भित्र काँक्रो, बन्दा, माइनिज सस, गाँजर, स्वादअनुसार नुन, थोरै टोम्याटो सस हालेर माथिबाट अर्को ब्रेड राखेर तावामा तेल वा घिउमा तताउन सकिन्छ ।

अर्को विकल्प भनेको रोटीभित्र मिश्रित तरकारी वा मासु हालेर रोल गरेर बनाउन सकिन्छ । त्यसमा एउटा स्याण्डविच वा रोटीरोल एक भाग राखेर, एउटामा सलाद  र अकर्कोमा ड्राइ फुट्स राख्न सकिन्छ ।

शुक्रबार : आलुको चप

आलुको  चप पनि ताजा तेलमा पकाउने हो भने स्वस्थ नै मानिन्छ । आलुको चप बनाउँदा उसिनेको आलु, प्याज, चिज, पनिर छ भने पिसेर मिसाउने अनि बेसनको पिठोमा बनाउन सकिन्छ । बनाउँदा फरक-फरक आकारको जस्तै, बच्चालाई मुटुको सेप भएको, कुनै गोलो, कुनै चारकुना परेको जसरी डिजाइन गरेर बनाउन सकिन्छ ।

त्यस्तै मुस्कान दिइरहेको अनुहार पनि बनाउन सकिन्छ । गोलो बनाउने त्यसमा रातो ससले आँखा, नाक र हाँसेको बनाउन सकिन्छ, जुन बच्चाले रमाई-रमाई खान सक्छन् । टिफिन प्याक गर्दा तीनवटा चप, तीनवटा ड्राइ फ्रुट्स र ओट्स मिसिएको कुकिज राख्ने, एउटा स्याउ वा केरा पनि राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?