+
+

नेवारी व्यञ्जनको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका नामी ७ रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ पुष ८ गते १४:१०

काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ ।

काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ । तपाईं जो-कोही खानाका पारखीलाई सोध्नुहोस्, नेवारी व्यञ्जन त चाखेकै हुनेछन् ।

सहरमा अनगिन्ती नेवारी रेस्टुरेन्ट छन् । त्यसमध्ये पनि अनलाइनखबरले काठमाडौं उपत्यकाका नामी सात रेस्टुरेन्ट सूचीकृत गरेको छ, जहाँ पाक्ने नेवारी व्यञ्जन खास छन् ।

पाल्चा नेवारी किचन, जावलाखेल

सम्पर्क : ९८०१०५६३५७

सात वर्षअघि जावलाखेलमा स्थापना भएको पाल्चा नेवारी किचन नेवारी व्यञ्जनको लागि निकै लोकप्रिय छ । यहाँ लगभग सबै प्रकारका नेवारी परिकार पाइन्छ । यहाँ प्रख्यात नेवारी खाजा सेट, बारा, छोयला, कचिला, हयकुला, सुकुटी, योमरी, तिस्यो, झुकु, न्हेपु तिस्यो, सपुम्हिचा, दुरुपा, भुटन, सन्याखुना, चटामरी, समयबजी, छ्याङ, ऐला सबै पाउन सकिन्छ ।

पाल्चामा भेज, बफ र चिकेन समयबजीको मूल्य ३००÷३५०÷३८० रुपैयाँ पर्छ । यहाँ सादा, अण्डा, कफ, चिकेन र मिक्स गरेर पाँच प्रकारको बारा पाइन्छ र बाराको मूल्य १३५ देखि २३० रुपैयाँसम्म छ ।

पाल्चाको चटामरी र छोइला पनि एकदमै लोकप्रिय खानेकुरामा पर्छ । यहाँ चटामरीको मूल्य ११५ देखि २३० रुपैयाँसम्म छ भने छोइलाको २९५ देखि ३३० रुपैयाँ पर्छ । ऐला पनि यहाँको विशेष हुन्छ । रेस्टुरेन्टमा आफैं तयार पारेर दालचिनी तथा अन्य फ्लेभर राखेर तयार गरिन्छ । नेवारी खानालाई नयाँ नयाँ स्वरूप दिएर पस्किंदै आएको पल्चामा पार्किङको पनि राम्रो व्यवस्था छ ।

नेवा: लहना, कीर्तिपुर

सम्पर्क : ९८४९०२९९६६

१४ वर्षअघि स्थापना भएको लहनाले विशुद्ध सम्पूर्ण नेवारी परिकारको स्वाद एकै छानामुनि प्रदान गर्छ । स्वादमा मात्र होइन, परिवेशमा पनि नेवारी संस्कृति झल्किन्छ यहाँ । महिलाहरू नेवारी भेष भूषामा आगन्तुकलाई परालको चकटी, भुईँमा राखेर ती परिकार पस्किएर सेवा गर्छन् । आधुनिक होटेल, रेस्टुरेन्ट भन्दा यहाँ फरक, नौलो स्वाद र सत्कार यहाँ पाउन सकिन्छ ।

यहाँ प्रख्यात नेवारी खाना, खाजा सेट, योमरी, बारा, छोयला, कचिला, दाय्कु ला, सुकुटी, तिस्यो, खाःगो, झुकु, न्हेपु तिस्यो, सपुम्हिचा, दुरुपा, भुटन, मे, मिखाः, तः खा, सन्याखुना, चटामरी, समयबजी, छ्याङ, ऐला लगायतका सबै पाउन सकिन्छ ।

लहनामा बफ समयबजीको मूल्य ३६० रुपैयाँ पर्छ भने चटामरीको २२५ रुपैयाँ पर्छ । यहाँको लोकप्रिय मिक्स बाराको मूल्य २७५ रुपैयाँ छ । बफ छोइलाको मूल्य २०५ रुपैयाँ छ भने चिकेन भेजको मूल्य तलमाथि हुन सक्छ ।

लहनाको अर्थ सभ्यता हो । लहना स्थापना कीर्तिपुरको सामाजिक, आर्थिक स्वाबलम्बनसँग जोडिएको छ । लहनामा पार्किङको पनि राम्रो व्यवस्था छ ।

हरिसिद्धि नेवाः सुली, ललितपुर

सम्पर्क : ९८४१७८६१०८

ललितपुर हरिसिद्धि नेवारी बस्तीमा रहेको हरिसिद्धि नेवाः सुली नेवारी खानाको लागि लोकप्रिय छ । यहाँ हरेक प्रकारको नेवारी परिकार उपलब्ध छ । नेवाः सुलीको छोइला, आलु  साँधेको, भटमास  साँधेको, बारा, चटामरी र साँधेको सुकुटी धेरै रुचाइएको परिकार हो ।

हरिसिद्धि नेवाः सुली स्पेसल फुल खाजा सेटको मूल्य २ हजार ११० रुपैयाँ पर्छ भने हाफ खाजा सेटको १ हजार २१० रुपैयाँ पर्छ । यहाँ बाराको मूल्य ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म पर्छ ।

चटामरीको ७० देखि २०० रुपैयाँ पर्छ भने बफ छोइलाको मूल्य २०० रुपैयाँ पर्छ । यहाँ छ्याङ र ऐला पनि पाइन्छ ।

सहरको कोलाहलबाट अलिकति भए पनि टाढा गएर शान्त वातावरणमा नेवारी खाना खान र नेवारी कला संस्कृतिको बारेमा जान्नको लागि हरिसिद्धि नेवाः सुली पुग्नै पर्छ । यहाँ मोटरसाइकल तथा गाडी दुवैको लागि पर्याप्त पार्किङको व्यवस्था छ ।

ससः त्वाः रेस्टुरेन्ट, कीर्तिपुर

सम्पर्क : ०१-५९०७९४२

करिब १२ वर्षअघिदेखि सञ्चालनमा रहेको सस त्वा रेस्टुरेन्ट नेवारी परिकार नेवारी संस्कृतिको लागि लोकप्रिय रेस्टुरेन्ट हो । यहाँ स्वादमा मात्र होइन, परिवेशमा पनि नेवारी संस्कृति झल्किन्छ । ‘ससः त्वाः’मा नेवारी संस्कृतिअनुसारका चाडपर्वका कार्यक्रम पनि हुन्छ ।

ससःमा बारा, भुटन, चटामरी, समयबजी, योमरी, बारा, छोयला, कचिला, सपुम्हिचा,  सुकुटी लगायत सबै प्रकारका नेवारी परम्परागत खानेकुरा पाइन्छ । चिउरा, छोइला, बारा, बोडी, साग, मूला अचार, आलु साँधेको, कालो भटमास र अदुवा-लसुनसहितको समयबजीको मूल्य ४२५ रुपैयाँ पर्छ ।

यहाँ सादा बाराको मूल्य १२५ र अण्डाबाराको १६५ रुपैयाँ पर्छ । चटामरीको मूल्य १६५ देखि ३१५ रुपैयाँसम्म पर्छ । ससःमा बफ छोइलाको ३००, हाँसको ७७० र चिकेन छोइलाको ५०० रुपैयाँ छ ।

यहाँको छ्याङ र ऐला एकदमै धेरै लोकप्रिय छ । एकपाने, दुईपाने, तीनपाने र चारपाने चार किसिमका ऐला यहाँ पाइन्छ । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ । नेवारी शब्द ‘ससः’को नेपाली अर्थ ससुराली हुन्छ भने ‘त्वाः’ को अर्थ टोल । ‘ससः त्वाः’ अर्थात् ससुराली टोल ।

लुमन्ती नेवारी रेस्टुरेन्ट, टोखा

सम्पर्क : ९८४९९५४३३५

परम्परागत नेवारी व्यञ्जन चाख्न चाहनेहरूले पाँच वर्षअघिदेखि टोखामा सञ्चालनमा रहेको लुमन्ती नेवारी रेस्टुरेन्ट पनि एकपटक पुग्नै पर्छ । यहाँ सपुम्हिचा, छोइला, कचिला, भुटन, पिरो आलु, चटामरी, गिदी फ्राइ, सुकुटी, योमरी, हाँसको छोइला र बफको प्रायः सबै परिकार पाइन्छ ।

लुमन्तीमा समयबजीको मूल्य ३२० रुपैयाँ छ भने बाराको मूल्य १०० देखि २८० रुपैयाँ छ ।  चटामरीको मूल्य ८० देखि २८० रुपैयाँ पर्छ । यहाँ छोइलाको मूल्य २८० देखि ४०० रुपैयाँ पर्छ । लुमन्तीमा नर्मल र स्पेसल गरेर दुई प्रकारको ऐला पाइन्छ ।

लुमन्तीको अर्थ सम्झना हो । यहाँ आउनेहरूले राम्रो सम्झना लिएर जाउन् भनेर रेस्टुरेन्टको नाम लुमन्ती राखिएको हो । यहाँ खाना मात्र होइन, वातावरण पनि नेवारी संस्कृति झल्किने खालको छ । साथै पार्किङको लागि पर्याप्त ठाउँ छ ।

पालु अथेन्टिक नेवारी कुजिन, लैनचौर 

सम्पर्क :  ०१-४००५२२२

नेवारी व्यञ्जनको लागि अर्को लोकप्रिय रेस्टुरेन्ट लैनचौर आनन्द भवनमा रहेको पालु अथेन्टिक नेवारी कुसन पनि हो । यहाँ बारा, चटामरी, समयबजी, मिट प्लाटर, योमरी, बारा, छोयला, कचिला, सुकुटी लगायत सम्पूर्ण नेवारी परिकार पाइन्छ । साथै यहाँ नेवारी छ्याङ, ऐला पनि पाइन्छ ।

पालुमा भेज समयबजीको मूल्य ४७५, बफको ५५०, चिकेनको ५००, मटनको ५७५ रुपैयाँ पर्छ । नेवारी मिट प्लाटर मिडियमको १ हजार ३०० र लार्जको २ हजार ४०० रुपैयाँ छ ।

त्यसैगरी बाराको मूल्य २२५ देखि ३२५ रुपैयाँसम्म पर्छ भने चटामरीको २२५ देखि ३८५ रुपैयाँसम्म पर्छ । नेवारी खानेकुरामध्येको लोकप्रिय छोइलाको मूल्य ४२० देखि ७२० रुपैयाँसम्म पर्छ ।

पालुको अर्थ पिरो हो । परम्परागत नेवारी खानको लागि पालु लोकप्रिय छ । सफा र पारिवारिक वातावरणमा नेवारी व्यञ्जनको स्वाद लिन चाहनेहरूले पालु एकपटक पुग्नैपर्छ ।

नेवाः घासा, पाटन

सम्पर्क : ९८४३८००७६८

नेवारी खाजाको लागि अर्को लोकप्रिय ठाउँ हो न्वा घासा पाटन । नेवा घासाको सोह्रखुट्टेमा पनि अर्को ब्रान्च छ । नेवा घासामा नेवारी परिकारसँगै नेवारी संस्कृति र परम्परासँग परिचित गराइन्छ । नेवारी फेस्टिभलमा मात्र पाउने बुल्ला यहाँ हरेक दिन पाइन्छ । त्यसै गरी नेवारी खाजाका प्रायः सबै आइटम यहाँ पाइन्छ ।

नेवाः घासामा चिउरा, बदाम, भटमास, छोइला, कचिला, बुला, आलु तामा, मसरुम छोइला, सुकुटी लगायत १४ वटा परिकार समावेश भएको घासा सेटको १ हजार ९०० रुपैयाँ पर्छ । यो एक सेटले चार जनालाई पुग्छ ।

यहाँको ऐला र छ्याङ पनि लोकप्रिय छ । नेवाः घासामा बाराको मूल्य ९० देखि २०० रुपैयाँसम्म पर्छ भने चटामरीको १२० देखि २२० रुपैयाँसम्म पर्छ ।

लुमन्तीमा बफ छोइलाको मूल्य २०० रुपैयाँ छ भने यहाँ स्पेसल छ्याङ र ऐला पनि पाइन्छ । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?