+
+

टेलिकमले फेरि किन रोक्यो फाइभजी सेवाको परीक्षण ?

नेपाल टेलिकम मौन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २२:५५

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आजदेखि सुरु गर्ने भनेको फाइभजी सेवाको आन्तरिक परीक्षण अन्तिम समयमा फेरि रोकिएको छ । १९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गर्ने तय गरेको थियो ।

तर, परीक्षण रोकिएकाबारे वार्षिकउत्सव कार्यक्रममा संस्थाले कुनै जानकारी दिएन । कार्यक्रममा बोलेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र सञ्चार सचिव तथा नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालदेखि नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलसम्मले फाइभजी सेवाको नाम नै लिएनन् ।

टेलिकमले बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थाल्ने र यो यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउने बताएको थियो ।

यसबारे टेलिकमका कुनै अधिकारीहरु पनि आपौचारिक रुपमा बोल्न मानेका छैनन् ।

यसअघि यो सेवा १ जनवसरी २०२३देखि सुरु गर्ने तय भएको थियो । तर, त्यो दिन पनि अन्तिम समयमा फाइभजी सेवाको परीक्षणकालीन समय सुरुआत गर्ने काम रोकिएको थियो ।

यसअघि सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेको भन्दै रोकिए पनि यसमा भूराजनीतिक कारण पनि हुनसक्ने टेलिकमका अधिकारीहरु बताउँछन् । फाइभजी अन्तरार्ष्ट्रिय दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्डअनुसार विकास भएको पाँचौं पुस्ताको मोबाइल प्रविधि हो ।

विशेषगरी फाइभजी प्रविधिका अधिकतम् उपकरणहरू चीनको हुवावेले विकास गरेको छ र उसैले विश्वव्यापीरूपमा सप्लाइ पनि गर्दैछ । अमेरिकासहित पश्चिमा देशले चीनमा विकास भएका  बौद्धिक सम्पत्तिसहितको उपकरणको प्रयोगलाई रुचाउने गरेका छैनन् ।  टेलिकमका अधिकारीहरु नै फाइभजीकै कारण उच्च तहमा अमेरिकासिहत पश्चिमी मुलुकसँगको कुटनीतिक सम्बन्ध बिग्रिने हुने डरले परीक्षणको सुरुआत रोकेको अड्कलबाजी गरिरहेका छन् ।

केही समययता अमेरिकाबाट भइरहेका उच्च राजनीतिक भ्रमणलाई ध्यानमा राखेर फेरि पनि सेवाको सुरुआतको मिति पछि सारिएको हुनसक्ने टेलिकमका एक अधिकारीले बताए । ‘परीक्षणका लागि सबै तयारी सकिएको छ, तर आजको वार्षिकोत्सवमा समेत उद्घाटन गर्न किन त्यसलाई रोकियो भन्ने जानकारी उच्च तहमा मात्रै छ,’ ती अधिकारीले भने,‘अहिले पनि अमेरिकी सरकाकार उच्च अधिकारीहरुको भ्रमण नेपालमा भइरहेकाले उनीहरूलाई नचिढ्याउनका लागि रोकिएको हुनसक्छ ।’

दुई–दुई पटक किन परीक्षण रोकियो भन्नेबारे औपचारिक जानकारी दिन समेत टेलिकम मौन बस्नुले पनि यस्तो आशंकामा बल पुगेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु आइतबारबाट फाइभजी सेवा थाल्ने विषय जानकारी मै नरहेको बताउँछन् । ‘बाहिर हल्ला भएजस्तो कुनै बाह्य दबाबका कारण फाइभजी रोकिएको हैन,’ मन्त्रालयका एक अधिकारीले भने,‘सय हैन, ५०० प्रतिशत ग्यारेन्टी गर्छौं, कतैबाट सेवा रोक्न दबाब छैन ।’

टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तरगते फाइभजी सेवाको थालनी गर्ने तयारी सकेको छ । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधारणका लागि सेवा उपलब्ध गराउने योजना छ ।

तर, परीक्षण नै कहिलेसम्म रोकिने हो भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?