
२२, चैत, चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएका थिए ।
उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौंबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए। राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उम्मेदवारी दर्ता गरेकोले उनको उम्मेदवारी खारेजीको माग गर्दै दाबी विरोध र उजुरी परेको थियो ।
युवराजको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4