+
+
सभामुखको पहलमा शीर्ष वार्ता :

टीआरसी सहितका विधेयकमा सकारात्मक छलफल

विशेष समिति बनाउने मध्यमार्गी प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १९:००

२५ चैत, काठमाडौं । संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवाद भएको छ ।

सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएका थिए ।

‘नेताहरुको बीचमा आपपसमा बसेर सामूहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरुको बीचमा कुराकानी गराउन पहल गरेको हुँ’, सभामुख घिमिरेले भनेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भयो ।’

सहमति बनाउने भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि कानुनी र प्रविधिक पक्ष पनि रहेको उनले बताए । संसदको कार्यसञ्चालन नियमावली पास भइसकेकाले त्यसअनुसार समिति बनाउनुपर्ने भन्दै उनले भने, ‘केही एक्पर्ट साथीहरु समेत बसेर टुंग्याउने भन्ने भएको छ ।’

टीआरसी विधेयक संसदीय समितिमा जान्छ कि संसदबाटै टुंगिन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘हामी सरकारमा हुनेहरुको कुरा फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्नेछ । प्रतिपक्षको कुरा समितिमा लगेर गरौं भन्ने छ ।’

विशेष समिति बनाएर मध्यमार्गी बाटो खोज्ने सम्भावना पनि रहेको उनले सुनाए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले पनि सदनलाई कसरी प्रभावकरी ढंगले अगाडि बढाउने र अहिले देखिएका समस्याहरु कसरी समाधान गर्ने भनेर सकारात्मक छलफल भएको बताए । टीआरसी विधेयकबारे पनि कुराकानी भएको भन्दै उनले भने, ‘फास्ट ट्याक चाहिं कति गर्न मिल्छ मिल्दैन फेरि बसेर छलफल गर्छौं ।’ यद्यपि कुनै न कुनै हिसाबले समितिमा जाने उनले बताए ।

नेताहरुका अनुसार अर्को बैठक २८ गते बिहान साढे ९ बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?