+
+
आईएमई २३औं वर्षमा :

डिजिटल रेमिट्यान्समा पनि अग्रणी बन्दै आईएमई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते ११:३५
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल ।

२९ जेठ, काठमाडौं । २३ वर्षअघि न नेपालमा भित्रने रेमिट्यान्स यति ठूलो थियो, न त्यो औपचारिक माध्यमबाट नै भित्रन्थ्यो । विदेशमा काम गर्न गएकाहरुले परिवारलाई पैसा पठाउन असाध्यै दुःख गर्नुपर्थ्यो । हुण्डीको माध्यमबाट पैसा पठाउँदा धेरै कामदार ठगिन्थे । त्यस्तोमा कामदारको सेवा पनि हुने, नाफा पनि कमाउन सकिने ‘सामाजिक व्यवसाय’का रुपमा शुरु भएको आईएमई आज मुलुकको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी भएको छ ।

विदेशमा रहेका लाखौं नेपालीहरुलाई सेवा दिइरहेको आईएमई लिमिटेड सोमवार २३औं वर्षमा प्रवेश गर्दैछ । यो कम्पनी सुरु हुँदा वैधानिक बाटोबाट मुलुकमा रेमिट्यान्स पठाउने व्यवस्था मिलाउनु नै धेरै ठूलो कुरा थियो । आज प्रविधिमा भएको विकासलाई पनि आत्मसात गर्दै हिंड्नु र आफ्ना सेवाग्राहीलाई उत्कृष्ट सेवा पुर्‍याउनु अझै चुनौतीपूर्ण छ । त्यही भएर कम्पनीले आफ्नो २३औं वाषिर्कोत्सवको नारा नै प्रविधिसँग जोडेर बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल बताउँछन् ।

अहिले पनि नगद कारोबारमा आधारित परम्परागत शैलीमा नै काम गरिरहेकोमा अब भने आईएमईलाई डिजिटल रेमिट्यान्समा पनि नेपालकै अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना रहेको उनले बताए । ‘नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलगायत निकायले डिजिटल रेमिट्यान्सलाई केन्द्रमा राखेका छन्, आईएमई त्यसबाट पछि रहन हुँदैन,’ उनी बताउँछन् ।

डिजिटल रेमिट्यान्सलाई नै प्रवर्द्धन गर्ने उद्देश्यले ‘आईएमई-पे’ ल्याएको उनी बताउँछन् । ‘अब परम्परागत शैलीबाट रेमिट्यान्स ल्याउन सम्भव छैन । गतव्य मुलुकमा भइरहेको परिवर्तनसँगै विदेशमा रोजगारीमा दक्ष जनशक्ति पनि जाँदा उनीहरुले डिजिटल माध्यमबाट नै रेमिट्यान्स पठाइरहेका छन्,’ उनले भने ।

युरोप अमेरीकालगायतका देशबाट अधिकांश रेमिट्यान्स डिजिटल माध्यमबाट नै आइरहेको र मध्यपूर्वबाट पनि २५ प्रतिशतसम्म रेमिट्यान्स मोबाइल वालेट वा अनलाइनबाट आउने गरेको उनले बताए । उनले भने, ‘यसलाई लक्षित गर्दै आईएमईले डिजिटल वा वालेटको माध्यमबाट रेमिट्यान्स पठाउन भनेर चेतनामूलक अभियान नै सञ्चालन गरिरहेको छ । रेमिट्यान्स र मोबाइल वालेटमा पहिलो आईएमई समुह डिजिटल रेमिट्यान्समा पनि पहिलो हुन्छ । त्यसमा हामीलाई दोस्रो हुने छुट छैन ।’

आईएमई-पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी पनि देशको अर्थतन्त्र चलाउने रेमिट्यान्स सहज र सरल तरीकाबाट भित्र्याउने व्यवस्था हुनुपर्ने बताउँछन् । त्यसका लागि अब डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनको भनाइ छ । डिजिटल रेमिट्यान्सको उद्देश्य हासिल गर्न आईएमई ग्रुपले आईएमई-पे को अवधारणा ल्याएको उनले बताए ।

‘२३ औं वार्षिक उत्सवको नारा नै प्रविधिकेन्द्रित बनाएका छौं । आईएमई पे को उदेश्य नै डिजिटल रेमिट्यान्स हो । एउटै कम्पनीले वालेट र रेमिट्यान्स चलाउन नसक्ने भएकोले अर्को कम्पनी खडा भएको हो,’ आईएमईका सीईओ पौडेलले अनलाइनखबरसँग भने, ‘नेपाल र विश्वकै ट्रेन्ड हेर्दा परम्परागत रेमिट्यान्स माध्यमलाई प्रविधिमा आधारित बनाउनुको विकल्प नै छैन । त्यसका लागि आईएमईको टीमले थप अनुसन्धान गरिरहेको छ।’

के हो डिजिटल रेमिट्यान्स ? यसबाट के फाइदा?

वैदेशिक रोजगारीमा रहेकाहरुले एजेन्ट काउन्टरमा नगई अनलाइन वा मोबाइल एपबाट सीधै पैसा पठाउनुलाई नै डिजिटल माध्यमबाट पैसा पठाएको भनेर बुझ्नुपर्ने उनको तर्क छ । यस्तो रेमिट्यान्स सिधै बैंक खातामा वा मोबाइल वालेटमा पठाउन सकिने उनले बताए ।

साउदी अरेबिया, कतार लगायतका देशले एजेन्टबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क, डिजिटल माध्यमबाट पठाउँदा लाग्ने शुल्क नै परिवर्तन गरिरहेको उनको तर्क छ । ‘आईएमइले वालेटमा आउने सबै रेमिट्यान्समा शुल्क नलिई सेवा दिइरहेका छौं,’ उनले भने, ‘डिजिटल रेमिट्यान्सलाई नै प्रवर्द्धन गर्नुपर्छ भन्ने आईएमईको उद्देश्य हो ।

डिजिटल रेमिट्यान्स पठाउँदा अहिलेको अवस्थामा कम्तिमा पनि २५ प्रतिशत लागत कम हुने देखिएको उनले बताए । रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीको लागत कम हुने हुँदा डिजिटल रेमिट्यान्समा कम्पनीहरु कम शुल्कमा काम गर्न सक्छन् ।

मोबाइल वालेटमा पठाएको रेमिट्यान्सबाट हरेक किसिमको बिल भुक्तानी पनि गर्न सकिन्छ । साथै यस्तो रेमिट्यान्स बैंकमा सिधै डिपोजिट गर्न सकिने भएकोले समयको पनि बचत हुने आईएमइका सिईओ पौडेल बताउँछन् ।

आईएमई-पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी ।

आईएमई-पे मा रेमिट्यान्स पठाउने आईएमईका लाभग्राहीलाई विभिन्न अफर समेत रहेको आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी बताउँछन् । ‘रेमिट्यान्स वालेटमै रिसिभ गर्यो भने १०० रुपैयाँ बोनस पाउन सक्छ । यस्तै लक्की ड्रमार्फत मोबाइल फोन दिनेलगायतका योजना निरन्तर रुपमा चलिरहका छन्,’ उनले भने, ‘वालेटमा पैसा रिसिभ गरेर त्यहीँबाट खर्च गर्दा विभिन्न अफरहर छन् । रिचार्ज गर्दा ५ प्रतिशत क्यापब्याक आउँछ । क्युआर कोड मार्फत भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक आउँछ । अरु बैंक खातामा लिंक गरेर राख्दा अर्को १०० रुपैयाँ बोनस आउँछ ।’

रेमिट्यान्सलाई वालेटमा रिसिभ गर्दा धेरै नै फाइदा लिन सकिन्छ भनेर कम्पनीले चेतना जगाउन खोजेको उनले बताए । यस्तै आईएमई-पे वालेटमा खर्च गरेर बाँकी रहेको पैसमा बैंकमा जस्तै ब्याज पाइनुको साथै वैदेशिक रोगजारीमा रहेको नेपालीले पाउने आईपीओसमेत भर्न सक्ने उनले बताए ।

यस्तै हालै मात्रै आईएमई-पेमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध भएर योगदान रकम समेत वालेटबाट सिधै पठाउन सक्ने सम्झौता गरिएको छ । नगद आवश्यक पर्दा कम्पनीका देशैभरि रहेको एजेन्टबाट निकाल्न सकिन्छ । साथै कम्पनीले प्रदान गर्ने कार्डले जुनसुकै एटीएम मेसिनबाट पनि रेमिट्यान्स झिक्ने सक्ने ‘आईएमई-पे’ का प्रमुख कार्यकारी अधिकृत रेग्मी बताउँछन् ।

‘हाम्रोमा कतिपय सामाजिक समस्या पनि छन् । विदेशबाट पैसा पठाउने तर, यता पठाउनेको इन्छा अनुसार खर्च नहुने समस्या पनि छ,’ उनले भने, ‘विदेशमा आईएमईको पार्टनर वा प्रतिनीधि भएको ठाउँबाट सिधै आफ्नै आईएमई वालेटमा नै पैसा पठाउन सकिन्छ । यसले रेमिट्यान्सबाट पठाएको पैसाको नियन्त्रण उसैको हातमा रहन्छ । उसले नै परिवारको आवश्यकताअनुसार खर्च आफैले छुट्याएर पठाउन सक्छ । यसबाट वालेट रकम रहँदा ब्याजदेखि भुक्तानीमा क्यासब्याकलगायतका सबै सुविधा रेमिट्यान्स पठाउनेले नै पाउँछ ।’

यस्तै आईएमई-पे मा रेमिट्यान्स पठाउने प्रविधिमा अभ्यस्त लाभग्राहीलाई लक्षित गर्दै सामुहिक लगानी कोषजस्ता लगानीको योजना ल्याउँदै गरेको पनि उनले बताए ।

डिजिटल रेमिट्यान्सले बचत गर्न प्रोत्साहन गर्छ

दुबई, कतारलगायत मध्यपूर्व र मलेसिया जानेहरुले पठाएको रेमिट्यान्सको ठुलो हिस्सा ऋण तिर्न र परिवरलाई राम्रो शिक्षा र स्वास्थ्य उपचारमा खर्च हुने गरेको देखिएको आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेल बताउँछन् । ती देशमा जाने कामदारले ६ महिनाको कमाई विदेश गएको ऋण तिर्न उपयोग गर्ने र त्यसपछिको कमाई शिक्षा तथा स्वस्थ्यमा खर्च गर्न उनको अनुभव छ ।

तर, डिजिटल रेमिट्यान्सका बारेमा जनचेतना बढाउँदै जाँदा बचत गर्ने भावनाको विकास भने हुँदै गएको उनले बताए । डिजिटल माध्यमबाट आफुले गरेको खर्च सबै हेर्न सकिने हुँदा खर्च कम गर्न मद्दत पुग्ने उनले बताए । ‘नगद बोकेर हिँड्दा कति खर्च भयो त्यसको याद नहुन सक्छ । तर, मोबाइल वालेटमा भएको पैसा खर्च गर्दा कहाँ कति खर्च भइरहेको छ । पैसा कति छ भनेर हेर्न सकिन्छ । त्यसले अफै बचतको बानीलाई विकास गर्छ,’ उनी भन्छन् ।

पछिल्लो समय डिजिटल रेमिट्यान्स पठाउने क्रम बढ्दै गएको उनको अनुभव छ । पहिला शतप्रतिशत रेमिट्यान्स नगदमा आधारित हुने गरेकोमा कोभिडपछि भने २० प्रतिशतसम्म डिजिटल र ८० प्रतिशत नगद रहेको उनले बताए । ‘कोभिडपछिको तथ्यांक हेर्दा बैंक, खाता र वा वालेटमा आउने अनुपात र नगदमा आउने अनुपात विस्तारै अन्तर कम भएर बैंक खाता र वालेटमा आउने रेसियो बढ्दै गएको छ,’ उनले बताए ।

पछिल्लो समय रेमिट्यान्स पठाउनेहरुले डिजिटल माध्यमबाटै पैसा पठाएर बैंक खातामा राख्ने र आवश्यक खर्च मात्रै परिवारलाई पठाउन थालेको उनले बताए । उनले भने, ‘विदेशबाट फर्केपछि केही गर्न पैसा चाहिन्छ भन्ने चेतना बढेको छ । पछिल्लो समय नेपाल सरकारले विदेश जान अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । जसले पनि बचत गर्ने बानी केही बढेको छ ।’

पछिल्लो ट्रेन्ड शिक्षित जनशक्ति रोमानिया, माल्टा क्रोएशियाजस्ता देश जाने क्रम बढे पनि ती मुलुकबाट औपचारीक माध्यममा अपेक्षाकृत रेमिट्यान्स आउन नसकेको उनले बताए । अष्ट्रेलियालगायत विकसित मुलुकबाट औपचारिक माध्यमबाट आउने रेमिट्यान्स न्युन रहेको उनले बताए । पहिले कोरियाबाट पनि अनौपचारिक माध्यमबाट पैसा पठाउनेहरु निकै कम हुने गरेकोमा अहिले अधिकांशले वैधानिक तरीकाले बठाउने गरेको उनले बताए ।

उनले भने, ‘अष्ट्रेलिया, युरोप, अमेरीका लगायतका देशको ९० प्रतिशत रेमिट्यान्स डिजिटल माध्यमबाट नै आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?