२ भदौ, काठमाडौं । उहिले ४३ वर्ष अगाडि । बागलुङ अमलाचौरमा एउटा अतिसामान्य, अझ भन्दा एउटा विपन्न परिवार थियो । खेतीपाती र दैनिक दुःखजिलो गरेर त्यो परिवार चलिरहेको थियो । परिवारमा एकदिन बज्रपात पर्यो । श्रीमती र चार छोराछोरीको जिम्मेवारी धान्दै आएका घरमुलीको अकस्मात निधनले परिवार गम्भीर शोकमा डुब्यो ।
घर धान्दै आएका मुलीको निधनपछि परिवारको जिम्मेवारी बाल्यकालमै जेठो छोराको रूपमा उनको काँधमा आयो । उसै त कलिलो उमेर, त्यसमाथि आमा, एक भाइ र दुई बहिनीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्थाले उनी केही विचलित हुन पुगे ।
किनकि, उनी स्कुल पढिरहेका थिए । एसएलसी दिने तयारीमा थिए । स्कुले ठिटोलाई घर–व्यवहारका कुरा कसरी थाहा हुनु ? एक्कासि सारा घरको जिम्मेवारी काँधमा आउँदा उनी केही विचलित हुनु अस्वाभाविक पनि थिएन ।
तर, लगत्तै मन दह्रो बनाएर आफूलाई सम्हाले । श्रीमान् गुमाएकी आमा र टुहुरा भाइबहिनीका अगाडि उनले आफूलाई गल्न दिएनन् ।
तर, उनको मन पनि कहाँ मान्थ्यो र ? एक्लै भएको मौका छोपेर धेरै पटक रुन्थे । मन शान्त पार्न पनि उनी छेउकुना गएर रुन्थे, तर आमा र भाइबहिनीका अगाडि कहिल्यै आँखामा आँशु आउन दिएनन् ।
किनकि, उनलाई थाहा थियो– घरको जिम्मेवारी काँधमा लिएको जेठोबाठो सन्तानले पनि साना भाइबहिनी झैं गल्ने हो भने परिवार धान्न सकिँदैन, परिवार अगाडि बढाउन सकिँदैन ।
‘आमा, तपाईंहरू नआत्तिनुस्, म छु, भाइबहिनीको ख्याल गर्नुहोला,’ एसएलसी दिएपछि उनले भने, ‘अब म काठमाडौं जान्छु, पढ्दै जागिर पनि खान्छु, परिवार पाल्छु ।’
भाइबहिनी र घर आमाको जिम्मेवारीमा छाडेर १६ वर्षे ठिटो बागलुङबाट काठमाडौंतिर हुइँकियो । आमा र भाइबहिनीले भारी मन गरेर उनलाई बिदाइको हात हल्लाए । यो लगभग ४२ वर्षअघिको कुरा हो ।
काठमाडौं त आइपुगे, तर खाने–बस्ने ठेगान छैन । न नातागोता छन्, न साथीभाइ । भाइबहिनीलाई राम्रो शिक्षा दिलाउने र आमालाई सुखसँग पाल्ने एकमात्र उद्देश्य बोकेर राजधानी छिरेको ठिटो केही समय काठमाडौंमै हरायो ।
राजधानी छिरेपछि पनि केही समय अनेक हन्डर, ठक्कर र सास्ती खेपेपछि त्यो ठिटोको एकदिन भाग्य खुल्यो । ‘कोही नहुनेको आखिर भगवान् हुने रहेछन्’ भन्ने कतै सुनेका उनलाई साँच्चै भगवान् रहेछन् भन्ने आभाष भयो ।
धेरै मिहिनेत र संघर्षपछि त्यही ठिटो ‘चन्द्रप्रसाद ढकाल’ ले राष्ट्रिय वाणिज्य बैंकमा जागिर पायो । वाणिज्य बैंकको सबैभन्दा तल्लो तहको त्यो जागिर खाँदा महिनाको ५ सय रुपैयाँ तलब आउने ।
चन्द्र हर्षले पुलकित भए । आँखाको डिलमा आएका खुसीका दुई थोपा आँसुलाई रोकेनन् । झर्न दिए । जागिर पाएको दिन खुसीले रातभरि निदाउन पनि सकेनन् ।
सोचे– ‘अब मेरो परिवारको दुःखका दिन सकिए । आमालाई सुखसाथ पाल्छु, भाइबहिनीलाई राम्रोसँग पढाउँछु, मिठो मसिनो खान पनि सजिलो हुने भयो ।’
त्यसपछि चन्द्रको जीवनले एउटा लय समात्यो । उनी वाणिज्य बैंकको जागिरमा दत्तचित्त भएर लागे । डेराबाट न्युरोड विशाल बजारस्थित वाणिज्य बैंकसम्मको दुईतर्फी यात्रामा उनी केही वर्षदेखि हिँडिरहेका थिए ।
त्यो बेला नेपालबाट विदेशमा गलैंचा (कार्पेट) निर्यात गर्ने लहर चलेको थियो । त्यस्ता निर्यातकर्ता व्यापारीहरू चन्द्र काम गर्ने वाणिज्य बैंकमा ऋण लिन आइरहन्थे । तीमध्ये केहीसँग चन्द्रको कुराकानी हुन थाल्यो । बिस्तारै मित्रता बढ्दै गयो ।
एकदिन डेराबाट अफिस जाँदै थिए, अकस्मात् चन्द्रलाई के लाग्यो कुन्नि ‘अब यसरी जागिरमात्र खाएर जीवनमा प्रगति गर्न सकिँदैन, बरु व्यापार गर्नुपर्छ’ भन्ने सोच आयो ।
सोच त आयो, तर व्यापार गर्नलाई पैसा चाहियो ।
यसै पनि सामान्य आर्थिक अवस्था भएको परिवार जसले केही वर्षअघि परिवार धानिरहेका मुली गुमाएको थियो । त्यसबाट बल्ल–बल्ल त्राण पाएको परिवार चन्द्रको जागिरकै कारण जेनतेन चलिरहेको थियो । भाइबहिनी स्कुल पढिरहेका थिए । आमा बनीबुतो गरेर घर धानिरहेकी थिइन् ।
बुबाको अकस्मात् निधनपछि ‘शोकलाई शक्तिमा बदल्न’ सिकेका चन्द्रलाई व्यापार गर्न पैसा कसरी जोहो गर्ने भन्ने हुटहुटी जाग्यो ।
जागिर खान गइरहेका बेला मनमा उठेको ‘अब व्यापार नगरी प्रगति हुँदैन’ भन्ने भावनालाई मूर्तरूप दिन चन्द्रले धेरै दिमाग घुमाए । धेरै माथापच्ची गरे, तर केही सिप लागेन ।
हार मान्नै आँटेका थिए । आखिर, गर्ने चाहिँ के हो ? के गरेर व्यापार गर्ने सानोतिनो पूँजी जुटाउन सकिएला ? अनेकथरी सोच्दासोच्दै रातभरि निदाउन पनि सकेनन् ।
बैंकमा ऋणका लागि आइरहने कार्पेट निर्यातकर्ता व्यापारी जोसँग चन्द्रको मित्रता भएको थियो, तिनले ‘व्यापार थाल्नुस्, हामी सहयोग गर्छौं’ भनेको भुलेका थिएनन् ।
केही दिनपछि उही दैनिकीमा अफिस गइरहेका थिए । चन्द्रको दिमागमा एउटा गजबको ‘आइडिया’ फुर्यो । ‘त्यो आइडियाले काम गरे त गजबै हुन्थ्यो’ भनेर मनमनै उद्वेलित चन्द्र कतिखेर अफिस पुगे, पत्तो पाएनन् ।
‘मलाई अलिकति ऋण चाहियो सर !,’ अफिस छिर्नासाथ वाणिज्य बैंकका हाकिमको अगाडि पुगेर चन्द्रले एक सासमा भने ।
‘कर्मचारीलाई ऋण दिन मिल्दैन, ऋण लिने हो भने जागिर छाड्नुपर्छ,’ निकै आशा भरिएको नजरले खुसीको समाचार सुन्न आतुर चन्द्रलाई हाकिमले एक निमेषमै खङ्ग्रङ्ग पारिदिए ।
उदास र हतास मुहार लिएर चन्द्र हाकिमको कोठाबाट निस्किएर कामतिर लागे । तर, उनको मनले मरे मानेन– ‘अब त झन् कुनै पनि हालतमा व्यापार नै गर्ने हो, चाहे त्यसका लागि जागिर छाड्नुपरे पनि परोस् !’
त्यो दिन जागिर खाएर डेरा फर्किएका चन्द्रले एउटा कठोर निर्णय लिए– ‘जागिर राजीनामा दिन्छु, ऋण लिएर व्यापार थाल्छु !’
भोलिपल्ट अफिस पुगेर चन्द्रले महिनाको ५ सय रुपैयाँ तलब आइरहेको राष्ट्रिय वाणिज्य बैंकको जागिरलाई तिलाञ्जली दिए ।
त्यतिबेला जागिर भनेको एकदमै ठूलो कुरा थियो । उनलाई जागिरको माया पनि थियो र जागिर छाड्नु हुँदैन भन्ने पनि थियो । तर, परिस्थिति नै यस्तो भइदियो कि उनले जागिर नछाडिकन ऋण पाउने सम्भावना नै थिएन ।
अनि, सरकारी जागिर माया मारेर व्यापारतिर छिरेका चन्द्रले दिन, रात, जाडो, गर्मी, आँधीहुरी, पानी, निद्रा, भोक, तिर्खा केही नभनी अथक मिहिनेत, कडा परिश्रम र इमान्दारीसाथ काम गर्न थाले ।
र, कार्पेट विदेश निर्यातको काम गर्न कार्गो कम्पनी खोले । यही मेसोमा उनका भाइ हेमराज (रामु) पनि एसएलसी सकेर काठमाडौं आइसकेका थिए । अनि, दाजुभाइको जोडीले व्यापारमा कसरी छलाङ मार्ने भनेर दिमाग लगाउन थाल्यो ।
३० वर्षअघि कुरा हो । चन्द्रले यता सानोतिनो व्यापार थालेका थिए । ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ भन्ने सानो अफिस खोलेर अर्को व्यवसायमा पनि चन्द्रले हात हाले । भाइ रामुले पनि सघाइरहेका थिए ।
व्यापारकै सिलसिलामा चन्द्रलाई अमेरिका जानुपर्ने भयो । अमेरिकी दूतावास गएर भिसा आवेदन दिए, फ्याट्टै भिसा लाग्यो । अमेरिका जाने भए । खुसीको सीमा थिएन, नहुनु पनि किन ?
अमेरिका जानुअघि एकदिन जापानमा रहेका चन्द्रकै गाउँका एक जना दाइसँग टेलिफोनमा कुराकानी भयो ।
कुराकानीकै क्रममा ती दाइले भने, ‘जापान आऊ यतै बसेर काम गर !’
चन्द्र त्यसपछि जापान हुँदै अमेरिका जाने भए । जापानको पनि भिसा पाए । जापान पुगे । त्यहीँ तीन महिना बसे । यता नेपालको कार्गो व्यापार भाइले सम्हालिरहेका थिए । जापान बसिरहँदा भाइ रामुलाई पनि चन्द्रले उतै बोलाए ।
जापानमा पनि दाजुभाइको सहकार्य गजब भयो । जापान बसिरहेका नेपालीले आफ्ना परिवारलाई पैसा पठाउन असाध्यै गाह्रो भएको चन्द्र–रामुले थाहा पाए ।
अब कसरी यो काम कानुनी हिसाबमा फत्ते गर्न सकिन्छ ? कसरी नेपालमा सजिलै पैसा पठाउन सकिन्छ ? भनेर दाजुभाइबीच गहन बहस भयो ।
भाइ रामुलाई जापानमै छाडेर चन्द्र नेपाल फर्किए । संसारभरि छरिएर रहेका नेपालीले दुःखजिलो गरी कमाएको पैसा नेपालमा रहेको परिवारको हातमा वैधानिक रूपमा सजिलै कसरी पुर्याउन सकिन्छ भनेर चन्द्रले लगभग ६ वर्षसम्म अध्ययन गरे ।
नेपाल राष्ट्र बैंकदेखि अनेक सरकारी निकाय धाउँदा–धाउँदा आखिर चन्द्रले विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउन पाउने गरी सरकारबाट कम्पनी खोल्ने लाइसेन्स प्राप्त गरिछाडे ।
यो पनि करिब साढे दुई दशकअघिको कुरा हो । जापान हुँदै भाइसँग भएको सल्लाह अनुसार विदेशबाट रेमिट्यान्स भित्र्याउने एउटा कम्पनी स्थापना भयो नेपालमा ।
अनि, जन्मियो– ‘आईएमई’
चन्द्रले रेमिट्यान्स भित्र्याउने कम्पनीको नाम के राख्ने भन्ने विषयमा भाइसँग सल्लाह गरे ।
जापान जानुअघि नै चन्द्रले ठमेलमा सुरु गरेको ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ कै नाम नयाँ कम्पनीमा दिने कि भन्ने छलफल भयो ।
त्यसपछि दाजुभाइले सोही कम्पनीको नामको छोटो रूप (सर्ट फर्म) ‘आईएमई’ लाई नयाँ कम्पनीको नाम बनाए ।
त्यसयता चन्द्र–रामु दाजुभाइले पछाडि फर्केर हेर्नुपरेको छैन । ‘दिन दुई गुणा रात चौगुणा’ तरक्कीको पहाड चढ्दै शिखर चुमेका उनीहरूको अबको एकमात्र उद्देश्य छ– सारा नेपालीलाई आईएमई ब्रान्ड अन्तर्गतका कम्पनीहरूको स्वामित्व दिलाउने । सबै कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने ।
केही वर्षयता चन्द्र–रामुले बनाएको ब्रान्ड ‘आईएमई’ को नाम नसुनेका नेपाली संसारमा पाउन मुस्किल छ ।
यो एकमात्र यस्तो ब्रान्ड बनेको छ, जुन रेमिट्यान्सको पर्याय नै हो भन्दा अतिशयोक्ति नहोला ।
‘अहिले त कतिसम्म हुन थालेछ भने कोही मान्छे पैसा पठाउन हाम्रो कम्पनीमा नआई अर्कै कम्पनीमा गएको छ भने पनि पैसा पठाउने बेला आईएमई गरौं न भन्ने रहेछन्,’ आईएमईका सहसंस्थापक तथा अध्यक्ष चन्द्र मुस्काउँदै भन्छन्, ‘यसले पनि हाम्रो आईएमई ब्रान्ड कतिसम्म छाएको रहेछ भन्ने पुष्टि हुन्छ ।’
आईएमईले सुरुवातमा मलेसियाबाट रेमिट्यान्स भित्र्याउन थालेको थियो । करिब साढे दुई दशकअघि नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेसिया थियो ।
नेपालीहरू वैदेशिक रोजगारीका लागि हजारौंको संख्यामा मलेसिया पुगिरहेका थिए । तर, तिनले त्यहाँ दुःख गरेर कमाएको पैसा वैधानिक हिसाबमा घर पठाउन नसक्ने अवस्था थियो ।
‘मलेसियाको बजार ट्याप गर्न मैले भाइ रामुलाई उतै पठाएँ । अनि, भाइले उता गएर बजार अध्ययनदेखि त्यहाँको नियामक निकायसम्म काम गरेपछि आईएमईले मलेसियाबाट रेमिट्यान्स ल्याउने अनुमति पायो,’ चन्द्र भन्छन्, ‘हामीले यस्तो मापदण्ड बनाएर दियौं कि मलेसियाको केन्द्रीय बैंकले त्यही मापदण्ड हेरेर अन्य कम्पनीलाई रेमिट्यान्सको लाइसेन्स दिन थाल्यो । यो मानेमा हामी गौरव महसुस गर्छौं ।’
चन्द्र–रामु दाजुभाइले यति मिहिनेत, लगन र इमान्दारी साथ काम गरे कि मलेसियाको केन्द्रीय बैंकले सुरुको पाँच वर्षसम्म त आईएमई बाहेक अन्य कुनै पनि कम्पनीलाई रेमिट्यान्स कारोबार गर्न दिएन । ‘यो हाम्रो विशुद्ध इमान्दारीको नतिजा थियो,’ चन्द्र मुस्काउँछन् ।
सुरुमा १ करोड पूँजीबाट सुरु भएको आईएमई रेमिट अहिले अर्ब नाघिसकेको छ । सुरुवातमा वार्षिक २० लाख अमेरिकी डलरबराबर रेमिट्यान्स भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य राखेका चन्द्र अहिले २० करोड डलर बराबर रेमिट्यान्स ल्याउनु सामान्य भएको खुसीसाथ सुनाउँछन् ।
पछिल्लो तथ्यांक हेर्दा त नेपाल भित्रिने कुल रेमिट्यान्सको आधा हिस्सा आईएमईले नै ल्याउने गरेको छ । यसले वार्षिक ७ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्र्याइरहेको छ ।
चन्द्रका सारथी रामु
चन्द्रका सारथी हुन् उनका भाइ रामु । बुबा बितेपछि गाउँकै स्कुलमा पढिरहेका रामु एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए ।
क्याम्पस पढ्दै दाइले भर्खर सुरु गरेको कार्गो कम्पनीको व्यवस्थापन पनि सम्हाल्न थाले । एकदिन दाइ चन्द्र जापान गए । रामुले कार्गो कम्पनीको सबै काम अगाडि बढाइरहेका थिए । लगत्तै एकदिन दाइले रामुलाई जापान बोलाए । उनी पनि जापान पुगे । र, साढे तीन वर्ष बसे ।
‘खासमा जापान बस्दाखेरी नै नेपालमा रेमिट्यान्स भित्र्याउन एउटा वैधानिक च्यानल चाहिने र त्यसको सुरुवात आफूहरूले नै गर्नुपर्ने विषयमा दाइ र मेरो गहन छलफल भयो,’ आईएमईका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज (रामु) सम्झिन्छन्, ‘त्यसपछि म सन् १९९८ मा नेपाल फर्किएँ र जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याउन हामीले राष्ट्र बैंकबाट अनुमति पायौं । तर, जापान सरकारको कानुन नभएकाले त्यता रोकेर हामीले मलेसियाबाट रेमिट्यान्स ल्याउन थाल्यौं ।’
उनका अनुसार फ्याक्स, इमेल हुँदै अन्तिममा अनलाइन सिस्टम बनाएपछि रेमिट्यान्स पठाउने र प्राप्त गर्ने ‘नेटवर्क’ बन्यो । त्यसले मलेसिया वा विश्वका जुनसुकै ठाउँबाट नेपालका अतिदुर्गम जुम्लाजस्ता ठाउँमा पनि केही मिनेटमै पैसा प्राप्त गर्न सहज भएको छ ।
अमलाचौरबाट एसएसली दिएर विज्ञान पढ्न आएका रामुले यहाँ दाइ चन्द्रले खोलेको कोल्डस्टोरमा काम पनि गर्न थाले । सँगसँगै कार्गो कम्पनी पनि थपियो । रामु बिहान क्याम्पस पढ्न जान्थे र दिउँसो कोल्डस्टोर र कार्गोको काम सँगसँगै सम्हाल्थे ।
‘सुरुदेखि नै दाइ र म जुनसुकै विषयमा छलफल गथ्र्यौं । दाइले नीतिगत कुरा हेर्नुहुन्थ्यो भने म चाहिँ अपरेसन (सञ्चालन) को काम बढी हेर्थें,’ रामु भन्छन्, ‘त्यसरी हामीले कामको विभाजन गरेका थियौं ।’
सबैको आ–आफ्नै बानी र विचारधारा हुन्छ । रामुको बानी पनि सकेसम्म ‘फ्रन्ट’ मा नदेखिने खालको छ । उनी अफिस सञ्चालन र व्यवस्थापनको काममा बढी व्यस्त हुन्छन् । ‘मलाई आन्तरिक व्यवस्थापनमै बढी रुचि छ,’ रामु खुसीसाथ भन्छन् ।
आईएमईको आकार कत्रो छ ?
सानो पूँजीबाट सुरु भएको आईएमई अहिले वित्तीय रूपमा पनि विशाल भएको छ । आईएमई ग्रुप अन्तर्गत बैंक तथा वित्त, ऊर्जा, पूर्वाधार, पर्यटन, बीमा, अटो, सूचना प्रविधि, शिक्षा, खेलकुद लगायत क्षेत्रमा लगानी विस्तार भएको छ ।
आईएमई ग्रुपले सन् १९९४ मा काठमाडौं क्षेत्रपाटीमा एउटा मिनी मार्ट (ग्रोसरी) स्थापना गरेर व्यवसाय सुरुवात गरेको थियो । लगत्तै १९९६ मा माउन्ट पुमोरी एयर कार्गो खोल्यो ।
दुई वर्षपछि १९९८ मा आईएमई ट्राभल, त्यही वर्ष सीएम ट्रोडिङ इन्टरप्राइजेज र १९९९ मा इन्टरनेसनल मनी एक्सचेन्ज कम्पनी स्थापना गरेको थियो ।
सन् २००१ मा आईएमई रेमिट कम्पनी स्थापना गरेर तीव्र गतिमा अगाडि बढेको आईएमई ग्रुपले त्यसपछि पछाडि फर्किनुपरेको छैन । २००३ मा आईएमई रेमिट विस्तार गर्दै बेलायत पुग्यो ।
त्यसैगरी २००४ मा आईएमई फाइनान्सियल इन्स्टिच्युसन स्थापना गरी वित्त क्षेत्र प्रवेश गरेको आईएमईले त्यही वर्ष ऊर्जा क्षेत्रमा लगानी गर्न हिमालयन पावर पार्टनर्स स्थापना गरेको थियो ।
बिस्तारै अगाडि बढेको आईएमईले सन् २००७ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त ग्लोबल आईएमई बैंक, सूचना प्रविधि कम्पनी स्विफ्ट टेक्नोलोजी, माउन्टेन इनर्जी नेपाल र आईएमई हर्बल कम्पनी खोल्यो ।
त्यसपछि २००८ मा आईएमई अक्सिजन र ग्लोबल आईएमई क्यापिटल स्थापना गर्यो । अर्को वर्ष २००९ मा आईएमई अटोमोबाइल्स, चन्द्रागिरि हिल्स, हाथवे इन्भेस्टमेन्ट नेपाल र आईएमई फाउन्डेसन सुरुवात भयो ।
सन् २०१० मा आइपुग्दा डिस होम मिडिया नेटवर्क र २०११ मा अमेरिकामा आईएमई रेमिट खोलेको ग्रुपले २०१२ मा आईएमई फाइनान्सियल इन्स्टिच्युसनलाई ग्लोबल आईएमई बैंकमा मर्ज गरेको थियो ।
त्यस्तै २०१५ मा आईएमई मोटर्स, २०१६ मा आईएमई डिजिटल सोलुसन, आईएमई जनरल इन्स्योरेन्स र माई मार्ट नेपाल स्थापना गरेको थियो ।
२०१७ मा आइपुग्दा आईएमई लाइफ इन्स्योरेन्स खोलेको ग्रुप २०१८ मा हार्ले डेभिडसन बाइकको नेपाल वितरक र सलाम एयरको जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त भएको थियो ।
त्यसैगरी २०२१ मा लुम्बिनी केबुल कार र मौलाकालिका केबुल कार स्थापना गरेको आईएमई ग्रुपले त्यही वर्ष एफसी चितवन फुटबल क्लब खरिद गरेको थियो ।
आईएमई ग्रुपले हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी ४५ हजारभन्दा बढीलाई रोजगारी उपलब्ध गराइरहेको छ ।
‘मेरो लक्ष्य भनेको भाइबहिनीलाई आधारभूत शिक्षा दिलाउने, आमालाई सुखसाथ राख्ने र राम्रोसँग घर चलाउने बाहेक अर्को थिएन । त्यतिबेला त्यो लक्ष्य नै महत्त्वाकांक्षी थियो,’ चन्द्र अतिसाधारण सुनिन्छन्, ‘जीवनमा कुनै ठूलो महत्त्वाकांक्षा पनि थिएन र अहिले पनि छैन !’
प्रतिक्रिया 4