२३ असार, काठमाडौं । लगभग ५१ वर्षअघि २०३० साल जेठको एक मध्याह्न । काठमाडौं चाबहिल भगवानथानका बाबुकाजी (बीके) श्रेष्ठ बारीमा काम गरिरहेका थिए ।
किसान परिवारको २० वर्षे छोरा बिकेलाई अनायास मनमा लाग्यो, ‘यो खेती किसानीमात्र गरेर वा जागिरमात्र खाएर जीवन चलाउन सकिँदैन, परिवार पाल्न सकिँदैन । त्यही भएर अब व्यापार गर्नुपर्छ ।’
भर्खर जुँगाको रेखी बस्दै गर्दा बीकेले १८ वर्षे केटौलो उमेरमै सरकारी जागिर पाइसकेका थिए । उनी एउटा सरकारी कार्यालयमा मुखिया थिए । तलब थियो, महिनाको २ सय रुपैयाँ । जागिर खान थालेको दुई वर्ष भइसकेको थियो ।
पुस्तैनी पेसा खेती किसानी भए पनि वर्षको ६ महिना पनि खान धौधौ थियो । बीकेको जागिरबाट आउने २ सयले त्यसमा सामान्य भरथेग गरे पनि ठूलो जहान परिवार पाल्न पर्याप्त थिएन ।
यत्तिको समस्या परेपछि वर्षैभरि गर्जो टार्ने कसरी भन्ने मनमा आउनु अस्वाभाविक पनि थिएन । बीकेलाई बारीमा काम गर्दैगर्दा अनायास मनमा लागेको कुरो अब भने व्यवहारमा उतार्ने हुटहुटी जाग्यो ।
व्यापार त गर्ने, तर के व्यापार गर्ने ?
उनका पितापुर्खाले नगरेको, अझ भनौं सोच्दा पनि नसोचेको काम गर्ने एउटा ‘आइडिया’ बीकेको दिमागले फुरायो ।
उनले त्यस्तो व्यापार गर्ने आइडिया त फुराए, तर घरमा बुबालाई भन्ने वा सल्लाह गर्ने आँट गरेनन् । किन पनि भन्न सकेनन् भने, उनले जे काम वा व्यापार गर्ने सोचेका थिए, त्यो बेला त्यस्तो पेसा वा काम कुनै खास जाति विशेषले मात्र गर्थ्यो।
अनि, बीके न्युरोडको एउटा तालिम केन्द्र गएर लुगा सिलाउने र मेसिन चलाउने काम सिक्न थाले । घरमा कसैलाई केही भनेनन् । बुबाआमालाई त झन् भन्ने कुरै भएन । भनेको भए उनको आइडिया सिधै ‘फ्लप’ खाने निश्चित थियो । काल जमाना नै त्यस्तै थियो ।
मुखियाको जागिर खाँदै लगभग एक वर्ष सिलाइ कटाइ र मेसिन चलाउने तालिम लिएपछि बीकेले महिनाको ६० रुपैयाँ भाडा बुझाउने गरी एकदिन सिलाइ मेसिन लिएर घर आए । अनि, श्रीमतीको सहयोगमा टोलछिमेकका उध्रिएका र च्यातिएका लुगा टाल्ने काम थाले । फाट्टफुट्ट स्कुलका पोसाक (ड्रेस) पनि सिलाउन थालेका थिए ।
बिहान सखारै उठेर खेतबारीको काममा जाने र रातिमात्र घर फर्किने उनका बुबा शेरबहादुर घरमा सिलाइ मेसिन र छोराले थालेको पेसा देखेर आक्रोसित भए । बुबाले तुरुन्तै मेसिन फिर्ता लान निर्देशन दिए । बुबाको अगाडि बीकेको केही चलेन । मेसिन फिर्ता गरिदिए ।
तर, त्यही घटनापछि भने बीकेले परिवार (बुबा) विरुद्ध ‘विद्रोह’ गरे, ‘अब खेती किसानी गरेरमात्र गुजारा चल्दैन, व्यापार–व्यवसाय नगरी यति ठूलो परिवार कसरी पाल्ने ?’
बुबा पनि के कम, भनिदिए, ‘खेती किसानी पनि गर, जागिर पनि खाउ, तर यस्तो पेसा गर्न पाइँदैन ।’
लामो बहस गर्दा पनि बुबा आफ्नो अडानबाट टसको मस भएनन् । बीके पनि के कम, उनी पनि गलेनन् । र, अन्तिम निर्णय सुनाए– ‘म घर छाड्छु, तर व्यापार–व्यवसाय छाड्दिनँ ।’
र, त्यो एकदिन पनि आयो । बीकेले श्रीमती र भर्खर जन्मिएका एक छोरा र एक छोरी बोकेर चाबहिलको घर छाडिदिए । बुबा र आमाले बीकेलाई रोक्न सकेनन् । बुबाआमा निराश भए, बीके नयाँ गन्तव्यको खोजीमा निस्किए ।
अनि, जन्मियो ‘श्रेष्ठ टेलरिङ’
सम्भवतः २०३१ साल सुरुतिर बीकेले श्रीमती र दुई लालाबाला लिएर घर त छाडे । तर, जाने कता ? टुंगो थिएन । खोइ के सुरमा उनी सिधै बागबजार आइपुगे । त्यहीँका एक घरबेटीसँग कुराकानी गरे र डेरा बस्न थाले ।
व्यापार त गर्नैपर्यो । त्यसमाथि मुखियाको जागिर पनि जारी थियो । उनको मन त्यसै कहाँ मान्थ्यो र ?
अनि, एकदिन श्रीमतीसँग सल्लाह गरे । सल्लाह गर्नुपर्ने अभिभावकलाई त उतै चाबहिलमै छाडेर आइसकेका थिए । श्रीमतीसँग भएका अलिअलि सुनका गरगहना नेपाल बैंकमा लगेर धितो राखे । र, त्यसबाट ५ सय रुपैयाँ हात पर्यो । गदगद हुँदै डेरा फर्किए ।
‘त्यो ५ सय रुपैयाँले एउटा सिलाइ मेसिन किनेर ल्याएँ,’ ५० वर्षअघिको त्यो ‘बिद्रोही कदम’ सम्झिँदै भावुक मुद्रामा बीके अनलाइनखबरसँग पोखिन्छन्, ‘अनि, जन्मियो श्रेष्ठ टेलरिङ !’
एउटा कोठाबाट सुरु भएको श्रेष्ठ टेलरिङलाई दशकौंदेखि नेपालको टेलरिङ क्षेत्रको ‘अगुवा ब्रान्ड’ बनाउन बीकेले कतिविधि संघर्षका पहाड फोरे भन्ने सायद उनलाई मात्र थाहा छ ।
अहिले ती संघर्षका जीवन्त कथा सुनाउँदा यो पुस्तालाई अचम्म लाग्छ । खेती किसानी र सरकारी जागिर, अनि टेलरिङको काम सँगसँगै लैजाँदा धपेडी हुनु स्वाभाविक हो । बिस्तारै खेती किसानी छाडेका बीकेले जागिर र श्रेष्ठ टेलरिङलाई केही वर्ष समानान्तर लगे । तर, पाँच वर्षभन्दा अगाडि लान सकेनन् । २०२८ सालदेखि खाएको मुखियाको जागिर २०३६ सालमा राजीनामा दिएर बिट मारे ।
त्यसपछि सुरु भयो बीकेको श्रेष्ठ टेलरिङमा दैनिक चौबिस घण्टाको काम । बिस्तारै श्रेष्ठ टेलरिङले बजार लिँदै गयो । श्रीमतीको साथ छँदै थियो, त्यसले पनि उनलाई भिन्नै ऊर्जा प्रदान गर्थ्यो ।
उनले दिलोज्यान दिएर यसरी काम गरे कि केही वर्षमै श्रेष्ठ टेलरिङ नेपालकै सबैभन्दा चलेको टेलरिङ ब्रान्ड बन्न पुग्यो । सुटमात्र होइन, सर्ट, पाइन्ट सिलाउने भीड थेगिनसक्नु हुन थाल्यो । एउटा कोठाले नपुग्ने भयो, बीकेले ठाउँ बढाउँदै लगे ।
अब बीकेका बुढाबुढीले मात्र काम धान्न नसक्ने स्थिति सिर्जना भयो । ग्राहकको भीड र बजार माग धान्न मुस्किल हुन थाल्यो । अनि, बीकेले सिलाइ मेसिनमात्र थपेनन्, कर्मचारी पनि भर्ना गरे । आफ्नै पसलमा सिलाइमात्र होइन, कपडा पनि किन्न पाइने सुविधा सुरुदेखि नै उपलब्ध गराएका उनले गुणस्तरीय सामान र उत्कृष्ट ग्राहक सेवाबाट सबैको मन जित्न थाले ।
‘कपडा सिलाउने पसलमै रोजेर कपडा किन्न पाउने र सिलाउन पाउने सुविधा उपलब्ध गराउने नेपालकै पहिलो टेलरिङ पसल श्रेष्ठ टेलरिङ हो,’ बीके दाबीसाथ भन्छन्, ‘हाम्रो बजार रणनीति पछ्याउँदै बिस्तारै देशभरि श्रेष्ठ टेलरिङ जस्तै पसल खुल्न थाले । यो मानेमा म आफूलाई गौरवान्वित महसुस गर्छु ।’
बीकेलाई अझ बढी खुसी केले दिन्छ भने ५० वर्ष पहिले सुट सिलाएका केही ग्राहक अहिले पनि श्रेष्ठ टेलरिङमै लुगा सिलाउन आइरहेका छन् ।
‘ग्राहकको यतिविधि माया र विश्वास देखेर म बेला–बेला भावुक हुन्छु,’ जीवनको उत्तरार्द्ध (७१ वर्ष) मा हिँडिरहेका बीके थप्छन्, ‘सायद ग्राहकको यस्तै अगाध माया, स्नेह र विश्वासकै कारण होला अहिले श्रेष्ठ टेलरिङमा सिलाएको सुट वा सर्ट–पाइन्ट नपुगेको देश संसारमा कमै होला ।’
संसारभरि फैलिएका नेपाली फर्केर मातृभूमि आउँदा यदि सुट सिलाउनुपर्यो भने श्रेष्ठ टेलरिङ नै सम्झेर आउने गरेको उनी सुनाउँछन् । विदेश जान लागेका र विवाह गर्न लागेका अधिकांश नेपाली सुट वा दौरासुरुवाल सिलाउन श्रेष्ठ टेलरिङ आउने गरेको उनी गर्वसाथ सुनाउँछन् ।
२०३१ सालमा श्रेष्ठ टेलरिङ सुरु गर्र्दा बीकेसँग जस्तो ऊर्जा थियो, ५० वर्षपछि अहिले पनि उनी त्यस्तै ऊर्जा लिएर काम गरिरहेका भेटिन्छन् । फरक यति हो, पहिले चौबिसै घण्टा खटिने उनी अहिले भने स्वास्थ्य अवस्थाका कारण बिहान ११ बजेतिर बागबजारस्थित श्रेष्ठ टेलरिङ आइपुग्छन् ।
‘सामान्य स्वास्थ्य अवस्थाका कारण पहिले जस्तो खट्न नसके पनि मभित्रको काम गर्ने ऊर्जा भने उस्तै छ,’ बीके हौसिन्छन्, ‘ज्यानले धानेसम्म काम गरिरहने आत्मविश्वास अझै छ ।’
बीके बिहान ११ बजे श्रेष्ठ टेलरिङ छिरेपछि एक कप कफी पिउँछन् । बागबजारस्थित आराधना कम्प्लेक्सको भुइँतलामा रहेको श्रेष्ठ टेलरिङभित्र कान्छो छोरा र कान्छी छोरी तथा कर्मचारीहरूसँग भलाकुसारी गर्छन् । अघिल्लो दिनको कारोबारबारे जानकारी लिन्छन् ।
केहीबेर भुइँतलामा बसेपछि मध्याह्नतिर भर्याङ उक्लिँदै पहिलो तलामा रहेको शोरुम पुग्छन् । त्यसपछि कर्मचारीहरूलाई आवश्यक निर्देशनदेखि सबै कुरामा मिहिन पाराले नजर दौडाउँछन् । शोरुममा तयारी अवस्थामा राखिएका कुनै कोट, पाइन्ट, सर्ट, दौरासुरुवाल, अन्य कपडा नमिलेका, खुम्चिएका भए मिलाएर राख्न कर्मचारीलाई निर्देशन दिन्छन् ।
उनको दिनचर्या यसैगरी बितिरहेको छ । विगतमा उनी बागबजार बाहेक अन्य पाँच आउटलेटमा दिनहुँजसो पुग्ने गर्थे । तर, अहिले पारिवारिक सदस्यले सम्हालिरहेका छन् । महिना, डेढ महिनामा ती आउटलेट पुग्न चाहिँ पुग्छन् ।
पहिले–पहिले बीकेसँगै श्रीमती पनि दिनहुँ श्रेष्ठ टेलरिङ आउँथिन् । तर, स्वास्थ्य अवस्थाका कारण पछिल्लो समय आउन सकेकी छैनन् । तै पनि, डेढ–दुई महिनामा एकपल्ट भने उनी श्रीमती लिएर बागबजार आउँछन् ।
नेपाली टेलरिङ बजारमा श्रेष्ठ टेलरिङको हिस्सा आधा
बीकेको पाँच दशकको अथक मिहिनेत, परिश्रम र लगावले बनेको ‘कर्पोरेट ब्रान्ड’ श्रेष्ठ टेलरिङले अहिले नेपालको टेलरिङ बजारको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
बीकेकै शब्दमा भन्नुपर्दा श्रेष्ठ टेलरिङले निर्माण गरेको ब्रान्ड त्यत्तिकै बनेको होइन । यसमा उनको परिवार र कार्यरत सबै कर्मचारीको उत्तिकै योगदान छ ।
श्रेष्ठ टेलरिङमै काम गरेर छाडेपछि आफैं टेलरिङ पसल सञ्चालन गर्नेको संख्या पनि धेरै छ । आफैंले काम सिकाएका कर्मचारीले आफैं व्यवसाय सुरु गर्दा बीकेलाई गौरव महसुस हुन्छ ।
‘बजार प्रतिस्पर्धामा उनीहरू भेटिन्छन्, मलाई एकदमै गर्व महसुस हुन्छ,’ बीके थप्छन्, ‘उनीहरूले पनि गुणस्तर र ब्रान्ड नबिगारिदिउन् भन्ने चाहिँ मनमा लागिरहन्छ ।’
श्रेष्ठ टेलरिङका हाल बागबजार सहित त्रिपुरेश्वर, केएल टावर, चाबहिल चोक, धुम्बाराही र मैतीदेवीमा आउटलेट सञ्चालनमा छन् । ‘हाम्रा सबै आउटलेटमा गुणस्तर र ब्रान्ड एउटै छ । यो नै हाम्रो विशेषता हो,’ उनी थप्छन्, ‘एउटा आउटलेट स्थापना गर्न डेढदेखि दुई करोड रुपैयाँ खर्च लागेको छ ।’
बागबजारको एउटा कोठाबाट सुरु भएको श्रेष्ठ टेलरिङले कोरोना महामारी सुरु हुनुभन्दा अगाडिसम्म ४ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको थियो ।
तर, कोरोना महामारीबाट श्रेष्ठ टेलरिङ अछुतो रहन सक्ने कुरै भएन । साढे चार दशक अविछिन्न व्यवसाय गरेका बीके कोरोना महामारीबाट हच्किए । व्यवसाय पनि केही खस्कियो । कर्मचारी टिकाइराख्न मुस्किल भयो ।
कर्मचारी कटौती नगरी बीकेले धरै पाएनन् । आधा हाराहारीलाई भारी मनसाथ बिदाइ गरे । तर, नआत्तिकन बीकेले व्यवसायलाई अगाडि बढाए । अहिले श्रेष्ठ टेलरिङमा १ सय ७० भन्दा बढी कर्मचारी उनको साथमा छन् ।
सात दिन चौबिसै घण्टा (२४/७) ग्राहक सेवामा समर्पित श्रेष्ठ टेलरिङको अर्को विशेषता के हो भने सुट सिलाउन दिएको २४ घण्टाभित्र ग्राहकको हातमा ‘डेलिभरी’ हुन्छ ।
‘यस्तै विश्वासका कारण श्रेष्ठ टेलरिङले बजारमा आफ्नो भिन्नै पहिचान र ब्रान्ड बनाउन सफल भएको हो,’ बीके थप्छन्, ‘अहिले पनि महिनामा १५ सय जोरसम्म सुट सिलाइरहेका छौं । सर्ट, पाइन्ट वा दौरा सुरुवाल सिलाइ सुटबाहेक हो ।’
श्रेष्ठ टेलरिङ महँगो होइन
श्रेष्ठ टेलरिङमा इटाली, चीन, बैंकक लगायत देशका कपडामात्र होइन, नेपालमा उत्पादित कपडा पनि पाइन्छन् ।
‘हामीकहाँ ब्रान्डेड कपडामात्र पाइने भएकाले पनि ग्राहकले श्रेष्ठ टेलरिङ महँगो छ भन्ने गरेको सुनिएको हो,’ बीके भन्छन्, ‘तर, गुणस्तरहीन कपडा हामी बेच्दैनौं । हामी सरल मूल्यमा गुणस्तरीय र ब्रान्डेड सामान बेच्छौं ।’
उनका अनुसार गुणस्तरीय र ब्रान्डेड सामान किन्नेलाई श्रेष्ठ टेलरिङ उपयुक्त गन्तव्य हो । ग्राहकको यही विश्वासकै कारण पाँच दशकदेखि निरन्तर व्यवसाय सञ्चालन भइरहेको हो ।
‘उद्यमी–व्यवसायीप्रति सरकारको व्यवहार ठिक छैन’
सरकारले उद्यमी–व्यवसायीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारप्रति भने बीके खासै चित्त बुझाउँदैनन् ।
‘उद्यमी, व्यवसायी, व्यापारी भनेका चोरै हुन्, फटाहा हुन्, ठगै हुन्, इमान्दारिता छैन भन्ने प्रवृत्ति अझै देखिन्छ,’ उनी भन्छन्, ‘उद्यम–व्यापार गरेर लगानी गरी रोजगारी पनि दिइरहेकालाई सरकारले झन् दुःख दिइरहेको छ । सरकारले त प्रोत्साहन पो गर्ने हो, दुःख दिने त होइन नि !’
अब छोराछोरीले अगाडि बढाउँछन्
जीवनका ५० वर्ष श्रेष्ठ टेलरिङलाई दिएका बीके अब छोराछोरीलाई कम्पनी अगाडि बढाउन दिन तयार भएर बसेका छन् ।
मैतीदेवीको आउटलेट जेठो छोराले सम्हालिरहेका छन् । कान्छो छोरा र कान्छी छोरीले बागबजारको आउटलेट हाँकिरहेका छन् ।
‘तिमीहरू कमाउन सक्छौ कमाएर खाउ, कमाउन सकेनौ भने मैले जति कमाएको छु, त्यतिमै चित्त बुझाउ भनेर छोराछोरीलाई भनेको छु,’ बीके भन्छन्, ‘मैले रुख रोपिसकेँ, फल पाकिसक्यो, अब टिपेर खाने, गोडमेल गरेर खाने, यो यस्तै हो भन्दै काटेर खाने हो कि के हो, उनीहरूले आफैं बुझ्छन् ।’
छोराछोरीले पनि सधैं सकारात्मक हिसाबले कुरा गर्ने गरेको उनी सुनाउँछन् । श्रेष्ठ टेलरिङ ब्रान्डलाई छोराछोरीले अझै धेरै पुस्तासम्म अगाडि लैजाने विश्वास उनको छ ।
‘छोराछोरीले पनि हामी श्रेष्ठ टेलरिङलाई अगाडि बढाउँछौं, तपाईंले चिन्ता नगर्नुस् भनेका छन्,’ बीके भन्छन्, ‘यस मानेमा पनि म औधी खुसी छु ।’
सम्हाल्ने मान्छे नहुँदा काठमाडौं बाहिर गएनौं
श्रेष्ठ टेलरिङको आउटलेट काठमाडौं उपत्यका बाहिर पनि लाने सोच नभएको भने होइन । बीकेले आफैं यसबारे केही वर्ष पहिले पहल पनि थालेका थिए । तर, विविध कारण सम्भव हुन नसकेको उनी सुनाउँछन् ।
‘श्रेष्ठ टेलरिङको ब्रान्ड इमेज अनुसार गुणस्तर कायम गर्न पनि सकिँदैन भन्ने भयो,’ बीके भन्छन्, ‘त्यसपछि सम्हाल्ने मान्छे पनि नभएपछि काठमाडौं बाहिर आउटलेट खोल्ने योजना स्थगित गरेँ ।’
धेरैले श्रेष्ठ टेलरिङको फ्र्यान्चाइजी खोल्न प्रस्ताव पनि गरेका थिए, तर, बीकेले आधा शताब्दी लामो ‘लिगेसी’ जोगाउन सकिँदैन कि भन्ने डरका कारण पनि यसमा अगाडि बढ्न चाहेनन् ।
सुट र दौरासुरुवाल सिलाउन नेतादेखि कलाकारसम्म
श्रेष्ठ टेलरिङ कपडा पारखीको गन्तव्यमात्र होइन, अनि स्वदेश तथा विदेशमा रहेका नेपालीको रोजाइको टेलरिङ सपमात्र पनि होइन, यहाँ नेपाली राजनीतिका शीर्ष नेतादेखि कलाकारिता क्षेत्रका अधिकांश कलाकार सुट वा दौरासुरुवाल सिलाउन आइपुग्छन् ।
बीकेका अनुसार अधिकांश पूर्वप्रधानमन्त्रीदेखि वर्तमान मन्त्री, सांसद हुँदै चलचित्र क्षेत्रमा व्यस्त कलाकार अधिकांशले श्रेष्ठ टेलरिङमा सुट वा दौरासुरुवाल सिलाएका छन् ।
‘सरकार परिवर्तन हुनासाथ वा नयाँ सरकार गठन हुनासाथ मन्त्रीहरूको सथप ग्रहण हुनुअघि उहाँहरू दौरासुरुवाल सिलाउन आइहाल्नुहुन्छ,’ बीके रमाइलो मान्छन् ।
र, बीके अन्तिममा श्रेष्ठ टेलरिङको सफलताका कारण यसरी खुलाउँछन्, ‘श्रेष्ठ टेलरिङलाई नेपालको टेलरिङ क्षेत्रकै पायोनियर ब्रान्ड बनाउन सफल भएँ । तर, यसका लागि धेरै नै संघर्ष गर्नुपर्यो । आर्थिक अवस्था कमजोर भएपछि यो काममा लागेको थिएँ । निरन्तरको मिहिनेत, लगाव, इमान्दारितासँगै यो पेसाबाहेक अरू नसोचेका कारण एउटा ठूलो कर्पोरेट ब्रान्ड बनाउन सफल भएको हुँ ।’
आफूले अथाह संघर्ष, उतारचढाव, घामपानी नभनी चौबिसै घण्टा खटेर बनाएको श्रेष्ठ टेलरिङ ब्रान्डलाई आफूपछि छोराछोरी र त्यसपछिका पुस्ताले पुस्तौंसम्म लगिरहुन् भन्ने भित्री चाहना बीकेको छ ।
‘मेरो इच्छा र चाहनालाई सायद मेरा छोराछोरी र तिनका पुस्ताले बुझेर अगाडि बढ्ने विश्वास छ,’ बीके उत्साहित हुन्छन् ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4