१६ भदौ, काठमाडौं । यो निकै पुरानो कुरा हो । ७६ वर्षअघि पूर्वी पहाडको दुर्गम जिल्ला तेह्रथुमको एउटा गाउँ ‘आठराई’ को एउटा सामान्य परिवारमा एउटा बालकको जन्म हुन्छ । बालक हुर्कंदै जान्छ, अनि स्कुल जाने उमेरमा पुग्छ । दुर्गम ठाउँ पढ्न पनि मुस्किल । स्कुल पढ्न दिनहुँ तीन–चार घण्टा नहिँडी धर नपाइने ।
तर, केटोको परिवारले उसलाई स्कुल पढाउने निर्णय गर्यो र गाउँभन्दा धेरै पर रहेको एउटा स्कुलमा भर्ना गरिदियो । केटो स्कुल जान थाल्यो । पढ्न भनेपछि केटो मरिहत्ते गर्थ्यो । पढाइमा टाठो त्यो केटोले यस्तरी मिहिनेत गर्यो कि विद्यालय शिक्षाको ‘फलामे ढोका’ मानिने एसएलसीमा पहिलो प्रयासमै सफलता हात पार्यो ।
एसएलसी त पास भइयो, अब के गर्ने ? केटो असमञ्जसमा पर्यो । खोइ, के सुरमा हो एक्कासि उसले ‘म काठमाडौं जान्छु !’ भनेर परिवारमा भनिदियो ।
बाआमा र परिवारका अन्य सदस्य अचम्भित भए । ‘काठमाडौं कसरी जाने ? त्यहाँ गएर कहाँ बस्ने ? खाने ठेगान खोइ ? काठमाडौंमा राखेर पढाउने हाम्रो हैसियत छ र ?,’ एक्कासि परिवारबाट प्रश्नको ओइरो लाग्यो ।
‘होइन, म जसरी पनि काठमाडौं जाने हो, उतै पढेर जागिर पनि गर्छु,’ केटोले दृढ हुँदै भन्यो, ‘उता पुगेर जागिर भयो भने परिवारलाई पनि राम्रो हुन्छ, त्यही भएर मलाई काठमाडौं जाने चाँजो मिलाइदिनुस् ।’
आखिर, केटोको अगाडि परिवारको केही लागेन । बाआमाले ऋणपान गरेर उसलाई काठमाडौं पठाइदिए । अनि, भारी मन गरेर छोरालाई बिदाइको हात हल्लाए । छोरो पोकोपन्तुरो कसेर नेपाल खाल्डोतिर झर्यो ।
यो २०२२ सालतिरको कुरा हो । केटो जेनतेन काठमाडौं आइपुग्यो । अनि, घर छाड्नु अघि परिवारले भनेका कुरा झल्झली सम्झियो– ‘काठमाडौंमा बस्ने कहाँ हो ? खाने कहाँ हो ?’
केटोलाई साँच्चै आपत आइलाग्यो । काठमाडौं त आइयो, तर न चिनजानका कोही छन्, न नातेदार छन्, न खाने–बस्ने ठेगान । केटोको दिमाग एकछिन सन्न भयो ।
तर, एक निमेषमै सम्हालिएर मनमनै अठोट गर्यो– ‘काठमाडौंमा म स्थापित भएरै छाड्छु !’
उसको त्यो अठोट यति बलियो थियो कि ‘अब काठमाडौंमा कसरी स्थापित हुने ?’ भन्ने ध्याउन्नमा केटो अगाडि बढ्न थाल्यो ।
२०२३ साल । उही केटो कतै जागिर पाइन्छ कि भनेर काठमाडौंका सडक नापिरहेको थियो । एकदिन हिँड्दा हिँड्दै बसन्तपुरस्थित हनुमानढोका दरबार स्क्वायर पुगेको केटोको एक जना विदेशी पर्यटकसँग जम्काभेट हुन पुग्यो ।
‘के तिमी मलाई सहयोग गर्न सक्छौ ?,’ ती विदेशीले भने ।
गाउँ हुँदा अंग्रेजी विषयमा पनि रुचि राख्ने केटोलाई एउटा विदेशी पर्यटकले अकस्मात प्रश्न गरेपछि उसले जानेको जति अंग्रेजीमा बोलेर हनुमानढोका दरबार स्क्वायरबारे बताइदियो ।
केटोले बताइदिएको जानकारी सुनेर ती विदेशी खुसी भए । केटो त यसै पनि गदगद, पहिलो पटक विदेशीसँग जो बोल्न पाएको थियो ।
त्यो समय नेपालमा भर्खरै विदेशी पर्यटकको चहलपहल हुन थालेको थियो । कारण, एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि संसारभरिका पर्यटकको आँखामा नेपाल परेको थियो ।
त्यसपछि बिस्तारै नेपाल विदेशी पर्यटकको आँखामा पर्न थालेको थियो । बाहिरी संसारबाट अलग नेपाल, त्यसमाथि राजधानी काठमाडौं विदेशी पर्यटकमाझ शनैः शनैः चिनिन थालेको थियो ।
हो, त्यही विदेशी पर्यटकसँग कुरा गरेपछि आठराईको त्यो केटोलाई अनायास लाग्यो– ‘खासमा पर्यटन क्षेत्रमा पो केही गर्न सकिन्छ जस्तो छ ।’
तर, गर्ने चाहिँ के ?
त्यो बेला भर्खर खुलेको थियो ट्राभल एजेन्सी– ‘काठमाडौं ट्राभल’ । यो ट्राभल एजेन्सी खोलेका थिए पर्यटन व्यवसायी दम्पती द्वारिकादास श्रेष्ठ र अम्बिका श्रेष्ठले ।
पर्यटनमा बिस्तारै झुकाव राख्दै गएको केटोले अनायास सोही ट्राभल एजेन्सीमा जागिर पायो । केटो खुसीले पुलकित भयो । र, मिहिनेत साथ दत्तचित्त भएर काम गर्न थाल्यो ।
केही समय काठमाडौं ट्राभलमा काम गरेर पर्यटनबारे अनुभव हासिल गरेपछि केटोलाई लाग्यो– ‘यसरी होइन, अब आफ्नै व्यवसाय गर्नुपर्छ ।’
त्यसपछि झन्डै एक वर्ष केटो पर्यटन क्षेत्रमा केही त पक्कै गर्न सकिएला भनेर अहोरात्र खटिन थाल्यो । विदेशी पर्यटकलाई सेवा दिने ट्राभल एजेन्सी खोल्न सकिन्छ कि भनेर केटो दिनहुँ कुद्न थाल्यो ।
त्यो बेला एक–दुइटा ट्राभल एजेन्सी काठमाडौंमा खुलेका थिए । जसले विदेशीलाई नेपाल घुमाउँथे ।
केटोलाई लाग्यो– ‘हो, यो ट्राभल एजेन्सी खोल्न सके पर्यटन क्षेत्रमा पक्कै केही राम्रै काम गर्न सकिन्छ । परिवारलाई पनि राम्रे भरथेग हुन्छ ।’
अनि, केटो अगाडि बढ्यो ट्राभल एजेन्सी खोल्नतिर । ट्राभल एजेन्सी कहाँ दर्ता गर्ने, सरकारलाई के कति दस्तुर बझाउनुपर्छ, पैसा कति लाग्छ जस्ता यावत् प्रक्रिया बुझ्नै उसलाई एक वर्ष लाग्यो ।
र, केटोको जिन्दगीमा त्यो एकदिन आएरै छाड्यो ।
अनि, खुल्यो– नटराज टुर्स एन्ड ट्राभल्स
हो, त्यही केटो ‘प्रजापति (पीपी) प्रसाईं’ ले २०२४ सालमा काठमाडौं घण्टाघर छेउमै खोल्यो– नटराज टुर्स एन्ड ट्राभल्स ।
त्यसपछि अगाडि बढेको नटराज टुर्स अहिले ५७ वर्षको पाको भइसकेको छ । साढे पाँच दशकभन्दा बढी अवधिदेखि अनवरत पर्यटक सेवामा समर्पित नटराज स्थापना गर्न र यसलाई बलियो टेको दिन पीपीले दिनरात, हावापानी, आँधीहुरी, भोकतिर्खा केही भनेनन् ।
सबैलाई पन्छाउँदै यस्तरी अगाडि बढे कि, सायद पीपी आफैंले पनि नटराज यो उचाइमा पुग्छ भन्ने कल्पना गरेका थिएनन् ।
उनको त्यो अथक मिहिनेत, कडा परिश्रम, इमान्दारिताको पराकाष्ठा र जोसँग पनि सहज घुलमिल हुने अति शालिन व्यवहारले नटराजले नेपालको पर्यटन उद्योगमा बिस्तारै भिन्नै छाप छाड्दै जान थाल्यो ।
‘पीपीजीले आफ्नो खल्तीमा २५ पैसा नहुँदा पनि नटराज टुर्स स्थापना गर्नुभएको थियो, यो विषयमा उहाँ सधैं गर्व गर्नुहुन्थ्यो,’ पीपीका समकालीन पर्यटन व्यवसायी (स्वर्गीय) टेकचन्द्र पोखरेलले पीपीको सम्झनामा २०६८ सालमा प्रकाशित ‘प्रजापति : एउटा असल मानिसको सम्झना’ पुस्तकमा लेखेका छन्, ‘काठमाडौं ट्राभलमा काम गर्दै पीपीजीले पर्यटन क्षेत्रमात्र नभई सरकारी निकायदेखि धेरै कम्पनीमा राम्रो सम्बन्ध बनाइसक्नुभएको थियो । त्यसैको आडमा उहाँले नटराज टुर्स स्थापना गर्नुभयो ।’
पीपीले नटराज खोलेका बेला दरबारमार्गमा बल्ल बजार बस्दै थियो । रत्नपार्क र घण्टाघर वरिपरि विशेष चहलपहल हुन्थ्यो । किनकि, त्यहाँ रेस्टुरेन्ट, एक–दुइटा विदेशी वायुसेवा कम्पनीका कार्यालय, केही निजी कम्पनीका कार्यालय त्यहीँ वरिपरि थिए ।
काठमाडौंको त्यो बेलाको ‘प्राइम लोकेसन’ मा रहेको नटराज टुर्स यस्तो गन्तव्य बनिदियो कि पर्यटन क्षेत्रमा चासो भएकाहरू घण्टाघर छेउछाउ पुग्दा सिधै नटराजमा छिर्थे । पर्यटन, पर्यटक, ट्राभल, ट्रेकिङ, माउन्टेनियरिङ, एयरलाइन्स, कार्गो, होटल, लज जस्ता विषयमा केही जान्न बुझ्न परे सबैको एउटै थलो नटराज नै बन्न थाल्यो ।
‘पीपी दाइ हरहिसाबले नेपालको बामेसर्दो पर्यटन व्यवसायलाई अगाडि बढाउन लागिपरेका प्रोफेसनल थिए,’ पत्रकार कनकमणि दीक्षितले सोही पुस्तकमा पीपीलाई सम्झेका छन्, ‘त्यतिबेला त्रिचन्द्र कलेज पढिरहँदा म घण्टाघर छेउमा रहेको नटराज ट्राभल्सको अफिसमा जान्थेँ । पर्यटन र पदयात्रामा मेरो रुचि बढ्दै गएको थियो । पीपी दाइ मलाई विदेशी पत्रिका पढ्न हौस्याउनुहुन्थ्यो । नटराजको अफिसमा रहेका ट्राभल म्यागजिनहरू मेरा यात्राका मार्गदर्शक बन्थे ।’
पीपीका अर्का समकालीन पर्यटन व्यवसायी कर्ण शाक्य पीपी पर्यटन क्षेत्रकै सबैभन्दा मिल्ने साथी भएको सम्झिन्छन् ।
‘शाही परिवारको हालिमुहाली भएको पर्यटन क्षेत्रमा प्रजा (पीपी) ले नटराज टुर्स खोलेर आफ्नो संस्थाको राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि वर्चश्व कायम गरे,’ शाक्यले उक्त पुस्तकमा पीपीलाई सम्झिएका छन्, ‘मनमा इमान्दारी, काँधमा जिम्मेवारी र दिमागमा समझदारी प्रजाको पहिचान थियो ।’
पीपीको नटराज बिस्तारै पर्यटन क्षेत्रको ‘ब्रान्ड’ कम्पनी बन्दै जान थाल्यो । नेपाल घुम्न आउने पर्यटकको रोजाइमा पनि बिस्तारै नटराज पर्न थाल्यो । यो सबै पीपीको उत्कृष्ट सार्वजनिक सम्बन्धको करामत थियो ।
पीपीले नटराजलाई यति उचाइमा लगिसकेका थिए कि नेपाल घुम्न आउने कुनै यस्ता पर्यटक थिएनन्, जसले नटराज टुर्सको नाम नसुनेको होस् ।
यो क्रमले तीन दशक पार गरिसकेको थियो । नटराज टुर्स अनवरत ३२ वर्षमा कुदिरहेको थियो । सबै कुराले परिपक्व भइसकेको नटराजलाई अझै उचाइमा लाने पीपी अहोरात्र खटिरहेका थिए ।
पीपी आफ्नोमात्र व्यवसाय फलोस् फुलोस् भन्ने कहिल्यै मनमा राख्थेनन् । सबैको भलो हुनुपर्छ भन्ने र एकदमै सहयोगी मनका उनी सामूहिक हितका लागि धेरै संघसंस्थाको नेतृत्वमा पनि पुगे ।
पीपीले सन् १९७७ देखि १९९१ सम्म १४ वर्ष हिमालयन उद्धार संघको नेतृत्व गरेका थिए । त्यसैगरी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर, रोटरी क्लब अफ पाटन, अमेरिकन सोसाइटी अफ ट्राभल एजेन्ट्स (आस्टा)–नेपाल च्याप्टर र नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) को पनि नेतृत्व गरे ।
त्यसबाहेक नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा उपाध्यक्ष, नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य, सार्क पर्यटन समिति सदस्य, तारागाउँ विकास समितिका सदस्य लगायत धेरै भूमिका निर्वाह गरे ।
अनि, अस्ताए पीपी
कामकै सिलसिलामा एकदिन पीपी पोखरा पुगेका थिए । यो २०५६ साल भदौ १९ गतेको कुरा हो । पीपी पोखराबाट नकोन एयरको जहाजको टिकट काटेर काठमाडौं फर्किंदै थिए ।
नकोनको जहाज काठमाडौं प्रवेशमात्र गरेको थियो, दहचोक डाँडाको टुप्पोमा रहेको दूरसञ्चार टावरमा ठोक्किएर रामकोटतर्फको खोल्सामा खस्यो, जहाजमा सवार पीपीसहित सबैको दुःखद निधन भयो ।
नेपालको पर्यटन उद्योगले उक्त जहाज दुर्घटनामा एक होनहार, अति इमानदार र सहयोगी व्यवसायीलाई सदाका लागि गुमायो । पर्यटन क्षेत्रमा अपूरणीय क्षति हुन पुग्यो ।
जहाज दुर्घटनामा आफ्ना अत्यन्त प्रिय मित्र पीपीलाई गुमाएपछि सन्त नेता तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पहिलो प्रतिक्रिया थियो– ‘हे भगवान्, यो के सुन्नुपर्यो… मैले !’
जब अस्ट्रेलियामा दुर्घटनाको खबर पुग्यो…
पीपीका छोरा शिखर प्रसाईं उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा थिए । उतै बसेर पढिरहेका थिए ।
एकदिन घरबाट दिदी शिखाले फोन गरिन् । शिखरले फोन उठाउनासाथ शिखाले आत्तिँदै भनिन्, ‘भाइ, बुबाको दुर्घटना भयो, तिमी तुरुन्तै नेपाल आउनुपर्ने भयो ।’
‘खासमा के भएको हो ?,’ २१ वर्षे कलिला शिखरले एक सासमा सोधे ।
शिखाले जहाज दुर्घटनाबारे सबै बेलिविस्तार लगाइन् । बुबाले आफूहरूलाई सदाका लागि छाडेर जानुभएको रुँदै भाइलाई सुनाइन् ।
दिदीको कुरा सुनेर शिखर एकछिन केही बोल्न सकेनन् । मन भारी भयो, आँखा रसाए, तै पनि आफूलाई सम्हाले ।
र, लगत्तै भोलिपल्टकै हवाई टिकट काटेर नेपाल फर्किए ।
‘अस्ट्रेलिया बसेर स्नातक अध्ययन गरिरहेका बेला नेपालमा अकस्मात अभिभावक (बुबा) गुमाउनुपरेको खबर दिदीले सुनाएपछि केही सोच्नै सकिन,’ शिखर भावुक हुन्छन्, ‘भोलिपल्टकै टिकट काटेर नेपाल फर्किएँँ ।’
शिखरलाई आमा शारदा र दिदी शिखालाई सम्हाल्न धेरै गाह्रो भयो । आमा शारदा नेपालकै सम्भवतः पहिलो सरकारी लाइसेन्स प्राप्त टुरिस्ट गाइड हुन् ।
शिखर नेपाल फर्किनासाथ धार्मिक विधिविधान पूरा गरे । त्यसपछि अब के गर्ने भन्ने टड्कारो प्रश्न उनीसँग रह्यो । अन्य विकल्प पनि थिएन ।
अनि, शिखरले सम्हाले नटराज टुर्स
उच्च शिक्षा अध्ययन अधुरै छाडेर नेपाल फर्किएपछि शिखरको काँधमा नटराज टुर्सको जिम्मेवारी आइपुग्यो ।
उनले पनि विचार गरे– ‘अब मैले परिवार सम्हाल्नुपर्छ र बुबाले लिगेसी ब्रान्ड बनाउनुभएको नटराज टुर्सलाई अझै उचाइमा लानुपर्छ ।’
र, शिखरलाई नटराजलाई साढे दुई दशकदेखि हाँकिरहेका छन् । अकस्मातको विपद्का कारण नटराज सम्हाल्नुपर्दा उनलाई केही समय चुनौतीको पहाड फोड्नुपर्ने अवस्था आयो । तर, सबै पार लगाउँदै उनी निरन्तर अगाडि बढिरहे ।
बुबा पीपीले बनाएको लिगेसी ब्रान्डलाई खस्किन दिएनन्, बरु अझै उचाइमा लान दिलोज्यानले काम गरे । र, बिस्तारै सफल पनि हुँदै गए ।
‘बुबा हुनुभएको भए नटराज अझै अर्को उचाइमा पुग्थ्यो,’ शिखर भन्छन्, ‘जब म आएर काम गरेँ, मलाई सिक्न, बुझ्न र बुबाको अभावलाई लिएर अगाडि बढ्न नै धेरै समय लाग्यो । उमेर पनि कलिलो, जसले मलाई बच्चामा हुर्काए, बोके, जोसँग बसेँ, उनीहरूसँग काम गर्नुपर्दा अलि गाह्रो भयो । बुबाको अभाव र मार्गनिर्देशन सधैं खट्किरहन्छ । पढाइ सकेर आएपछि बुबासँगै काम गर्ने योजना थियो, तर समयले धेरै चाँडै बोलायो ।’
नटराजको जिम्मेवारी काँधमा आएपछि काम गर्दै अगाडि बढ्दै गएका शिखरले नटराजलाई खुला विश्वविद्यालय मान्ने गरेका छन् । अस्ट्रेलियामा विश्वविद्यालयको पढाइ पूरा गर्न नसके पनि नटराजको काम विश्वविद्यालयको भन्दा कम नभएको उनी बताउँछन् ।
शिखरले पनि पाटा नेपाल–च्याप्टरमा सचिव हुँदै अध्यक्षको कार्यभार सम्हाले । त्यस्तै नाटो, नेपाल पर्वतारोहण महासंघ, योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन–नेपाल च्याप्टर, रोटरी क्लब लगायत संघसंस्थाका कार्यसमितिमा बसेर पनि काम गरे ।
साढे दुई दशकको काम गराइको अनुभवले नेपाललाई अझै पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा बेच्न नसकिएको महसुस शिखरलाई भइरहन्छ । अझै पर्यटन उद्योगको विकासमा धेरै काम गर्न बाँकी रहेको उनको बुझाइ छ ।
‘पर्यटनमा पर्याप्त पूर्वाधार नहुँदा सोचेजति पर्यटक ल्याउन सकिएको छैन भन्ने मेरो साढे दुई दशकको अनुभवले भन्छ,’ शिखर भन्छन्, ‘नेपालमा ब्याकप्याकर आउनै नहुने भन्ने होइन, त्यस्ता पर्यटक पनि चाहिन्छन् र अब गुणस्तर (लक्जरी) मा पनि जान ढिला गर्नुहुन्न । यी दुवैलाई सँगै लान सकियो भने नेपाललाई राम्रोसँग बेच्न सकिन्छ ।’
‘डिजिटल’ पर्यटनतिर नटराज
पीपीले ‘म्यानुअल’ मार्फत थालेको पर्यटन व्यवसायलाई दोस्रो पुस्ताका शिखरले अब ‘डिजिटल’ बनाउँदै लगेका छन् । यो उनले आफूपछिका पुस्तालाई हेरेर गरेका हुन् ।
शिखरले पछिल्लो पटक नटराजका कामलाई डिजिटल बनाउँदै लैजान ‘ट्रिप टर्बो नेपाल’ सञ्चालनमा ल्याएका छन् । यो ट्रिप टर्बोले पर्यटन सम्बद्ध सबै काम जस्तै हवाईसेवा, कार्गो, टुर, होटल, ट्रेकिङ, माउन्टेनियरिङ लगायत अनलाइनबाटै गर्छ ।
यसका लागि वेब एप पनि सार्वजनिक भइसकेको र हालसम्म गुगल प्लेस्टोरमा ४० हजार पटक डाउनलोड भइसकेको शिखर खुसीसाथ सुनाउँछन् ।
‘अब मेरा छोराछोरीले गर्ने पर्यटन व्यवसाय भनेको डिजिटल हो, हामीसम्मले म्यानुअल्ली गरेको काम अब एक क्लिकमा हुन्छ,’ शिखर भन्छन्, ‘बुबाले छाडेर जानुभएको लिगेसी ब्रान्ड नटराजलाई डिजिटल कम्पनीमा रूपान्तरण गर्दै अगाडि बढिरहेका छौं । सायद, हाम्रो काम देखेर बुबा जहाँ भए पनि खुसी हुनुहुन्छ होला.. ।’
प्रतिक्रिया 4