१३ साउन, काठमाडौं । यो उहिलेको कुरा हो । हिसाबै गरेर भन्नुपर्दा ६० वर्ष नाघिसकेको छ । काठमाडौं असनको एउटा नेवार परिवारका दुई दाजुभाइबीच औधी मिल्ती थियो । परिवार पनि ‘हुनेखाने’ थियो ।
दाजुले यसो बन्द–व्यापारतिर हात हाल्न थाले भने भाइ पढाइमा मिहिनेती र टाठो, यस्तरी पढे कि कलेज पढ्दा पढ्दै सरकारी जागिरमा नाम निकाले । उनको जागिरले परिवारमा थप सहज वातावरण बनाइदियो ।
दाजु बसन्त शाक्य व्यापारतिर लागे भने भाइ कर्ण शाक्यले सरकारी जागिरलाई निरन्तरता दिए । कर्ण नेपालकै पहिलो ‘डीएफओ’ (जिल्ला वन अधिकृत) बने ।
एकदिन बसन्त र कर्णबीच सल्लाह भयो– ‘यसरी अगाडि बढ्दा परिवार पाल्न पनि गाह्रो हुन्छ र आर्थिक अवस्था पनि बलियो हुँदैन, बरु केही नयाँ काम गर्नुपर्छ ।’
के गर्ने त ? दुवैको दिमागमा खासै केही फुर्न पनि सकेको थिएन ।
त्यही समयको छेकोमा एकदिन बसन्त र कर्ण भारतको बम्बई पुगे, जहाँ उनीहरू एउटा ‘गेस्ट हाउस’ मा बास बसे ।
त्यही गेस्ट हाउसमा बसेकै बेला दाजुभाइलाई पनि काठमाडौं गएर त्यस्तै गेस्ट हाउस खोल्ने ‘आइडिया’ फुर्यो । त्यसपछि दाजुभाइ काठमाडौं फर्किए । आ–आफ्नो दैनिकीमा लागे । कर्णको सरकारी जागिर जारी थियो । जागिरका क्रममा कर्णको त्यो बेला नेपालमा काम गर्न आएको ‘अमेरिकन पिस कोर’ भन्ने स्वयंसेवी संस्थासँग असाध्यै राम्रो सम्बन्ध थियो ।
त्यो संस्था मार्फत नेपाल आएका विदेशीलाई खान र बस्न दिन होटल खोल्ने आइडिया बसन्त र कर्णले फ्याट्ट फुराए । भारतमा फुरेको आइडियालाई मूर्तरूप दिने बेला जो आएको थियो । बसन्त र कर्णका बुबाले त्यो बेला ठमेलमा रहेको कुमार नरसिंह राणाको एउटा दरबार किनेका थिए । शाक्य परिवार असनबाट त्यही घरमा सरेको थियो ।
अनि, बसन्त र कर्णले निर्णय गरे– आफूहरू बसेको घरलाई नै किन होटल नबनाउने ?
यो सन् १९६८ अर्थात् विक्रम सम्वत् २०२५ सालको कुरा हो । होटल त खोल्ने, तर के नाम राख्ने ? कति वटा कोठा भएको होटल बनाउने ? होटलमा एक रात बास बसेको कति पैसा लिने ?
बसन्त र कर्णलाई गाह्रो त हुने नै भयो । किनकि, उनीहरू जे काम गर्न जाँदै थिए, त्यो उनीहरूको कुनै पुस्ताले न गरेको थियो, न जानेको थियो । सुरुवात नै आफैं गर्दै थिए, सजिलो त कहाँ थियो र !
धेरै दिन घोत्लिएपछि बसन्त र कर्णले होटलको नाम फुराए– ‘काठमाडौं गेस्ट हाउस’ ।
उनीहरूले होटलकै लागि भनेर छुट्याए जम्मा चार कोठा । र, एउटा कोठामा एक रात बास बसेको भाडा तय गरे– १ रुपैयाँ ।
अनि, बसन्त र कर्णले देखेको सपनाले ठमेलमा मूर्तरूप लियो– काठमाडौं गेस्ट हाउस बनेर ।
बसन्त र कर्णले ठमेलको धानखेतको बीच फाँटमा होटलको जग हाल्दा अलिकति पर नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको मात्र घर थियो ।
बसन्त र कर्णले जुन ठाउँमा काठमाडौं गेस्ट हाउस खोलेका थिए, त्यो ठाउँ राजधानीको व्यस्त बजार असन, नयाँसडकबाट अलि परको ‘दुर्गम गाउँ’ थियो । व्यस्त बजारमा जन्मे हुर्केका दाजुभाइले ‘गाउँ’ मा गएर होटल खोलिदिए, जोखिम मोलेर ।
धानखेतको फाँट, उस्तै परे दिउँसै स्याल कराउने ठमेलमा त्यो बेला होटल खोल्नु चानचुने कुरा थिएन । जोखिम त यसै पनि थियो ।
बसन्त र कर्णले ठमेलमा होटल खोल्दा त्यो बेला बढीमा दुई–तीन वटा ठूला होटल भर्खर–भर्खर खुलेका थिए काठमाडौंमा, साना होटल छँदै थिएनन् भन्दा पनि फरक पर्दैन ।
त्यो बेला भर्खर खुलेका त्यस्ता ठूला होटलमा बस्न बढी पैसा लाग्ने भयो । भनेपछि नेपाल आइपुगेका विदेशी, जसले बढी पैसा खर्च गर्न सक्थेनन्, तिनलाई पनि खान र बास बस्न होटल त चाहियो ।
हो, त्यस्ता पर्यटक लक्ष्य गरेर खोलिएको काठमाडौं गेस्ट हाउसलाई संसारभरिका पर्यटकको ‘रोजाइ’ को होटल बनाउन र ‘एसियाका उत्कृष्ट १ सय होटल’ भित्र पार्न बसन्त र कर्णले अथक मिहिनेत, कडा परिश्रम र दिनरात नभनी निरन्तर नखटिएको भए नेपालको ‘लिगेसी होटल’ बन्थेन ।
हो, त्यही काठमाडौं गेस्ट हाउस अहिले ५६ वर्षको परिपक्व र पाको बनिसकेको छ । जसलाई उनीहरूको दोस्रो पुस्ताले हाँकिरहेको छ ।
काठमाडौं गेस्ट हाउसको जग हाल्ने बसन्तले यो धर्तीबाट बिदा लिएको दशक नाघिसकेको छ । भाइ कर्ण ८२ वर्षको उमेरमा पनि बेला–बेला काठमाडौं गेस्ट हाउस पुगेर छोरा र कर्मचारीहरूसँग भलाकुसारी गरिरहेका हुन्छन् ।
‘काठमाडौं गेस्ट हाउस हाम्रो भावनात्मक सम्पत्ति हो । यसलाई पैसामा गणना गर्न सकिँदैन,’ काठमाडौं गेस्ट हाउस हाँकिरहेका उनै कर्णका कान्छा छोरा राजन शाक्य भावुक हुन्छन्, ‘खासमा म यसलाई सम्पत्तिभन्दा बढी मेरो जेठो दाइको रूपमा हेर्छु ।’
नहेरुन् पनि किन ? ५२ वर्षीय राजनको बाल्यकाल यही काठमाडौं गेस्ट हाउसमा बुबा कर्णसँगै बितेको थियो ।
चार कोठाबाट सुरुवात, भाडा प्रतिरात १ रुपैयाँ
५६ वर्षअघि काठमाडौं गेस्ट स्थापना गर्दा जम्मा चार कोठा थियो । कोठा भाडा प्रतिरात प्रतिपर्यटक १ रुपैयाँ लिइन्थ्यो । समय क्रमसँगै बिस्तारै चार कोठाबाट आठ, १६, ३० हुँदै ५६ वर्षको यात्रामा आइपुग्दा १ सय ३० कोठा सञ्चालनमा छन् ।
साढे पाँच दशकअघि काठमाडौं गेस्ट हाउस सञ्चालनमा आउँदा कर्मचारी राख्ने कुरा पनि भएन । बसन्त र कर्ण आफैं होटलको रिसेप्सनमा बस्थे । दुवैका श्रीमतीले होटलका कोठा सरसफाइ गर्ने, खाना बनाउने काम गर्थे ।
यो क्रमले केही वर्ष निरन्तरता पायो । जब चार कोठाको होटलमा बिस्तारै पर्यटक आवागमन बढ्न थाल्यो, तब कोठा पनि आठ, १६ हुँदै ३० सम्म बनाइयो । अनि, शाक्य परिवारका सदस्यले मात्र होटल धान्न सक्ने स्थिति रहेन ।
अनि, कर्मचारी संख्या पनि बिस्तारै थपिन थाल्यो । अहिले काठमाडौं गेस्ट हाउसमा सवा सयजति कर्मचारी काम गरिरहेका छन् ।
करिब आठ रोपनी क्षेत्रफल ओगटेको काठमाडौं गेस्ट हाउसको पर्यटक लोभ्याउने पक्ष भनेको यसको बगैंचा हो । बगैंचाले मात्र चार रोपनी क्षेत्रफल ढाकेको छ । अहिले काठमाडौं गेस्ट हाउसमा एउटा संग्रहालय पनि सञ्चालनमा छ ।
आतिथ्य सत्कार उद्योगमा काठमाडौं गेस्ट हाउसको भिन्नै महत्त्व छ । यो सम्भवतः नेपालकै पहिलो यस्तो पर्यटन संस्था हो, जसलाई नेपालको पर्यटनको कुरा गर्दा छुटाउनै मिल्दैन ।
यदि पर्यटन र होटल उद्योगको कुरा गर्दा काठमाडौं गेस्ट हाउसको नाम छुटायो भने त्यो एकदमै अपूरो हुन्छ । यो पर्यटन र होटल उद्योगले नै जानेको, बुझेको र भनेको कुरा हो ।
‘जब नेपालमा वर्षको ८–१० हजार पर्यटक आउँथे, त्यो बेलादेखि अहिले १० लाख १२ लाख पर्यटक आइरहेका बेलासम्म काठमाडौं गेस्ट हाउसले धेरै आरोह अवरोह पार गरेको छ,’ राजन भन्छन्, ‘त्यही अनुसार हामीले आफूलाई परिमार्जन गर्दै लग्यौं । बुबाहरूको मार्गनिर्देशन पछ्याउँदै यहाँसम्म आइपुगेका हौं ।’
प्रसिद्धिका हिसाबमा काठमाडौं गेस्ट हाउस अहिले पनि ‘एक नम्बर’ मा रहेको राजन सुनाउँछन् । नेपाल घुम्न आउने संसारका धेरै देशका पर्यटकको रोजाइमा काठमाडौं गेस्ट हाउस पर्ने गरेको छ । केही वर्षअघि प्रकाशित एक प्रख्यात गाइडबुकले काठमाडौं गेस्ट हाउसलाई ‘एसियाका उत्कृष्ट १०० होटल’ भित्र समेटेको थियो ।
काठमाडौं गेस्ट हाउसले पाहुना (पर्यटक) को पैसाको उचित महत्त्व दिने गरेको राजन बताउँछन् । ‘हामीले जति पैसा पर्यटकसँग लिन्छौं, त्यसको सही मूल्य दिन्छौं, सेवामा कुनै सम्झौता गर्दैनौं ।’
राजनका अनुसार ठमेलकै पहिलो होटल काठमाडौं गेस्ट हाउसले पाहुना सेवामा सम्झौता नगरेकै कारण ५६ वर्षदेखि हरेक पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
‘पछिल्लो ५६ वर्षमा ठमेलमा सयौं होटल आए र गए, आइरहेका पनि छन् । ठमेलमै पाँचतारे होटल पनि छन् । तिनका कोठा हाम्रोभन्दा राम्रा पनि छन्,’ राजन भन्छन्, ‘तर, पाहुनाको पैसाको सही मूल्य दिने हाम्रो विशेषताका कारण पर्यटकले काठमाडौं गेस्ट हाउस नै रोज्ने गरेको हाम्रो अनुभव छ ।’
एउटा यस्तो कोठा जसको भाडा रातको २ डलर
काठमाडौं गेस्ट हाउसले सुरुवातदेखि नै नवीन सोचसाथ पाहुना सेवा दिँदै आएको छ । यसको एउटा आकर्षक र रमाइलो उदाहरण के हो भने काठमाडौं गेस्ट हाउसले एउटा यस्तो कोठा बनाएको थियो, जसमा एक रात बस्न जम्मा २ अमेरिकी डलरमात्र शुल्क लाथ्यो ।
हाल चार वटा भवन रहेको काठमाडौं गेस्ट हाउसको सबैभन्दा पुरानो भवन जुन कुमार नरसिंह राणासँग राजनका हजुबुबाले किनेका थिए, हो त्यही भवनमा रहेको एउटा कोठाको भाडा प्रतिरात २ डलर तोकिएको थियो ।
दशकौंसम्म यही दरमा त्यो कोठा बिक्री भएको थियो । युरोप, अमेरिका, अस्ट्रेलिया लगायतबाट आउने पर्यटक त्यही २ डलरवाला कोठामा बस्न तँछाड मछाड गर्ने गरेको राजन सुनाउँछन् ।
‘त्यो बेला काठमाडौं गेस्ट हाउसको त्यही कोठामा बस्नका लागि युरोप, अमेरिकाका पर्यटकले २ डलरको बैंक चेक हुलाकबाट पठाउँथे,’ राजन भन्छन्, ‘यसले पनि काठमाडौं गेस्ट हाउस विश्वसनीयता र पर्यटक सेवामा कति उत्कृष्ट थियो भन्ने पुष्टि गर्छ ।’
त्यसरी हुलाकबाट आएका २ डलरका चेक सुरक्षित राखेर राजनले काठमाडौं गेस्ट हाउसको रिसेप्सनको भित्तामा फ्रेमिङ गरेर राखेका छन् ।
‘हामीले हाम्रो वास्तविक धरातल र विगत नबिर्सिनका लागि पनि त्यस्तो २ डलरको चेकलाई सुरक्षित गरेर राखेका हौं, यो भनेको लिगेसी होटलको प्रमाण पनि हो,’ राजन भन्छन्, ‘पैसा धेरै कमाएपछि मान्छेले आफ्नो धरातल बिर्सिने गर्छन् । धरातल बिर्सिनु भनेको भविष्य अन्धकार बनाउनु हो ।’
काठमाडौं गेस्ट हाउस सुरु हुँदा १ रुपैयाँमा कोठा बेचिएको थियो । त्यो बिस्तारै बढ्दै गयो । अनि, २ डलरवाला कोठा २०७२ सालको विनाशकारी भूकम्प अघिसम्म बेच्ने गरिएको थियो । भूकम्पले त्यो कोठा भएको भवनमा क्षति पुर्याएपछि २ डलरवाला कोठा सदाका लागि बन्द गरिएको थियो ।
अहिले त काठमाडौं गेस्ट हाउसका कोठा प्रतिरात ५ सय डलरसम्म मूल्यका छन् । भूकम्पभन्दा केही वर्ष अघिसम्म काठमाडौं गेस्ट हाउसले आफ्ना कोठा बिक्री गर्दा ‘२ डलर टु २०० डलर’ भन्ने ‘ट्यागलाइन’ प्रयोग गर्ने गरेको राजन सुनाउँछन् ।
काठमाडौं गेस्ट हाउस हुँदै ‘केजीएच ग्रुप’ को यात्रा
काठमाडौं गेस्ट हाउसबाट सुरु भएको कर्ण र उनको परिवारको होटल व्यवसाय केही वर्षयता ‘केजीएच ग्रुप’ मा बदलिएको छ । यो ग्रुप अन्तर्गत काठमाडौं, लतिलपुर, पोखरा, लुम्बिनी, चितवन लगायत पर्यटन गन्तव्यमा करिब एक दर्जनजति होटल सञ्चालन भइरहेका छन् । ती होटलमा ७ सयजतिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पछिल्लो पटक केजीएचले काभ्रेको दाप्चामा पनि होटल सञ्चालन गर्ने तयारी तीव्र गतिमा अगाडि बढाएको छ । केजीएचले सम्पदा, कला, संस्कृति, इतिहासलाई आफ्ना होटलमा पूर्णरूपमा समावेश गर्दै आएको छ ।
‘हाम्रो कला, संस्कृति, सम्पदा, इतिहासलाई भविष्यको पुस्तालाई हस्तान्तरण गर्न सकिने गरी केजीएचले काम गरिरहेको छ,’ राजन भन्छन्, ‘नेपालीपन र हाम्रा धरोहरलाई एकीकृत गर्दै आतिथ्य सत्कार उद्योगमा दिगो बनाउने हाम्रो लक्ष्य हो ।’
पर्यटनमा राजनको तीन दशक
स्कुल तहको पढाइ भारत र अमेरिकामा स्नातक अध्ययन सकेर सन् १९९५ मा नेपाल आएपछि पर्यटन उद्योगमा होमिएका राजनले यसैमा तीन दशक बिताइसकेका छन् ।
दिदीको विवाहमा घर आएका राजनलाई बुबा कर्णले भने, ‘अब नेपालमै बसेर आफ्नो कम्पनी हेर्न थाल ।’
राजनले यसो गमे, ‘अमेरिकामा पनि अवसरै अवसर छ, तर उता अर्काको कम्पनीमा काम गर्ने हो । यहाँ त एउटा ब्रान्ड बनिसकेको आफ्नै कम्पनी सम्हाल्ने हो । होस्, अब यतै बसेर काम गर्छु ।’
अनि, राजन नेपालमै रोकिए । त्यसपछि बागमतीमा धेरै पानी बगिसकेको छ । राजनले काठमाडौं गेस्ट हाउसलाई थप उचाइमा लैजान बुबा कर्ण, दाजु सुनिलको प्रत्यक्ष मार्गनिर्देशन अनुसार मिहिनेत, परिश्रम जारी राखेका छन् ।
राजन काठमाडौं गेस्ट हाउस प्रवेश गरेपछि नै नेपालमा अनेक राम्रा र नराम्रा घटना हुन पुगे । उनकै बुबा कर्णको नेतृत्वमा सरकारले ‘भिजिट नेपाल १९९८’ जस्तो अभियान सञ्चालन गर्यो । नेपालको पर्यटनले एकखालको उचाइ लिएका बेला सँगसँगै माओवादी द्वन्द्व सुरु हुँदा त्यसले पर्यटनमा गम्भीर धक्का दियो ।
हुँदाहुँदा २०७२ सालको विनाशकारी भूकम्प, लगत्तै दक्षिणी छिमेकी भारतको नाकाबन्दी र सन् २०१९ को कोभिड–१९ विश्वव्यापी महामारीले नेपालको पर्यटन साह्रै नराम्ररी थलिन पुग्यो ।
यी सबै घटनाका साक्षी राजनले पर्यटन र आफूहरूको लिगेसी होटल ब्रान्ड काठमाडौं गेस्ट हाउसको विश्वसनीयता कायम राख्न कुनै कसर बाँकी राखेनन् ।
राजनले पनि ३० वर्षको समय काठमाडौं गेस्ट हाउसको नाममा सुम्पिइसके । ठूलो बुबा बसन्त, बुबा कर्ण, दाइ सुनिलहरूले जसरी काठमाडौं गेस्ट हाउसलाई एउटा ‘लिगेसी होटल ब्रान्ड’ बनाउन दिलोज्यान दिए, त्यसमा आफूले पनि एउटा इँटा थप्न पाएकोमा राजन अभिभूत हुन्छन् ।
यो मानेमा राजन आफूलाई भाग्यमानी ठान्छन् । आफूले काठमाडौं गेस्ट हाउस प्रवेश गर्दा नै यो एउटा ‘विश्व प्रसिद्ध होटल ब्रान्ड’ बनिसकेको राजन बताउँँछन् ।
जब २१ वर्षको उमेरमा राजन काठमाडौं गेस्ट हाउस प्रवेश गरेका थिए, त्यो समयमा काठमाडौं गेस्ट हाउस सञ्चालनमा आएकै ३० वर्ष हाराहारी भइसकेको थियो । बुबा कर्ण र दाइ सुनिलले यसलाई सफलताको शिखरमा पुर्याइसकेका थिए ।
अनि, त्यही शिखरबाट काठमाडौं गेस्ट हाउसलाई तल झर्न नदिन राजनले दिनरात नभनी मिहिनेत गरे, नजानेका कुरा बुबा र दाइसँग सल्लाह गर्दै अगाडि बढे । यही कारण राजनले पनि काठमाडौं गेस्ट हाउसलाई एउटा मुकाममा पुर्याउन सकेका हुन् ।
‘पैसामात्रै भएर वा व्यापारमात्र भएर लिगेसी बन्दैन । मसँग करोडौं, अर्बौं रुपैयाँ छ र होटल खोल्दैमा त्यो लिगेसी होटल बन्दैन,’ राजन भन्छन्, ‘लिगेसी त्यसै बन्दैन । यो बन्न हजारौं मानिसको पसिना, मिहिनेत, विश्वास, लगाव र लामो उतार चढावको शृङ्खला पार गरेको हुन्छ । यो मानेमा म औधी खुसी छु किनभने म लिगेसी होटल ब्रान्ड काठमाडौं गेस्ट हाउसको एउटा अंग हुँ ।’
आफ्ना ठूलो बुबा, बुबा, दाइहरूको धैर्य र मिहिनेतले बनेको होटल ब्रान्डको यही लिगेसीलाई आफूपछिको पुस्तामा बिस्तारै स्थानान्तरण गर्ने योजनामा राजन छन् । र, छोराछोरीले पनि यसलाई अगाडि बढाएर लैजाने विश्वास राजनसँग छ ।
‘मेरो लागि काठमाडौं गेस्ट हाउस अमूल्य (प्राइसलेस) छ,’ राजन दृढ सुनिन्छन्, ‘जसले जतिसुकै ठूलो मूल्य अफर गरे पनि म काठमाडौं गेस्ट हाउस बेच्दिनँ । किनकि, यसमा म भावनात्मक रूपले गाँसिएको छु । यो मेरोमात्र होइन, शाक्य परिवारको प्राण हो ।’
तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4