+
+
ब्रान्ड स्टोरी :

६० वर्षदेखि एउटै स्वादमा नेबिको बिस्कुट

नेबिको नेपालको सम्भवतः एकमात्र यस्तो खाद्य ‘ब्रान्ड’ हो जसलाई ६० वर्षदेखि हरेक नेपालीले खाँदै आएका छन्, मन पराउँदै आएका छन् । र, अहिले त विदेशतिर पनि खान थालेका छन् ।

सुशील भट्टराई सुशील भट्टराई
२०८१ साउन २० गते २०:४७

२० साउन, काठमाडौं । नेपालमा एउटा यस्तो खाने चिज छ, जसलाई बिहान चियासँग होस् वा दिउँसो खाजाका रूपमा, जुनसुकै बेला खान सकिन्छ । र, यसको स्वाद सायद अधिकांश नेपालीको जिब्रोमा झुन्डिएको छ भन्दा अतिशयोक्ति पनि नहोला ।

अझै भन्नुपर्दा, यो नेपालको सम्भवतः एकमात्र यस्तो खाद्य ‘ब्रान्ड’ हो जसलाई ६० वर्षदेखि हरेक नेपालीले खाँदै आएका छन्, मन पराउँदै आएका छन् । र, अहिले त विदेशतिर पनि खान थालेका छन् ।

यो हो नेपाली ब्रान्ड– ‘नेबिको बिस्कुट’ । ६ दशकदेखि निरन्तर एउटै स्वाद र गुणस्तर पस्किरहेको नेबिको बिस्कुट कसरी ‘लिगेसी’ ब्रान्ड बन्न सक्यो ? कसरी स्थापना भएको थियो ? बजार प्रवेश गर्नासाथ कसरी हलचल मच्चाएको थियो ? को हुन् यसको सूत्रधार ? किन नेपालीले रुचाइरहेका छन् ?

यी यावत् प्रश्नको सही जवाफ पाउन धेरै पहिलेको समयमा फर्किनुपर्छ ।

०००

यो २०१६ सालतिरको कुरा हो । ‘देश विकास गर्नुपर्छ’ भनेर अगाडि बढिरहेका राजा महेन्द्रले काठमाडौंमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे ।

उनको घोषणा अनुसार काठमाडौंमा औद्योगिक क्षेत्र स्थापना गर्न बालाजु छनोट गरियो । त्यही वर्ष ५ फागुनमा राजा महेन्द्रले नेपालकै पहिलो औद्योगिक क्षेत्र ‘बालाजु औद्योगिक क्षेत्र’ शिलान्यास गरे । अनि, जोडतोडले सुरु भयो निर्माणको काम ।

उद्योगका लागि चाहिने आवश्यक सबै सुविधा उपलब्ध हुने औद्योगिक क्षेत्र स्थापना गर्न अमेरिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्‍यो ।

औद्योगिक क्षेत्रका लागि भनेर सरकारले ६ सय ७० रोपनी जग्गा अधिग्रहण गर्‍यो । चार वर्ष निर्माणको काम गरेपछि राजा महेन्द्रले नै १९ जेठ २०२० सालमा बालाजु औद्योगिक क्षेत्र उद्घाटन गरे ।

हो, नेबिको बिस्कुटको प्रारम्भ यही बालाजु औद्योगिक क्षेत्रबाट भएको हो । औद्योगिक क्षेत्र उद्घाटन भएको दुई वर्षपछि २०२२ साल (सन् १९६४) मा नेबिको बिस्कुटको कारखाना यही औद्योगिक क्षेत्रमा स्थापना भयो ।

त्यहाँबाट अगाडि बढेको नेबिको बिस्कुटले कुनै पनि दिन पछाडि फर्केर हेर्नुपरेको छैन । उपभोक्ता, बजार, गुणस्तर लगायत सबै कुरामा नेबिकोले कहिल्यै सम्झौता पनि गरेको छैन ।

‘तत्कालीन राजसंस्थाको पहलमा केही निजी उद्योगी–व्यवसायीलाई समेटेर नेबिको बिस्कुट प्रालि स्थापना भएको थियो,’ नेबिको बिस्कुटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होमनाथ न्यौपाने भन्छन्, ‘अहिले नेबिकोको अध्यक्षमा पूर्वराजपरिवार सदस्य राजबहादुर सिंह हुनुहुन्छ । उहाँ पूर्वराजा ज्ञानेन्द्रको ज्वाइँ हो । उद्योगको अपरेसन उहाँले नै हेर्नुहुन्छ ।’

नेबिको बिस्कुटले ६० वर्षको यात्रामा आफूलाई धेरै विषयमा परिमार्जन गरेको छ । सानो र कम उत्पादन क्षमताका मेसिन विस्थापित गर्दै ठूला र धेरै परिमाण उत्पादन गर्ने मेसिन जडान गरिसकेको छ ।

बिस्कुटबाट सुरु भएको यात्रा पछिल्लो पटक चकलेट हुँदै ओट, चोकोज, म्युजलीसम्म आइपुगेको छ । त्यतिमात्र होइन, नेपालमा मात्र बिक्री भइरहेको नेबिको बिस्कुट भारत, सिंगापुर, बेलायत हुँदै अस्ट्रेलियासम्म पनि पुग्न थालेको छ ।

पछिल्लो डेढ दशकयता उत्पादन परिमाण पनि १० गुणाले बढाउन सफल भएको छ । हाल नेबिकोले बालाजुको उद्योगबाट प्रतिघण्टा तीन टन र भैरहवामा प्रतिघण्टा एक टन उत्पादन गरिरहेको छ ।

यो हिसाबमा कम्पनीले दुवै ठाउँमा रहेका उद्योग १६ घण्टा सञ्चालन गर्ने गरेको छ । यसबाट नेबिकोले दैनिक ६४ टन बिस्कुट उत्पादन गर्दै आएको सीईओ न्यौपाने बताउँछन् ।

‘नेबिकोको वार्षिक कारोबार अहिले एकदेखि सवा अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ र हामीले ५ सय जनालाई प्रत्यक्ष र ९ हजार जनालाई अप्रत्यक्ष रोजगारी दिइरहेका छौं,’ न्यौपाने भन्छन्, ‘यी दुवै परिमाणलाई हामी अझै बढाउँदै लाने योजनामा छौं ।’

नेबिकोले स्थापना हुँदा ८२ लाख रुपैयाँ लगानी भएको थियो । यसले जर्मन प्रविधिमा आधारित बिस्कुट उत्पादन थालेको थियो । सुरुमा प्रतिघण्टा ५ सय किलो उत्पादन गर्ने मेसिन जडान भएको थियो ।

त्यसपछि ब्रिटानियासँग प्राविधिक सहकार्य भएपछि भने कम्पनी थप विस्तार हुँदै गयो । कम्पनीले प्रत्येक वर्ष नयाँ प्रविधि भित्र्याउँदै उत्पादन गरिरहेको छ ।

नेबिको बिस्कुट उद्योग सञ्चालनमा आएको एक दशकसम्म कुनै पनि बिस्कुट कम्पनी सञ्चालनमा आएनन् । त्यही एक दशकको अवधिमै नेबिकोले बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको थियो ।

एक दशकपछि भने थोरै संख्यामा बिस्कुट कम्पनी खुले । लगभग विक्रम सम्वत् ५० को दशक सुरुवाततिर भने दर्जनौं बिस्कुट कम्पनी सञ्चालनमा आए । ती अधिकांश कम्पनी नेबिकोको बजार हिस्सा देखेर खुलेको थिए ।

‘कतिले त हाम्रै जस्तो जस्तै नाम राखेर पनि बिस्कुट उत्पादन गर्न थालेका थिए,’ सीईओ न्यौपाने भन्छन्, ‘तर, अन्तिम निर्णय त उपभोक्ताले नै गर्ने हो । उपभोक्ताले उनीहरूको बिस्कुटमा खासै रुचि देखाएनन् । अनि, गुणस्तरमा पनि प्रश्न गर्न थाले । त्यही कारण केही वर्षमै त्यस्ता कम्पनी सदाका लागि बन्द भएर बजारबाट बाहिरिए ।’

सुरुवातमा बिस्कुट खाने जनसंख्याको पहुँच १० देखि १५ लाखसम्म थियो । तर, अहिले त्यो संख्या लगभग पूरै जनसंख्या बराबर रहेको न्यौपाने बताउँछन् ।

‘हामीले सधैं ब्रान्ड इक्विटीलाई ध्यान दिएका छौं । प्रविधि भित्र्याउन कहिल्यै डराउँदैनौं । प्रडक्ट कम्पोजिसन कहिल्यै परिवर्तन गर्दैनौंं,’ उनी भन्छन्, ‘हाम्रो जनशक्तिलाई समय सापेक्ष उद्योग र उद्योग बाहिर पनि विभिन्न तालिममा पठाइरहेका हुन्छौं । वर्षैपिच्छे उत्पादन बढ्दै गएको छ, यसले पनि नेबिकाको माग बजारमा कति छ भनेर थाहा हुन्छ ।’

नेबिकोका उत्पादनहरू पर्यटन गन्तव्यमा बढी बिक्ने गरेको छ । ठमेल, पोखरा, सौराहा, ट्रेकिङ रुटमा धेरै बिक्री हुने गरेको न्यौपाने बताउँछन् । अन्य ठाउँमा पनि पहिलो माग नेबिकोकै बिस्कुटहरूकै हुने गरेको छ ।

‘नेपाल आएका विदेशीले नेबिकाकै बिस्कुट खाने गरेको हाम्रो अनुभव छ,’ न्यौपाने उत्साहित हुन्छन्, ‘विदेशीबाट हाम्रा उत्पादनप्रति कहिल्यै नकारात्मक प्रतिक्रिया आएको छैन । यो मानेमा हामी गुणस्तरीय उत्पादन गरिरहेका छौं भन्ने पनि पुष्टि गर्छ ।’

२०२२ सालदेखि ‘ग्लुकोज’ र २०३२ देखि निरन्तर ‘नेबिको कोकोनट’

नेबिकोले उद्योग स्थापना भएको २०२२ सालदेखि ‘ग्लुकोज’ ‘खाजा’ ब्रान्डको बिस्कुट उत्पादन थालेको थियो । त्यसको एक दशकपछि ‘नेबिको कोकोनट’ ब्रान्डको बिस्कुट २०३२ सालदेखि निरन्तर एउटै स्वादमा उत्पादन भइरहेको छ ।

‘२०२२ सालमा जस्तो डिजाइनको खोल (कभर) र जस्तो सम्मिश्रणमा ग्लुकोज ब्रान्डको बिस्कुट उत्पादन थालेका थियौं, ६० वर्षसम्म त्यही स्वादमा उत्पादन भइरहेको छ । ग्लुकोज हाम्रो सबैभन्दा सफल ब्रान्डको बिस्कुट हो ।’

त्यस्तै २०३२ सालदेखि उत्पादन गर्न थालिएको कोकोनट बिस्कुट अहिलेसम्म एउटै स्वाद र गुणस्तरमा उत्पादन भइरहेको छ । ‘यी भनेको लिगेसी उत्पादन हुन् । जसको अर्थ ब्रान्ड र गुणस्तरसँग जोडिन्छ, जसमा हामी कहिल्यै सम्झौता गर्दैनौं ।’

नेपालमा ‘डाइजेस्टिभ’ बिस्कुट उत्पादन गर्ने कम्पनी पनि नेबिको नै हो । नेबिकोले कहिल्यै पनि अन्य कम्पनीको उत्पादन ‘नक्कल’ गर्ने गरेको छैन । तर, नेबिकोका उत्पादनलाई नक्कल गरेर बजारमा दर्जनौं बिस्कुट बेचिए पनि त्यो दिगो हुन नसकेको न्यौपानेको अनुभव छ ।

‘राजदरबार’ जोडिएको कम्पनीमा काम गर्न झनै सहज

१६ वर्षदेखि नेबिकोको सीईओको जिम्मेवारी हाँकिरहेका न्यौपानेलाई पूर्वराजदरबारका सदस्यको कम्पनीमा काम गर्दा झनै सहज महसुस हुन्छ ।

‘दरबार भन्ने संस्थाभित्र बस्नु र दरबार बाहिर उहाँहरूको लगानीको कम्पनीमा काम गर्नु आकाश–जमिन फरक पर्छ,’ उनी भन्छन्, ‘यहाँ त एउटा अभिभावकको मुनि रहेर काम गरेको अनुभव हुन्छ । दिनहुँ हस्तक्षेप पनि हुँदैन । सबै कर्मचारीलाई पूर्णसम्मान मिल्छ । मेरो साढे दुई दशकको अनुभवका आधारमा भन्दा नेबिको जत्तिको व्यावसायिक वातावरण अन्त भेटिनँ ।’

पब्लिक कम्पनी बनाउने योजना

नेबिकोलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने विषय अहिले सकारात्मक हिसाबको योजना अनुसार छलफलमा रहेको न्यौपाने बताउँछन् ।

६० वर्षको ब्रान्ड ‘भ्यालु’ लाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउनका लागि नेबिकोलाई पब्लिक बनाउने योजना सञ्चालकहरूको रहेको उनको भनाइ छ ।

‘जति धेरै पब्लिकलाई समेट्न सक्यो, हाम्रो शाख पनि त्यति नै माथि जाने विश्वास छ,’ न्यौपाने भन्छन्, ‘सायद, निकट भविष्यमा यसले मूर्तरूप लिने आशा छ ।’

नेबिकाको ब्रान्ड भ्यालु १ अर्ब रुपैयाँ हाराहारी रहेको सीईओ न्यौपानको भनाइ छ । उनका अनुसार बिक्री जति परिमाणको हुन्छ, त्यसको २० प्रतिशत ब्रान्ड भ्यालु हुने अन्तर्राष्ट्रिय मान्यता छ ।

नेबिकोको बजार हिस्सा १५ प्रतिशत, विदेश निर्यात बढाउँदै

नेबिकोको वर्तमान बजार हिस्सा १५ प्रतिशत हाराहारी छ । यो भनेको धेरै पनि होइन र थोरै पनि होइन । कुल बजारको आकार र कुल उद्योग संख्यामा हिसाब गर्दा नेबिको एकदमै ठूलो वा एकदमै सानो दुवै नरहेको सीईओ न्यौपाने बताउँछन् ।

‘६० वर्षको लिगेसी बोकेको नेबिकोको हिसाबले यो बजार हिस्सा धेरै ठूलो होइन, तर हामीले अझै बजार विस्तार गर्नुपर्छ र त्यसैअनुसार अगाडि बढेका छौं,’ उनी भन्छन् ।

नेपालको बिस्कुट क्षेत्रको बजार ८ देखि १० अर्ब हाराहारी रहेको न्यौपाने बताउँछन् । त्यसमा १५ प्रतिशत नेबिकोले ओगटेको छ ।

‘भूकम्प, कोभिड, बाढीपहिरो लगायतले बजार तलमाथि हुने गरेको छ,’ बिस्कुट चेम्बरमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका न्यौपाने भन्छन्, ‘पछिल्लो डेढ दशकदेखि नेपाली बिस्कुट बजार यसरी नै चलिरहेको छ ।’

नेबिको अब औपचारिक हिसाबमा आफ्ना उत्पादन विभिन्न देश निर्यात गर्नतिर लागेको छ ।

गत वर्षदेखि नेबिकोका उत्पादन अस्ट्रेलिया, बेलायत, सिंगापुर, भारत निर्यात भइरहेको छ । यो वर्ष नेबिको युरोपमा निर्यात गर्ने योजना अनुसार अगाडि बढिरहेको छ ।

‘युरोपका केही आयातकर्तासँग हाम्रो कुराकानी भइरहेको छ,’ उनले भने, ‘चाँडै सकारात्मक कुार आउने विश्वास छ ।’

उनका अनुसार हाल नेबिकोले प्रतिदेश मासिक एक कन्टेनर निर्यात गरिरहेको छ । यो भनेको ५० टन बराबर हो । तर, यो परिमाण ठूलो भने होइन । यसलाई बढाउँदै लानुपर्ने छ ।

नेबिकोले बिस्कुटमा विविधता थप्ने उद्देश्यसाथ काम अगाडि बढाएको छ । यसका लागि कोदो, फापर, कागुनो लगायत स्थानीय खाद्यान्न बाली प्रयोग गरी बिस्कुट उत्पाद गर्ने योजना अगाडि बढाएको सीईओ न्यौपाने बताउँछन् ।

‘६० वर्षको लिगेसी बोेकेको नेबिकोले अन्तर्राष्ट्रिय बिस्कुट ब्रान्डका कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ,’ न्यौपाने थप्छन्, ‘तर, हामी हाम्रो बजार हिस्सा सुरक्षित राख्न सफल छौं र अझै बढाउँदै जाने छौं । ६० वर्षको लिगेसी बोकेको कम्पनीमा काम गर्न पाउनु नै गौरवको विषय हो ।’

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?