+
+

भरतपुर अस्पतालमा बिरामीको भीड, निजी अस्पताल सुनसान

सुवास पण्डित सुवास पण्डित
२०८० साउन ८ गते ९:५४
भरतपुर अस्पतालमा बिहानै टिकट काट्नेको भीड ।

९ साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढ्दा निजी अस्पताल भने सुनसान देखिएका छन् ।

भरतपुर सरकारी अस्पताल हो । उपचारका लागि यहाँ आउनेहरुको बिहानैदेखि भिड लाग्छ । अत्यधिक बिरामी तर सीमित जनशक्ति हुँदा आकस्मिक बाहेकका अप्रेशन गर्नुपर्ने कतिपय बिरामीलाई महिनौंसम्म पालो कुर्नुपर्ने बाध्यता छ ।

भरतपुर अस्पतालको सर्जरी विभागका चिकित्सक डा.दीपेन्द्र न्यौपानेका अनुसार सर्जरी ओपीडीमा दैनिक औसत २ सय बिरामीहरु उपचारका लागि आउने गर्दछन् । तीमध्ये करिब ५० जना किरामीको सानो-ठूलो अप्रेशन गर्नुपर्ने हुन्छ ।

आकस्मिक बाहेक अन्य बिरामीले अप्रेशनको पालो (डेट) पाउँछन् २०८० चैत मसान्तसम्मको ।

डा. न्यौपानेका अनुसार बढ्दो विरामीको संख्या र कम जनशक्तिले गर्दा आकस्मिक बाहेकका अप्रेशन गर्नुपर्ने बिरामीहरुले लामो समय कुर्नुपर्ने भएको हो । भरतपुर अस्पतालको सर्जरी विभागमा जम्मा ८ जना मात्रै चिकित्सक छन् ।

अस्पतालले सर्जरी विभागलाई अप्रेशनको पालो सातामा ३ दिन मात्रै दिएको छ । डा. न्यौपाने भन्छन्, ‘ओपीडी बस्ने की, अप्रेशनमा जाने की, वार्डमा राउण्ड जाने की, रेजिडेन्ट चिकित्सकलाई पढाउने की ८ जना चिकित्सकले के-के गर्ने ?’

बिरामीको बढ्दो तथ्यांक

भरतपुर अस्पतालमा विगतमा भन्दा अहिले बिरामीको भिड निकै बढेको तथ्यांक छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ओपीडीबाट ३ लाख ३० हजार १०९ जना बिरामीले सेवा लिएका थिए । सोही आर्थिक वर्षमा आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीहरुको संख्या ५४ हजार ५५२ छ ।

ओपीडीमा आएका ३ लाख ३० हजार १०९ जनामध्ये २ लाख २२ हजार स्वास्थ्य बीमा गरेका बिरामी हुन् भने १ लाख ७ हजार ६५१ जना साधारण टिकट काटेर सेवा लिएका बिरामी हुन् । आकस्मिक कक्षबाट सेवा लिने ५४ हजार ५५२ मध्ये २४ हजार २५० बीमा गरेका बिरामी हुन् ।

योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ओपीडीबाट २ लाख ५२ हजार ८९४ जनाले र आकस्मिक कक्षबाट २७ हजार ६१७ जना बिरामीले सेवा लिएका थिए । यी दुई आर्थिक वर्षको तथ्यांक हेर्दा आकस्मिक कक्षमा झण्डै दोब्बर बढी बिरामी आएका छन् ।

ओपीडीमा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा मात्रै ७७ हजार २१५ जना बिरामी थपिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा १ लाख ४९ हजार बिरामी आएकामा गत आर्थिक वर्ष त्यसको दोब्बर बढी बिरामीले अस्पतालबाट सेवा लिएका छन् ।

अस्पतालले नयाँ सुविधा सम्पन्न आकस्मिक कक्ष भवन बनाएपछि बिरामीको संख्या हृवात्तै बढेको छ । पहिला ठाउँ अभावमा धेरैजसो बिरामी बाहिरका अस्पतालमा रिफर गर्ने गरिएकोमा अहिले भने सो अवस्था छैन ।

निजी अस्पताललाई खर्च धान्नै मुस्किल

भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्दा त्यस वरपरका मेडिकल कलेज र निजी अस्पतालहरुमा भने बिरामीको संख्या आधा बढीले घटेको पाइएको छ । विगतमा बिहान र साँझपख भिडभाड हुने अस्पताल रोडका निजी अस्पतालहरुमा हिजोआज खासै बिरामी देखिँदैनन् ।

अस्पताल रोडमा नै रहेको नारायणी सामुदायिक अस्पतालमा कोभिड अगाडिको समयमा भन्दा अहिले ५० प्रतिशत बिरामी घटेका अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर बताउँछन् ।

कुँवरका अनुसार पहिला प्रतिदिन १५० भन्दा बढी बिरामी एक दिनमा ओपीडीमा आउने गरेकोमा अहिले दैनिक ८० जनाको हाराहारीमा मात्रै आएका छन् । ‘सरकारी अस्पतालहरुमा बीमाको सुविधा, आर्थिक मन्दीले क्रयशक्ति घटाउँदा मानिसहरुले रोग पालेरै बस्न थालेकी भन्ने पनि हो,’ निर्देशक कुँवर अनुमान लगाउँछन्, ‘कोभिडको खोप लगाएपछि पनि धेरै मानिसहरुलाई साधारण रुघाखोकी र मौसमी फ्लू लाग्न कम हुन थालेको हो की जस्तो पनि देखिन्छ ।’ उनले अहिलेको अवस्थाले निजी अस्पतालहरुले खर्च धान्नसमेत मुस्किल पर्न थालेको बताए ।

निजी अस्पताल समन्वय समितिका उपाध्यक्ष ओमप्रकाश दवाडीले गाउँगाउँमा सुविधा सम्पन्न क्लिनिक तथा पोलिक्निक खोल्न थालिएको र सरकारी स्वास्थ्य संस्थाहरुको पनि क्षमता वृद्धि भएकाले निजी अस्पतालमा आउने बिरामीको संख्या घटेको बताए । सरकारी अस्पतालमा बीमा गरेका ब्यक्तिहरुले निःशुल्क उपचार पाउने भएपछि निजीमा नआउनु स्वभाविक भएको उनको धारणा छ ।

ओम अस्पतालका सञ्चालकसमेत रहेका दवाडीले आफ्नो अस्पतालमा ४० प्रतिशत बिरामीको संख्या घटेको बताए । ओम अस्पतालमा पहिला दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेकोमा अहिले औसत दैनिक ५५/६० जना मात्रै ओपीडीमा उपचारका लागि आउने गरेको उनले बताए । अहिलेको अवस्थाले कर्मचारीको खर्च, मेन्टेनेन्स, उपकरण खरिद तथा सेवा विस्तार गर्न निकै समस्या हुँदै गएको दवाडीले बताए ।

बिरामी अभाव तथा आन्तरिक व्यवस्थापनमा समस्या हुँदा भरतपुरको शान्ति अस्पताल प्रा.लि. दुई महिना अगाडि नै बन्द भएको छ ।

भरतपुरकै सेन्ट्रल अस्पतालमा समस्या भएपछि अर्को टिम भित्र्याइएको छ । भरतपुरको कलेज अफ मेडिकल साइन्सेसले बीमा सेवा जारी राखेको कारण भरतपुर अस्पतालमा सेवा उपलब्ध हुन नसक्ने बिरामीहरु रेफर भएर त्यहाँ जाने गरेका छन् ।

अर्को चितवन मेडिकल कलेजले गत वर्षदेखि नै बीमाको कार्यक्रम हटाउँदा बिरामीको संख्यामा कमी आएको छ । निजी अस्पतालमा बिरामीहरुको चाप घटेपछि पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजहरुले लबिइङ्ग गरिरहेका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने नीति लिएको उल्लेख छ । तर मेडिकल कलेज सञ्चालकहरुको एशोसिएसनले भने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि आफूहरुलाई पनि सहमति दिन माग गरेको छ ।

स्वास्थ बीमा बोर्डबाट भरतपुर अस्पताललाई साढे ५२ करोड भुक्तानी

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत आर्थिक वर्षमा ५२ करोड ५० लाख ७२ हजार रकम भुक्तानी पाएको छ । बीमा दावी र भुक्तानीका हिसाबले भरतपुर अस्पताल देशकै अग्रपंक्तिमा आउने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

उनले भरतपुर अस्पतालले गर्ने बीमा भुक्तानी दावी र बोर्डको भुक्तानी अन्य अस्पतालका लागिसमेत अनुकरणीय भएको बताए । भरतपुर अस्पताल सबैभन्दा बढी बीमा दाबी गरेर भुक्तानी लिने स्वास्थ्य संस्थामा पर्दछ ।

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ ।

अस्पतालले गत ४० करोड भुक्तानी पाउने लक्ष्य राखेको भए पनि सोभन्दा १२ करोड रकम बढी भुक्तानी लिएको छ ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार सेवाग्राहीले २ लाख ६ हजार ८८५ पटक सेवा लिए वापत सो रकम भुक्तानी लिएको हो । गत आर्थिक वर्षको अझै १० करोड दाबी गरिएको र सो रकम आउन बाँकी रहेको पौडेलले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ७९ लाख भुक्तानी पाएको थियो । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामीले स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् भने बाँकी २९ प्रतिशतले मात्रै शुल्क तिरेर सेवा लिएका छन् ।

अस्पतालमा ८ हजार ३९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै, स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् ।

भरतपुर अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासी लगायतका जिल्लाबाट समेत बीमाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

भरतपुर अस्पतालमा उपलब्ध नहुने सेवाका लागि मात्रै निजी मेडिकल कलेजमा पठाउने गरिएको बीमा कार्यक्रम संयोजक पौडेलले बताए । एमआरआई लगायतका सेवा हाल अस्पतालमा नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

अस्पतालले चाँडै नै एमआरआई मेसिन ल्याएर जडान गरेपछि बाहिर जानुपर्ने बाध्यतासमेत हट्ने र अस्पताल आउने बिरामीले सेवासँगै बीमा भुक्तानीको दावीसमेत बढ्ने संयोजक पौडेलको भनाइ छ ।

वि.सं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ । चितवन जिल्लाको ६ लाख बढी जनसंख्या मध्ये ४ लाख ५५ हजार ११७ जनाले बीमा गरेको स्वास्थ्य बीमाका जिल्ला संयोजक तोयनाथ दवाडीले जानकारी दिए । हरेक वर्ष ६० देखि ७० प्रतिशतले निरन्तर बीमाको नवीकरण गर्दै आएका छन् ।

३५ सय रकम तिरेपछि ५ जनाको परिवारका सदस्यहरुको १ लाखसम्मको बीमा गर्न सकिने व्यवस्था सरकारले गरेको छ ।

भरतपुर अस्पतालका बीमा संयोजक लिलाधर पौडेलले सरकारले बीमाको स्कीममा विभिन्न अफरहरू ल्याउन सके अझैं बीमा प्रतिको आकर्षण बढ्न सक्ने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?