+
+

जागिर खोज्दा यी कुरामा ध्यान दिनुपर्छ

प्रेम दनुवार प्रेम दनुवार
२०८० साउन १४ गते १३:०२

पढाइ सकियो वा पढ्दै जागिर खान मन छ । तर जागिर कसरी खोज्ने ? कस्तो खोज्ने ? रोजेको जस्तो पाइन्छ वा पाइँदैन ? जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । जागिर खानलाई पनि एउटा ‘टेक्निक’ चाहिन्छ । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुन सक्छ । तर सोचविचार गरेर जागिर खोजियो भने जागिर पाउने मात्र होइन, जागिरले नै क्षमता अभिवृद्धि गरी जीवनस्तर नै फरक बनाउँछ ।

जागिरको लागि सबैभन्दा पहिला के के गर्ने त ?

रुचि पहिचान गर्ने

जागिर खानका लागि सबैभन्दा पहिला आफ्नो रुचि केमा छ भन्ने थाहा पाउनु आवश्यक छ । रुचिले काम गर्ने उत्साह त दिन्छ नै यससँगै काम गर्ने ऊर्जा पनि ल्याउँछ । यसले पाएको काममा रमाउन मद्दत गर्छ । काममा रमाउन सकियो भने अफिसमा गरेको काम पनि बिदामा छुट्टी मनाएको जतिकै अनुभव हुन सक्छ ।

रुचिअनुसारको काम गर्न पाउँदा पट्यार पनि लाग्दैन । तर रुचि छैन भने जस्तो काम पनि पट्यारलाग्दो हुन सक्छ । रुचिबिनाको काम बोझ महसुस भएर प्रगति हुन पनि कठिन हुन सक्छ । क्षमता अनुसारको  जागिर नहुँदा यसले तनाव सिर्जना गर्छ । जसकारण जागिर खानको लागि पहिला आफ्नो रुचि केमा छ त्यसको पहिचान गर्नुपर्छ ।

प तथा क्षमता विकास 

जागिर त खाने तर कस्तो ठाउँमा, कस्तो क्षेत्रमा ? यस्तो अन्योल छ भने जागिर पाउन मात्र होइन, पाएको जागिरमा पनि भिज्न कठिन हुन्छ । जागिर खानुअघि आफूसँग भएका सीप र दक्षतालाई पनि निखार्न जरुरी छ । त्यसैले जागिर खाने सोच बनाउँदा आफ्नो रुचि र इच्छा त्यससँगैको क्षेत्र कस्तो हुन सक्छ भनेर जान्न जरुरी छ । यो थाहा पाउन त्यति गाह्रो छैन । अहिले इन्टरनेट र सामाजिक सञ्जालबाट आफूले खोजेका हरेक प्रश्नको उत्तर पाउन सकिन्छ ।

कार्यालय तथा उद्योगमा चाहिने भनेको प्राविधिक, व्यवस्थापन,  प्रशासन, स्वास्थ्य, सञ्चार, बैंक, ट्राभल एण्ड टुरिजम जस्ता विधामा जनशक्ति चाहिन्छ । सानो होस् वा ठूलो काम, सबैभन्दा पहिले चाहिने आधारभूत ज्ञान हो । जसमा भाषाको ज्ञान, कम्प्युटर सम्बन्धी सामान्य ज्ञान, बोल्ने कला, प्राविधिक ज्ञान जस्ता सीपमूलक ज्ञान पर्छन् । यस्ता ज्ञान अहिले युट्युबलगायत सामाजिक सञ्जालबाट लिन सकिन्छ ।

साथै संस्थाबाट आफ्नो करिअरलाई सपोर्ट गर्ने खालको तालिम लिन सकिन्छ ।  जहाँ कुन कामको लागि के कस्ता आधारभूत ज्ञान चाहिन्छ भन्ने कुरा सिकाइएको हुन्छ । यति मात्र होइन काम गर्दा सकारात्मक सोच र व्यवहार प्रदर्शन गर्नु, जिम्मेवार बन्नु, अनुकूलित बन्नु, सुरक्षित रूपले काम गर्नु, समूहमा काम गर्ने जस्ता वैयक्तिक सीप पनि जरुरी छ । यी वैयक्तिक सीप हामी सामान्य जीवनमा भरहने व्यवहार तर कार्यालयमा चाहिने आधारभूत पक्ष हुन् ।

कसरी खोज्ने ?

जागिर खोज्न नजान्दा झमेला वा झन्झट लाग्ने हो । तर थोरै मात्र जुक्ति मिल्यो भने जागिर खोज्न त्यति कठिन हुँदैन । यस्तोमा तीन तरिकाबाट जागिर खोज्न सकिन्छ ।

साथीभाइ सर्कल

आफूलाई इच्छा लागेको क्षेत्रमा जागिर खान सबैभन्दा ठूलो स्रोत भनेको साथीभाइ हो । आफन्त वा साथीभाइ कुनै न कुनै क्षेत्रमा आबद्ध छ भने उनीहरुलाई रुचि र दक्षता जानकार गराए सुहाउने र कर्मचारी चाहिने ठाउँबारे जानकारी दिन वा पहल हुन ठूलो मद्दत पुग्छ ।

कार्यलयको वेबसाइट

कार्यालय तथा उद्योगहरुको वेबसाइटमा करिअर भन्ने क्याटोगोरी हुन्छ । जसबाट इच्छा लागेको कार्यालयमा कर्मचारी मागे नमागेको थाहा पाउन सकिन्छ । यस्ता कम्पनीको वेबसाइट हेरिरहनुपर्छ । ताकि सुहाउने खालको र पर्खिरहेको योग्य जागिर भए एप्लाई गर्न सकिन्छ ।

रोजगार दिलाउने कार्यालय

हाल रोजगार खोजिदिने संस्थाहरु थुप्रै छन् । जस्तो, मेरो जब डटकम, कान्तिपुर जब लगायातका संस्थाले कम्पनी र रोगगार चाहनेबीच एउटा पुल जसरी काम गरिरहेका छन् । जहाँ फारम भरेर चाहेको रोजगारका लागि एप्लाई गर्न सकिन्छ ।

सामाजिक सञ्जाल

आजभोलि कम्पनीले आफनो सामाजिक सञ्जाल अकाउन्ट इन्स्टाग्राम, फेसबुकलगायतबाट कर्मचारी माग गरेको सूचना दिइरहेका छन् । सम्पूर्ण कागजात बलियो छन् भने त्यस्ता विज्ञापनको पोस्टमा दिएको सूचना अनुरुप खोजेको जस्ता जागिर खान सकिन्छ ।

बायोडाटा कस्तो बनाउने ?

बायोडाटामा प्रस्तुत गरिएको योग्यता र सीपले पनि कम्पनीलाई प्रभाव पार्छ । त्यसैले, आफूले जानेको सीपहरु स्पष्ट रुपमा हाइलाइट गर्न आवश्यक छ । बायोडाटा प्रभावकारी भएमा कम्पनीहरुले अन्तर्वार्ताको लागि सम्पर्क गर्न सक्छन् । बायोडाटामा कार्यालयका लागि योग्य हुने खालका वास्तविक सूचना सूचीबद्ध रुपले छोटो र मीठो बनाउनुपर्छ । ताकि कम्पनीले हेर्दा वास्तवमै राम्रो काम गर्न सक्छ भन्ने झल्कियोस् ।

अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?

कुनै पनि अन्तर्वार्तामा जानुअघि पहिला त्यसको अभ्यास गर्नुपर्छ । कस्तो प्रश्न सोध्दा कसरी जवाफ दिने, आफ्नो परिचय कसरी दिने, दोहोरो संवादका क्रममा कस्ता प्रकारका शब्दहरु प्रयोग गर्ने भनेर पूर्वतयारी गर्नु उचित हुन्छ ।

जागिरका लागि अन्तरवार्तामा जाँदा कम्पनीको बारेमा वा कुन कामको लागि बोलाएको हो, त्यसबारे थोरै भए पनि अध्ययन गरी जानकार भएर जानुपर्छ । यसले अन्तर्वार्तामा सोधिने प्रश्नमा अलमल पार्दैन । आफ्नो कुरा स्पष्ट रुपमा राख्न सक्नुपर्छ ।

साथै, अन्तर्वार्ता दिन जाँदा पनि सही समयमा फर्मल ड्रेसिङ स्टाइल अपनाएर जाँदा राम्रो प्रभाव पर्न जान्छ ।

दक्षता भए अवसर जति पनि छन

कम्पनीहरुले दिनहुँजसो कर्मचारी माग गरिरहेका हुन्छन् । यता, जागिर चाहियो भन्ने पनि उत्तिकै हुन्छन्  । तर दक्ष र सीप भएको काम जानेका कर्मचारीको संख्या कम हुन्छन् । यस्तोमा बजारमा आउनुभन्दाअघि आफ्नो सीपलाई निखार्दै लगेमा अवसर जति पनि पाइन्छ । यद्यपि, जागिर पाएपछि पनि त्यसमै मन लगाएर गरेर त्यसमै पोख्त बन्न सकियो भने भविष्यका दिनमा धेरै कम्पनीले आफैं जागिरको अफर गर्न सक्छन् । काम गर्न खोज्ने तर छिटो माथि उक्लिन खोज्ने वा कामलाई सानो र ठूलो सोच्ने प्रवृत्तिले पनि धेरैजसो बेरोजगार बस्न बाध्य भइरहेका हुन्छन् ।

(दनुवार ट्राभल बिजनेस कन्सलटेन्ट तथा ह्युमन क्यापिटल डेभलपमेन्ट ट्रेनर हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?