
नेपाली बृहत् शब्दकोशलाई शब्दग्रन्थत्व सुम्पिंदा, हरेलो भन्नाले – ना.
१. धान, मकैको खेतमा चरा, मुसा आदिबाट खेती बचोस् भनी राखिने कुरिलो र मयलको हाँगो।
२. मगरात राजा बलिहाङ वा राजा बलिको सम्झनामा गरिने पूजा; असार मसान्त र साउने सङ्क्रान्तिको प्रभातकालीन समयमा गरिने पूजा।
३.१ खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा; हरेरी।
३.२ रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको मङ्गलबारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा भनी अर्थ्याएको पाइन्छ।
व्यवहारमा हेर्दा हरेलो मूलत: पहाडी जिल्लाहरूमा मनाइने कृषिमा आधारित एउटा ऐतिहासिक पर्व हो। यो पर्व तिथि, मिति मिलाएर भन्दा पनि परम्परागत रूपमा बार मिलाएर कतै साउनको अन्तिम मङ्गलबार, कतै भदौको पहिलो मङ्गलबार त कतै तीजपछिको मङ्गलबार; कहीं मुहाने गरामा त कहीं खले गरामा हरेलो गर्ने गरेको पाइन्छ।
हुन त ‘हेरालो’ भन्ने शब्द अपभ्रंश भएर ‘हरेलो’ बनेको भन्ने भनाइ पनि पाइन्छ। प्रायश: असार-साउन अर्थात् खेतीको समयमा गाई–भैंसीहरूलाई जङ्गल पठाउने चलन अनुभव भएकै प्रसङ्ग हो।
वास्तवमा खेतीपातीको समयमा सबै गाउँले व्यस्त हुने अनि वर्षायाममा नै जङ्गलमा पनि गाईवस्तुलाई चर्ने राम्रो चरन हुने हुँदा गाईवस्तुलाई जङ्गल पठाउनु आफैंमा तर्कसङ्गत देखिन्छ। त्यसैलाई व्यवस्थित गर्न कतिपय टोल र समूहले आ-आफ्नै विश्वासिला मान्छेलाई खर्च उठाएर दिने शर्तमा गाईवस्तुको हेरचाह गर्ने जिम्मा सुम्पने गरेको पाइन्छ। ती व्यक्तिलाई हेरालो भनिन्थ्यो।
गाई–भैंसीको गोठको काम गर्नेलाई गोठालो भने जस्तै जङ्गल पठाएको बेलामा गाईवस्तुलाई गाउँ फर्कन नदिने तथा सुरक्षा दिई हेर्ने उल्लिखित व्यक्तिहरूलाई हेरालो भनिनु आफैंमा ठीक जँच्दछ। जब गाउँलेले खेतीको काम सक्थे, तब जङ्गल पठाएको गाईवस्तुलाई गाउँ फर्काइन्थ्यो।
‘सोम खेती, बुध घर’ भन्ने उखानसँगै प्राय: गाईवस्तु सोमबारका दिन गाउँ फर्काइन्थ्यो। सो दिनको भोलिपल्ट सबैले थकाइ मेटाउन र रमाइलो गर्नको लागि मेलाको आयोजना गर्ने प्रचलनको सुरुवातसँगै यो हरेलोको परम्परा चलेको मान्न सकिन्छ।
भनिन्छ- वास्तवमा हरेलो खेती लगाउने हली वा गाईवस्तु हेरेका हेरालोले गर्नुपर्दछ। समयक्रमसँगै गाउँमा गाईवस्तुहरूको सङ्ख्या नगण्यप्राय: हुन थाल्यो। परिणाम गाईवस्तुलाई जङ्गल पठाउने चलन हरायो। हरेलोमा तयार पारेको ‘गोरु रोटो’ खेत जोतेका गोरुलाई ख्वाउनुपर्नेमा अब त ‘ट्रयाक्टर’ ड्राइभरलाई दिनुपर्ने जस्तो अवस्था आइसक्यो।
हरेलो अघि वन पठाएका गाईवस्तु घर ल्याउनुपर्ने चलनलाई अचेल त जङ्गलका बाँदरहरू गाउँ पसेर आतङ्क मच्चाउन थालेर प्रतिस्थापन गरिरहेको देखिन्छ। तर पनि, हरेलो भने हाम्रो परम्परा बनेर कतिपय गाउँ-ठाउँमा चलिरहेको छ।
म स्याङ्जा, आँधीखोलाको मान्छे ! हरेलो गर्ने दिन, बुवाले बिहानी गोठेधन्दा सिध्याएर घाँस काटेर फर्कंदा घाँसको भारीमाथि एउटा ठूलो कडुज (कटुस) को डालो पनि लिएर आउनुहुन्थ्यो। आमाले घरमा चामल पिंधेर ‘गोरु रोटो’ र ‘बाबर रोटी’- पीठोलाई पानीमा रयालेर तेलको ताईमा पीठो छर्केर बनाइने स-साना रोटीहरू, तयार पार्नुहुन्थ्यो। हामीलाई राम्रो मकैको घोगालाई नङ्ग्याएर एकनासका भुत्ला (खोस्टा) बनाउन लगाउनुहुन्थ्यो। हामीले आमाले दिएको नापो अनुसारका १५/२० वटा खोस्टा तयार पार्दथ्यौं।
‘लौ अब हातमा चोट नलगाई खुर्मली (साना आँसी) ले ढिकीको, दैलाठेलाको, जाँताका हातोको, मइनखाँबो (घरको मुख्य खाँबो) को, हलाको काठ खुर्केर एक–एक चिम्टी एउटा केराको पातमा जम्मा पार त ! हलाको बाबुले ल्याउनु नि ! छोरीमान्छेले हलो छुन हुँदैन के …!’ भनेर अह्राउनुहुन्थ्यो।
सबै भाइबैनी मिलेर सबैको थोरै-थोरै खुर्केर ल्याउँदा बुवाले ठ्याक्क केराको पात लिएर आउनुहुन्थ्यो। हामीले पिंढीमा केराका पातमा काठहरू खुर्केको धुलो जम्मा गर्दथ्यौँ। बुवाले ‘अब उ… ढिकीका पछाडिबाट एक अँजुली भुस ल्याएर मिसाओ’ भनेर हामीलाई भन्दै भित्र आमालाई ‘खै अलि-अलि सबै अन्न पनि मिसाउनु परेन त नि !’ भन्दा आमाले धान, कोदो, मकै, जौ, गहुँ आदिको एक–एक चिम्टी ल्याएर त्यसैमा मिसाइदिएर एउटा खोस्टामा सबै मिलाएको चिजको पोको (नमुना) बनाइदिनुहुन्थ्यो।
‘ठूला घोगा मकै नहुने ठाउँतिर यस्ता पोकालाई बाबियाका हत्यौरीले बाँध्ने गर्छन्, हामीकहाँ त सप्रेका मकै हुने हुँदा यी यसरी भुत्लाको फुर्को लामो हुने गरी १५/२० वटा पोका पार अनि दुइटा पोकाका फुर्का जोडेर झुण्ड्याउन मिल्ने बनाऊ है त !’ भनेर निर्देशन गर्नुहुन्थ्यो। हामीहरू फुरुङ्ग हुँदै त्यो काममा लागिपर्दथ्यौँ।
बुवाले आफूले ल्याएको कटुसको सानो थाँक्रोलाई तलतिर तिखारेर हाँगाका २/४ मुन्टा काटेर तिखा बनाउनुहुन्थ्यो। हामीले स्कुलमा सरले सिकाएको व्यहोराभन्दा पनि रसिकसित नियाल्दथ्यौं। ‘मैले सक्न छाडेपछि छोराहरूले त हो नि यो सबै गर्ने, अहिल्यैदेखि हेरेर सिकिराख…’ भन्दै सुकेका काठको दुई अङ्गुल चाक्लो पातोलाई छकुने हुने गरी ५/७ वटा टुक्रा बनाई खुर्मली आँसीको बिंड फुकालेर आरोलाई रातो बनाई बिच-बिचमा एक–एक वटा प्वाल पार्नुहुन्थ्यो।
संस्कारी धरोहर हस्तान्तरणको अचूक विधि ! त्यही बेलामा मैले एउटामा दुइटा प्वाल पारिदिएर घुर्रा बनाइदिन अनुरोध गर्दथें। बुवाले पनि अलि बाक्लो पातोलाई मिहिन पाराले मिलाइदिएर घुर्रा बनाइदिनुहुन्थ्यो। त्यो पाउँदाको मजा सायद जीवनमा कहिल्यै पाउन सकिन हुँला जस्तो लाग्दछ।
बुवाले पुन: पञ्चस्नान गरी धोती फेरेर सानो डालीमा ती हामीले बनाएका पोकाका झुत्ताहरू, एउटा दुनामा घिउ; अर्को दुनामा रायो, सर्सिउँ; एक प्वाले घुर्रा; टपरीहरूमा फूलपाती, लावा र रोटीहरू; जौ, तिल, अक्षता राखिएको पूजा थाली; सानो करुवामा पानी मिलाएर राख्नुहुन्थ्यो।
आमाले भजालोमा पुत्ताउँदै गरेको आगो र फिलिङ्गा भएको भुङ्ग्रो ल्याइदिएपछि बुवाले भजालोलाई एउटा हातले समाउँदै र कटुसको सानो थाँक्रो काँधमा राखेर मलाई ‘नुहाउने, जप गर्ने गर्यौ ? लौ यो डाली समाएर मसँग हिंड …’ भन्नुहुँदा बैनीहरूले आफू छोरी अनि साना भएकाले यो अवसरबाट वञ्चित भएझैं लोभ लाग्दा आँखाले हेर्दै हाम्रो बिदाइ गर्दथे।
बुवाका पछि-पछि म डाली समाएर खलेगरामा पुगेको हुन्थेँ। मनमा पछि मैले पनि यो काम गर्नुपर्ने हुनाले बुवाले गरेका सबै कामहरू क्रमश: सम्झनुपर्दछ भन्ने विचार मडारिइरहेको हुन्थ्यो। बुवाले अघि घाँस काट्दा हरेलो गर्ने डिललाई सफा गरिसक्नुभएको हुन्थ्यो।
हामी पुगेपछि मलाई ‘लौ डाली यता राख र तिमी बसेर हेर …’ भन्दै आफूले लगेको थाँक्रोलाई आलीमा गाड्नुहुन्थ्यो। म आलीको डिलमा बसेर नियाल्दथें। त्यसैको फेदमा सानो सम्म परेको ढुङ्गा राखी त्यसैमा भजालोको भुङ्ग्रो खन्याएर करुवाको पानी हातमा लिई उठेर थाँक्रोमाथि घुमाउनुहुन्थ्यो।
के-के मन्त्र गुन्गुनाउँदै फूलपाती, अक्षताहरूले पूजा गरी भुङ्ग्रोमा रायो, सर्सिउँ पड्काउनुहुन्थ्यो। अनि थाँक्राका चोक-चोकमा पोकाका झुत्ताहरू झुण्ड्याई तिखारेका टुप्पामा एकप्वाले घुर्रा छिराइदिनुहुन्थ्यो। त्यसैबेला ‘यी घुर्रा भनेका डाइनी, बोक्सी, ऐंर-भँएरलाई हाम्रो खेतबारीमा पस्न नदिन ऐनाका रूपमा आएतिरै फर्काउन राखिएको हो भन्नुहुन्थ्यो तिम्रा हजुरबुबाले, यो कतिपयले गर्दैनन्, झण्झट मान्दछन् …’ भन्नुहुन्थ्यो।
मलाई पछि मैले नै गर्दा पनि यसै गरुँला भन्ने प्रण गर्न मन लाग्दथ्यो। तर, अफसोच ! त्यो क्षण मेरा लागि यी यस्तै कल्पनामा मात्रै सीमित रहन पुग्यो। गाउँको त्यो स्वच्छ हावा, निर्मल पानी छाडेर खै किन हो ? आफैंलाई थाहा छैन, यो शहरिया प्रदूषित वातावरणमा तथाकथित पारिवारिक जञ्जालले उछार नदिएको भनेर साँघुरोमा रुमलिइरहेको छु।
जन्मस्थानका खेतबारी बाँझो छाडेर यहाँ छतमा कौसी खेतीमा रमाउँदैछु। मन मिल्दाहरूबीच नमुना बस्ती बसाउने कल्पनालाई एक्लै साकार रूप दिनै सकिनँ, हिम्मतिला साथीहरूको साथ जुटेन। सम्झेर ल्याउँदा साँच्चै दु:ख लागेर आउँछ।
रोटीहरूको नैवेद्य चढाई लावा र फूलपाती वरिपरि छरेर पुन: जल हातमा लिई थाँक्रो वरिपरि घुमाउँदै ‘लौ सीमे, भुमे देउताहरू, गोठका भिउसिन ठाकुर, शृङ्गा नागदेउता, जानेनजानेका जलथलका सम्पूर्ण देवी–देउताहरूले रक्षा र कल्याण गर्नुहोला,
आवाहनं न जानामि न जानामि विसर्जनम्।
पूजां चैव न जानामि क्षमस्व परमेश्वर॥
मंत्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन।
यत्पूजितं मया देव! परिपूर्ण तदस्तु मे॥
भन्दै दायाँ साहिंली औंलाले पहिला आफूलाई टीका लगाई मलाई पनि लगाइदिनुहुन्थ्यो।
‘मेरो बाबुलाई विद्या खुलेर आवोस्, हिंड्दा ठेस नलागोस्, बस्दा केश नझरोस्, आँटे–ताकेको पुगोस्, माटो समान अन्न र ढुङ्गो समान द्रव्य आर्जन सके …’ भनी दिएका आशिष सम्झँदा अहिले पनि मनमा भक्कानो परेर आउँछ।
तदुपरान्त हामी घर फर्कन्थ्यौं। बुवाले पोकाका झुत्ताहरूलाई काँक्रा, घिरौंला, लौका, करेला आदि झालपातका थाँक्रामा पनि झुण्ड्याइदिनुहुन्थ्यो।
गोरु रोटो भाँचेर माले गोरुलाई खुवाउनुहुन्थ्यो र हाम्रो प्रतीक्षा गरेर पिंढीमा बसेका आमा बैनीहरूलाई टीका लगाई नैवेद्य र बैनीहरूलई एक–एक सुका पैसा दिनुहुन्थ्यो। त्यो बेला मलाई छोरो भएकाले पैसा नपाएकोमा पछुतो महसुस हुन्थ्यो।
आमा ‘यतिबेलासम्म सबै भोकाएऊ, लौ अब भान्सा गरौं …’ भन्दै भित्र पस्नुहुन्थ्यो। बुवाले हामीलाई भन्नुहुन्थ्यो- ‘यो हरेलो भनेको खेतबारीमा रोपाइँ सकिएपछि गर्ने हो। यसपछि कतै रहेबँचेका फोगटाहरू बाँझै छाड्नुपर्दछ, त्यै भएर हिजो रात–साँझ गरेर भए पनि तिम्री आमाले र मैले सबै रोप्ने काम सिध्याएका हौं। हरेलोलाई रोपाइँको न्वारान गरेको पनि भनिन्छ। आजसम्म रोपो थियो भने अब धान, कोदो भयो। हरेलो नगरिएको धानको अक्षता शुभकार्यहरूमा चल्दैन भन्ने मान्यता रहेको छ। अब आज खेतमा गोडा हाल्न पनि हुँदैन भनेको कोही पनि केही पनि गर्न जानुहुँदैन। आज फुरौला खानुपर्दछ, भित्र आमाले बनाएकै होलिन्। दिउँसो निबुवा साँधेर खाएपछि कटाहा मुसाका दाँत कुडिन्छन् र तिनले धान खान सक्दैनन् भन्ने मान्यता रहेको छ। आफैं गर्ने हैसियत गुमाएर ठालु पल्टेकाहरूले हरेलो हलो जोत्ने हलीले गर्ने हो भनेर कतिपयले हलीबाटै गराउँछन्। तर हाम्रा भने तिमीहरुका हजुरबाले गरेको देखेकाले मैले नै गर्ने गरेको छु। म मरेपछि पनि बाबुहरुले नै गर्ने गर्नु …’
बुवा ! हजुरको त्यो धोको स्थलगत रूपमा पूरा गर्न उल्लिखित परिस्थितिले साथ नदिंदा यसरी कल्पेर चित्त बुझाएको छु। हजुरको बैकुण्ठवास हवोस् बुवा !
प्रतिक्रिया 4