
जलवायु पृथ्वीको संरचनामा अस्तित्वमा आएदेखि निरन्तर परिवर्तन भइनैरहेको छ भलै परिवर्तनको दर र यसका कारण फरक भएका छन् । सदियौंदेखि जलवायु प्रणालीमा परिवर्तन भए पनि चारदशक अघिसम्म मानव सरोकारको विषय बनेन । यसो हुनुको कारण परिवर्तन हुने दर बढ्दै गए पनि सामान्य नागरिकले समेत अनुभूत हुने स्तरमा थिएन ।
केही वैज्ञानिकहरू उन्नाइसौं शताब्दी (सन् १८९६) मै परिवर्तनको दर मानव गतिविधिका कारण असामान्य तरिकाले बढ्न थालेको निष्कर्षमा पुगे पनि यसलाई राज्य र अन्तर्राष्ट्रिय तहको सवाल बनाउन चाहिं बीसौं शताब्दीको अन्तिम दशकसम्म आइपुग्नुपर्यो ।
जलवायु परिवर्तनको सवाल आज नागरिकस्तरमा पुगेको छ । जुनसुकै क्षेत्र र तहको छलफल होस्, जलवायु परिवर्तन र समावेशिताका कुरा जोडिएन भने अपूरो बन्छ । जलवायु परिवर्तन अब विज्ञानबाट अझ पर अर्थशास्त्र, राजनीति, समाजशास्त्र सबै बनेको छ । यसको असर विश्लेषण हरेक क्षेत्रको गहिराइमा अझ भनौं अवयवसम्म पुगेर हुन थालेको छ ।
जलवायु परिवर्तनको अनुभूत र देखिने गरी प्रभाव पर्ने क्षेत्र भनेको प्राकृतिक स्रोत हो । यसमा आश्रित समुदाय र अन्य प्रणालीहरू जलवायु परिवर्तनको असरबाट अछुतो रहने कुरो भएन । कृषि खाद्य प्रणाली जलवायु परिवर्तनबाट सबभन्दा प्रभावित हुन्छ । यसैले होला, गत जुलाइको अन्तिम साता ढाका विश्वविद्यालयको सिनेट भवनमा आयोजना गरिएको एशिया प्यासिफिकस्तरको खाद्य अधिकार र कृषि खाद्य प्रणाली सम्मेलन (२०२३) का प्रायः सत्रहरू कुनै न कुनै हिसाबले जलवायु परिवर्तनसँग सरोकार राख्ने थिए ।

अधिकांश युवा सहभागीले भरिभराउ हलमा वातावरणको क्षेत्रमा अभियान चलाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका डा. अतिक रहमानले अध्यक्षता गरेको सत्र थियो, ‘जलवायु संकटासन्नताको कृषि खाद्य प्रणाली र खाद्य सुरक्षामा असर ।’
उक्त सत्रका अध्यक्षले प्रस्तुति गरिसकेपछि प्यानलिस्टको तर्फबाट छोटो टिप्पणी गर्ने भूमिका आइलाग्यो । टिप्पणीका लागि समय सीमित अनि छोटो सूचनाका भरमा भूमिका निर्वाह गर्नुपर्ने भएकाले जलवायु र खाद्य प्रणाली केन्द्रित गरेर पाँच बुँदामा आफ्नो टिप्पणी राखेर मन्तव्य अन्य गरें । अध्यक्षले पुनर्पुष्टि गर्ने हिसाबले आफैंले यसरी दोहोर्याए, मानौं कुनै नयाँ विचार प्रस्तुत भएको छ ।
स्वीकृतिको भावमा आफ्नो विचारलाई बुँदागत रूपमा दोहोर्याएँ । पहिलो, जलवायु र खाद्य प्रणाली दुवै पछिल्लो अवस्थामा विश्वव्यापी र सबभन्दा प्रभाव पार्ने प्रणाली हुन् । दोस्रो, यी दुवै प्रणाली निरन्तर परिवर्तनशील छन् ।
तेस्रो, मानव हस्तक्षेपका कारणले दुवै प्रणालीमा औद्योगिक युगमा प्रवेश गरेपछि तीव्र परिवर्तन आइरहेको छ, त्यसैले सबभन्दा ठूलो जनसंख्या विशेषगरी खेतीमा आश्रित साना किसान र भूमिहीन बढी प्रभावित छन् ।
चौथो, यी दुवै प्रणालीहरूको एकापसमा उच्च गतिको अन्तरक्रिया हुन्छ, फलस्वरूप दुवैका अवयवहरूमा तीव्र परिवर्तन आइरहेको छ । र अन्तिम, यी दुई विश्वव्यापी प्रणालीमा पारस्परिक सम्बन्ध छ ।
एक प्रणालीको कुनै अवयवमा परिवर्तन आउने वित्तिकै अर्को प्रणालीमा परोक्ष असर पर्छ । यसको मतलब एक प्रणालीको कुनै अंशमा भएको मानव हस्तक्षेपले अर्को प्रणालीमा असर पर्छ ।
अब पहिलो तर्कमा जाऊँ । पछिल्लो समय दुवै प्रणाली विश्वव्यापी छन् । जलवायु प्रणाली पृथ्वीमा हावा र पानीको उपस्थितिसँगै विश्वव्यापी प्रणालीको रूपमा अस्तित्वमा आएको हो । कुनै नयाँ होइन, विभिन्न गतिमा निरन्तर परिवर्तन हुँदै आएको मात्र हो । यो प्रणालीलाई योगदान गर्ने मुख्य उपप्रणालीहरू हुन्- वायु, पानी, भूसतह, हिमसतह र जीवात्मा सतह उपप्रणाली ।
यी उपप्रणालीमध्ये कुनै एकमा मात्र परिवर्तन आए पनि पूरै जलवायु प्रणालीमा प्रभाव त पर्ने नै भयो, अन्य उपप्रणालीमा समेत प्रत्यक्ष प्रभाव पर्छ । यसैले त भूसतह र वायुसतहमा उत्सर्जन भएको हरितगृह ग्याँसका कारण बढ्दो तापक्रमले हिम क्षेत्र पग्लेर घट्दैछ भने समुद्रमा पानीको तह बढ्दैछ । यसबाट सम्पूर्ण जीवात्मसतह बढ्दो ताप र पानीको उपलब्धतामा आएको परिवर्तनले प्रभावित भइरहेको छ ।
जलवायु प्रणाली विश्वव्यापी भएकै कारण विकसित राष्ट्रको अति उत्सर्जनको मारमा पृथ्वीको अर्को कुनामा रहेका ज्यादै न्यून उत्सर्जन गर्ने गरिब राष्ट्रका नागरिक प्रभावित भइरहेका छन् । न्यून हरितगृह ग्याँस उत्सर्जन गरिरहेका ग्रामीण क्षेत्रका नागरिक विशेषगरी भूमिहीन, श्रमिक र साना किसानहरूले विना कारण असर खेपिरहनु परेको छ । अनि यसको प्रभाव सबैमा समान छैन’ उमेर, लिङ्ग, शारीरिक र आर्थिक अवस्था अनुसार फरक छ ।
अब चर्चा गरौं खाद्य प्रणालीको । खाद्य प्रणाली पहिले स्थानीयकृत थियो । हाम्रा ग्रामीण बस्तीहरू सडक सञ्जालले नजोडिंदासम्म स्थानीय स्तरमा पुग्ने गरी उत्पादन भए खाने नत्र भोकमरी भोग्नुपथ्र्यो । छिमेकी मुलुकमा भएको युद्घ, अन्य महाविपत्ति र नाकाबन्दीले समेत गाउँको खाद्य प्रणालीमा कुनै असर गर्दैनथ्यो । तर आज त्यस्तो छैन । हजारौं माइल टाढाको रूस-युक्रेन युद्घका कारण हाम्रा ग्रामीण क्षेत्रका नागरिक प्रभावित हुन्छन् ।
हामी भुक्तभोगी छौं, रूस-युक्रेन युद्घको घोषणा लगत्तै भारतले गहुँ निर्यातमा नियन्त्रण गर्छ । त्यस्तै रूसले खाद्य सम्झौता तोडिएको घोषणा गर्दा नगर्दै भारतले चामल निर्यातमा नियन्त्रण गर्छ ।
यता हाम्रो बजारमा उपलब्धता कमी हुन्छ, भाउ बढ्छ । पृथ्वीको एउटा कुनामा उत्पादनमा हुने घटबढले अर्को कुनाको नागरिक प्रभावित हुन्छ । पछिल्लो समय यातायात सहजता, प्रविधि र घरघर पुगेको बजारका कारणले खाद्य प्रणाली स्थानीय समुदायको पहुँचबाट विश्वव्यापी खाद्य प्रणालीमा जोडिएको छ ।
त्यसैले विश्वको कुनै कुनामा रहेको उपभोक्ता अर्को कुनामा भएको उत्पादन र वितरण प्रक्रियाले प्रभावित भए जस्तै सुदूर ग्रामीण बस्तीमा रहेको उत्पादकले समेत आफूले के उत्पादन गर्ने भनेर निर्णय गर्न स्वतन्त्र छैन ।
खाद्य प्रणाली समुदायको नियन्त्रणबाट दिनानुदिन बजारको नियन्त्रणमा गइरहेछ । अनि विश्वव्यापी संजाल भएको बजारसँगै खाद्य प्रणाली पनि विश्वव्यापी र जटिल बन्दै गइरहेको छ ।
यी प्रणालीहरू निरन्तर परिवर्तनशील छन् र परिवर्तनसँगै अझै विश्वव्यापी बन्दैछन् । हरेक प्रणालीहरू पहिले जति स्थानीयकृत थिए त्यति नै सरल थिए । तर एक प्रणालीमा अर्को प्रणालीको प्रभाव र प्रणाली भित्रका अवयवहरूमा आएको परिवर्तनले अझ जटिल, पहिले भन्दा ठूलो र केन्द्रीकृत हुँदैछन् ।
उत्पादन, उपभोग र जीविकोपार्जनका तौरतरिकामा आएको व्यापक परिवर्तनले बजार र खाद्य प्रणालीमा मात्र परिवर्तन ल्याएन हरितगृह ग्याँस उत्सर्जनको मात्रा अत्यधिक रूपमा बढायो । जलवायु परिवर्तनको कारक हरितगृह ग्याँस एकाएक बढेपछि जलवायु प्रणाली नबदलिने कुरा भएन ।
प्रणालीहरूमा परिवर्तनको दर हरेक समय एकै छैन । जलवायु प्रणालीको कुरा गर्ने हो भने त औद्योगिक युग सुरु हुनुपूर्वको लाखौं वर्षमा भएको परिवर्तन भन्दा बढी पछिल्लो अढाइ सय वर्षमा भएको छ । औद्योगिक युग पहिले वायुमण्डलमा कार्बनको मात्रा २८० भाग प्रति दश लाखमा थियो भने पछिल्ला अढाइ सय वर्षमा बढेर ४२० पुगेको छ ।
जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानलका अनुसार यो अवधिमा करिब १२०० विलियन टन हरितगृह ग्याँस उत्सर्जन भएको छ । ज्ञातव्य रहोस् कि प्राकृतिक रूपमा १८० भाग प्रति दश लाखबाट २८० पुग्न अनुमानित पाँच लाख वर्ष लागेको थियो । यो तथ्यले जलवायु परिवर्तनमा मानव मात्रको भूमिका प्रष्ट पार्छ ।
जलवायु प्रणालीमा आएको परिवर्तनले सबभन्दा प्रभाव पार्ने भनेको साना र भूमिहीन किसान हुन् जसले विश्व खाद्य प्रणालीमा ठूलो योगदान गर्छन् । मानवले स्थायी रूपमा प्राकृतिक कृषिको अभ्यास सुरु गरेदेखि औद्योगिक युगको सुरु हुने बेलासम्मको करिब दश हजार वर्षसम्म हरितगृह ग्याँसको मात्रा २८० भाग प्रति दश लाखमा स्थिर रह्यो ।
यसको मतलब प्राकृतिक कृषिमा आधारित उत्पादन, उपभोगको अभ्यास र स्थानीयकृत खाद्य प्रणाली रहेसम्म कृषिमा आधारित जीविकोपार्जन प्रणालीले जलवायु परिवर्तनमा कुनै असर पारेन ।
जलवायु परवर्तनको मुख्य कारण भनेको मानवको जीवनशैली हो । यसलाई पुष्टि गर्न एउटै मात्र तथ्य काफी छ । माथि उल्लेख गरिसकिएको छ कि मानवले कृषि सुरु गरेपछि औद्योगिक युगमा प्रवेश गर्ने बेलासम्म सरदर प्रतिव्यक्ति प्रतिवर्ष हरितगृह ग्याँस उत्सर्जन शून्य थियो अहिले यो ४.७ टन प्रतिव्यक्ति प्रतिवर्ष छ ।
यो सबै हुनुको कारण मानवको बदलिएको जीवनशैली हो । मानवको विलासी बन्दै गएको जीवनस्तर र त्यही विलासिता जोगाउन वा अझ बढाउनका लागि ऊर्जा चाहिन्छ । पहिले भन्दा बढी यातायात, खाद्यान्न उत्पादन र उपभोग शृंखला, मनोरञ्जन र दैनिक उपयोग हुने घरायसी विद्युतीय साधनमा ऊर्जा खर्च हुन्छ ।
ऊर्जा उत्पादन गर्दा हरितगृह ग्याँस उत्पादन हुन्छ । अर्कोतर्फ बढ्दो जनसंख्याका लागि बढी जमिनको आवश्यकता पूरा गर्दा कार्बन अवशोषण गर्ने जङ्गल फडानी हुनेभो । यसरी बदलिंदो मानव जीवनशैलीले जलवायु प्रणालीमा व्यापक परिवर्तन हुनगयो र यो निरन्तर छ ।
त्यसैगरी खाद्य प्रणाली मानवले खेती-किसानीमा आउनु पहिले संकलन र उपभोगमा सीमित आदिम र अति सरल अवस्थामा थियो । उत्पादन, प्रशोधन, भण्डारण, स्थानान्तरण र वितरण प्रणाली थिएन । खाद्य प्रणालीका कर्ता प्रायः व्यक्ति, परिवार र त्योभन्दा पर पुगे सानो समुदायसम्म पुग्थ्यो ।
खेती सुरु गरेर औद्योगिक युगमा नआउन्जेल खाद्य प्रणाली अझ विकसित भएर स्थानीयकृत उत्पादन, सामान्यस्तरको प्रशोधन र उपभोगसम्म पुग्यो र यस प्रक्रियामा बढी परिवार र समुदायको भूमिका प्रधान रह्यो । बजार विकास हुने अवस्थामा भए पनि यातायातका कारणले स्थानीयकृत र सम्पूर्णमा त्यस्तो प्रभावकारी भूमिकामा आइपुगेन ।
प्रायः उत्पादक नै उपभोक्ता भएकाले उत्पादनको संकलन, प्रशोधन, भण्डारण, स्थानान्तरण र वितरणमा बजार आवश्यक पनि रहेन । उत्पादन, भण्डारण र उपभोगका तरिका प्राकृतिक कृषिमा आधारित भएको अनि उत्पादक आफैं उपभोक्ता भएकाले यस अवधिमा जलवायु प्रणालीमा प्रभाव पर्ने गरी हरितगृह ग्याँस उत्सर्जन भएन ।
औद्योगिक युगमा प्रवेश गरेपछि भने यातायातको विकास, उत्पादनदेखि वितरणसम्म मेसिनको प्रयोग हुनथाल्यो। उत्पादकको संख्या घट्दै र उपभोक्ताको संख्या बढ्दै जान थालेपछि उत्पादक र उपभोक्ता बीचमा बजार जबर्जस्त बनेर आयो ।
उत्पादकबाट टाढा रहेका उपभोक्तामा खाद्यान्न पुर्याउन संकलन गर्ने, ठूलो स्तरमा प्रशोधन, भण्डारण, स्थानान्तरण र वितरण प्रक्रियामा बजार भूमिका प्रधान हुँदै जाँदा खाद्य प्रणाली विश्वव्यापी बनेको बजारसँगै जटिल, धेरै तहका कर्ता संलग्न हुने बृहत्, केन्द्रीकृत र विश्वव्यापी बन्दै गयो ।
हाल हामी खाद्य सम्प्रभुताको जति कुरा गरे पनि साना किसानले समेत के उत्पादन गर्ने भन्ने कुरा स्वतन्त्र निर्णय गर्न सक्दैनन् । उत्पादन सामग्रीको बजारमा उपलब्धता, बजार माग, उत्पादनको मूल्य र परिवारलाई आवश्यक पर्ने तर आफैं उत्पादन गर्न नसकेको खाद्य वस्तुका लागि बजारमा निर्भर र प्रभावित हुनुपर्छ ।
उत्पादनका साधन आपूर्ति, उत्पादन र उत्पादन उप्रान्तका सबै कार्यदेखि उत्पादनको वितरणसम्म साना उत्पादक तथा व्यवसायीले नियन्त्रण गुमाउँदै गएका छन् भने कर्पोरेट क्षेत्रको नियन्त्रण बढ्दैछ ।
यसरी खाद्य शृंखलामा एकाधिकार बढाउँदै गएका कर्पोरेट क्षेत्र नाफा आर्जनका लागि उत्पादन तथा व्यवस्थापन लागत घटाउन प्राकृतिक स्रोत-साधनको दोहन गर्ने र अत्यधिक हरितगृह ग्याँस उत्सर्जन गर्नेछन् ।
यसबाट सृजित प्रतिकूलतासँग जुध्न उनीहरूसँग स्रोतसाधन हुने भएकाले कम प्रभावित हुन्छन् भने गरिब, सीमान्त तथा संकटासन्न परिवार जुध्नका लागि कम क्षमता भएका कारण बढी प्रभावित हुन्छन् ।
यसरी जलवायु र खाद्य प्रणाली निरन्तर र पछिल्लो समय तीव्र गतिमा परिवर्तन भइरहेका छन् भने मानव बीचमा पहिले नै रहेको असमानताको दूरी सोच्नै नसकिने गरी बढेको छ ।
यही कारणले हरितगृह ग्याँस उत्सर्जनमा योगदान नपुर्याउने साना उत्पादक संकटासन्न बन्दैछन् भने प्राकृतिक स्रोतको अत्यधिक दोहन गरेर उत्सर्जन बढाउने सीमित वर्ग परिवर्तित जलवायुमा अनुकूलित हुन अझ बढी उत्सर्जन गरिरहेछन् ।
चौथो, यी दुवै प्रणालीहरूको एकापसमा उच्च गतिको अन्तरक्रिया हुन्छ, फलस्वरूप दुवैका अवयवहरूमा तीव्र परिवर्तन आइरहेको छ । अगाडि नै भनिसकें कि जलवायु र खाद्य प्रणालीमा मानवका कारणले पछिल्ला शताब्दी र अझ पछिल्ला दशकमा तीव्र गतिमा परिवर्तन आएको छ । याने कि दुवै प्रणाली पहिलेभन्दा जटिल बन्दैछन् र धनी र गरिब बीचको खाडल तीव्र रूपमा बढ्दैछ ।
प्रणालीहरू धनाढ्यको सम्पत्ति जम्मा गर्न र विलासिता बढाउनमा केन्द्रित छन् । उच्च दरमा प्राकृतिक स्रोतको दोहन भइरहँदा गरिबहरू पहिले स्वामित्वमा रहेको स्रोत पनि गुमाउँदैछन् । साथै मानव निर्मित कारणले खाद्य तथा जलवायु प्रणालीमा उल्लेखनीय हिसाबले संकटासन्न बनिरहेछन् ।
मानव क्रियाकलापका कारणले यी दुवै प्रणालीहरूका अवयवहरू एकापसमा तीव्र गतिमा अन्तरक्रिया गरिरहेछन् । उदाहरणका लागि दिनानुदिन बढ्दो तापक्रमले उत्पादनदेखि खपतसम्म खाद्य प्रणालीका तहहरू प्रभावित भएका छन् ।
अतिवृष्टि र अनावृष्टि जस्ता जलवायुका चरम घटनाहरूले बाढी, पहिरो, खडेरी, रोगकीरा जस्ता खतरा सृजना गर्ने र उत्पादनमा नकारात्मक असर पुर्याएको सबैले अनुभूत गरिसकेको कुरा हो ।
दुवै प्रणालीबीचको अन्तरक्रिया बहुआयामिक र जटिल छ । त्यसकारण यसको असर पनि उत्पादनदेखि उपभोग र खाद्य प्रणालीबाट सृजित फोहोर व्यवस्थापनसम्म रहन्छ । जनसंख्या वृद्घि र मानवको जीविकोपार्जनको आकांक्षामा परिपूर्ति गर्न आवश्यक ऊर्जा र खाद्यवस्तुको उत्पादन तथा आपूर्तिका लागि गरिने प्रकृतिमा असर पुग्ने खालका हर्कतले यी प्रणालीहरूमा आएको परिवर्तनले अझ जटिल र अरू आयामहरू थपिंदै गएका छन् ।
जटिल र विश्वव्यापी भएकै कारण यी समस्याका कारणमा कुनै योगदान नभएका गरिब देशका साना उत्पादक बढी प्रभावित भएर पनि यसको दीर्घकालीन समाधान उनीहरूको बुतामा छैन । यस कारण जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण समुदाय र राष्ट्रको मात्र नभई अन्तर्राष्ट्रिय सवाल बन्नुपरेको हो ।
बजार निर्देशित उत्पादनले उत्पादनका स्रोतको अन्तरनिहित गुणमा ह्रास आएको त छ नै जलवायु प्रणालीमा पहिलेभन्दा बढी हरितगृह ग्याँस थपिएका कारणले जलवायु प्रणालीका हरेक पक्ष पहिले भन्दा समस्याग्रस्त भइरहेका छन् । पछिल्लो प्रतिवेदन अनुसार मानव सृजित हरित गृह ग्याँसमध्ये ३६ प्रतिशत खाद्य प्रणालीबाट आउँछ ।
खाद्य प्रणालीबाट हुने उत्सर्जनको ७१ प्रतिशत उत्पादन र यसका लागि हुने भू-उपयोग परिवर्तनको क्षेत्रबाट आउँछ भने बाँकी आपूर्ति शृंखलाबाट आउँछ । पछिल्लो समय उत्पादनका तरिका र उत्पादनमा रासायनिक पदार्थको प्रयोगले हरितगृह ग्याँसमा उल्लेखनीय योगदान गरिरहेछ ।
हिल्याएर गरिने धान खेती, पशुपालन र खाद्यजन्य फोहोरबाट मिथेन उत्सर्जन हुन्छ भने खेतीका लागि गरिने वन विनाश, डढेलो साथै उत्पादन र समस्त खाद्य शृंखलामा ऊर्जाका लागि प्रयोग हुने पेट्रोलियमबाट कार्बन अनि उत्पादनका लागि प्रयोग गरिने रासायनिक पदार्थबाट नाइट्रस अक्साइड उत्सर्जन हुन्छ । यी सबै उत्सर्जन औद्योगीकरण तथा हरित क्रान्तिका नाममा भएका अभ्यासबाट भएका हुन् ।
ज्ञातव्य छ, मानव खेतीपातीमा आएपछि औद्योगीकरण सुरु हुने बेलासम्म जीविकोपार्जनको मुख्य स्रोत प्राकृतिक कृषि थियो । यो अवधिको करिब दश हजार वर्षमा हरितगृह ग्याँस उत्सर्जन स्थिर थियो ।
अवयवको आपसमा हुने अन्तरक्रियाको अलावा दुवै प्रणाली एकापसमा प्रणालीगत पनि अन्तरक्रिया हुने र समग्रमा दुवै प्रणाली गुणात्मक असर हुने हुनाले अझ जटिल बन्दै गएका छन् । विश्वव्यापी, जटिल, बहुआयामिक र मानव जीवन तथा वातावरणमा दूरगामी असर पार्ने हुनाले दुवै प्रणालीमा पारिस्थितिक र मानववादी सुधार ल्याउन अन्तर्राष्ट्रियदेखि व्यक्तिगत स्तरसम्मको संलग्नतामा पछिल्ला शतकमा गरेका मानव भूलहरू सच्याउनु आवश्यक छ ।
यी दुई विश्वव्यापी प्रणालीहरू अवयवदेखि सम्पूर्णमा अन्तरक्रिया गर्दा आपसमा अलग रहेर गर्न सक्दैनन्, दुवैमा पारस्परिक सम्बन्ध छ । एक प्रणालीको कुनै अवयवमा परिवर्तन आउने वित्तिकै अर्को प्रणालीमा परोक्ष असर पर्छ । यसको मतलब एक प्रणालीको कुनै अंशमा भएको मानव हस्तक्षेपले अर्को प्रणालीमा असर पर्छ ।
माथि उल्लेख भइसकेको छ कि खाद्य शृंखलाको हरेक तहमा अवलम्बन गरिएका तरिका, उत्पादन लागत र प्रविधिमा आएको परिवर्तनले हरितगृह ग्याँस उत्सर्जन अत्यधिक बढेको छ र समस्त जलवायु प्रणाली नै प्रभावित छ ।
अर्कोतर्फ जलवायु प्रणालीमा आएको परिवर्तनका कारणले खाद्य प्रणाली बढी ऊर्जा आवश्यक पर्ने बनेको छ । स्वाभाविक रूपमा बढी ऊर्जा उत्पादन गर्दा उत्सर्जन बढ्ने र पुनः जलवायु प्रणालीमा नै असर पुर्याउँछ ।
यसबाट स्पष्ट छ दुवै प्रणालीमा पारस्परिक र पूरक सम्बन्ध छ । कुनै एकको समग्र वा अवयवमा सुधार ल्याउने वित्तिकै अर्को स्वतः सुध्रिन्छ । अझ भनौं खाद्य प्रणाली गाडीको पछिल्लो पांग्रा र जलवायु प्रणाली अघिल्लो पैयाँ जस्तै हो ।
खाद्य प्रणालीलाई प्राकृतिक उत्पादन तथा उपभोगमा आधारित बनाएर उत्सर्जन घटाउँदा जलवायु प्रणाली त सुध्रिन्छ नै जलवायुजन्य चरम खतराहरू घट्दै जाने हुनाले यससँग जुध्नका लागि हुने उत्सर्जन पनि कम हुन्छ ।
प्रतिक्रिया 4