+
+

जनता आवासको घर ६ वर्षदेखि अधुरै, मुसहर परिवार खुला आकाशमुनि

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ १९ गते १९:१४

१९ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका-३ मुसहर बस्तीका बृहस्पतिया सदा मुसहरलाई यो वर्षायाम बिताउन निकै कष्ट भएको छ । घरको छानो गतिलो नभएकाले पानी पर्दा घरभित्रै चुहिन्छ । पत्नी, छोरा, दुई जिउकी बुहारी, दुई नातिनीसहित बस्दै आएका उनलाई पानी परेका बेला कहाँ ओत लाग्ने भन्ने चिन्ता पर्छ ।

‘देखियौ अखन वर्षाके मौसम है । दिनराइत पानी परै है । पुतहुके पेटमे आठ महिनाके बच्चा है । दुगोट पोती है । वर्षामे दुबेर चाउर भिजगेल । लत्ताकपडा भिजैत रहैया’, बृहस्पतियाकी पत्नी मोदनदेवीले भनिन् ।

बृहस्पतिया र छोरा मिथिलेशले ज्याला मजदुरीबाट कमाएको रकमले जीविका चलाउँदै आएको मुुसहर परिवार झण्डै ६ वर्षअघिदेखि त्रिपालमुनि बसिरहेको छ ।

पहिले फुसको घरमा बसिरहेका सदा परिवारलाई २०७४ सालमा सरकारले जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाइदिने आश्वासन दियो र फुसको घर भत्काउन लगायो ।

तर जनता आवास कार्यक्रमको घर गारो उठाएर छाना नहाली अलपत्र छाडिएको छ । छानो नहाले पनि बस्ने अरु ठाउँ नभएकाले बृहस्पतियाको परिवार यही घरमा बस्न थाल्यो । ५ वर्षसम्म छनो नहालेपछि २०७९ को वैशाखमा आफैंले पैसा खर्चेर खरको छानो हाले ।

गत वैशाखमा वडाध्यक्ष जितेन्द्र सिंह थारुले जस्तापाताको छानो हाल्ने तयारी भएको बताएपछि बृहस्पतियाले खरको छानो हटाए । तर अहिलेसम्म जस्तापाता लगाइएको छैन । बरु वडाध्यक्ष सिंहले एउटा त्रिपाल दिए, त्यो पनि चुहिने भइसक्यो ।

ठूलो पानी परेका बेला बालबच्चा लिएर अरुको घरमा ओत लाग्न जानुपरेको मोदन देवी सुनाउँछिन् ।

‘देखियौ पौरका साल जनमजदुरी आ ऋण लक, काठ, बाँस, खर किनक उपर से छतनी देलियै । गेल बैशाख महिनामे वडाध्यक्ष कहलकै आब उपर से चदरा परतै । खर हटबा देलकै । अखन तक नै बनौलकै । सरकारके काम एहने होइ है गरिबके दुःख देबबला ?’ उनले भनिन् ।

यसै बस्तीको ६० वषर्ीया रमसखिया सदाको घर पनि अधुरै छ । रामसखियाका श्रीमान रामपृतको मृत्यु भइसकेको छ । छोरी राजकली र तीन नातिनातिनासंगै छानोबिनाको अपूरो घरमा जीवनयापन गर्दै छ । ‘सरकार पक्की घरके लोभमे बेघर कदेलक । ६/७ वर्ष से जार वर्षातमे अहिन कष्ट भोगपरैय । सरकार दुःखमे धकेल देलक,’ रमसखिया दु:ख सुनाउँछिन् ।

यो बस्तीका फुलकुमारी, जयकुमारी, किसुनबतिया, सम्तोलिया, पानो, कमोधिया, मन्चित सदाको घर पनि जनता आवास कार्यक्रमले अधुरै छाडेको छ । यो बस्तीदेखि केही पर भंगहा प्रहरीचोकी नजिकै ईन्दल, युगल, दुखिया, राजकुमार, किसनीदेवी र सोमन सदाका गरी ६ वटा परिवारको घर पनि अधुरै छ ।

गत वैशाखमा १० वटा घरमा छानो हालिए पनि अझै १५ घरमा छानो हालिएको छैन । पहिले बसोबास गरिरहेको घर भत्काएको र नयाँ घर अलपत्र अवस्थामा भएकाले केही परिवार विस्थापित पनि भएका छन् ।

देवलाल सदा अध्यक्ष रहेको उपभोक्ता समिति अन्तर्गतका १० वटा घरमा गत वैशाखमा छानो हालियो, किसुनवतिया सदा अध्यक्ष रहेको ९ वटा र युगल सदा अध्यक्ष रहेको उपभोक्ता समिति अन्तर्गतका ६ वटा घर अपुरो छ ।

वडाध्यक्ष सिंहले सहरी विकास डिभिजन कार्यालयले भुक्तानी नदिँदा वृहस्पतियाको घरमाथि छानो हाल्न नसकेको स्वीकार गरे । ‘वैशाखमै सबै घरमा छानो हाल्ने काम सकिन्थ्यो । सहरी विकास तथा भवन कार्यालय धनुषाले भुक्तानी नै दिएन, साइट हेर्ने इन्जिनियर पंकज झाले फोन उठाउनै छाडे । मैले धेरै प्रयास गरेँ, तर कार्यालयले बेवस्ता गर्‍यो’ वडाध्यक्ष सिंहले भने ।

इन्जिनियर झाले उपभोक्ता समितिले काम भन्दा पहिले भुक्तानी मागेकाले काम नभएको बताए । ‘गत असारमा दुईवटा समितिको खातामा पैसा पठाइसकिएको छ । उनीहरुले कामभन्दा पहिला पैसा भुक्तानी लिन खोजेको कारण काम रोकिएको हो । म वडाध्यक्षको सम्पर्कमै छु ।’

संघीय सरकारले आर्थिक वर्ष २०७३/७४ मा विपन्न परिवारको घर बनाइदिन जनता आवास कार्यक्रम ल्याएको थियो । पछि यो कार्यक्रम मधेश प्रदेश सरकार अन्तर्गत आयो र हाल मधेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनुषा जनकपुरले यो योजना हेरिरहेको छ । जनता आवास कार्यक्रम अन्तर्गत दुईकोठे पक्की घरको माथि जस्तापाताको छाना लगाइन्छ ।

कार्यालयका प्रमुख कृष्णदेव झाले निर्माणधीन घरहरु लाभग्राहीले आफैं चासो लिएर बनाउनुपर्ने बताए । ‘हाम्रो घर बनेन भनेर उनीहरु गुनासो गर्छन् । तर आफ्नो गल्ती कसैले भन्दैनन् नि !’ उनले भने, ‘कसैले अगुवाइ गरेर बनाइदिन्छ भने हामी उसलाई चेकमार्फत भुक्तानी गर्छौ ।’

भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले प्रदेश सरकारले निर्माण गरिरहेको घरमा स्थानीय सरकारले काम गर्न कानुनी जटिलता हुने बताए । ‘प्रदेश सरकारले अति गर्‍यो, न आफैं बनायो, न त हामीलाई हस्तान्तरण गर्‍यो’ उनले भने ।

प्रदेश सरकारले अझै बेवास्ता गरे ती भवनहरु नगरपालिकाले पूरा गर्ने मेयर साहले बताए ।

बृहस्पतिया सदाको घर ।
लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?