२० भदौ, भक्तपुर । देशैभरि कृष्णजन्माष्टमी भव्य रुपमा मनाइरहेकै बेला भक्तपुरमा भने फरक तरिकाले कृष्णजन्माष्टमी मनाइएको छ ।
टाउको, हात र काँधमा दीप बालेर भक्तपुर नगर परिक्रमा गरी कृष्णजन्माष्टमी मनाइएको हो । प्रत्येक वर्ष यहाँं यसरी नै कृष्णजन्माष्टमी मनाउने परम्परा छ ।
परम्परा अनुसार दीप प्रज्वलन यात्रा भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी वाकुपतिस्थित चाँगुनारायण मन्दिर परिसरबाट सुरु हुन्छ । यात्राले नगर परिक्रमा गरेको हुन्छ । गाईजात्राको घिन्तान्गिसी नाच जाने रुटमै कृष्णजन्माष्टमीको दीप प्रज्ज्वलन यात्रा पनि चलेको हुन्छ । अन्तिममा सुरु भएको स्थानमा पुगेर यात्राको समापन गरिन्छ ।
परम्परा अनुसार भक्तपुरमा बुधबार (आज) दीप प्रज्वलन गरेर परिक्रमा गरिएको थियो । हरेक वर्ष कृष्णजन्माष्टमी अर्थात् जनैपूर्णिमाको आठौं दिनमा यहाँ यसरी नै कृष्णजन्माष्टमी दीप यात्रा गरेर मनाइन्छ ।
यसदिन भक्तपुरका नेवार समुदायका महिलाहरुले हाकुपटासी (स्थानीय कालो फरिया), नेवारी गरगहनामा सजिएर र पुरुषले दौरा–सुरुवाल लगाएर दीप प्रज्ज्वलन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ ।
उक्त दीप प्रज्वलन यात्रामा बाजागाजा, दाफा भजन समूहको सहभागिता रहेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4