
म भर्खरै फ्रान्सको भ्रमण सकेर लखतरान हुँदै हाल ओस्लोमा रहेको मेरो अस्थायी निवासमा फर्किएको मात्र थिएँ। उता पेरिसमा रहेका नेपालीहरूलाई दशैंको रमझम लागिसकेको थियो। विमानको उडानमा ढिलाइ भएको मौका छोपी एयरपोर्टमा नेपाल हिंडेका थुप्रै नेपालीलाई भेटेर नमस्कार टक्र्याउने अवसर पाएँ।
दिनभरि शाकाहारी रेस्टुराँहरू खोजी–खोजी टनाटन खाइयो। साथीभाइसँग भेटघाटका रमाइलो अनुभव सँगालियो। नयाँ तरङ्ग लिएर फर्केको थकित र भोकाएको म रातको खाना बनाउने प्रयासमा भान्सामा लागेको थिएँ। मसँगै अपार्टमेन्टमा बस्ने विद्यावारिधिको विद्यार्थी रहेकी एक युरोपियन केटी साथीले उनको मोबाइल मतिर ढल्काउँदै भनिन्, ‘म यो महिनाबाट भिगन बन्ने प्रयास गर्दैछु नि, त्यही भएर आज म भिगन मफिन बनाउँछु, तिमीलाई चाख्न अग्रिम निम्तो छ है।’
उनले पहिला पनि शाकाहारी खानेकुरा बनाएर मलाई नखुवाएकी त हैनन्। तर, पेरिसको एकहप्ते बसाइमा शाकाहारी रेस्टुरेन्ट खोज्दै घुँडाको पाङ्ग्रा खुस्किने गरी कुनाकाप्चा चहार्दै बिताएको कथा उनलाई सुनाउन उत्सुक रहेको म उल्टै उनको यो भिगन मफिनको कुरो सुनेर तिनछक्क परें।
विशुद्ध मांसाहारी परिवारमा जन्मिएकी उनलाई मासु पटक्कै मन नपर्ने रहेछ। स्कुलदेखि नै पशु हत्या र पोल्ट्री फार्मिङ बारे सुनेर–देखेर उनी एकदमै दु:खित रहिछन्। विश्वमा थुप्रै मान्छे र पूरै सभ्यता नै शाकाहारी रहेको कुरा सुन्दा उनलाई पनि शाकाहार अँगाल्ने प्रेरणा मिलेछ।
परिवार, समाज र संस्कृतिमा मासुजन्य खानेकुरा खाने चलन रहेकोले उनले सानो उमेरको हुँदा मांसहार त्याग गर्ने सम्भावना नै रहेन। तर, हाईस्कुलतिर पुगेसँगै ठूलै आँट गरेर एक दिन आफ्नी आमालाई भनिछन्, ‘आमा ! अब म मासु खान्न है, मलाई मन नै पर्दैन !’
आमाले ठाडै मांसाहार नगरे आहार नपुग्ने र अस्वस्थ भइने भनी उनको अनुरोध अस्वीकार गरिदिनुभएछ। उनी खिन्न भइछन्। तर खाने मुखलाई जुँगाले कहाँ छेक्न सक्छ र! उनले मनमनै अठोट गरिछन्, ‘आमाले नमाने के भयो त ! आखिर हात र मुख त मेरै हो, मैले नै हातले के समाउने र मुखमा के हाल्ने भन्ने कुरोको निर्णय गरेपछि मलाई कसले पो रोक्न सक्छ र!’
हाईस्कुल शिक्षाको लागि परिवारबाट अन्यत्र बस्न थालेपछि सुरु भएछ उनको शाकाहार यात्रा। तर, एउटा अर्को समस्याले पिरोलेछ, उनलाई खाना बनाउन भने पटक्कै नआउने। आमासँग सिकाइमाग्दा पनि मांसाहारी खानेकुराको रेसिपी मात्रै पाइछिन्। साथीहरू पनि सबै मांसाहारी।
हैरान भएर इन्टरनेटतिर खोज्न सुरु गरी नयाँ–नयाँ परिकार खोज्दै आफैं बनाउने कोसिस गरिछन्। ‘रेसिपीको चित्र हेर्दा मुखबाट पानी आउने, तर आफूले बनाउँदा निल्न नै नसकिने!’ पाक कलामा निपुण नहुनु त समस्या छँदैथियो, त्यसमाथि पनि रेसिपीमा भनेको सामग्रीहरू उनले आफ्नो बजारमा फेला पार्नै सकिनछिन्।
आमालाई सोध्न पनि आँट आएनछ। मांसाहार त्यागेको सुइँको पाए आमाको गाली खानुपर्ने डर त छँदैथियो। फलफूल, ब्रेड, मसरुम, टमाटरको अचारमा उनले जीविकोपार्जन सुरु गरिछन्। उनलाई मनमनै आमाको गालीको डर भए पनि धेरैपछि स्वतन्त्र भएर आफ्नो मनमा लागेको कुरा अँगाल्न पाउँदा औधी खुसी लागेको रहेछ।
तर त्यसपछिको कथा भने सुखद रहेनछ। केही महिना नबित्दै उनी नराम्रोसँग बिरामी परिछन् र बाबु–आमा आएर अस्पताल लगेर डाक्टरले आहारबारे केरकार गरेपछि उनको पोल खुलेछ।
बर्बाद! उनले आमाको नराम्ररी गाली खानुपरेछ। तर हुर्किएकी छोरीको हठ रोक्न नसकिने देखेर आमाले उनलाई सहयोग गर्नुको विकल्प नरहेको स्वीकार्न बाध्य हुनुभएछ। डाक्टरले मेडिकल रिपोर्टमा आइरनको कमी भएको देखाएछन् र आहारमा समस्या रहेको निष्कर्षमा पुगेछन्। डाक्टरले उनलाई औषधिको प्रेस्क्रिप्सन लेखिदिएछन्।
शाकाहारी बनिसकेको रहस्य खुलिसकेको हुँदा र उनको शाकाहारी बन्ने दृढ अठोट देखेर सबै मिलेर उनलाई पौष्टिक आहारबारे जानकारी गराएछन्। आइरनको मात्रा आहारमा सन्तुलन गर्न हरियो सागसब्जी र गेडागुडी पनि खानुपर्ने कुरो उनले त्यहाँ पत्ता लगाइछन्। त्यसपछि सन्तुलित शाकाहारबारे उनले खोजी गर्न थालिछन्। अनलाइनबाट पनि शाकाहारी रेसिपी तथा सन्तुलित आहारबारे लेखहरू खोजी–खोजी पढ्न थालिछन्। त्यसपछि उनले शाकाहारी जीवनयात्रामा कहिल्यै पछाडि फर्केर हेर्नु परेनछ।
स्नातक, स्नातकोत्तर हुँदै विद्यावारिधिको विद्यार्थी रहँदासम्म उनले थुप्रै देशको भ्रमण गर्न भ्याइसकिछन् र जहाँ जाँदा पनि त्यहाँको खाद्य संस्कृतिबारे बुझ्न उनको विशेष रुचि हुनेरहेछ। दक्षिणएशियामा सदियौंदेखि शाकाहार खाद्य संस्कृति रहेको कुरो उनलाई थाहा रहेछ र इन्टरनेटमा उनले नेपाल र भारतका शाकाहार खानेकुरा बारे धेरै भिडियोहरू समेत हेरिसकेकी रहिछन्।
क्याम्पसमा सांस्कृतिक मेलाहरू हुँदा स्टलहरूमा गएर भारत, नेपाल लगायत विभिन्न देशका परिकारहरू समेत चाख्न भ्याएकी रहिछन्। त्यति मात्रै नभएर समय मिलाएर छिट्टै त्यहीं गएर त्यहाँको खाद्य संस्कृतिको मज्जा लिने समेत सपना बुनेर बसेकी रहिछन्।
शाकाहार समाज र परिवारमा जन्मेर जन्मजात शाकाहार रहेको अनि त्यसमाथि पनि एक युरोपियन युवतीको सपनाको संसारमा हुर्किएको मैले पनि नेपालमा मेरो क्याम्पसका दिनहरू सम्झें। औंलामा अटाउने शाकाहारी साथीहरू, शाकाहारी अमैत्री क्यान्टिन, मिल्ने साथीहरूसँग खाजा खान जाँदा गरिने व्यवहार सम्झिएँ। साथीभाइको घरमा जाँदा खानपिन नमिलेर पर्ने समस्या अनि उपल्लो शुद्ध ब्राह्मण परिवारको हुँ भन्दै घाँसपात काट्दा पनि जनावर जस्तै बराबर दुख्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाइसकेको हुँदा अब शाकाहारीहरूले घाँसपात त्याग्नुपर्ने तर्क दिंदै फिला दार्ने विद्वानहरू।
अहो! आङ नै सिरिङ्ग हुन्छ। के बोटबिरुवालाई पनि काट्दा दुख्छ होला? तिनीहरू पनि धुरुधुरु रुन्छन् होला? काट्न खोज्दा बोटबिरुवा त जनावर जस्तो यताउता भाग्दैनन्, सायद कुद्न नसकेर पो हो कि!
यस विषयमा मैले विद्वत्ता त हासिल गरेको छैन, तर खालि समयमा मैले इन्टरनेटमा विभिन्न रिसर्चका निष्कर्षहरू नियाल्दा बिरुवाहरूले पनि तनावलाई केही हदसम्म प्रतिक्रिया दिन्छन्, तर जनावरहरूले गर्ने तरिकामा होइन भन्ने बुझेको छु।
तिनीहरूसँग केन्द्रीय स्नायु प्रणाली, मस्तिष्क र चेतनाको कमी छ, जुन दुखाइ र भावनाहरू अनुभव गर्न आवश्यक छ। बिरुवाहरूमा हुने तनाव प्रतिक्रियाहरू वातावरणीय अवस्थाहरू जस्तै खडेरी वा संक्रमणको प्रतिक्रियाहरू हुन् र पीडाको सूचक होइन।
‘बोटबिरुवाहरूले पनि दुःख व्यक्त गर्छन् र ?’ भन्ने प्रश्नको उत्तर खोज्न चेतना र भावनात्मक क्षमताको सन्दर्भमा मानव, जनावर र बिरुवाहरूबीचको भिन्नता स्पष्ट पार्नु महत्त्वपूर्ण हुन्छ। यदि बिरुवाहरूले पीडा महसुस गर्न सक्छन् भने पनि, शाकाहारले मांसाहारको तुलनामा जगतलाई कम हानि गर्ने कुरा विभिन्न अध्ययनले स्पष्ट पारेकै छ। किनभने अधिकांश बालीहरू पशुहरूलाई खुवाउनुकै लागि उब्जाइन्छ, मानिसलाई होइन।
शाकाहारी आहारको लागि कम जमिन र थोरै स्रोतहरू चाहिन्छ, र ती ‘पाते रुवाइ’ गर्ने विद्वानहरूले भने जस्तो बिरुवाहरूलाई हुने जम्मा ‘हानि’ जोड्दा थोरै नै हुन आउँछ। र, मार हान्दा उफ्रिपाफ्री गरेको जनावरको रुवाइ नदेख्ने आँखाले देखेको ‘पाते रुवाइ’ को तर्क आफैं अर्थहीन भइदिन्छ।
नैतिक शाकाहारको उद्देश्य भनेको अवसर सम्भव भएसम्म अहिंसा, हानि र पीडा कम गर्नु हो। बिरुवाहरू सहित सबै जीवित प्राणीहरूलाई हानि गर्नबाट जोगाउन असम्भव भए तापनि, शाकाहारी खाना उत्पादन गर्दा हुने हानि प्रायः मासु उत्पादन गर्दा हुने हानिको तुलनामा कम गम्भीर र अधिक न्यायोचित रूपमा देखिन्छ।
मानिसलाई फस्टाउनको लागि विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ, र सन्तुलित शाकाहारी आहारले यी पोषक तत्वहरूलाई सबैभन्दा कम हानि गरिकन प्रदान गर्न सक्छ। र, हाम्रो सनातन सभ्यतामा यसलाई अचूक नियम बनाई पालना गरेको देखिन्छ। हिन्दु दर्शनमा रहेको ‘अहिंसा परमो धर्मः’ यसको ज्वलन्त उदाहरण हो। र, हाम्रो सम्पन्न सनातन सभ्यता नै शाकाहारीवादको सफल परिणाम हो। व्यापारिक फार्महरूमा गरिएका रिसर्चहरूले शाकाहारीवादले प्रायः मासु-आधारित आहारको तुलनामा कम वातावरणीय प्रभाव पार्छ, जुन अर्को नैतिक विचार हो।
***
भान्सामा मोबाइलमा मफिनको रेसिपी हेर्दै त्यसमा भने बमोजिम पिठो एउटा सानो डिजिटल तौल मेसिनमा जोख्दै उनी भन्दै थिइन्, ‘मलाई त्यति मिठो बनाउन त आउँदैन, तर मांसहार त्याग गरेकोमा एकदमै गर्व लाग्छ।’
पाककलामा रहेको कमजोरी छोप्न उनलाई इन्टरनेटले भरपुर सहयोग गरिदिएको रहेछ। ‘यो भिगन चकलेट हो, यो फ्लेबरको मैले बल्लतल्ल आज फेला पारें!’ टेबलभरि छरिएका सामग्रीहरूले उनको शोखको व्याख्या गरिरहेको थियो।
‘तिमीलाई यो पक्कै मिठो लाग्नेछ, मलाई पूरा विश्वास छ’, उनी घरी डिजिटल तौल मेसिनमा नाप हेर्दै घरी मोबाइलमा रेसिपी हेर्दै थिइन्। ‘तर एक हप्तामै भिगन चाहिं कसरी भयौ?’ मैले प्रश्न तेर्स्याएँ। केही महिनादेखि उनको ध्यान दूध र अण्डा उत्पादन गर्ने पशुपन्छीमाथि गरिने क्रूरतामा गएको रहेछ। मासुको लागि मात्र नभई दूध र अण्डाका लागि समेत पशुपन्छी माथि क्रूरता हुने कुराले उनको ध्यान खिचेछ।
त्यसमाथि पनि अघिल्लो हप्ता उनले ओस्लो विश्वविद्यालयमा ‘भिगन डाइट’मा रिसर्च गरिरहेका विद्यार्थीलाई भिगन आहारबारे परीक्षण गर्न सहभागीहरू आवश्यक रहेकाले पोस्टर बनाएर क्याम्पसमा टाँसेको फेला पारिछन्। अनि के चाहियो र! के खोज्छस् कानो आँखो भने झैं परीक्षणमा आफू गिनी-पिग बन्न तयार भई तुरुन्त सम्पर्क गरिछन्। र, त्यही अनुरूप उनले भिगन आहार गरेको एक हप्ता बितिसकेछ।
‘अनि कस्तो रह्यो त अनुभव?’ मैले सोधिहेरें।
‘गज्जब! एकदमै खुसी लाग्या छ। म त मेरो बच्चाहरूलाई समेत भिगन बनाउँछु होला।’
म निशब्द भएँ। उनले मफिन ओभनमा हालिन् र टेबल सफा गर्न थालिन्।
‘मैले सुनेको युरोपमा अहिले शाकाहारीको संख्या बढ्दै छ रे’, उनले थप्न भ्याइन्। मैले नि फिस्स हाँसेर टाउको हल्लाई सहमति जनाइदिएँ। उनी सरसफाइमा मग्न भइन्।
मफिन पाकुन्जेलको समय बिताउन मैले मेरो बगलीमा भएको मोबाइल झिकेर सामाजिक सञ्जाल खोलें र न्यूज फिड हेर्न थालें। दशैं आउन लागेछ, खसी–बोका र च्याङ्ग्राहरू शहरमा भित्रिएका समाचार र मासु के गरी खाँदा उचित हुन्छ त भन्ने अति-जानकारीमूलक समाचारहरूले संकेत गर्यो।
‘पशुबलि निषेध गर भन्ने डलरे किन बोलेनन् यो वर्ष?’ एकजना नाम कहलिएका अभियन्ताले आक्रोश पोख्न भ्याएका रहेछन्।
मैले पुलुक्क उनको अनुहारमा हेरें, ओभनभित्रको रातो राप उनको आँखामा झल्किरहेको थियो। त्यो रापले मलाई अर्को एउटा डरलाग्दो सत्यको सम्झना गराइदियो: चाडबाड एवं पूजा प्रतिष्ठाको नाममा दिइने पशुबलिले नेपाली समुदायमा गाडेको गहिरो जडको।
धर्मको नाममा त्यसो गरेमा समृद्धि आउने र देवीलाई खुसी पर्न सकिने तर्कहीन जनविश्वास रहेको देखिन्छ। एकातिर ‘सर्वं खल्विदं ब्रह्म’ भनेर व्याख्या गर्ने उपनिषद् च्याप्दै, अर्कातिर दशैंको लागि खसीबोका घिसार्न अनुमति शास्त्रले कुनै पनि हालतमा दिंदैन।
अर्कोतर्फ, चाडबाडमा होस् वा गढीमाई जस्ता पर्वमा हुने पशु बलिलाई विश्वव्यापी रूपमा नै गम्भीर रूपमा हेरी निन्दा गरिएको पाइन्छ। एकातिर शान्ति र अहिंसाका दूत बुद्ध अनि जानकी र जनकको भूमि पनि भन्ने, अर्कातिर पशु क्रूरतालाई बढावा दिने गर्न हामीलाई सुहाउँदैन।
यद्यपि, यस्तो अभ्यास समकालीन समयका विचारहरूसँग बाझिन जान्छ। दशैंमा गुन्जिने शाकाहारको आवाज र पशुबलि बीचको द्वन्द्वले सामाजिक मूल्यमान्यता र अभ्यासहरूमा भइरहेका परिवर्तनलाई समेट्छ। यो परिवर्तनकारी समाजको एउटा गुण नै हो, यो नदी झैं बगिरहन्छ।
उनले ओभन खोलिन्, पाकेको मफिनको बासनाले कोठा पूरै सुगन्धित भयो। उनले सावधानीपूर्वक मफिन झिकेर टेबलमा राखिन् र मलाई मफिनतिर इशारा गर्दै चाख्न संकेत गरिन्। मैले नि एउटा झिकेर मुख भरिने गरी हालेर चपाउन खोजें। ‘अहो ! मफिन त साँच्चै नै गज्जबको बनेछ !’
बडा दशैंको शुभकामना !
ओस्लो, नर्वे
प्रतिक्रिया 4