+
+

कर्मचारीको भत्ता कटौतीले संसद् चलाउन समस्या भयो : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १८:०६

११ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद् चलाउन समस्या भएको बताएका छन् ।

सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीका विषयमा भएको छलफलमा सभामुख घिमिरेले सरकारले संसद्को बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताए ।

‘हाम्रो बाध्यता के छ भने अफिस टाइम भन्दा फरक टाइममा संसद् नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ । आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ’ उनले भने, ‘व्यवहारमा अतिरिक्त केही नदिइसकेपछि चल्न गाह्रो छ ।’

सरकारी कार्यालयजस्तो नियमित कामकारबाही हुने ठाउँ र संसद्को प्रकृति फरक छ भन्ने विषयमा अर्थमन्त्रीसँग कुरा गरेको हेर्दै जाउँला न त भनेको तर न्यूनतम पनि बजेटको प्रबन्ध नगरेको सभामुख घिमिरेले बताए ।

विगतमा संसद् सचिवालयका कर्मचारीलाई कार्यालय समय भन्दा थप समय काम गर्दा भत्ताको व्यवस्था थियो । तर पछिल्ला वर्षमा सरकारले खर्च कटौती गर्नुपर्ने भन्दै कर्मचारीलाई भत्ता नदिने घोषणा गरेपछि हाल संसदमा कर्मचारीले भत्ता पाएका छैनन् ।

‘विगतमा पनि उहाँहरुले बिहानदेखि बेलुकासम्म खट्दा पनि खाजासम्म पनि खुवाउने परिस्थिति नभएर विगतकै (भत्ता ) दिन सकेका छैनौं । त्यो भन्दा पहिला सुविधा दिने परम्परा थियो । यसलाई व्यवस्थित नगर्ने हो भने चल्न नसक्ने स्थिति छ’, उनले भने ।

विगतमा संसद्लाई विभिन्न दातृ निकायले सहयोग गरेको तर अहिले दातृ निकायको सहयोग पनि घट्दै जाँदा धेरै कामकारबाहीमा समस्या परेको धारणा राखे ।

‘विगतमा संसद्लाई सपोर्ट गर्नका लागि विदेशी संघसंस्थाहरु पनि ठूलो मात्रामा आएका देखिएका थिए । किनभने नेपालमा भर्खर प्रजातन्त्र आएको थियो । गणतन्त्र आएको थियो । त्यसका क्रियाकलाप गर्नका लागि कहाँ के गर्नुपर्छ ? सहयोग भनेर धेरै आएका थिए’ उनले भने, ‘त्यसको आधारमा यहाँ केही सुविधाहरु, केही गतिविधि गर्न सपोर्ट थियो राज्यले पनि यसमा ठिकै बजेट र लगानी गरेको थियो । अहिले आइपुग्दा सपोर्ट गर्ने हेण्ड्सहरु कतिपय हाम्रा लागि त्यति उपयुक्त भएनन् । कतिपय अब किन सपोर्ट गरिरहने भनेर गए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?