+
+

धरौटी बुझाए पनि छुटेनन् नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १७:५०
केन्द्रीय कारागार कार्यालय ।

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार रिहा भएनन् ।

केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०/१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार रिहा नभएका केन्द्रीय कारागार स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको केन्द्रीय कारागार स्रोतले बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ ।

टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पा लगायत ९ जनालाई थुनामा नै राख्न आदेश दिएको छ । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?