१८ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा नभएपछि नेपालका मौसमविद्हरुले आफ्नै प्रक्षेपणको समीक्षा गर्ने भएका छन् ।
विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन । कुनै-कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी परेको विभागको रेकर्ड छ ।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले आफूहरुले प्रक्षेपण गरेअनुसारको हिउँदे वर्षा नभएको र तत्काल वर्षाको सम्भावना पनि नरहेको बताइन् । ‘यो समीक्षाको विषय हो,’ उनले भनिन्, ‘हामीले प्रक्षेपण गरेअनुसार किन भएन भनेर पुनः विश्लेषण गर्छौं ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसमविदहरु समेतको सहभागितामा विभिन्न मोडेलमा गरिएका विश्लेषणका आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण थियो । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ ।
वरिष्ठ मौसमविद पोखरेलले यस वर्षको हिउँदयाम अघिल्लो वर्षको तुलनामा न्यानो हुने भनेर गरिएको प्रक्षेपण मिले पनि वर्षाको प्रक्षेपण नमिलेको बताइन् । ‘अब हिउँदको दुई महिना बाँकी छ तर तत्काल वर्षाको सम्भावना छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो किन भयो भनेर एनालाइसिस गर्नैपर्ने हुन्छ, हामी गर्छौं पनि ।’
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ । मंसिरको सुरुमा हिउँदयाममा पश्चिम नेपालमा असिना पानी परेको थियो । त्यसयता वर्षाभएको छैन । मौसम विज्ञान विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका ६२ वटा केन्द्रमा गरिएको मापनमध्ये कुनै पनि केन्द्रमा वर्षाको रेकर्ड छैन ।
किन भएन वर्षा ?
वरिष्ठ मौसमविद वरुण पौडेलका अनुसार हिउँदयाममा अन्य यामको तुलनामा कम पानी पर्छ । तर यसपालि जति पानी पर्नुपर्ने हो, त्यति परेको छैन । ‘यो याममा इण्डियन वा अरेबियन सागरबाट नभइ भूमध्य सागरबाट प्रणाली आउँछ र प्रणाली वायुमण्डलको निकै माथिल्लो तहबाट आउँछ । तर यसपटक नेपालसम्म आइपुगेन । जति आयो, स्ट्रोङ खालको भएन,’ पौडेलले भने ।
पश्चिमी वायुले ल्याउने न्युन चापीय प्रणाली कमजोर खालको भएकाले वर्षा नभएको बताउँदै उनले भने, ‘पश्चिमी वायुले पानी पार्ने प्रणाली ल्याउनुपर्नेमा नेपालसम्म किन आइपुगेन भनेर स्टडी हुन्छ । वायुमण्डलमा कुन प्यारामिटर ट्वीस्ट भयो भनेर अध्ययन विश्लेषण गर्छौं ।’
मौसम विज्ञान विभागले हावापानीको विश्लेषण गरी सम्भावित मौसमी अवस्थाको प्रक्षेपण सार्वजनिक गर्दछ । विभागले प्रिमनसुन र मनसुन सिजनमा गरेको प्रक्षेपण मिल्दै आएको छ । विभाग अन्तर्गतको महाशाखाले हरेक दिन सार्वजनिक गर्ने तीन दिनको मौसमी बुलेटिन पनि मिल्ने गर्दछ । तर हिउँदको समयको प्रक्षेपण भने नमिलेको मौसमविद पौडेल बताउँछन् ।
जल तथा मौसम विभागले विश्व मौसम संगठन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको आँकलनका आधारमा नेपालको हावापानीको अवस्था विश्लेषण गर्दछ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो (एल निनो र आसलेसन), हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपहरुको हिउँद अवधिको आँकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकहरुलाई समेत विश्लेषण गरिन्छ ।
यिनै विश्लेषणका आधारमा गत २५ मंसिरमा मौसम विज्ञान विभागले हिउँद अवधिको हावापानीको आँकलन सार्वजनिक गरेको थियो । यस्ता प्रक्षेपण केही महिना अगाडि नै सार्वजनिक गरिने भएकाले भनेको जस्तै ठ्याक्कै कहिलेकाहिँ नमिल्न सक्ने मौसमविद पौडेल बताउँछन् । त्यसो हुनुमा जलवायु परिवर्तनको असर प्रमुख कारण हुनसक्ने उनको अनुमान छ । ‘नेपालमा मात्र होइन, विश्व नै जलवायु परिवर्तनको चपेटामा परेको छ । मौसममा छिटोछिटो बदलाव आइराखेको छ । मौसमको प्रक्षेपण नमिल्नुको कारणबारे २०-३० वर्षदेखिको सरदर डाटा र लोकल लेभलको पनि डाटा राखेर रिसर्च गर्नुपर्ने हुन्छ,’ उनले भने ।
आजको मौसमी अवस्था कस्तो ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार हाल नेपालमा रहेको पश्चिमी वायु कमजोर छ र अर्को नयाँ प्रणाली भित्रिने सम्भावना पनि तत्काल छैन ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुने र यिनै प्रदेशका उच्च भूभागमा भने हिमपात हुने पूर्वानुमान छ । आगामी तीन दिनसम्म उल्लेख्य मौसमी प्रणाली भित्रिने वा पानी पर्ने सम्भावना नरहेको मौसमविद पुडासैनीले बताए ।
हिउँदे वर्षा हुनुपर्ने समयमा पनि वर्षा नभएपछि किसान मर्कामा परेका छन् । पानी नपर्दा जमिन सुख्खा भएको छ । हावामा धुलोका कण रहँदा वातावरण पनि प्रदूषित भएको छ । यसले बालबालिका र स्वासप्रश्वासका विरामीहरुलाई समस्यामा पारेको छ ।
प्रतिक्रिया 4