 
																						२६ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण रहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिइन् । गत वर्ष मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो भने कोशी, मधेश र बागमती प्रदेशमा कम वर्षा भएको थियो ।
यो हिउँदयाममा तापक्रम भने गत वर्षको जस्तै रहने सामान्य प्रक्षेपण छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशतिर सरदरभन्दा कम जाडो हुने छ ।
‘अधिकतम तापक्रम सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना छ । न्यूनतम तापक्रम कर्णाली, गण्डकी र कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम र बाँकी भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना छ,’ अर्का मौसमविद सुदर्शन हुमागाईंले भने ।
आँकलनको आधार
जल तथा मौसम विभागले विश्व मौसम संगठन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको आँकलनका आधारमा नेपालको हावापानीको अवस्था विश्लेषण गर्दछ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो (एल निनो र आसलेसन), हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपहरुको हिउँद अवधिकारीको आँकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकहरुलाई समेत विश्लेषण गरिन्छ ।
विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निनोको अवस्था छ र आगामी हिउँद अवधिमा पनि एल निनो कायम रहने आँकलन गरिएको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल धनात्मक रहेको र हिउँद अवधिको अन्त्यतिर तटस्थ रहने आँकलन गरिएकाले वर्षा र जाडो बढी हुने प्रक्षेपण गरिएको हो ।
यद्यपि ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरुमा भूउपयोग जस्ता कुराहरुमा निर्भर रहने भएकाले यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा परिवर्तन हुने भएकाले आँकलन गरिएको भन्दा थोरै तलमाथि पनि हुन सक्ने विभागले जनाएको छ ।
अधिकतम तापक्रमको आंकलन
विभागका अनुसार गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ ।
यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, बागमती प्रदेशका मध्य तथा पूर्वी भूभाग, मधेश प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वी तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर र बाँकी भूभागमा सरदरभन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
न्यूनतम तापक्रमको आँकलन
कर्णाली प्रदेशका दक्षिण पूर्वी भूभाग, लुम्बिनी प्रदेशका उत्तर पश्चिमी भूभाग, गण्डकी प्रदेशका दक्षिण पूर्वी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भूभाग, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका पूर्वी भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भूभागमा सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
कर्णाली प्रदेशका मध्य–उत्तरी ूभागमा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भूभागमा सदरभन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4