+
+
Shares

किसानलाई धान नकाट्न मौसम विज्ञान विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले किसानलाई मौसम खुलेपछि मात्र धान काट्न आग्रह गरेको छ।
  • विभागका मौसमविद् रोजन लामिछानेले जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा बस्नेहरूलाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई सचेत गराउन भनेका छन्।
  • विभागले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन, माइकिङ र साइरन बेवास्ता नगर्न, र ११५५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ ।

देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन सुझाव दिए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसमविद् लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गरेका हुन् ।

उनले विशेषगरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे ।

‘किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला । अहिले नेपालको पूर्वी भूभागबाट चाहिँ विस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ,’ उनले भने, ‘केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ ।’

विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३–४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्मको लागि रहेको उनले बताए ।

यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्दा थप सजग रहन भनिएको छ ।

स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड दिएको छ ।

विपद्को समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनैपनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?