News Summary
Generated by OK AI. Editorially reviewed.- २७ वर्षपछि हेटौंडा कपडा कारखाना पुनः सञ्चालनमा आएसँगै नेपालको कृषि–औद्योगिक मूल्य शृंखला पुनःनिर्माणको बहस सुरु भएको छ।
- उद्योग सफल बनाउन स्वदेशी कपास खेती, किसानको उचित मूल्य, प्रविधि र उद्योगबीचको एकीकृत नीति आवश्यक रहेको छ।
- उद्योगको सफलता कपडा उत्पादनको मात्राभन्दा पनि कति नेपाली किसानको खेत आपूर्ति शृंखलासँग जोडिए भन्ने आधारमा मापन गरिनुपर्छ।
करिब २७ वर्ष बन्द रहेको हेटौंडाको कपडा कारखानाले उत्पादन परीक्षण सफल बनाएर सञ्चालनमा ल्याएपछि नेपालको अर्थ–राजनीतिक बहस मजाले तातेको छ।
२०३२ सालमा स्थापित उद्योगले २०३५ सालबाट व्यावसायिक उत्पादन शुरु गरेयता २१ वर्ष आफ्नो कपडा उत्पादनमा अब्बलता देखाएको थियो। तर अब्बलता देखाउँदै गर्दा त्यसभित्र अड्किएर रहेको आर्थिक र प्रशासनिक संरचनाको खाडलमा उद्योग पर्न गएको विश्लेषण शुरु भयो।
त्यस बखत भर्खरै नेपालले अवलम्बन गरेको नवउदारवदी आर्थिक विकासको मर्म, आर्थिक सुरक्षाको रणनीति र निजीकरणको सिद्धान्तमा परेको यो उद्योगले एकाएक २०५६ सालमा आफ्नो व्यावसायिक यात्रामा विश्राम लगाउनु परेको थियो।
वार्षिक २ हजार ३०० टन धागो र १ करोड १० लाख मिटर कपडा उत्पादन गर्ने क्षमता बोकेको हेटौंडा कपडा उद्योगले बन्द हुनुअघि २०५५/५६ ताका करिब ६२ लाख मिटर कपडा उत्पादन गरेको उपलब्ध तथ्यांकले देखाउँछ। यसको अर्थ उद्योग आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुनसकेको थिएन।
विभिन्न अध्ययन अनुसार उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक करिब २ हजार ३०० देखि २ हजार ४०० टन कपास कच्चा पदार्थका रूपमा आवश्यक पर्ने अनुमान गरिएको थियो। तत्कालीन जाइकाको अध्ययनले यस्तो परिमाणको कपास उपलब्ध गराउन करिब ७ हजार टन बीउ कपास उत्पादन गर्नुपर्ने र त्यसका लागि तत्कालीन उत्पादकत्वको आधारमा करिब ३ हजार ६०० हेक्टर जमिनमा कपास खेती आवश्यक पर्ने देखाएको थियो।

यसै बीचका अध्ययनहरूले नेपालमा कपास खेती विस्तार हुँदै गएको देखाउँछन्। २०५४/५५ ताका करिब ३ हजार ६८० हेक्टर जमिनमा कपास खेती भई करिब २ हजार ६५० टन बीउ कपास उत्पादन भएको तथ्यांक पाइन्छ। यसबाट तत्कालीन अवस्थामा उद्योगको आवश्यकतासँग तुलना गर्दा नेपालमा कपास उत्पादनको आधार निर्माण भइसकेको देखिन्छ।
तर विडम्बना के थियो भने उद्योगको कच्चा पदार्थको आवश्यकता र स्वदेशी कपास उत्पादन बीच अपेक्षित सम्बन्ध स्थापित हुन सकेन। उपलब्ध जाइकाको अध्ययन अनुसार २०३८/३९ मा हेटौंडा कपडा उद्योगमा नेपालबाट प्राप्त भएको लिन्ट कपास करिब ५९ टन र २०४१/४२ मा करिब १७६ टन मात्र थियो। उद्योगको बाँकी आवश्यक लिन्ट कपास भारतबाट आयात गरिएको देखिन्छ। अर्को तथ्यांक अनुसार सो अवधिमा उद्योगको कुल लिन्ट कपास खपत औसतमा करिब १,००० टनको आसपास थियो।
यसबाट एउटा विरोधाभास देखिन्छ—एकातर्फ उद्योगलाई ठूलो परिमाणमा कपास आवश्यक थियो, अर्कोतर्फ नेपालमा कपास खेती पनि हजारौं हेक्टरमा विस्तार भइसकेको थियो; तर उद्योगको कच्चा पदार्थको आवश्यकता भने ठूलो मात्रामा आयातित कपासबाट पूरा भइरहेको थियो। अर्थात्, समस्या केवल कपास उत्पादनको अभाव थिएन; उत्पादन, संकलन, जिनिङ, गुणस्तर, मूल्य र उद्योगको नियमित खरिद बीचको सम्बन्ध कमजोर थियो।
तत्कालीन उद्योगको उत्पादन क्षमता, बजारको माग, कपडाको लोकप्रियता तथा कच्चा पदार्थको आवश्यकतालाई नेपालमा भएको कपास खेतीसँग तुलना गर्दा स्वदेशी कपास उत्पादनलाई अझ ठूलो क्षेत्रफलमा विस्तार गर्न सकिने सम्भावना थियो। उपलब्ध उत्पादकत्वका आधारमा उद्योगको पूर्ण क्षमताका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने हो भने विद्यमान कपास खेती क्षेत्रभन्दा धेरै ठूलो क्षेत्र आवश्यक पर्ने अवस्था देखिन्छ।
त्यतिबेला साना किसानको औसत जोत करिब ०.७ देखि १.० हेक्टरको आसपास रहेको अवस्थालाई आधार मान्दा, कपास खेतीमा प्रयोग भएको करिब ३,५०० हेक्टर क्षेत्रबाट हजारौं साना किसान परिवार प्रत्यक्ष रूपमा कपास उत्पादनमा जोडिएको अनुमान गर्न सकिन्छ। केही अध्ययनले १९९० को दशकको मध्यतिर कपास खेतीमा ८ हजारभन्दा बढी किसान संलग्न रहेको देखाएका छन् ।

कपास विकास बोर्ड तथा सम्बन्धित अध्ययनमा उल्लिखित तत्कालीन मूल्य र उत्पादनलाई आधार मान्दा, करिब २ हजार ५०० देखि २ हजार ६०० टन कपासलाई प्रतिकिलो रु.२० आसपासको मूल्यमा बिक्री भएको मान्ने हो भने यसको कुल सकल बजार मूल्य करिब रु.५०–५२ करोड हुन आउँछ। त्यसलाई करिब ८ हजार किसान परिवारमा समान रूपमा विभाजन गर्दा प्रति परिवार औसत करिब रु. ६३ हजारको वार्षिक सकल कपास बिक्री मूल्य हुन आउँछ।
यो रकमलाई भने किसानको खुद आम्दानीका रूपमा बुझ्नुहुँदैन। यसमा बीउ, श्रम, मल, विषादी, सिंचाइ, ढुवानी लगायत उत्पादन खर्च कटाइएको छैन। त्यसैले यसलाई “कपास बिक्रीबाट प्राप्त अनुमानित औसत सकल आम्दानी” का रूपमा लिनु उपयुक्त हुन्छ।
आजको मूल्यसँग तुलना गर्दा तत्कालीन रु.५०-५२ करोडको बजार मूल्य धेरै ठूलो आर्थिक परिमाणमा रूपान्तरण हुन्छ। मूल्य सूचकांकका आधारमा गरिएको अनुमानमा यो रकम आजको करिब रु.३.५-३.६ अर्ब बराबर हुन सक्छ। तर यो पनि मुद्रास्फीति समायोजनमा आधारित अनुमान मात्र भएकाले वास्तविक वर्तमान बजार मूल्यका रूपमा बुझ्नुहुँदैन।
यसरी हेर्दा हेटौंडा कपडा उद्योग केवल कपडा उत्पादन गर्ने कारखाना मात्र थिएन। यसको पछाडि कपासको बीउ, किसान, खेती, जिनिङ, धागो उत्पादन र बजारलाई जोड्ने एउटा सम्भावित कृषि–औद्योगिक मूल्य शृंखला थियो। दुर्भाग्यवश, यो शृंखला दीर्घकालीन र संस्थागत रूपमा बलियो बन्न सकेन।
उद्योग असफलताको कारण र परिणाम
तर, उद्योगको सम्भावना, उद्योगलाई चाहिने कच्चा पदार्थ र कपडा उत्पादनको क्षमता, र बजारको माग हुँदाहुँदै पनि किन त्यसरी उद्योग बन्द गर्ने स्थितिमा पुग्यो त तत्कालीन समयमा देश? यो भने ठूलो कौतूहलको विषय रहेको छ।
कपास उत्पादन गर्ने किसान, कपास खपत गर्ने उद्योग, कपडा बिक्री गर्ने बजार र खपत गर्ने उपभोक्ता हुँदाहुँदै पनि आखिर किन उद्योग बन्द हुने अवस्थामा तत्कालीन समयमा पुग्यो भन्ने कुरा जान्नको लागि यी पाँच वटा संरचनागत कारणलाई जोडेर हेर्न सकिन्छ। जुन उद्योगलाई दीर्घकालीन रूपमा जोडेर लैजान आवश्यक कुरा थियो।
पहिलो कारण, उद्योगको माग र स्वदेशी कपास उत्पादन अवस्था बीच तालमेल मिलाउन नसक्नु प्रमुख कारण थिए। किन भने उद्योगलाई वार्षिक करिब २४०० टन कपास आवश्यक पर्दथ्यो तर नेपालको लिन्ट कपास भने ज्यादै न्यून आउँथ्यो। उद्योग चल्नको लागि भारतको कपास लिन्टमा भर पर्नुपर्दथ्यो।
दोस्रो कारण, कपास उत्पादनको उत्पादकत्व र लागत बीचको प्राविधिक समस्या समाधान गर्न नसक्नु थियो। तत्कालीन समयमा अधिकांश कपास उत्पादनमा साना किसान नै जोडिएका थिए। ती किसानले औसतमा ०.४ हेक्टरमा कपास खेती गर्दथे। तर उत्पादन राम्रो हुने गरेको भए पनि प्रविधि, सिंचाइ, बीउ, रोग-कीरा नियन्त्रण र जिनिङको समस्याको कारण उत्पादकत्वमा समस्या थियो।
तेस्रो कारण, किसानले पाउने मूल्य र उद्योगको कच्चा पदार्थको मूल्य बीच प्रभावकारी मूल्य-श्रृंखला बन्न सकेको थिएन। यस्तो आम्दानीले खाद्यान्न, कपास र अन्य बाली बीच प्रतिस्पर्धा गर्दा किसानलाई कपासमा टिकाइराख्न कठिन भयो।

चौथो कारण, कपास विकास र कपडा उद्योग सञ्चालनलाई एकीकृत रूपमा सञ्चालन गर्न सकेन। किसानको खेती र आम्दानी, उद्योगको उत्पादन र दीर्घकालीनताको लागि ब्याकवार्ड लिंकेज-फरवार्ड लिंकेज अवधारणामा जानुपर्दथ्यो। जसको सहयोगमा एकीकृत कृषि-औद्योगिक मूल्यशृंखलालाई जोडेर लैजानुपर्दथ्यो। तर त्यो हुन सकेन।
हेटौंडा कपडा उद्योग केवल कपडा उत्पादन गर्ने कारखाना मात्र थिएन, सम्भावित एङ्कर इन्डस्ट्री बचाउने, हजारौं साना किसानको उत्पादनलाई औद्योगिक बजारसम्म जोड्ने र ग्रामीण रोजगारी उत्पादन गर्ने आधार पनि थियो। साथै कारखाना किसानको खेत, कपासको बीउ, जिनिङ उद्योग, धागो उत्पादन, रोजगारी र अन्ततः बजारसम्म जोडिएको एउटा सम्पूर्ण कृषि-औद्योगिक मूल्य शृंखला पनि थियो।
यही कारणले उद्योग बन्द हुनु भनेको एउटा कारखाना बन्द हुनु मात्र थिएन, त्यससँग जोडिएको अपस्ट्रिम कृषि बजार पनि कमजोर बन्नु थियो।
उद्योगको पुनः सञ्चालनले देखाएको सम्भावना र चुनौती
क) सम्भावना
उद्योगसँगै कपास खेती पुनर्जीवित गर्ने अवसर
अहिले नेपालको कृषि तीन वटा कारणले संकटमा परेको छ। एकातिर कृषि नगर्ने र गरेको कृषि पनि लाभयुक्त नबन्ने, दोस्रो शहरीकरण र त्यस प्रयोजनको लागि कृषि जमिनको प्रयोग द्रुततर हुँदै गएको र यसले कृषि जमिनलाई खुम्च्याइरहेको सन्दर्भ भने तेस्रो जो जतिले कृषि गरिरहेका छन्, तिनीहरूको कृषि बालीलाई पनि जङ्गली जनावरहरू बाँदर, दुम्सी र अन्य जनावरले क्षति पुर्याएर ध्वस्त बनाउने गरेको कारण मानिस कृषि कर्मदेखि क्रमश: बाहिर निस्कने क्रम बढिरहेको अवस्थामा यसरी कृषिसँग सम्बन्धित स्वदेशी उद्योग सञ्चालन हुनु कृषि क्षेत्र र विकासको लागि सम्भावनाको आधार हो।
यसरी हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आएको कुराले सबैभन्दा ठूलो सम्भावना कपास खेतीलाई पुनः औद्योगिक बजारसँग जोड्दै विगतमा भएका कपास विकास र यसको उत्पादकत्वसँग जोडिएको प्राविधिक सम्बन्धलाई निर्माण गर्न सकिन्छ।
त्यस मार्फत नयाँ प्रविधि र नयाँ बजारसँग जोडेर पुनःनिर्माण गर्न सकिन्छ। यसको अर्थ उद्योगले कपासको सुनिश्चित बजार सिर्जना गर्न र बजारको सुनिश्चितताले किसानलाई बाँझो वा कम उपयोग भएको जमिनमा कपास खेती गर्न प्रोत्साहित गर्न सक्छ।
बाँझो जमिनलाई उत्पादनमा ल्याउने सम्भावना
यसरी संकटसँग जुधिरहेको नेपालको कृषि क्षेत्रको ठूलो समस्या जमिन बाँझो हुनु, युवा श्रमशक्ति बाहिरिनु बनेको छ। यस्तो सन्दर्भमा श्रम, लागत, व्यवस्थापन र बजारको हिसाबले तराई र भित्री मधेशका बाँझो जमिनमा सहजै खेती गर्न सकिने भएकोले बाँझो/कम उपयोग भएको जमिनलाई कपास उत्पादनमा ल्याउने सम्भावना खोज्न सकिन्छ।
तर यसलाई ‘सबै बाँझो जमिनमा कपास’ भन्ने होइन। माटो, पानी, तापक्रम, बजार र स्थानीय बाली प्रणाली अनुसार उपयुक्त क्षेत्र पहिचान गर्नुपर्छ।
साना किसानलाई बजारसँग जोड्ने अवसर
क्रमिक रूपमा राष्ट्रिय र अन्तराष्ट्रिय अवस्था परिस्थिति, नीति र कार्यक्रम, जलवायु अवस्था र लगानी क्षमता, श्रम आपूर्ति आदिको कारण साना किसान कृषि क्षेत्रमा सीमान्तकृत हुने जोखिम बढ्दै गएको छ। तर विगतको कपास खेतीले हासिल गरेको अनुभव र कपडा उद्योगको पुनः सञ्चालनले एउटा महत्वपूर्ण कुरा देखाएको छ त्यो के भने कपास खेतीमा साना किसानको सहभागिता सम्भव थियो र अब पनि हुनेछ। त्यसैले पुनः सञ्चालनको मोडल भने ठूला व्यावसायिक फार्महरूमा मात्र आधारित नभई ब्याकवार्ड लिंकेज र फरवार्ड लिंकेज अन्तर्गत साना किसान + सहकारी + जिनिङ केन्द्र + उद्योगको मोडलमा कपास उत्पादन र उद्योगको अवधारणालाई पछ्याउन आवश्यक छ। यसले किसानलाई उत्पादन गरेपछि ‘कहाँ बेच्ने?’ भन्ने समस्या घटाउँछ।
ख) चुनौती
यति अवसर र सम्भावना हुँदाहुँदै पनि यो उद्योगलाई दीर्घकालीन बनाउन भने चुनौती पनि सँगै आएका छन्। उद्योग चल्दैमा कपास उत्पादन स्वतः बढिहाल्ने होइन। सबैभन्दा ठूलो भ्रम र गलत बुझाइ यही आउन सक्छ।
किनभने हेटौंडा कपडा उद्योग चलाउँदैमा कपास खेती विस्तार तत्काल हुने पनि होइन। यी प्राविधिक कुराहरू हुन्। यसका लागि आवश्यक पूर्वाधार, सिंचाइ, उन्नत र उत्पादकत्व बढाउने बीउ, कपास खेतीको रोग कीरा नियन्त्रण गर्ने उपयुक्त प्रविधि त्यत्तिकै आवश्यक छ। त्यसको लागि उन्नत बीउ → प्राविधिक सेवा → उत्पादन → संकलन → जिनिङ → उचित मूल्य → उद्योगको खरिद सम्झौता पूर्ण रूपमा सुनिश्चित गर्नुपर्ने हुन्छ। यीमध्ये एउटा कडी कमजोर भयो भने पूरा मूल्यशृंखला कमजोर हुन्छ।
अर्को चुनौती भनेको उद्योगको उत्पादनको बजारको सुनिश्चितता र किसानको कपासको उचित मूल्य। यदि किसानले उत्पादन गरेपछि भारतीय वा अन्य देशको सस्तो कपाससँग प्रतिस्पर्धा गर्नुपर्ने भयो भने किसान फेरि कपास खेतीबाट बाहिरिन सक्छ। अहिले नेपालको कृषि वस्तुले भोगेको साझा समस्या यही नै हो। त्यसैले उद्योग पुनः सञ्चालनको नीति किसानको उत्पादन लागत र उचित प्रतिफल सुनिश्चित गर्ने खरिद नीतिसँग जोडिनुपर्छ।

अर्को मूल प्रश्न अब कुनै पनि बजार र उपभोक्ता ग्लोबल मार्केट चेनबाट अलग हुन सक्दैन। यस्तो अवस्थामा स्वदेशी कपासले उद्योगको माग पूरा गर्न सक्छ कि सक्दैन? यो सबैभन्दा महत्वपूर्ण चुनौती हो। हामीले अघि हेरे झैं हेटौंडाको पूर्ण क्षमताका लागि ठूलो मात्रामा लिन्ट कपास आवश्यक पर्छ। तर विगतमा नेपालबाट उद्योगमा जाने कपास निकै कम थियो। त्यसैले अहिले नै उद्योगको पूर्ण क्षमता र नेपालको सम्भावित कपास उत्पादन बीचको अन्तर विश्लेषण गर्नुपर्छ।
त्यस्तै गरेर जिनिङ र संकलन सुधार, बीउको आपूर्ति र गुणस्तर सुरक्षा प्रमुख चुनौती हुन सक्छ। कपास खेती विस्तार गर्न गुणस्तरीय र स्थानीय परिस्थितिमा उपयुक्त बीउ आवश्यक हुन्छ। बीउको गुणस्तर कमजोर भयो भने उत्पादन घट्छ, किसानको लागत बढ्छ र उद्योगलाई आवश्यक गुणस्तरको लिन्ट प्राप्त हुँदैन।
अझ महत्त्वपूर्ण पक्ष भनेको श्रम र प्रविधि हो। विगतको जस्तो श्रममा आधारित कपास खेती आज सजिलो छैन। युवा विदेश जाने क्रमसँगै कृषि श्रमको अभाव छ। त्यसैले पुनः कपास खेती गर्दा कृषिको यान्त्रीकरण, गुणस्तरीय उन्नत बीउ, एकीकृत कीरा तथा रोग व्यवस्थापन, वैज्ञानिक र दक्ष कटानी प्रणालीमा जानुपर्छ।
निष्कर्ष
हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनलाई केवल बन्द भएको उद्योग खोल्ने घटनाका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसलाई नेपालमा टुटेको कृषि–औद्योगिक मूल्य शृंखला पुनःनिर्माण गर्ने अवसरका रूपमा हेर्नुपर्छ। उद्योगले कपासको बजार सिर्जना गर्न सक्छ, तर त्यसका लागि कपासको बीउ, उत्पादन, किसानको उचित मूल्य, संकलन, जिनिङ, भण्डारण र प्रशोधनलाई उद्योगसँग जोड्ने समग्र नीति आवश्यक हुन्छ। अन्यथा उद्योग चल्नेछ, तर कच्चा पदार्थ बाहिरबाट ल्याउने र किसानको खेतसँग यसको सम्बन्ध कमजोर रहने पुरानै अवस्था दोहोरिन सक्छ।
त्यसैले पुनः सञ्चालनको वास्तविक सफलता “हेटौंडामा कति कपडा उत्पादन भयो?” ले मात्र होइन, “कति नेपाली किसानको खेत उद्योगको आपूर्ति शृंखलासँग जोडियो?” भन्ने प्रश्नले मापन गर्नुपर्छ।
(गुरुङ कृषि अर्थशास्त्र र विकास अध्ययनसँग सम्बन्धित छन्।)
प्रतिक्रिया 4