+
+
Shares

बन्दगोभी उत्पादक किसानको पीडा : उत्पादन बढ्छ, मूल्य नपाउँदा आम्दानी घट्छ

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन १० गते ८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुम र धनकुटाका किसानले उत्पादन गरेको बन्दगोभी अहिले प्रतिकिलो ७ देखि ९ रुपैयाँमा बिक्री गर्न बाध्य भएका छन् ।
  • मलको अभाव, बिचौलियाको चलखेल र उचित मूल्य नपाउँदा किसानहरूले उत्पादन लागतसमेत उठाउन सकिरहेका छैनन् ।
  • किसानहरूले न्यूनतम समर्थन मूल्य तोक्न, संकलन केन्द्र र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

१० साउन, तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटा जिल्लाको माथिल्लो क्षेत्रका किसानका लागि बन्दगोभी (बन्दा) खेती आम्दानीको मुख्य आधार हो ।

तेह्रथुम छथर गाउँपालिका, लालीगुराँस नगरपालिका त्यस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रमा अधिकांश किसानले नगदे बालीका रूपमा बन्दगोभी खेती गर्दै आएका छन । यहाँको चिसो हावापानी, उर्वर माटो र अनुकूल वातावरणका कारण उत्पादन राम्रो हुने भएकाले वर्षेनी ठूलो परिमाणमा बन्दा उत्पादन हुन्छ । तर, उत्पादन बढ्दै जाँदा किसानको आम्दानी भने बढ्न सकेको छैन । बरु उचित मूल्य नपाउने, समयमा मलको अभाव, बिचौलियाको चलखेल, र व्यवस्थित बजार नहुँदा किसानहरू बर्सेनि आर्थिक मारमा पर्दै आएका छन ।

यतिबेला यस क्षेत्रका किसानले उत्पादन गरेको बन्दगोभी प्रतिकिलो ७ देखि ९ रुपैयाँमै बिक्री गर्न बाध्य छन । यो मूल्यले बीउ, मल, विषादी, मजदुरी, ढुवानीलगायत उत्पादनमा लागेको लगायत मेहनत सम्म धान्न सक्दैन । महिनौंको मेहनतपछि खेतबाट उत्पादन निकाल्ने किसानले अन्तत: लगानीसमेत उठाउन नसक्ने अवस्था भोगिरहेका छन् ।

छथर गाउँपालिका–१ का किसान लाक्पा छुती शेर्पा वर्षाैदेखि बन्दगोभी खेती गर्दै आएका छन । उनका अनुसार मूल्य राम्रो भएका बेला व्यापारीहरू आफैँ गाउँ–गाउँ र घर-घरमा पुगेर बन्दा खरिद गर्न आउँछन । तर मूल्य घट्नेबित्तिकै व्यापारी हराउँछन् र किसान आफैँ बिक्रीका लागि बजार र व्यापारी खोज्दै हिँड्नुपर्ने बाध्यता हुन्छ । ‘अहिले प्रतिकिलो ७-९ रुपैयाँमा बन्दा बेचिरहेका छौं’, उनी भन्छन, ‘यस्तो मूल्यले त उत्पादनमा लागेको खर्च पनि उठ्दैन । खेतमा गरेको मेहनतको मूल्य नै पाइँदैन ।’ उनका अनुसार उत्पादन धेरै हुँदा व्यापारीहरूले मूल्य घटाइदिन्छन, उत्पादन कम हुँदा किसानसँग बेच्न बाली नै हुँदैन । दुवै अवस्थामा घाटा किसानकै हुन्छ ।

यही गाउँका अर्का किसान बिक्रम राई पनि वर्षौंदेखि बन्दगोभी खेती गर्दै आएका छन । उनी भन्छन, ‘बीउ महँगो छ, मल महँगो छ, विषादी महँगो छ, मजदुरी बढेको छ, ढुवानी खर्च पनि धेरै छ । तर किसानले पाउने मूल्य भने घट्दो छ । कहिलेकाहीँ त ढुवानी खर्चसमेत उठ्दैन। यस्तो अवस्थामा खेती गरेर परिवार पाल्न गाह्रो हुँदै गएको छ ।’

उनका अनुसार किसानको सबैभन्दा ठूलो समस्या बजारको अनिश्चितता हो । उत्पादन तयार भएपछि व्यापारीले मूल्य घटाइदिन्छन, किसानसँग भण्डारण गर्ने व्यवस्था हुँदैन, त्यसैले बाध्य भएर सस्तोमै बिक्री गर्नुपर्छ ।

किसानले भोग्दै आएको अर्को ठूलो समस्या समयमा रासायनिक मल नपाउनु हो । खेतीको सबैभन्दा महत्वपूर्ण समयमा सरकारी अनुदानको मल उपलब्ध नहुँदा किसान निजी पसलबाट चर्को मूल्यमा मल खरिद गर्न बाध्य छन । कतिपय अवस्थामा निजी बजारमै पनि मल अभाव हुने भएकाले उत्पादन र गुणस्तरमा प्रत्यक्ष असर पर्ने गरेको छ ।

‘खेतीको समय कुर्दैन, तर मल कहिल्यै समयमा आउँदैन’, किसानहरू भन्छन, ‘मल आउने बेलासम्म बालीले चाहिने समय नै बितिसकेको हुन्छ ।’ किसानले भोग्ने अर्को मुख्य समस्या बिचौलियाको चलखेल हो । किसानबाट अत्यन्तै कम मूल्यमा खरिद गरिएको बन्दगोभी बजारमा पुग्दा दोब्बर–तेब्बर मूल्यमा बिक्री हुन्छ । उपभोक्ताले महँगो मूल्य तिर्छन, तर किसानले भने उत्पादनको उचित मूल्य पाउँदैनन । किसान र उपभोक्ताबीचको अधिकांश नाफा बिचौलियाले लिने गरेको किसानहरूको गुनासो छ ।

बजार व्यवस्थापनको कमजोरीले पनि किसानलाई ठूलो असर परेको छ । उत्पादन बढे पनि त्यसअनुसार संकलन केन्द्र, शीत भण्डार (कोल्ड स्टोर), प्रशोधन उद्योग र व्यवस्थित कृषि बजारको विकास हुन सकेको छैन । उत्पादन तयार भएपछि किसानसँग भण्डारण गर्ने विकल्प नहुँदा तत्काल बिक्री गर्नुपर्ने बाध्यता छ ।

हरेक वर्ष किसानले उही समस्या दोहोर्‍याइरहेका छन । कहिले समयमा मल नपाउने, कहिले रोग–कीराको प्रकोप, कहिले ढुवानी समस्या, कहिले उत्पादन भएर पनि मूल्य नपाउने । समस्या वर्षेनी दोहोरिए पनि स्थायी समाधान हुन सकेको छैन । यसले कृषि पेशाप्रतिको आकर्षण घट्दै गएको छ । धेरै युवा वैदेशिक रोजगारीतर्फ लागिरहेका छन् भने गाउँमा वृद्धवृद्धा र महिलाले मात्रै खेती धान्ने अवस्था बन्दै गएको छ ।

यति धेरै समस्या हुँदाहुँदै पनि यस क्षेधमा उत्पादन हुने बन्दगोभीको बजार भने फराकिलो छ । यहाँ उत्पादन भएको बन्दा धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड लगायत पूर्वी तराईका विभिन्न बजारमा बिक्री हुने गरेको छ । साथै छिमेकी देश भारतका सिलिगुडी, दार्जिलिङ, मिरिक, कालिम्पोङ, पानीट्यांकीलगायत विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । यसले पश्चिमीे बन्दगोभीको गुणस्तर र बजार सम्भावना दुवैलाई प्रमाणित गर्छ । तर विडम्बना के छ भने, अन्तरजिल्ला र अन्तरदेशीय बजारसम्म पुग्ने यही उत्पादनको वास्तविक लाभ भने किसानले पाउन सकेका छैनन ।

किसानहरूका अनुसार समयमा मल उपलब्ध गराउने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने, बिचौलियाको नियन्त्रण गर्ने, सहकारीमार्फत प्रत्यक्ष बिक्रीको व्यवस्था गर्ने, संकलन केन्द्र र कोल्ड स्टोर निर्माण गर्ने तथा ढुवानीमा सहुलियत उपलब्ध गराउने हो भने मात्रै कृषि पेशा दिगो बन्न सक्छ । किसान उत्पादन गर्न असक्षम छैनन । उनीहरू मेहनती छन, उत्पादन पनि प्रशस्त गर्छन । समस्या उत्पादनमा होइन, बजार र नीतिगत व्यवस्थापनमा छ । मूल्य हुँदा व्यापारी घर–घरमा पुगेर बन्दा किन्ने, तर मूल्य घटेपछि किसान आफैँ बिक्रीका लागि भौंतारिनुपर्ने अवस्था अझै अन्त्य भएको छैन ।

अहिले प्रतिकिलो ७ देखि ९ रुपैयाँमा बन्दा बिक्री गर्न बाध्य किसानले उत्पादनमा गरेको लगानीसमेत उठाउन सकेका छैनन्  । यस क्षेत्रका किसानहरुले ५ रोपनी देखी ५० रोपनी क्षेत्रफलमा बन्दा खेती गर्दै आएका छन ।  किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्न नसकेसम्म किसानले हरेक वर्ष यही पीडा, यही संघर्ष र यही घाटा दोहोर्‍याइ रहनुपर्ने देखिन्छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?