१० असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्।
न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी निर्णयको कुनै कानुनी आधार छैन।’
उनले अगाडि भने, ‘भारतका दाबी र कदमहरूलाई युएनका विशेषज्ञहरू र कोर्ट अफ आर्बिट्रेसनले पनि खारिज गरेका छन्। पानीको प्रयोग कहिल्यै पनि हतियारको रूपमा गरिनु हुँदैन। नदीहरूले देशहरूलाई समृद्ध बनाउनुपर्छ, न कि तिनलाई बाड्नुपर्छ।’
शरीफले पाकिस्तानको भागको पानी रोक्ने, त्यसमा बाधा पुर्याउने वा त्यसको दिशा मोड्ने कुनै पनि कोसिसलाई युद्धको कदम मानिने स्पष्ट पारे। भारतले यसलाई लिएर कुनै गल्ती नगर्न उनले चेतावनी दिएका छन्।
यसैबीच पाकिस्तानले युएनमा फेरि एकपटक कश्मीरको मुद्दा उठाएको छ। शहबाज शरीफले भने, ‘म यस मञ्चबाट आफ्ना कश्मीरी भाइ-बहिनीहरूलाई पूर्ण जिम्मेवारीका साथ भरोसा दिलाउँछु कि जबसम्म उनीहरूलाई आफैं निर्णय लिने अधिकार मिल्दैन, तबसम्म हामी उनीहरूलाई कूटनीतिक, राजनीतिक र नैतिक समर्थन दिइरहने छौं।’
उनले कश्मीर पाकिस्तानको जुगुलर भेन हो र सधैं रहने बताएका छन्। भारतको चर्चा गर्दै शहबाजले सीमापार आरएसएसबाट प्रभावित विचारधाराले धार्मिक नफरतलाई बढावा दिइरहेको आरोप लगाए। यसको असर भीडको हिंसा, साम्प्रदायिक हिंसा, धार्मिक स्थलहरूमा आक्रमण र धार्मिक स्वतन्त्रतामा प्रतिबन्धको रूपमा देखिएको उनले बताएका छन्।
प्रतिक्रिया 4