+
+
विचार :

त्रिवि सुधार्न चाहिने तीन कुरा

अहिलेकै शैलीमा नियुक्त हुने उपकुलपति नेपथ्यमा रहेको निहित दलीय स्वार्थको यान्त्रिक कारिन्दा हुन्। विगतका नजिरहरूले पनि यस्तै भन्छन्। उपकुलपतिको टुप्पोबाट अन्य पदाधिकारीहरूका फेदसम्म पुग्दा, दलीय भागबन्डाले सिंगो रूख नै सुकेर जाने अवस्थामा छ।

साजन तामाङ साजन तामाङ
२०८० पुष २४ गते १८:११

एक्काइसौं शताब्दीको पहिलो दशकमा विश्वभरका उच्च शैक्षिक संस्थानहरू अधुरो रहेको वा पूर्णरुपमा कुशल शैक्षिक संस्थान नरहेको भन्दै बहस सुरु भएको थियो। अधुरा उच्च शैक्षिक संस्थानहरू पूर्ण हुन कुन–कुन तत्व वा आधारले बाधा पुर्‍याउँदछ भन्ने प्रश्नमा ब्रुसोन र शह्लिन एण्डर्सनले तीन तत्वहरूलाई उल्लेख गरेका थिए।

उक्त तीन तत्वहरू हुन्; पहिचान (आइडेन्टिटी), तहगत प्रणाली (हाइरार्की) र तर्कशक्ति (र्‍यासनालिटी)। सन् १९९० को दशकसम्म आइपुग्दा उच्च शिक्षा शैक्षिक संस्थानहरू निकै हदसम्म बोधो र धुमिल आलोचनात्माक चेतका थिए। प्रभावकारिता ओरालो लाग्दो अवस्थामा थियो। उक्त समयसम्म कुनै पनि उच्च शिक्षा शैक्षिक संस्थानहरूलाई एक स्वायत्ततायुक्त घटक (एक्टर)का रुपमा लिइँदैनथ्यो वा स्थापित भइसकेका थिएनन्।

उच्च शिक्षा शैक्षिक संस्थानलाई स्वतन्त्र र स्वायत्ततायुक्त घटकको रुपमा स्थापित गर्नका निमित्त, वा घटकताको संप्राप्तिका लागि उल्लेखित त्रि-तत्वहरू पहिचान, प्रणालीगत तह र तर्कशक्ति वाञ्छनीय रहेको ‘ब्रुसोन र शह्लिन एण्डर्सन’ को दाबी थियो। उच्च शिक्षा शैक्षिक संस्थानको पहिचानले उक्त संस्थानको स्वायत्ततायुक्त पृथक् परिचय र संस्थानका इकाइहरू बीचको घनिष्ठता र निकटतम सम्बन्धलाई इंगित गर्दछ।

तहगत प्रणाली वा वरीयता क्रमानु अनुरुपको सीमाङ्कनले विभिन्न वरीयताक्रमका सोपानहरूका खुड्किला (इकाइहरू) बीचका शक्ति तथा नियन्त्रणका धाराहरूका पृथकीकरणलाई बुझाउँछ। तर्कशक्ति वा चेतनशीलताले आन्तरिक निर्णय-निर्माण प्रक्रियाको प्रभावलाई बुझाउँदछ।

भविष्यको आकलनमा आधारित भएर कुनै पनि उच्च शिक्षा शैक्षिक संस्थानहरूले यी त्रि-गुण तब मात्र प्राप्त गर्दछ, जब आचिन्त्य स्वायत्तताको दायरा उपभोग गर्न पाउँदछ। तब मात्र कुनै पनि विश्वविद्यालय वा उच्च शिक्षा शैक्षिक संस्थानले पूर्ण आकृति लिन्छ।

सन् १९७० को दशकमा कर्नेल विश्वविद्यालयका प्रोफेसर क्लार्क विक्कले विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई हेर्ने दृष्टिकोणमा नयाँ आयाम थपेका थिए। सन् १९७० भन्दा अगाडि विश्वविद्यालयलाई पनि परम्परागत कर्मचारीको  दृष्टिकोणबाट हेरिने गर्दथ्यो।

विश्वविद्यालयका इकाइहरू बीच कसिलो बन्धनको सम्बन्ध हुनुपर्ने मान्यता राख्दथ्यो, वा निजामती संस्थानहरूको प्रशासन जसरी नै कुनै एक जडमा जकडिएर विश्वविद्यालयहरू गतिविधि संचालन गरिनुपर्ने भन्ने मान्यता राख्दथ्यो। तर क्लार्क विक्कले विश्वविद्यालयका इकाइ र स्वयम् विश्वविद्यालय अन्य संस्थानहरू भन्दा खुकुलो बन्धनमा रहेर उच्चतम स्वायत्तताका साथ संचालन गरिनुपर्दछ भन्ने नयाँ अभ्यासलाई स्थापित गराए।

फलत: शैक्षिक संस्थानहरूमा रहिरहेका प्राज्ञिक तथा संस्थागत समस्याहरू स्वस्फूर्त प्राकृतिक रुपमा नै सिर्जित समाधानहरूबाट समाधान भए, र अभ्यास परिणाममुखी रह्यो। अन्य संस्थानहरूमा भन्दा शैक्षिक संस्थानहरूमा धेरै हदसम्म यो दृष्टान्त प्याराडोसिकल साबित भयो।

विश्वविद्यालयको चारित्रिक गुण नै स्वायत्ततामूलक हो भन्ने पनि सिद्ध तुल्यायो। यही विशेषता नै विश्वविद्यालय वा शैक्षिक संस्थानहरूको पहिचान पनि हो। बगेर पहिचान कुनै पनि विश्वविद्यालय अपुरो रहन्छ।

स्वायत्तताको आधारमा हामीले त्रिभुवन विश्वविद्यालयलाई परख गर्ने हो भने हाम्रो त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वायत्तता पूर्णरुपले गुमाएको अवस्था छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को परिच्छेद ७ मा रहेको विश्वविद्यालय पदाधिकारी सम्बन्धी प्रावधान हेर्ने हो भने विश्वविद्यालयको उच्चतम अधिकारी यानि कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ, र उच्चतम कार्यकारी अधिकारी उपकुलपति रहने व्यवस्था छ।

उपकुलपतिको नियुक्ति सहकुलपति अर्थात् प्रावधानत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा गठित दुई सभा सदस्य सदस्यता रहने समितिको सिफारिसको आधारमा कुलपतिले नियुक्ति गरिने प्रावधान छ। केही अपवाद बाहेक अधिकांश समय कुनै अमूक राजनैतिक दलका प्रधानमन्त्रीले  उपकुलपति दलीय भागबन्डाको आधारमा नियुक्ति गर्ने अभ्यास रहँदै आएको छ।

स्वाभाविक रुपमा दलीय भागबन्डाको आधारमा नियुक्त हुने उपकुलपति नेपथ्यमा रहेको निहित दलीय स्वार्थको यान्त्रिक कारिन्दा हुन्छ, र विगतका नजिरहरूले पनि यसलाई सिद्ध तुल्याइसकेको छ। उपकुलपतिको टुप्पोबाट अन्य पदाधिकारीहरूका फेदसम्म पुग्दा, दलीय भागबन्डाले सिंगो रूख नै सुकेर जाने अवस्थामा छ।

जबकि विश्वविद्यालय जस्तो संस्था फुकिलो बन्धनमा जोडिएको स्वायत्त संस्थान हुनुपर्ने अवस्थामा ठीक विपरीत सामन्ती युगमा मुखियालाई आफ्नो जायदात बन्धकी राखी कमारा गर्नुपर्ने कमारो जस्तो भएको छ। विश्वविद्यालय ज्ञानपुञ्जको थलो नभई, दोहनको खानी भएको छ, भित्रबाट खोक्रो भएको छ। क्लार्क विक्कले व्याख्या गरे झैं हुनुपर्ने विश्वविद्यालयको पहिचान; स्वायत्तताको पहिचान त्रिभुवन विश्वविद्यालयले गुमाएको छ।

शैक्षिक संस्थानहरूको प्रदर्शनी तथा डेलिभरीको मूल्यांकनको आधारमा वैश्विक तहमा नै उच्च शिक्षा शैक्षिक संस्थान तथा विश्वविद्यालयको शासक पद्धतिबारे घनीभूत रुपमा छलफल चल्दै आएको छ। विश्वविद्यालयहरूले विगतका दशकमा सामना गर्नुपरेको चुनौतीले पनि शासन पद्धति बारेको महत्वलाई प्रश्रय दिइरहेको छ।

विभिन्न प्रावधानहरूका विविधता, डेलिभरिका नवीन आयामहरू, विद्यार्थी वर्गमा उदाउँदो विषमता, बढ्दो अन्तर्राष्ट्रियकरणको दबाब र अनुसन्धान तथा इन्नोभेसनले ज्ञान तथा सिकाइको उत्पादनलाई प्रेरित गरेको छ। विश्वविद्यालयको शासन पद्धतिलाई पुनरावलोकन गर्न तत्व पनि बनेको छ।

विश्वविद्यालयको गुणात्मक प्रस्तुति विश्वविद्यालयको शासन पद्धतिमा नै आधारित हुन्छ।  विश्वविद्यालयको शासन पद्धतिले नै उक्त संस्थानमा रहेको जवाफदेहिता, बुद्धिमानी व्यवस्थापन, सिर्जना भएका नयाँ प्रारूपका समस्याहरूलाई समाधान गर्ने क्षमता तथा कौशल र उत्पादकत्वको सिर्जना जस्ता विशेषताहरूलाई निर्धारण गर्दछ।

त्रिभुवन विश्वविद्यालयको हकमा हेर्ने हो भने यहाँको शासन पद्धति नितान्त दलीय भागबन्डा र त्यसको वरपर निर्मित दलीय हस्तक्षेपको चक्रव्यूहमा घुमेको पाइन्छ। तहगत प्रणाली भग्नावशेष अवस्थामा छ। शासन पद्धतिको उच्चतम तहमा रहेको अधिकारी इकाइलाई तल्लो तहमा रहेको इकाइले नटेर्ने अवस्था रहेको छ। अराजकताले जरो गाडेको छ। शासन पद्धति र त्यसको परिपूरक तहगत प्रणालीले धराशायी बनेको छ।

विश्वविद्यालयको तर्कसंगत, तार्किक शक्ति, चेतनशीलता तथा बौद्धिकताको ऐना हो, उक्त विश्वविद्यालयको अध्ययन, अनुसन्धान। खिएको अध्ययन, अनुसन्धान तथा प्रविधिले विश्वविद्यालयको खिएको तर्कसंगत, तार्किक शक्ति, चेतनशीलता तथा बौद्धिकतालाई प्रतिविम्बित गर्दछ।

प्रविधिको नगण्य स्पष्टता रहेको कुनै पनि विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानलाई मानाकीकृत तुल्याउने सम्भाव्यता न्यूनतम रहन्छ, जुन प्राकृतिक तवरमा नै आन्तरिक रुपमा जोडिएको हुन्छ। यसले धेरै हदसम्म तर्कसंगत निर्णय-निर्माणमा चुनौती उत्पन्न गर्दछ।

त्रिभुवन विश्वविद्यालयको हकमा मध्यनजर गर्दा, प्रविधिको आधारमा ठूलो खाडल सहितको पछ्यौटेपन ज्वाजल्य रुपमा देख्न सक्छौं। एकहात बाहेक नवीन प्रविधिको समायोजन र प्रविधिसँगको अनुकूलनमा त्रिभुवन विश्वविद्यालय निकै टाढा रहेको अवस्था छ। ब्रुसोन र शह्लिन एण्डर्सनले भने झैं तर्कशक्तिको मामलामा हाम्रो त्रिभुवन विश्वविद्यालय गाग्रीमा एक थोपो पूरा मात्रै छ, अर्थात् निकै अपुरो छ त्रिभुवन विश्वविद्यालय।

पहिचान, तहगत प्रणाली र तर्कशक्ति त्रिभुवन विश्वविद्यालयमा विरलै पाउन सकिन्छ। न त त्रिभुवन विश्वविद्यालयसँग स्वायत्तताको पहिचान नै छ, न त तहगत प्रणालीमा तादाम्यता नै छ, न त तर्कसंगत रुपमा चेतना नै छ। यी तीन कुरा मात्रै कुनै पनि विश्वविद्यालय पूरा वा अधुरो रहने वा नरहने निर्धारणको मानक नहोला, तर यी आधारमा हाम्रो त्रिभुवन विश्वविद्यालय धेरै अधुरो छ।

तामाङ नेविसंघ सम्बद्ध हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?