
रमेश श्रेष्ठ लिखित ‘ए नेपलीज अमेरिकन ओडिसी’ (एक नेपालीको अमेरिका भ्रमण) पुस्तक हिमाल किताबबाट सन् २०२३ मा प्रकाशित भएको छ। सलल बग्ने सरल अङ्ग्रेजीमा लेखिएको १०० पृष्ठको यो पुस्तक १० खण्डमा विभाजित छ। यो रमेशको आफ्नो भ्रमण कथा भए पनि धेरैका साझा कथाहरू समेटिएका छन् र जो–कोही पाठकलाई पनि यसले छुन सक्छ।
अमेरिका पढ्न जाने कुनै पनि विद्यार्थीको लागि त यो सन्दर्भ सामग्री जस्तै हुनसक्छ। यो यात्रा, खासगरी गर्मीको बिदामा ग्रे हाउन्डबाट ट्याम्पा, फ्लोरिडाबाट आर्केडा र फर्केर मिशिगन आएको सन्दर्भ निकै शिक्षाप्रद छ। कोही पनि नेपाली विद्यार्थीले नेपाल फर्कनुअघि यस्ता खालका अनुभव बटुल्ने यात्राको अवसर छुटाउन हुन्न।
रमेशले यो यात्रा लेखनलाई सन् १९७० तिर प्रकाशन भएका एक–दुई किताबबाट प्रेरित भएर लेखेको हो कि जस्तो आभास हुन्छ जबकि ती पुस्तकमा पहिलेदेखिका संस्कारहरूको उपेक्षा गरिएका छन्।
पहिलो खण्डमा लेखकले फुलब्राइट छात्रवृत्तिको लागि गरेको तयारी र अमेरिका जानुभन्दा एकदिन अघि आफ्ना साथीहरूसँग पार्टी र नाचगान गरी रमाइलो गरेको कुरामा नै सीमित छ। अमेरिकाको साँच्चै भ्रमण दोस्रो खण्डबाट सुरू हुन्छ जब उनी हवाईजहाज चढेर उड्छन्।
दिल्लीमा होटल अकबर लैजान ड्राइभर नै एयरपोर्ट आएको र भोलिपल्ट शानदार प्यानयाम जहाजमा जर्मनीको फ्रयाङ्कफर्ट हुँदै लन्डन पुग्दा र घुम्दा भएका रोचक घटनाहरू पाठकसँग बाँड्छन्।
उनलाई अनौठो लागेको के रहेछ भने लन्डनको हवाईअड्डा बाहिर निक्लने बित्तिकै विलियम वर्डस्वर्थले लेखेका लेक डिस्ट्रक र ढपक्क फुलेका ड्याफोडिलस देखिनुपर्नेमा लन्डनको विख्यात घण्टाघर (बिगबेन) हेरेर मात्र चित्त बुझाउनुपर्ने भो।
नेपालका विद्यार्थीलाई हुने अनुभव त तेस्रो खण्डबाट मात्र सुरू हुन्छ। मिशिगन विश्वविद्यालय पुगेर आफ्नो कोठामा सुस्ताउँला भन्ने सोचेका लेखकका लागि त्यहाँ कोठा नै रहेनछ। उहाँले नेपालैबाट कोठाको लागि चाहिने शुल्क राखी आवेदन पठाउनुभएको उहाँलाई राम्ररी याद छ। तर खै त त्यो आवेदन र शुल्क? त्यो आफ्नो गतिमा आउँदैछ होला। अहिलेलाई विभागीय सेक्रेटरीले अस्थायी रूपमा व्यवस्था मिलाइन्। बाहिर सुत्न परेन।
जब उनले स्थायी रूपमा कोठा पाए, एक–दुई रात त आनन्दसँग सुते। त्यसपछि त उनलाई एक्लोपन लाग्न लाग्यो, नेपालमा भेटेका अमेरिकन साथीसित भएको अनुभव र यहाँको अनुभव धेरै फरक लाग्यो। नयाँ ठाउँ, नयाँ चालचलन, नयाँ खाना र लगातार अरूको भाषा बोल्नुपर्ने। जतागए पनि, जता हेरे पनि एक्लोपन।
एकछिन मात्र पनि नेपालीसँग नेपालीमा कुरा गर्न पाए कस्तो हुन्थ्यो होला भनेर सोचेको बेलामा आफ्नो कोठाबाट बाहिर निस्कँदा, ठ्याक्कै नेपाली देखिने मानिस आफूतिर दौडँदै आएको देख्दा कति खुसी लाग्यो होला !
तर उसले नेपाली नबुझेको देख्दा कति दिक्क लाग्यो होला भन्ने कुरा हरेक विदेश पढ्न गएको नेपालीले बुझ्छ। म आफैं ५ मिनेट नेपाली बोल्न पाइएला कि भनेर दुई घण्टा कुरेको थिएँ भरखर अमेरिका गएको बेला।
नयाँ ठाउँमा त्यहाँका रीतिरिवाज, गीत–संगीत, खानपिन, रहनसहन र साथीसंगीसँग भिज्न नसकेसम्म मानसिक र शारीरिक थकानले थचक्क बसाल्छ। एक्लोपनले जीवन निराश बनाउँछ।
तर अमेरिका चाडबाड जस्तै बनेको थ्याङ्स् गिभिङ र क्रिसमसमा अमेरिकन साथीहरूका घरपरिवार र फाट्टफुट्ट नेपाली साथीलाई भेटेपछि लेखकलाई अलि फरक पर्छ।
गर्मीको बिदामा लिङ्गुइस्टिक्स इन्स्टिच्युटको सेमिनार कक्षामा जाँदा ख्यातिप्राप्त भाषाशास्त्रीले पढाउने कक्षामा बस्दा विभिन्न देशका साथीहरूसँग मात्र हैन नेपाली साथीहरू पनि भेट्टाउँछन्। त्यसले उनको एकलोपन विस्तारै हराउँदै जान्छ।
लिङ्गुइस्टिस् सेमिनार सिद्धिएपछि लेखक फुक्काफालसँग फुलब्राइटको कार्यक्रममा आएर अमेरिकाको विभिन्न ठाउँमा भएका साथीहरूलाई भेट्न जान्छन्। साथै बाटामा पर्ने पुराना र नयाँ अमेरिकन साथीहरूलाई पनि भेट्छन्। यो क्रममा उनी एकरात त गर्ल्स होस्टलमा नै सुतेको रमाइलो घटनाको बयान गर्छन्।
मिचिगनको आफ्नो कलेजबाट सुरू गरेको यात्रा फ्लोरिडाको न्यानो ठाउँ हुँदै क्यालिफोर्नियाको आर्केटाको चिसो ठाउँमा पुग्छन्। त्यसपछि ४० घन्टा बसमा बिताएर जाडो हुन हुन लाग्दा आफ्नै कलेजमा आइपुग्छन्।
यो यात्रा विवरण पढ्दा पाठक पनि लेखकसँगै अमेरिकाको विभिन्न ठाउँमा पुग्छन् र लेखकसँगै विभिन्न खालका अनुभव गर्न सक्छन्। गर्मीको यात्रा समाप्त गरेर कलेज फर्कंदा पाठकले पनि लेखकसँगै आफ्नो विद्यार्थी जीवन सम्झन्छन्।
जब अमेरिका र अरू कतिपय देशका साथीहरू बनाउनुको साथै त्यहाँको रहनसहन रमाइलो लाग्न थाल्छ, लेखकको नेपाल फर्कने बेला पनि हुन्छ। जसरी नेपालबाट अमेरिका जाँदा बाटामा भ्याएसम्मका देशको थोरै धेरै अनुभव लिन्छन्, यसैगरी नेपाल फर्कने बेलामा पनि बाटोमा पर्ने जापान लगायत देशहरूमा भएका साथीहरूलाई भेट्दै फर्कन्छन्।
लेखकको १०० पृष्ठमा वर्णित अमेरिकाको यात्रा पढ्दा मलाई मेरो आफ्नै विद्यार्थी जीवनको याद आयो, खासगरी सुरूको एकलोपन र बस्दै गएपछि अनुभव हुने रसिलोपन। रमेशको छात्रा होस्टलमा रात बिताएको घटनाले कुत्कुती लगायो र कति ठाउँमा हँसायो पनि।
यो यात्रा वर्णन, अंग्रेजी बुझ्न सक्ने सबैजसो पाठकलाई रमाइलो लाग्नेछ। तर पनि अमेरिका अध्ययन या यात्रा गर्न जानेलाई अझ बढी चाख लाग्नेछ। लेखकको अङ्ग्रेजी सरल र मीठो छ, पढ्न सुरू गरेपछि सिध्याएरै छोडुँ जस्तो लाग्छ।
(सन् १९७० मा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमए गरेका लेखकले सन् १९८६ मा युनिभर्सिटी अव टेक्सि एट अस्टिनबाट मानवशास्त्रमा एमए र सन् १९९३ मा विद्यावारिधि गरेका हुन्।)
प्रतिक्रिया 4