+
+

गोदावरीमा कांग्रेस महासमिति बैठक : प्रवेश शुल्क ३ हजार, निवाससम्म फर्किन निःशुल्क बस

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ६:४५

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो एक बजे उदघाटन गर्ने छन् ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ ।

बैठकमा आधिकारिक प्रतिनिधिको संख्या २ हजार १०५ भए पनि सहभागीको संख्या २ हजार ५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना बैठकमा सहभागी हुने छन् । ७७ जिल्लाका पार्टी सभापतिहरु बैठकमा सहभागी हुनेछन् ।

महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका तीन जिल्लाका सदस्य टुंगो लगाउन निर्वाचन समिति प्रयासरत रहेको विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उदघाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउने छ ।
महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?