+
+

नेपाली फिल्म ‘शाम्बाला’लाई बर्लिनमा नवाजुद्दिन सिद्दिकीले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १२:४१

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘शाम्बाला’लाई बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले बधाई तथा शुभकामना दिएका छन् ।

बर्लिनमा नेपाली निर्देशक मीनबहादुर भाम, कार्मसहितको फिल्म टोलीलाई भेटेरै अभिनेता सिद्दिकीले शुभकामना तथा बधाई दिए । उक्त क्रममा सिद्दिकीले नेपाली फिल्मले पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गरेका थिए ।

नेपाली समयानुसार आज बेलुका ८ बजे ‘शाम्बाला’को विश्व प्रिमियर हुँदैछ । प्रिमियरको रेडकार्पेटमा निर्देशक भामसहित कलाकारहरु थिन्ले ल्हामो, सोनम तोप्देन, कार्मसहितको टोली हिंड्नेछ । त्यससँगै विश्व मिडियासँग ‘शाम्बाला’ले प्रेसमिट पनि गर्नेछ ।

यसैबीच, फिल्मको प्रेस शो र पब्लिक स्क्रिनिङका सबै शो सोल्डआउट भएका छन् । बर्लिनको अफिसियल वेबसाइटअनुसार पाँचैवटा पब्लिक शोका टिकट सबै बिक्री भएको छ । यसअघि चारैवटा प्रेस शोका टिकट सोल्डआउट भएका थिए ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्कंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनको लागि उसलाई खोज्न थाल्छिन् ।

सुनी फिल्म्सले निर्माण गरेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार बेल्जियमको कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । अभिनेत्री थिन्लेको ‘नाका’पछि यो दोस्रो फिल्म हो । सोनमका लागि पनि ‘सम्हालिन्छ कहिले मन’पछिको दोस्रो फिल्म हो । निर्देशक भामले सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?