+
+

कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:३५

११ फागुन, सुर्खेत । उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुँन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई मध्यनजर गर्दै मेला सम्बन्धी नगर्नु/नगराउनु भनी आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, अनुमति दिने वीरेन्द्रनगर नगरपालिकालगायतका नाममा अन्तरिम आदेश दिएको छ ।

‘कर्णाली एक्सपो सञ्चालन हुने स्थानबाट १० मिटरको दूरीमा बाल मन्दिर विद्यालय रहेको र चैत १ गतेदेखि विद्यालयको वार्षिक परीक्षा हुन लागेकोमा परीक्षाको मुखैमा विद्यालय क्षेत्र मानै कर्णाली एक्सपो सञ्चालन हुन लागेको भन्ने रिट निवेदनबाट देखिएको,’ न्यायाधीश धितालको आदेशमा भनिएको छ ।

अदालतले फागुन १३ गते दुबै पक्षलाई अन्तरिम आदेशमाथि छलफलका लागि बोलाएको छ । ‘दुबै पक्षको भनाई सुनी निष्कर्षमा पुग्न उचित देखिँदा फागुन १४ गते पेशी तारेख तोकी अन्तरिम आदेश छलफलका लागि विपक्षीहरूसमेतलाई जानकारी दिई नियमानुसार गरी पेश गर्नु,’ आदेशमा भनिएको छ ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको बताइएको छ । अधिवक्ता प्रकाशबाबु ऐडीले विद्यालय नजिकै मेला सञ्चालन हुन लागेको र यसले बालबालिकाको शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट निवेदककातर्फबाट वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, गीता कोइराला, दुर्गाप्रसाद सापकोटा र रिट निवेदक ऐडीले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?