+
+

ट्रकबाट कर्णाली पुलमा सल्केको आगो नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते २०:०४

२८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा ट्रकबाट सल्केको आगो नियन्त्रणमा आएको छ । सोमबार साँझ करीब साढे ४ बजेतिर गुडिरहेको से ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलको लठ्ठामा समेत सल्किएको थियो । तर पुलको लठ्ठामा लागेको आगो दमकलको सहयोगले निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए । तर ट्रकको आगो भने पूर्ण नियन्त्रणमा आएको छैन ।

लाइटर बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो झनै सल्किरहेको बताउँदै डीएसपी चन्दले डोजरको सहायताले वालुवाको प्रयोग गरेर निभाउने प्रयास भइरहेको बताए ।

तीन घण्टासम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन कर्णाली पुलबाट चल्न सकेका छैनन् । ती सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गरी कोठेघाट हुँदै हुलाकी राजमार्गबाट पठाइरहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलको प्रयोग गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

डीएसपी चन्दले पुलको लठ्ठामाथि लागेको आगो नियन्त्रणमा आइसकेकाले धेरै क्षति नभएको बताउँदै ट्रकमा के–कति लाइटर थिए भन्ने कुरा नखुलेको बताए ।

गुडिरहेका बेला एक्कासि ट्रकमा आगो लागेपछि प्रहरीले चालकसहित ट्रकभित्र रहेकाहरुको सकुशल उद्दार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?