 
																			१८ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालभित्र भारतीय ट्रकको सिन्डिकेट चलेको टिप्पणी गरेका छन् ।
भारतबाट सामान बोकेर आएका ट्रकहरु ७२ घण्टासम्म नेपालमा रहन पाउने नियमले उनीहरु यताबाट पनि सामान लिएर जाने गरेको भन्दै उनले यसलाई नरोके स्वदेशी ट्रक व्यवसाय धरासायी हुने बताएका हुन् ।
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पन्तले भारतीय ट्रकले नेपालभित्र पाएको सहुलियतका कारण नेपालका २० हजार ट्रक र ती ट्रकसँग जोडिएका चालक–सहचालक र मजदुरहरु रोजगारी गुमाउने अवस्थामा पुगेको बताए ।
‘नेपाली ट्रकले यस्तै सहज पहुँच भारतले पाउँछ त ?’, उनले प्रश्न गरे, ‘जब नेपाली ट्रक भारतमा जान पाउँदैनन् भने भारतीय ट्रकलाई यसरी निर्वाध नेपाल आएर व्यापार गर्न दिनु कति उपयुक्त हुन्छ ?’
नेपाली ट्रकहरुले सरकारलाई मूल्य अभिवृद्धि कर तिरिरहेको तर भारतीय ट्रकहरु निर्वाध गुडिरहेको भन्नै सांसद पन्तले भने, ‘नेपालमा भारतीय ट्रकको सिन्डिकेट चलेको छ ।’
भारतीय ट्रकहरु नेपाली सडकको भारवहन क्षमता भन्दा धेरै सामान बोक्ने हुनाले सडक समेत छिटै भत्किएको उनले बताए ।
भारतीय ट्रकलाई नेपाली प्रहरी र प्रशासनले नियन्त्रणमा लिएमा भारतीय दूतावासले तुरुन्तै फोन गरेर छुटाउने गरेको भन्दै उनले त्यही कारण हिजोआज प्रशासनले पनि भारतीय ट्रकलाई देखे पनि नदेखेझैं गर्न थालेको बताए ।
‘नेपालमा रहेका २० हजार ट्रकहरु यसरी काम नपाउने अवस्थामा पुग्दा पनि सरकार मौन भएर बसेको छ’, उनले भने, ‘नेपालको यति ठूलो रोजगारी दिएको र नेपालको मात्र लगानी भएको यातायात क्षेत्र ठूलो बिचल्लीमा परेको छ ।’
नेपालमा यो समस्या धेरै पहिलेदेखि रहेको र विगतदेखि नै सरकारहरुले बेवास्ता गर्दै आएको सांसद पन्तले बताए ।
तर यो समस्या थप जटिल बन्दै गइरहेको भन्दै उनले भने, ‘जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ त्यस्तै छुट हामीले पनि भारतमा पाउनुपर्यो । हाम्रो ट्रकले पनि भारतमा निर्वाध रुपमा सामान लान र ल्याउन पाउनुपर्यो । यदि हाम्रो ट्रकले त्यो सुविधा पाउँदैनन् भने भारतले मात्र पाउनुपर्ने किन ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4