+
+

‘फिल्मले माटोको सुगन्ध बोक्नुपर्छ, विश्व बजारमा जान कठिन हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:०३

काठमाडौं । ‘द रेड सुट्केस’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै संचारकर्मीसँग प्रश्नोत्तर गर्‍यो । निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, अभिनेता सौगात मल्ल, प्रवीण खतिवडा, छायांकार सुसन प्रजापतिले फिल्मबारे छलफल गरे ।

दृश्य मानवशाष्त्र (भिजुअल एन्थ्रोपोलोजी)मा विद्यावारिधी गरेका देवकोटाको यो डेब्यु फिचर फिल्म हो । रातो सुट्केसको विम्वमार्फत उनले वैदेशिक रोजगारीका सामाजिक आयामलाई चित्रण प्रयत्न गरेका छन् ।

अध्ययन र अनुसन्धानले आफूलाई फिल्ममेकिङमा सजिलो भएको देवकोटाले बताए । ‘यसले मद्दत त पक्कै गर्छ । मैले अभिव्यक्त गर्ने कला मेरो व्यक्तित्वको एक्सप्रेसन हो जस्तो लाग्छ । मैले आफूले सिकेको सीपबाट गर्न सजिलो भयो’ प्रेसमिटमा उनले भने ।

आफ्नो कथा शैलीलाई पछ्याउन सके अन्तर्राष्ट्रिय फेस्टिभलमा जान कठिन नहुने उनको तर्क छ । ‘हरेक ठाउँको आफ्नै कथा भन्ने शैली हुन्छ’ भन्छन्, ‘म आफ्नो फिल्मले हाम्रो माटोको सुगन्ध बोकोस् भन्ने चाहन्छु । त्यो भयो भने विश्व बजार र फेस्टिभलमा जान हामीलाई अवरोध हुँदैन जस्तो लाग्छ ।’

उनले ‘द रेड सुट्केस’लाई नेपालको समकालिन इतिहास भएको बताए । ‘देश कसरी चलेको छ, समस्या के छन् ? युवाको सोच कस्तो छ ? यी सबै कुरालाई यसले प्रतिनिधित्व गर्नजस्तो लाग्छ’ उनले भने ।

अभिनेता सौगात मल्लले ‘रेड सुट्केज’जस्ता कलात्मक फिल्म गर्दा आफ्नो तिर्खा मेटिएजस्तो हुने बताए । ‘आर्ट फिल्म गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । यस्तो काम गर्दा मलाई पनि सन्तुष्टि हुन्छ । मलाई प्यास तिर्खा मेटिएजस्तो चाहिँ हुन्छ’ उनले भने ।

‘फिल्म गर्दै जाँदा यस्तो फिल्म गर्न पाइयो । फिडेलसँग १५ वर्षअघि पनि काम गरेका थियौं । यसपटक मौका मिल्यो । कमै निर्देशक हुन्छन् जसले यस्तो खालको काम गरिराख्या हुन्छन्’ उनले भने ।

उनले यस्तो खाले फिल्म बनाउने कमै निर्देशक हुने बताए ।

निर्माता रामकृष्ण पोखरेलले राम्रो फिल्म बने अन्तराष्ट्रिय बजारमा जान कठिन नहुने बताए । ‘विदेशी बजारमा जान कठिन र सजिलो दुबै छ । फिल्म राम्रो छ भने त्यति गाह्रो छैन । यदि हामी विश्व बजारमा जाने हो भने त्यही सोच राखेर राम्रो खालको फिल्म बनाउनुपर्छ’ उनले भने ।

उनले विदेशमा फिल्मको बजारीकरण फिल्मको मात्र नभएर देश र संस्कृतिको पनि बजारीकरण हुने बताए । ‘कतिपय देशले फिल्ममार्फत पानीको पनि मार्केटिङ गरिराख्या हुन्छन्’ उनले भने, ‘हामी पनि विस्तारै त्यो प्रक्रियामा जानुपर्छ ।’ ‘द रेड सुट्केस’ चैत ३० गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?