+
+
विचार :

जीवन बीमामा के हो बोनस दर ?

अधिकांशले बोनसलाई बैंकको ब्याज जसरी बुझेको पाइन्छ तर बीमामा दिइने बोनसको प्रकृति बैंकमा पाइने ब्याजभन्दा फरक हुन्छ ।

शिशिर अर्याल शिशिर अर्याल
२०८० चैत २९ गते १५:१५

जीवन बीमाको कुरा गर्दा सँगसँगै आइहाल्ने कुरा हो– बोनस दर । तर, बोनस दर खास के हो र यो कसरी निर्धारण हुन्छ भन्ने कुरा मानिसले राम्ररी बुझेको पाइँदैन । अधिकांशले बोनसलाई बैंकको ब्याज जसरी बुझेको पाइन्छ तर बीमामा दिइने बोनसको प्रकृति बैंकमा पाइने ब्याजभन्दा फरक हुन्छ ।

जीवन बीमा मूलतः दुई प्रकृतिका हुन्छन्– मुनाफामा सरिक हुने जीवन बीमा र मुनाफामा सरिक नहुने जीवन बीमा । नामबाट नै थाहा हुन्छ, मुनाफामा सरिक हुने जीवन बीमा भनेको यस्तो जीवन बीमा हो जसमा बीमितले बीमा शुल्क भुक्तानी गरे बापत बीमकको मुनाफाको हिस्सा प्राप्त गर्छ, जसलाई बीमाको भाषामा बोनस भनिन्छ ।

अतः जीवन बीमामा बीमितले प्रात गर्ने बोनस दर भनेको बैंकको पूर्वनिर्धारित ब्याजदर जस्तो नभई बीमकको मुनाफाको प्रत्यक्ष हिस्सा हो जुन वार्षिक परिमार्जन भइरहन्छ । अर्थात्, कम्पनीको मुनाफा बढ़्दा बीमितले प्राप्त गर्ने बोनस दर पनि बढ्छ भने मुनाफा घट्दा बोनस दर पनि घट्न पुग्छ ।

कसरी यकिन गरिन्छ मुनाफा ?

बीमा व्यसायको प्रकृति अरू व्यवसायभन्दा फरक हुन्छ । सामान्यतया अरू व्यवसायमा वस्तु उत्पादनको लागतलाई वस्तु बिक्रीको आयबाट घटाइ मुनाफा यकिन गरिन्छ । बीमामा बीमितले सुरुमा नै बीमा शुल्क बापत रकम बीमकलाई भुक्तानी गर्दछ तर बीमकले बीमितलाई कहिले र कति दाबी भुक्तानी गर्नुपर्छ भन्ने कुरा निश्चित हुँदैन ।

जस्तै, कुनै एक व्यक्तिले आज १० वर्षका लागि १० लाखको सावधिक जीवन बीमा गर्छ र उसको वार्षिक बीमा शुल्क १ लाख छ भने उसले प्रथम बीमा शुल्क बापत १ लाख तिर्ने बित्तिकै बीमकले उसको जोखिम वहन गर्नुपर्ने हुन्छ ।

पहिलो किस्ता बापत १ लाख तिरेकै भोलिपल्ट होस् वा १०औं किस्ता तिरिसकेपछि होस्, उसको मृत्यु भएमा बीमा कम्पनीले बीमाङ्‍क रकम बापत १० लाख रुपैयाँ र आर्जित बोनस भुक्तानी गर्नुपर्ने हुन्छ । यसबाहेक उक्त बीमितले अतिरिक्त बीमा शुल्क तिरी करार बीमालेख लिएको छ भने भविष्यमा हुन सक्ने दुर्घटना, घातक रोगजस्ता अन्य कारकले पनि बीमकले भुक्तानी गर्नुपर्ने रकम र समय अनिश्चित बन्न पुग्छ ।

बीमा कम्पनीले उक्त बीमितका निम्ति भविष्यमा वहन गर्नुपर्ने दायित्व निर्धारण बीमाङ्‍कद्वारा माथि उल्लेखित अनिश्चित तत्वले नगद प्रवाहमा पार्ने असरहरू विश्लेषण गरी अहिलेको मूल्यमा गरिन्छ । यसरी आज बीमितले तिरेको १ लाख बीमा शुल्कबाट अभिकर्ता कमिसन, प्रोत्साहन रकम, पुनर्बीमा बीमा शुल्क, व्यस्थापन खर्च लगायत अन्य खर्चबाट बचेको रकममा भविष्यमा वहन गर्नुपर्ने दायित्वका निम्ति चाहिने रकम घटाएर मुनाफा निकालिन्छ ।

यो त भयो एक जनाको उदाहरण, अब हेरौं समष्टिमा । जीवन बीमकले बीमितहरूको बीमा शुल्कबाट आएको पैसा जम्मा गरेर लगानी गर्ने अनि भविष्यमा दाबी लगायत अन्य खर्च भुक्तानी गर्न जीवन बीमा कोष अर्थात् ‘लाइफ फन्ड’ खडा गरेको हुन्छ । वर्षभरि संकलन गरेको बीमा शुल्क, बीमा कोषमा भएको पैसाको ब्याज तथा अन्य आम्दानी बीमा कोषको आय हो भने अभिकर्ता कमिसन, प्रोत्साहन रकम, पुनर्बीमा बीमा शुल्क, व्यस्थापन खर्च, दाबी भुक्तानी लगायत अन्य खर्च बीमा कोषको व्यय हो । जीवन बीमा कोषमा जम्मा भएको रकमको दायित्व वर्षको अन्तिममा बीमाङ्‍क मूल्यांकनबाट निर्धारण गरिन्छ र सोही दायित्वलाई बीमा कोषबाट घटाएर मुनाफा निकालिन्छ ।

उदाहरणका लागि, वर्षको सुरुवातमा १ खर्बको बीमा कोष भएको कुनै एक जीवन बीमा कम्पनीको वर्षभरिको आयबाट व्यय घटाएर वर्षको अन्त्यमा १ खर्ब २५ अर्बको बीमा कोष हुन्छ र त्यसमध्ये बीमाङ्‍क मूल्यांकनबाट १ खर्ब १५ अर्बको दायित्व निर्धारण हुन्छ भने बीमा कोषको १ खर्ब २५ अर्बबाट दायित्वको १ खर्ब १५ अर्ब घटाउँदा आउने १० अर्ब यो वर्षको मुनाफा हो । यस मुनाफाको कम्तीमा ९० प्रतिशत बीमितको बोनस दर निर्धारण गर्नमा प्रयोग हुन्छ भने बाँकी मुनाफाको हिस्सा सेयरधनीमा बाँडफाँट हुन्छ ।

अग्रिम भुक्तानी बीमालेखमा किन कम बोनस दर ?

नेपाली बीमा बजारमा विशेषगरी अग्रिम भुक्तानी बीमालेखहरूको बोनस दर घट्दो क्रममा छ । यसका मूलतः दुई नीतिगत कारण छन् । पहिलो, बीमालेखको विशेषता अनुरूप छुट्टाछुटै जीवन बीमा कोष कायम गर्नुपर्ने र दोस्रो, भविष्यको बोनसलाई पनि दायित्वका रूपमा गणना गरी त्यसका लागि ‘रिजर्भ’ कायम गर्नुपर्ने प्रावधान हो ।

अग्रिम भुक्तानी बीमालेखले आफ्नो जीवन बीमा कोषबाट प्राप्त गर्ने प्रतिफल विगतमा संयुक्त बीमा कोष हुँदा प्राप्त गर्ने प्रतिफलको हिस्साभन्दा कम हुँदा बोनस दरमा प्रतिकूल असर परेको हो ।

नेपाल बीमा प्राधिकरणको ‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्‍कीय मूल्यांकन सम्बन्धी निर्देशिका, २०७७’ ले जीवन बीमा प्रकृति अनुसार छुट्टाछुटै जीवन बीमा कोष निर्धारण गर्नुपर्ने र आ–आफ्नो जीवन बीमा कोषको मुनाफाबाट मात्रै बोनस घोषणा गर्नुपर्ने प्रावधान गरेसँगै बीमा कम्पनीले सावधिक, अग्रिम भुक्तानी र सावधिक तथा आजीवन बीमालेखको छुट्टाछुटै बीमा कोष निर्धारण गरी बोनस पनि उक्त जीवन बीमा कोषको मुनाफाबाट मात्रै घोषणा गर्दै आइरहेका छन् ।

यसरी साविकमा संयुक्त जीवन बीमा कोषको मुनाफाले सम्पूर्ण बीमालेखमा सन्तुलित बोनस दिइने गरेकोमा पछिल्लो समय आ–आफ्नो जीवन बीमा कोषको मुनाफाबाट मात्र बोनस घोषणा भइरहेको छ ।

अग्रिम भुक्तानी बीमालेखको जीवन बीमा कोष सावधिक लगायत अन्य बीमालेखको जीवन बीमा कोषको दाँजोमा सानो हुने र बीमा अवधिमा पटक–पटक बीमितलाई नगद प्रवाह गरी राख्नुपर्ने भएकाले अरू जीवन बीमा कोषको तुलनामा अग्रिम भुक्तानी बीमालेखको जीवन बीमा कोषको प्रतिफल थोरै हुन्छ ।

यसरी अग्रिम भुक्तानी बीमालेखले आफ्नो जीवन बीमा कोषबाट प्राप्त गर्ने प्रतिफल विगतमा संयुक्त बीमा कोष हुँदा प्राप्त गर्ने प्रतिफलको हिस्साभन्दा कम हुँदा बोनस दरमा प्रतिकूल असर परेको हो ।

अहिलेको अवस्थामा अग्रिम भुक्तानी जीवन बीमाको बोनस खुम्चिनुको कारक तत्व बीमा कम्पनीको स्वेच्छिक निर्णय नभई नियामक निकायको निर्देशनले सिर्जित बाध्यात्मक परिस्थिति हो ।

दोस्रो कारण भनेको बीमितले भविष्यमा प्राप्त गर्ने बोनसलाई पनि बीमा कम्पनीले दायित्वका रूपमा गणना गर्नुपर्ने प्रावधान हो । विगतमा बीमा कम्पनीले आफ्नो दायित्व निर्धारण गर्दा बीमितले भविष्यमा प्राप्त गर्ने बोनसलाई दायित्वका रूपमा गणना गर्नु नपर्ने व्यवस्था थियो तर बीमितले प्राप्त गर्ने बोनसमा स्थिरता कायम गर्न र भविष्यका लागि पनि कम्तीमा अहिलेको बोनस दरको प्रत्याभूति गर्न बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमितले भविष्यमा प्राप्त गर्ने बोनसलाई पनि दायित्वका रूपमा गणना गरी २०८१ साल सम्ममा त्यसको ५० प्रतिशत रिजर्भ राख्न जीवन बीमा कम्पनीलाई निर्देशित गरेको छ ।

यसरी विगतमा दायित्वका रूपमा गणना नगरिने भविष्यको बोनसलाई हाल बीमा कम्पनीले घोषणा भएको बोनस दरका आधारमा आफ्नो दायित्वमा समावेश गर्नुपर्दा बीमाङ्‍क मूल्यांकनबाट निर्धारण हुने दायित्व उल्लेखनीय वृद्धि भई मुनाफामा भारी गिरावट आएको छ, जसको असर बोनस दरमा पनि पर्न जान्छ ।

अतः अहिलेको अवस्थामा अग्रिम भुक्तानी जीवन बीमाको बोनस खुम्चिनुको कारक तत्व बीमा कम्पनीको स्वेच्छिक निर्णय नभई नियामक निकायको निर्देशनले सिर्जित बाध्यात्मक परिस्थिति हो । जुन कुरा बीमितको पक्षबाट हेर्दा तत्कालका निम्ति नोक्सान जस्तो देखिए पनि दीर्घकालीन रूपमा बीमितको हितमा नै छ । अहिले बीमितको बोनस घटाइराखिएको रकम भविष्यमा बीमितलाई नै राम्रो प्रतिफल दिनका निम्ति हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।

(लेखक अर्याल नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?