+
+

निर्देशकसहित कलाकार र प्राविधिक महिला रहेको फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १२:०५

काठमाडौं । बहुसंख्यक महिला युनिटको संलग्नता रहेको फिल्म ‘एक मुठ्ठी बादल : माइ सेयर अफ स्काई’को छायांकन समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा सम्भवतः पहिलोपटक महिलाले फिल्मका सबैजसो विधामा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

डकस्कुल र प्लान इन्टरनेसनल नेपालले सन् २०२१ मा गरेको अनुसन्धानले नेपालमा फिल्मकर्मीभित्रको लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो ।

सो अध्ययनको निष्कर्षअनुसार १० प्रतिशतभन्दा कम महिलाले नेपाली फिल्मको निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिला प्रमुख, रचनात्मक र प्राविधिक भूमिकामा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधामा महिलाको भूमिका चयन गरेको हो ।

फिल्मको छायांकारमा लिन ड्यान छिन् । भियतनामकी ड्यानको यो तेस्रो कथानक फिल्म हो । यो फिल्म उनको नेपाली प्रोजेक्टमा डेब्यु हुनेछ । प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड र प्रमुख सहायक निर्देशक मर्णा जेम्स छन् ।

कीर्ति जोशीले  मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन् । निकुन श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्मलाई अभिमन्यू दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

गौंथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ । फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाईं, मनिष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ ।

प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तीकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिएको निर्माताले जनाएका छन् । फिल्मलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

निर्देशक शर्माले फिल्म निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । ‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मेहनतका लागि आभारी छु,’ उनले भनिन् ।

फिल्म खिच्न भनेर भियतनामबाट काठमाडौं आएकी २८ वर्षीया लिन ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ निर्धारित समयमै सकिएको बताइन् । ‘जब हामीले लास्ट सट भन्यौं, त्यो क्षण साँच्चिकै गज्जब थियो । फिल्म सकिएको कुराले हामी सबै यति खुसी थियौं कि, सारा कलाकार र प्राविधिक यो क्षण महसुस गर्न एकसाथ उभिएका थियौं,’ उनले भनिन् ।

बलिउडमा ‘रक्षा बन्धन’ लगायतका फिल्ममा आर्ट असिस्टेन्टको काम गरेकी यशस्वी सबरवालले नेपाल हरकोहीलाई स्वागत गर्ने प्रकृतिको रहेको र आफूले पनि त्यस्तै स्वागत पाएको बताइन् । ‘नेपालीहरुको हृदय मायालु रहेछ । सुटिङका क्रममा पाएको माया र न्यानो स्नेह मैले सदाका लागि याद राख्नेछु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?