+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
गफ स्टेसन :

प्रकाश सपूतको ‘वसन्त’ मोड : ‘समाजका कथा भन्न अझै फराकिलो क्यानभास चाहिने रहेछ’

प्रकाश सपूत भन्छन्, ‘समाजमा भएका विभेदका कुरालाई बोझ नलाग्ने गरी सरल ढंगले समाज यस्तो छ है भनेर देखाइदिने सिर्जनाको काम हो । वसन्त मलाई भन्न मन लागेर बनाउन लागेको फिल्म हो । फिल्मको फर्मूलामा भन्दा जीवनको फर्मूलामा बनाउने कोसिस गर्नेछु ।’

खेम रिसाल खेम रिसाल
२०८१ वैशाख ३० गते १९:४०

काठमाडौं । यस्तो लाग्छ, प्रकाश सपूत सिर्जना र कलाकारिताकै लागि जन्मिएका हुन् । उनका उम्दा सांगीतिक सिर्जनाले दर्शक-श्रोताको मनमस्तिष्कलाई राम्रोसँग छुन्छन् । मनोरञ्जन दिन्छन्, आत्मारञ्जन गराउँछन् । सँगै सामाजिक विभेदविरुद्ध जागरुक बनाउने सन्देश प्रवाह गर्छन् । समाज यस्तो पनि छ है बनेर छर्लङ्ग बनाइदिन्छन् ।

औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गर्नुअघिका संघर्षका दिनलाई छाड्ने हो भने छोटो समयमै सांगीतिक उचाईको उडान भरेका गायक, सर्जक तथा संगीतकार हुन् प्रकाश सपूत । दोहोरी ब्याटल गाएर सांगीतिक गोरेटो कोरेका प्रकाश करिब ६ वर्षअघि ‘बोलमाया’ लिएर आएका थिए । समाजको कथालाई दुरुस्तै उतारिएको यो गीत उनको सांगीतिक जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । गीत र यसको कथानक भिडियोलाई यति रुचाइयो कि प्रकाशको सांगीतिक गोरेटोको यात्रा अब राजमार्गमा पुग्यो । त्यसपछि गलबन्दी, पीर, दमाई महाराज हुँदै मुटु कटक्कै र फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’सम्म आइपुग्दा उनी सांगीतिक आकाशमा सफलताको उडान भरिरहेका छन् ।

गीतमार्फत समाजका कथा भन्न रुचाउने यी गायक तथा सर्जक अब फिल्मको फराकिलो क्यानभासमार्फत कथा भन्ने तम्तयारीमा जुटेका छन् । यो साता अनलाइनखबरको गफ स्टेसनमा प्रकाशले आफ्नो फिल्मी यात्राबारे सविस्तार कुराकानी गरेका छन् ।

गफ स्टेसनको सुरुमै उनलाई सोधियो- सांगीतिक आकाशमा सफलताको उडान भरिरहँदा त्यसलाई हत्तपत्त ल्यान्ड गराएर फिल्मको गोरेटोमा यात्रा गर्ने ‘रिस्क’ चाहिं अहिल्यै किन लिनुभयो ?

प्रकाशले यसलाई समय, ऊर्जा र अवसरको रुपमा अर्थ्याउँदै तर्क दिए । ‘पहिलो कुरा त अहिले संगीतमा जुन माया र आशीर्वाद पाइरहेको छु । यसले नयाँ नयाँ काम गर्न इनर्जी दिइरहेको छ । इनर्जी हुँदाखेरि नै आफ्नो इतिहास बनाऊँ भनेर हो । संगीतले सबैथोक त दिएको छ । साथै अल्छी पनि भएको छु, उस्तै काम गरिरहँदा,’ उनी भन्छन्, ‘म कम मान्छेमा पर्छु होला जो सफलतापछि संघर्ष गरिरहेको छु । अहिले धेरै काम गरिरहेको छु । अवसर पाइरहेको छु सबैतिर । त्यसैले सबै कुराले साथ दिएको बेला मेरा कथाहरु भन्ने फराकिलो क्यानभास रोजेको हुँ फिल्मको पर्दालाई ।’

प्रकाशलाई जीवनपछिका लागि केही कृति छाडेर जानुपर्छ है भन्ने अन्तरमनको इच्छाले यसबेला डोर्‍याइरहेको छ । अनि कुनै कुरा समयमै गर्न नसक्दा पछि त्यो सिर्जनशीलता नरहने पो हो भन्ने डर पनि कता कता ।

‘मैले बाँचिरहेको जीवनलाई त इन्जोय गरौंला । कसैले मलाई सम्झिनुपर्‍यो भने के भनेर सम्झिन्छन् त भन्ने सोच आउन थालेको छ,’ प्रकाश अन्तरमनको कुरा भन्छन्, ‘मैले पाइरहेको सफलता म बाँच्दासम्म त हुन्छ । तर मेरो जीवनको अनुपस्थितिमा मेरो कुरा मान्छेहरुले गर्दा त सिर्जना र कृतिकै गर्ने हुन् नि । त्यो कुरा मैले समयमै गर्न पाइनँ भने पछाडि त्यो सिर्जनशीलता नहुन सक्छ । यो समयमै मैले जीवन मात्रै जिउने भन्दा पनि जीवनपछिका लागि केही कृति छोडेर जानुपर्छ है भन्ने हो ।’

प्रकाशले केही दिन अगाडि फिल्म घोषणा गरेका छन्, ‘वसन्त’ शीर्षकको । उनकै गलबन्दी प्रोडक्सनको निर्माण रहने फिल्मलाई उनले निर्देशन गर्नेछन् । सामाजिक विभेदका मुद्दालाई खरो रुपमा गीत र म्युजिक भिडियोमा उतार्दै आएका प्रकाशले यस फिल्ममा जातीय विभेदको मुद्दालाई उठाउने छनक दिइसकेका छन्,  यसको ‘अनाउन्समेन्ट टिजर’ले यसै भन्छ ।

प्रकाशले संगीतमा एउटा पहिचान बनाइसकेपछि फिल्म बनाउन लागेपनि यसबारे उनले धेरै पहिल्यै योजना बनाएका रहेछन् । खासमा प्रकाशलाई संगीतमा त लगाव थियो, त्योभन्दा धेरै फिल्मको हिरो बन्नेमा थियो । यद्यपि, ‘परदेशी २’ ले त्यो सपनालाई साकार पारिसकेको छ ।

दोहोरी साँझमा तीन महिनाका लागि यूएईको दुबई जाँदा नै उनले फिल्मका लागि कथा लेखेका रहेछन् । आफूले भोगेको, अनुभव गरेको, देखेको कथालाई नै उनले फिल्मको विषयवस्तु बनाएका छन् ।

‘विषय चाहिं लेखिरहेको हो । कलाकारितामा नआउँदै लेख्नमा रुचि थियो । उपन्यास, कथा बढी पढ्ने गर्थें । पढ्दा त्यो पात्रमा आफूलाईं ढालेर पढ्थें । त्योबेला डायरी लेख्ने चलन हुन्थ्यो । ती कुराहरु कापीमा कतै कलेक्सन भएर बसिरहेको रहेछ,’ उनी सुनाउँछन्, ‘सन् २०१२ दुबईमा तीन महिना एक दोहोरीमा काम गर्न गएको बेला लेखेको थिएँ । केही वर्षपछि किताब छाप्छु भन्ने थियो । २०१८ तिर नेपाल आएर बोलमाया गीत ल्याएँ, चल्यो । त्यसपछि मात्रै मलाई ५-६ वर्ष ब्याकअपमा बोकेर हिंडेको कथाको याद आयो । बोलमायामा पनि अलिकति मिसाइसकेको रहेछु । त्यसपछि गलबन्दी गीत सफल भएपछि भने फिल्म नै किन नबनाउने त्यो कथामा भन्ने लाग्यो । समय अहिले मिलेको मात्रै हो ।’

आफ्नै कथाको भकारीबाट कथा थोरैथोरै आफैंले चोरी गरे जस्तो भयो उनलाई । त्यसैले फिल्मका लागि लेखेको कथामा फिल्म नै बनाउनुपर्छ भनेर कम्मर कसे । प्रकाश भन्छन्, ‘सधैं गीतमा कथा हाल्थें, अब कथामा गीत हाल्नेछु अर्थात् फिल्ममा ।’

त्यो सिर्जना त्यतिबेला जीवन्त हुन्छ, जुन सर्जकले आफैंले बाँचेको छ भन्ने भनाइलाई आत्मसात गरेर अगाडि बढेका प्रकाशले फिल्ममा पनि आफैंले भोगेको जीवनलाई उतार्ने कोसिस गर्दैछन् । ‘मैले त्यही जीवन बाँचें, अब त्यहाँबाट बाहिर जानै सकिरहेको छैन । बोलमाया, पीर, दमाई महाराज गर्दा जति वास्तविक लागे, अरु त्योअनुसार नलागेको पनि हुनसक्छ,’ उनी भन्छन्, ‘मैले बाँचेका कुराहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु, मैले अनुभव गरेका कुराहरु राम्रोसँग भन्न सक्नेरहेछु भन्ने लाग्यो । त्यसैले मैले बाँचेको, भोगेको कालखण्ड र परिस्थितिलाई नै फिल्मको कथा बनाउने निर्णय गर्ने गरेको छु ।’

प्रकाशलाई फिल्मको शीर्षक जुराउन पनि निकै सकस भयो । समाजमा सदियौंदेखि जरा गाडेर बसेको जातीय विभेदको मुद्दा उठाइने फिल्मको शीर्षक सबैले सम्झिने खालको हुनु पनि जरुरी थियो । धेरै नाम सोचेपछि उनले फेला पारे- ‘वसन्त’ । यो शीर्षकले बहुआयामिक अर्थ दिने उनले ठाने ।

‘मैले भन्न लागेको कथामा सतहमा रहेको पात्र, अझ भनौं जमिनभन्दा पनि तल रहेको पात्रमार्फत समाजका विभिन्न तह र रङहरु देखाउँदैछौं । वसन्त नाम सम्झिन पनि सजिलो हुन्छ । वसन्त ऋतुमा नयाँ पालुवा पलाउने भने झैं उक्त पात्रमा नयाँ विचार पलाउँदै गएको विम्ब पनि हो यो,’ प्रकाश भन्छन् ।

उनले ‘वसन्त’को विम्बात्मक पूरा रुप पनि यसरी छुट्याएका छन् । व : वर्णव्यवस्थाले, स : सदियौंदेखि, न्‍ : न्याकिएको, त : तप्का । अर्थात् वर्णव्यवस्थाले सदियौंदेखि न्याकिएको तप्का : ‘वसन्त’ ।

कुराकानीकै सिलसिलामा प्रकाशले ‘वसन्त’ शब्द दलित समुदायको मुद्दा उठाउन सही सम्बोधन पनि हुनसक्ने बताए । ‘हुन त यो मेरो व्यक्तिगत प्रस्ताव हो । दलित शब्द पनि एक आन्दोलन हो । यसको आफ्नै महत्व छ । तर कहींकतै यो शब्दको अर्थले कतिपयलाई अपमान महसुस पनि भएको हुनसक्छ,’ उनी भन्छन्, ‘त्यसका लागि बरु वसन्त समुदाय राख्दा सम्बोधन गर्न पनि सजिलो हुन्छ कि भन्ने हो । यसलाई यस्तै हुनुपर्छ भन्ने त होइन, यो ठूलो राजनीतिक विषय हो, वृहत छलफलको विषय पनि हो । मात्रै मेरो विचार हो यो ।’

प्रकाशले यस्तो बेला फिल्म बनाउँदैछन्, जुनबेला नेपालको बक्स अफिसमा घरेलु फिल्महरुले सोचेजस्तो व्यापार गरिरहेका छैनन् । दर्जनौं फिल्म रिलिज हुँदा औंलामा गन्न सकिने फिल्मले मात्रै लगानी उठाइरहेका छन् । ब्लकबस्टर त एकाध मात्रै । यस्तो बेला फिल्म बनाउने किन जोखिम उठाए त प्रकाशले ?

‘बजार जति धेरै कमजोर देखिन्छ, उति नै धेरै सम्भावना पनि हुन्छ । राम्रो फिल्मले कमाएका पनि छन् । बजारलाई पनि मध्यजनर राख्दै दर्शकलाई जोड्न सक्ने कथा उठाउन सके राम्रो व्यवसाय पनि गर्न सकिन्छ भन्ने आशा केही फिल्महरुले देखाएका छन्,’ आत्मविश्वासी देखिंदै उनी भन्छन्, ‘अहिले हेर्दा वास्तविक लाग्ने पात्रमार्फत सरल ढंगको फिल्म बनाउँदा दर्शको राम्रो साथ पाइन्छ भन्ने आत्मविश्वास छ ।’

समाजलाई कुनै उपदेश दिन होइन, समाज यस्तो पनि छ है भनेर सिर्जनशील ढंगले देखाइदिन चाहन्छन् प्रकाश । ‘समाजमा भएका विभेदका कुरालाई बोझ नलाग्ने गरी सरल ढंगले समाज यस्तो छ है भनेर देखाइदिने सिर्जनाको काम हो । वसन्त मलाई भन्न मन लागेर बनाउन लागेको फिल्म हो । फिल्मको फर्मुलामा भन्दा जीवनको फर्मुलामा बनाउने कोसिस गर्नेछु,’ उनी भन्छन् ।

गफ स्टेसनमा फिल्मबारे लामै कुराकानी गरेपछि उनको खास पहिचानको क्षेत्र संगीतबारे प्रकाशले कुरा गरे । संगीतमा त्यसमा पनि लोकसंगीतमा पछिल्लो पुस्तामा आफ्नो जबर्जस्त पहिचान बनाउन सफल प्रकाश सपुत स्टुडियो र स्टेजमा दुवैतिर सर्वाधिक माग भएका कलाकार हुन् । तर धेरै उनी स्टेजमा रमाउँछन् । स्टेजप्रतिको मोह उनको यति छ कि फिल्म घोषणा गरेको भोलिपल्टै उनी सुदूरपूर्वको पहाडी जिल्ला पाँचथरमा गुञ्जिन पुगे । ‘स्टेजमा पुगेर कथाका गीत सुनाउनु जत्तिको आनन्द केही लाग्दैन आजको दिनसम्म,’ प्रकाश भन्छन् ।

संगीतमा दर्शक-श्रोताले दिएको मायाबारे उनी थप्छन्, ‘दर्शक-श्रोताको आशीर्वाद छ मलाई । यो राज्य व्यवस्थाले यो समाजको वर्गीय तहले मैले, हाम्रो पुस्ताले जुन किसिमले अपमान भोग्दै आयौं । त्यसवापतको एउटा प्रेम हो भन्ने लाग्छ । सबैले त त्यो पाएका छैनन् तर मेरो व्यक्तिगत हिसाबमा त्यो शुभेच्छा हो भन्न सकिन्छ ।’

आफ्नो काम गर्ने शैलीमा समयसँगै परिवर्तन ल्याएको प्रकाश सुनाउँछन् । तर उनका पछिल्ला गीतमा विज्ञापन धेरै देखिंदा गीति भिडियोको कथा ‘फिल’ गरेर हेर्न नपाएको गुनासो पनि सुनिन्छ ।

‘पहिले बजारलाई हेरेर काम गर्थें, अहिले मनले भनेको काम गर्छु,’ यसबारे प्रकाश प्रष्टीकरण दिन्छन्, ‘बजारलाई हेरेर काम गर्दा व्यावसायिक विज्ञापनको खाँचो पर्दैनथ्यो, मनबाट गरिएको सिर्जना कतै नचल्ने पो हो कि भनेर विज्ञापनबाट लगानी उठाउने कोसिस गरेको हुँ । बजारका लागि उत्पादन गरिएको वस्तुले लगानी उठाउन खोज्नु त अर्थशास्त्रको नियम नै हो । त्यसैले मैले बजारबाट सपोर्ट लिएकै हो । बिस्तारै बिस्तारै सबैतिर युज टु हुन्छ भन्ने लाग्छ ।’

समाज र राजनीति

समाज र राजनीतिलाई नजिकबाट नियालिरहने प्रकाशको बुझाइमा अहिले नेपाली समाज ‘कन्फ्युजन’मा छ । राजनीतिक व्यवस्था बदलिएपनि एउटा सभ्यता निर्माण भइनसकेको अवस्थामा समाज छ । सँगै नयाँ प्रविधि र दिशासँग समाजले साक्षात्कार गर्नुपर्ने पनि छँदैछ ।

‘हाम्रो समाज अझै कन्फुजनमा छ । व्यवस्था त बदलियो, तर एउटा सभ्यता निर्माण भइनसकेको अवस्थामा नै छौं भन्ने लाग्छ । व्यवस्थालाई लिएर पनि पुरानै प्रश्नहरु दोहोरिरहेका छन् । त्यससँगै नयाँ प्रविधि र दिशाका कुरा पनि छन्,’ प्रकाश भन्छन्, ‘राजनीतिक स्थायित्व दिएर समतामूलक सामाजिक सभ्यताको निर्माण गर्नु आजको आवश्यकता हो । अनि हामीले विकसित मुलुकका के कुरालाई आत्मसात गर्ने हो भन्नेमा स्पष्ट हुनुपर्छ । सांस्कृतिक हिसाबले उनीहरुजस्तै हुने कि प्रविधिको हिसाबले ?’

अहिले नेपालीहरुको आम मनोविज्ञान सन्तुलित नरहेको प्रकाशको बुझाइ छ । विदेशमा बस्ने नेपाली पनि एउटा ‘कन्फ्युजन’ लिएरै बसेका छन् ।

‘मान्छे खास किन विदेश जान्छ ? यसै कथालाई आधार बनाएर चिया र चना भन्ने गीत सिर्जना गरिरहेको छु । युवापुस्तामा विदेशको लाइफस्टाइलको लोभ हो कि भन्ने पनि छ,’  उनी भन्छन्, ‘यहाँ वेटर गर्ने युवाको जीवनशैली र युरोप, अमेरिकामा यही काम गर्ने उही युवाको जीवनशैली फरक हुन्छ । त्यहाँ उसले सम्मान महसुस गर्छ, तर यहाँ खै त ?’

‘संसारभरिका लागि मान्छेका लागि आफ्नो अस्तित्व, पहिचान र पृष्ठभूमिका लागि देश चाहिन्छ । त्योसँगै प्राक्टिकल लाइफ पनि राम्रो हुनुपर्छ । अहिलेको ग्लोबलाइजेसनको युगमा संसारको जुन कुनामा गएर पनि उन्नत जीवन जिउँछु भन्ने अधिकार छ जो कोहीलाई । तर हामीजस्तो गरिब देशका नागरिकलाई त्यो पनि सहज छैन,’गफ स्टेसनको बिट मार्नेबेला प्रकाशले आग्रह गरे, ‘कि त त्यो किसिमको अवस्थालाई सरकारले सहज बनाइदिनुपर्‍यो, नत्र यही देशमा बस्नुपर्ने, केही गर्नुपर्ने, यहीं जीवनलाई राम्रो बनाउनुपर्ने बाध्यता र संस्कृति भएका हामी नेपालीलाई राज्यले न्यूनतम आवश्यकता, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवन जिउने वातावरण बनाइदिनैपर्छ ।’

गायक तथा सर्जक प्रकाश सपूतसँगको विस्तृत कुराकानी भिडियोमा

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?