काठमाडौं । करण परियारलाई गायन रियालिटी शोमा जान्छु र विजेता बन्छु भन्ने सोच मनको अन्तरकुन्तर कतै पनि थिएन । उनी आफ्नो सानैदेखिको गायक बन्ने सपना पूरा गर्न संगीत सिक्न पाइने ठाउँको खोजीमा थिए । ‘खोजी’ संगीत पाठशाला र गुरु मात्रैको होइन, त्यसका लागि आवश्यक आर्थिक बन्दोबस्ती र गाँस, बासको जोहो गर्नु थियो ।
बर्दियाको बारबर्दिया नगरपालिकास्थित पदनाहका स्थायी बासिन्दा करणले संगीत सिक्नका लागि कक्षा १२ को पढाइ पूरा गर्दासम्म पर्खनुपर्यो । अनि मात्र बुबाले काठमाडौंमा संगीत सिक्नका लागि छोरालाई पठाइदिए, पठाइदिए भन्दा पनि आफैं लिएर आए । कामको बन्दोबस्ती गरिदिए अनि छोरालाई छाडेर आफू घर फर्किए । उनलाई बुबाले चाहेर संगीत सिक्न नपठाएका होइनन् । घरको आर्थिक अवस्था यसमा बाधक थियो । चाहना हुँदाहुँदै पनि उनले छोराको इच्छा पूरा गरिदिन पाएका थिएनन् ।
त्यसपछि कार्पेट फ्याक्ट्रीमा काम गर्दै संगीत सिक्न थालेका करणले योजना बनाएका थिए, एक वर्षसम्म राम्ररी संगीत सिक्छु । तर उनको जीवनमा यस्तो मोड आयो, संगीत सिक्न थालेको ६ महिनामा उनी नेपाल आइडलमा भाग लिन पुगे । अन्तत: विजेता नै बने ।
यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका करण नेपाल आइडल जितेपछि भर्खरै आफ्नो घर र गाउँ पुगेर आएका थिए । सुरुमै उनलाई सोधियो- देशविदेशमा यत्रो वाहवाही पाइरहेको मान्छे घरगाउँमा पुग्दा चाहिं कस्तो माहोल भयो ?
‘म पहिलेकै करण बनेर गाउँ पुगें । एयरपोर्ट (नेपालगञ्ज विमानस्थल)मा परिवार लिल आउनुभएको थियो । काठमाडौंतिर जता जाँदा पनि ओहो करण भन्नुहुन्थ्यो । त्यहाँ त्यो माहोल थिएन,’ उनी सुनाउँछन्, ‘आइडल जितेको करण होइन, म पहिलेकै करण बनेर गएँ । एक्लै हिंडें, पार्कमा गएँ, रमाएँ । गाउँमा खेतीपातीको सिजन पनि थियो । दिउँसो म पुग्दा कुनै भीडभाड थिएन । बेलुका सबैजना आएर बधाई दिनुभयो । त्यही हो ।’
नेपाल आइडलको चार महिना लामो यात्राले उनलाई थकाइ पनि लागेको थियो । गाउँघरमा पुग्दा उनले शान्त वातावरण पाए । ‘आफ्नो गाउँ, आफ्नै शान्त वातावरण चाहिएको थियो । गाउँमा मैले त्यही पाएँ,’ करण भन्छन् ।
तर उनले महसुस गरेको एउटा कुरा भने थियो । उनलाई घरमा गरिने व्यवहार चाहिं कताकता फरक भए जस्तो । ‘बाबा-ममीले अब त तँ ठूलो मान्छे भइस् भन्नुहुन्थ्यो । मलाई गर्ने व्यवहार पनि पहिलेको करणलाई होइन, अर्कै करणलाई गरे जस्तो लाग्यो । तर म त उही नै थिएँ,’ उनी रमाइलो पारामा सुनाउँछन् ।
नेपाल आइडल सकिएसँगै करणको व्यस्तताको गति अरु तीव्र बनेको छ । उनलाई धेरैतिरबाट गीत गाउने प्रस्ताव आइरहेको छ । हालसम्म सातवटा गीतमा उनले स्वर भरिसकेका छन् । पाइपलाइनमा अरु थुप्रै गीत छन् । उनका भर्खरै ‘सुस्तरी’ र ‘मैले सम्झिने मान्छे’ बोलका दुई गीत रिलिज भइसकेका छन् । यी गीतले श्रोताहरुको मन जितिरहेका छन् ।
पहिलोपटक गीत रिलिज हुनेबेला चाहिं करणको मनमा के खेल्यो त ?
‘गीत रिलिज हुँदै गर्दा त सामान्य नै लाग्यो । जब रिलिज भयो कमेन्ट सेक्सनमा गएर हेरें, कस्तो कमेन्ट आएछ भन्ने खुल्दुली थियो । सबैले राम्रो छ भनेको देखेपछि ढुक्क भएँ,’ पहिलो गीत रिलिज हुँदाको क्षणबारे करण सुनाउँछन् ।
करणको सांगीतिक यात्रा अब राजमार्गमा पुगेको छ । राजमार्गमा धेरै किसिमका अवरोधहरु छिचोल्दै र गति पनि ‘मेन्टेन’ गर्दै अघि बढ्नुपर्ने हुन्छ । आफ्नै लेनमा निर्धक्क भएर दौडिन आफ्नै गीतको सहारा चाहिन्छ । यस्तोमा राम्रो गीत छनोट पनि अहम् र चुनौतीपूर्ण पाटो बन्छ । करण आफूले यसमा विशेष ध्यान पुर्याउने बताउँछन् ।
‘अहिले मसामु धेरै गीत गाउनका लागि प्रस्ताव आइरहेका छन् । गीत ‘सेलेक्सन’मा ध्यान पुर्याइरहेको छु । गीतको डमी आएपछि सरहरुले हेर्नुहुन्छ । उहाँहरुको सुझावअनुसार कुन गीत गाउने, कुन नगाउने भन्ने निर्णय गर्ने गरेको छु,’ उनी भन्छन्, ‘नयाँ गीत गाउँदा भने फिलिङ्स र भूमिकाको रोल आफैंले खेल्नुपर्नेरहेछ ।’
सानैदेखि संगीतमा बिछट्टै लगाव भएका करण सानो हुँदा उदितनारायण झा र कुमार सानुले गाएका हिन्दी गीत धेरै सुन्थे, अनि गाउँथे । संगीतमा लाग्न परिवारले उनलाई कहिल्यै अवरोध गरेन । मात्रै ‘गरिब’ परिवारको छोरो कसरी माथि पुग्न सक्छ भन्ने चाहिं सोच्थे उनका बुबाले ।
‘परिवारको सहयोग राम्रो थियो । म गाउन जाँदा नजा भनेर कहिल्यै भन्नुभएन । गायक बन्छु भन्दा नबन् पनि भन्नुभएन । तर मैले गर्न सक्छु कि सक्दैन भन्ने हिच्किचाहट थियो बाबामा । हामीजस्तो परिवारका मान्छेका लागि सिंगर बन्ने सपना ठूलै हो भन्ने उहाँलाई लाग्थ्यो,’ करण भन्छन् ।
गाउँकै स्कुलमा १० कक्षासम्म पढेका करण ११ र १२ पढ्न भने नेपालगञ्ज आए । त्यहाँ संगीत सिक्दै पढ्न भनेर बुवाले भनेका थिए । तर नेपालगञ्जमा संगीत पढ्ने ठाउँ नै भेटिएन । अनि १२ सक्नासाथ काठमाडौं हान्निए साथी रोहितसँगै । १२ को परीक्षा सकेपछि बुवालाई उनले भने- ‘अब दुई-चार वर्ष मलाई छाडिदिनु, काठमाडौं गएर संगीतमा केही गर्छु ।’ बुवाले नै उनलाई काठमाडौं ल्याएर राखिदिए अनि आफू घर फर्किए ।
उनका साथी रोहितको सन्दर्भ नउठाउँदा उनको सांगीतिक मात्रै होइन, जीवनयात्राको कुरा नै अपुरो हुन्छ । रोहितले उनको सुख-दु:खमा धेरै साथ दिएका छन् । उनलाई कुनै समय गाँस, बासको अभाव हुँदा आफ्नै घरमा लगेर राखेका छन् । उनीहरु दुईको मित्रता लोभलाग्दो छ । एकअर्काको भावना सजिलै बुझ्छन् ।
रोहितसँगको भेटबारे पनि करणले गफ स्टेसनमा खुलेर कुरा गरे । उनीहरुको भेट पनि संगीतले नै गराएको रहेछ ।
दाङका रोहित र बर्दियाका करण दाङमा भएको एक गायन प्रतिस्पर्धामा सहभागी हुन पुगेका थिए । त्यहीं यी दुई साथीको जुगलबन्दी भयो ।
‘१२ कक्षाको जाँच सुरु हुनुभन्दा केही महिनाअघि म नेपालगञ्जबाट गाउँ गएको थिएँ । दाङबाट विशाल मामा आउनुभएको थियो । रोहितको घर दाङ हो । एउटा सिंगिङ कम्पिटिसन हुँदैरहेछ । त्यहीं रोहितसँग भेट भयो,’ करण सुनाउँछन्, ‘म जस्तै सोच्ने र मसँग कुरा मिल्ने रहेछ रोहित । हामी एकैछिनमा साथी बनिहाल्यौं । घर टाढा भएकाले भिडियो कलमा हामी कुरा गर्थ्यौं ।’
त्यसपछि उनीहरुको मित्रताको पखेंटा यति फैलियो कि उनीहरु संगीत सिक्न सँगै काठमाडौं आउने भए । अहिले दुवै साथी संगीत सिक्दैछन्, काम पनि गर्दैछन् । साथसाथ छन् ।
‘कमै साथी हुन्छन् रोहितजस्तो । मेरो मनमा चलेको कुरा उसले मेरो फेस हेरेरै थाहा पाउँछ । अनि गाढा मित्रताको लागि सोच पनि मिल्नुपर्ने रहेछ,’ करण भन्छन्, ‘दुवै जना म्युजिकमा भएकाले पनि सोच मिलेको हुनसक्छ । हामी एकअर्कालाई एकदमै सपोर्ट गर्छौं ।’
रोहित पनि नेपाल आइडल सिजन ५ मा अडिसन दिन आएका थिए । तर उनी छनोट भएनन् । उनी छनोट नभएपनि साथीलाई दिलोज्यान दिएर साथ दिइरहे ।
गफ स्टेसनको बिट मार्नेबेला करणले आफ्नो सांगीतिक यात्रा भर्खर सुरुवात भएकाले धेरै कुरामा अञ्जान हुनसक्ने र सिक्दै अगाडि बढ्ने बताए । करण भन्छन्, ‘जति माया र साथ नेपाल आइडलमा दिनुभयो । अबको मेरो खास सांगीतिक यात्रामा अझ धेरै साथ श्रोता-दर्शकले दिनुहुनेछ भन्ने विश्वास राखेको छु ।’
तस्वीर, भिडियो : शंकर गिरी र आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4