+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यस्तो बन्यो कांग्रेसको पुस्तकालय  

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते २०:०४

५ असार, काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले डेढ दशकअघि पार्टीका ऐतिहासिक दस्तावेजहरुलाई एकत्रित गरेर पुस्तक निकाल्ने सोंच बनाए ।

ऐतिहासिक दस्तावेजहरु संकलनका लागि पहिलो स्रोत केन्द्र स्वभाविक रुपमा पार्टी कार्यालय हुन्छ । तर, उनले २०४८ साल अघिका अभिलेख तथा दस्तावेजहरु केन्द्रीय कार्यालय सानेपामा प्राप्त गर्न सकेनन् । त्यसपछि ऐतिहासिक दस्तावेजहरु खोज्नका लागि उनले दोस्रो अर्को विकल्प खोजे । पुस्तकका लागि ऐतिहासिक दस्तावेज संकलनका लागि प्रताप पौडेल, शंकर तिवारी, कृष्ण रिजाल लागिपरे ।

नेताहरु प्रदीप गिरी, नरहरि आचार्यकहाँ दस्तावेज खोज्न पटक पटक पुगे । पुरुषोत्तम बस्नेत, यज्ञ अधिकारीकहाँ धाइरहे । कांग्रेससँग जोडिएको अभिलेख खोज्न भारतसम्म पुगे । पार्टी केन्द्रीय कार्यालय स्रोतकेन्द्र बन्न नसकेपछि अन्यत्र धाउनु परेको थियो ।

महामन्त्री थापा प्रधान सम्पादक रहेको ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेजहरु’ २०६६ सालमा प्रकाशनमा आयो । ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज प्रकाशन गर्ने सोंच बनिसकेपछि पार्टीले पारित गरेका आधिकारिक दस्तावेजहरु खोज्न केन्द्रीय कार्यालय सानेपा पुगियो,’ दस्तावेज संकलक मध्येका एक पौडेल भन्छन्, ‘पुस्तकालयको नाम दिइएको कोठा त थियो । दस्तावेजहरु थिएनन् । उपलब्ध भएकाहरु छरपष्ट राखिएको थियो ।’  अभिलेखीकरणमा कांग्रेस कमजोर रहेको यस परिघटनाले स्पष्ट पार्दछ ।

अभिलेख र दस्तावेजहरु खोजेर भेट्न सहज थिएन । कांग्रेसको इतिहाससँग जोडिएका पुस्तकहरु संकलन गरेर व्यवस्थित राख्ने पद्दति समेत पार्टीले बसाएन । करिब आठ दशकको इतिहास बोकेको दलको महाधिवेशन, महासमिति, पार्टी नेताहरुसँग जोडिएका पुस्तक, विभिन्न कालखण्डमा कांग्रेसले नै प्रकाशन गरेका पुस्तकहरु एकत्रित रुपमा कहिं पनि छैन ।

पार्टीको लेखन, दस्तावेजीकरणलाई व्यवस्थित बनाएर राख्ने कार्य भएन। अभिलेखीकरणमा कांग्रेस चुकेको थियो ।

अब के हुँदैछ?

करिब ८ दशक पार गरेको दल व्यवस्थित पुस्तकालयसँगै स्रोत केन्द्र बनाउन बल्ल जुर्मुराएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले वार्षिक क्यालेण्डरमा ‘पार्टी साहित्य तथा दस्तावेजहरुको अभिलेख, अध्ययन गर्न पार्टी कार्यालयको पुस्तकालयलाई व्यवस्थित बनाउने’ प्रस्ताव ल्याए । थापाको प्रस्तावलाई केन्द्रीय समितिले निर्णय गर्‍यो ।

अत्याधुनिक पुस्तकालय र पार्टीको स्रोत केन्द्र बनाउने उद्देश्यले भौतिक संरचना निर्माण गरी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । ४२ औं बीपी स्मृतिको दिवसमा ६ साउनमा पुस्तकालय एवं स्रोतकेन्द्र सञ्चालनमा आउनेछ । पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।

‘पार्टीसँग रुचि भएकाहरु त पुस्तकालय जान्छन् नै । अध्येता, अनुसन्धानकर्ता पुस्तकालयमा जाने अवस्था रहन्छ । विद्यालय वा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकका लागि पनि स्रोतकेन्द्र पुस्तकालय हुनेछ,’ पौडेल भन्छन् । पार्टी कार्यालयलाई बैठक गर्न र प्रशासनिक कामका लागि मात्रै नभएर त्यहाँ पुग्दा केही समय अडिएर खोजी, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न लागिएको महामन्त्री थापा बताउँछन् ।

पुस्तकालयको अतिरिक्त महिनाको कम्तिमा एकपटक संवाद श्रृङ्खला राखिने भएको छ । विज्ञसँग संवाद वा मन्थनका रुपमा श्रृङ्खला चल्नेछ । संवाद श्रृङ्खला इस्युका आधारमा हुनेछ । पार्टी कार्यालय आइडियाहरुको केन्द्र हुनुपर्ने बताउँदै महामन्त्री थापा बताउँछन् । कांग्रेसमा विगतमा हुने गरेको तर अहिले निरन्तरता पाउन नसकेको श्रृङ्खलावद्द बहसलाई पुस्तकालय र स्रोत केन्द्रको स्थापनासँगै सुरु गरिने महामन्त्री थापा बताउँछन् । ‘यसै थलोबाट विचार निर्माणका लागि पार्टीमा व्यवस्थित छलफल गरिराख्न सकिन्छ । विचार निर्माणलाई पुस्तकालयसँग जोड्न सकिन्छ,’ महामन्त्री थापा भन्छन् ।

संवाद गर्ने, कुनै विषयमा रहेर विचार मन्थन गर्ने पार्टीभित्रको परपाटी हट्दै गएकाले त्यो शैलीलाई मर्न नदिन बहस श्रृङ्खला सुरु गर्न लागिएको छ । ‘बीपी देखि सुरु भएर पछिसम्मका अग्रजहरुले व्यक्तिहरु बोलाउने, कुनै विषयमा विचार विमर्श गरिरहनु हुन्थ्यो । त्यो परम्परा पछिल्लो समय पार्टीमा हुन छोडेको छ,’ पौडेल भन्छन्,‘त्यस बेलाको अवस्थालाई पुर्नजागृत गराउन चाहन्छौं । पार्टी कार्यालय भेटघाट गर्ने मात्रै थलो होइन । अध्ययन केन्द्र पनि हो ।’ कोही व्यक्तिले लेखेको पुस्तकमा छलफल गर्न आवश्यक देखिए पार्टी मुख्यालयमा बहस गर्न सकिने महामन्त्री थापा बताउँछन् ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी हुनेछ । नेपाली कांग्रेसको स्थापनापूर्व देखिका विभिन्न कालखण्डका दस्तावेज, हुनेछन् । संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तकहरु हुनेछन् । संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु उपलब्ध हुनेछन् ।

केन्द्रीय अभिलेखमा नभएका तर तल्लो तहमा रहेर कांग्रेसलाई योगदान गरेका व्यक्तिहरु माथि लेखिएका पुस्तकहरु पनि अब भेटिने महामन्त्री थापा दाबी गर्छन् । कम्युनिस्ट विचारधारामा आधारित पुस्तक समेत पुस्तकालयमा रहने छन् । ‘पार्टी सदस्यका लागि मात्रै पुस्तकालय होइन । सबैका लागि खुला रहने पुस्तकालयमा जो कोही व्यक्तिले कांग्रेसको लाइब्रेरीको रिसोर्स प्रयोग गर्नसक्नु हुन्छ,’ महामन्त्री थापा भन्छन् ।

पुस्तकालय निर्माण पछि पार्टीका दस्तावेजहरु खोज्न अन्यत्र भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा राखिएको छ । समसामयिक विषयमा संवाद समेत राखिने हुँदा पार्टीलाई नीति निर्माण तहसम्म जोड्न मद्दत पुग्ने नेताहरुको दाबी छ ।

पुस्तकालयको भौतिक संरचनाका निर्माणपछि सञ्चालनमा आइपुग्दा करिब ७० लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ । पुस्तकका लागि भने पार्टीले ठूलो धनराशी खर्च गर्नु नपर्ने भएको छ । पुस्तकालय र स्रोत केन्द्र बनाउनका लागि पार्टीका नेता कार्यकर्ताबाट आर्थिक संकलन गर्न छुट्टै खाता सञ्चालनमा ल्याइएको छ । पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले सहयोग पुस्तकालयका लागि रकम सहयोग गरिरहेका छन् ।

पुस्तक प्रकाशन गृह, संकलनकर्ता लगायतबाट अधिकांश पुस्तक संकलन हुने भएको छ । जर्मनस्थित ‘दी फेडरिक एबर्ट फाउण्डेसन’ ले पनि कांग्रेसलाई पुस्तकहरु प्रदान गर्ने भएको छ । केही पुस्तक भने पार्टीले आफ्नै कोषबाट किन्ने भएको छ ।

प्रत्येक किताबलाई कोडिङ गर्ने व्यवस्था गरिएको छ । लाइब्रेरीको व्यवस्थापनका लागि तालिमप्राप्त व्यक्तिलाई खटाउने कांग्रेसले जनाएकोे छ ।

तस्वीरहरुः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?