१४ असार, काठमाडौं । ७ असार २०८१, रातको १२ बजे । चन्द्रागिरि, पिप्लामोड । त्रिभुवन राजपथहुँदै काठमाडौं भित्रिने मुख्य नाका । रातको यो प्रहरमा धुलो उडाउँदै गुड्ने मालबाहक ट्रकले के–के ओसार्छ ? भनिसाध्य छैन । यीमध्ये कति ट्रकमा देखिने दृश्यले तपाईंको मन विथोलिन्छ ।
बा ८ ख ४९९६ नम्बरको मालबाहक ट्रक एक छेउमा रोकिएको छ । ट्रकको माथितिर तन्नाले छोपिएको छ, ताकि भित्रको दृश्य नदेखियोस् ! त्यसैको मुनि हरियो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको छ, ‘सत्यमेव जयते ।’
जसै पर्दा हटाइन्छ, भित्र राँगा–भैंसी खाँदाखाँद राखिएको छ । यिनीहरूलाई बस्नै नमिल्ने गरी नाक र पुच्छरमा बाँधेर झुन्ड्याइएका छन् । पुच्छर टनटनी सुन्निएको छ । नाकबाट रगत चुहिरहेछ । मुखभरि फिंज छ ।
त्यहीं एउटा भैंसी शिथिल र लाचार भएर डङ्ग्रङ्ग पछारिएको छ । त्यसको ढाड पिल्सिएको छ । आँखा रातो भइसकेको छ र निरन्तर आँसु चुहिरहेछ । लट्ठीको प्रहारले यौनाङ्ग क्षत–विक्षत छ ।
सर्वत्र गर्मी चर्किएको बेला छ ।
निस्सासिने यो रापमा बितेको २४ घण्टादेखि यस्तै कष्ट दिएर यिनीहरूलाई यहाँसम्म ल्याइएका रहेछन् । त्यसमाथि खाल्डाखुल्डी बाटोबाट । तराईलाई काठमाडौंसँग जोड्ने यो मुख्य सडक अधिकांश ठाउँमा खाल्डै खाल्डा छन् ।
कैलाली टीकापुरको पशु हाटबजारमा अघिल्लो दिन लोड भएका राँगा–भैंसी हुन् यी । ट्रक चालक लिलु रसाइलीका अनुसार, ‘यिनीहरूलाई कतै आराम गराइएको छैन, घाँस र पानी दिइएको छैन ।’
एक पटक राँगाभैंसी ढुवानी गर्दा ६० हजार रुपैयाँ भाडा पाइने उनले बताए । ‘त्यसमध्ये केही पैसा ठाउँ–ठाउँमा ट्राफिक, पुलिसलाई दिनका लागि बोक्नुपर्छ’ उनी भन्छन्, ‘पैसा दिएन भने गाडी साइड लगाउनू भन्छ ।’
यस ट्रकमा चार जना अरू पुरुष छन्, जसको ‘ड्युटी’ राँगा–भैंसीलाई सकेसम्म बस्न नदिनु रहेछ । राँगाभैंसी बस्दा धेरै ठाउँ ओगट्ने भएकाले राखेको ठाउँबाट हलचल गर्न दिइँदैन । बस्न खोजेमा यौनाङ्गमा लट्ठीले हिर्काउने, घोच्ने गरिन्छ ।
बितेको केही वर्षदेखि यही सडकखण्डमा उभिएर पशु कल्याण संघका प्रतिनिधिहरूले पशु ढुवानीमा गरिने क्रूरता विरुद्ध खबरदारी गरिरहेका छन् । उनीहरूका अनुसार पशुलाई क्रूरतापूर्वक ढुवानी गर्ने क्रम हिजो जस्तो थियो, आज त्यस्तै छ ।
उनीहरूले अंगभंग भई लम्पसार परेको भैंसी ट्रकबाट ओराल्न लगाए । त्यसको नाक र पुच्छरको डोरी खोल्न लगाए । पानी खुवाए । संघकी अध्यक्ष स्नेहा श्रेष्ठले चालक र उनका सहयोगीलाई भनिन्, ‘यसलाई किन यति बिजोग बनाएको ? उसको पनि तपाईं–हाम्रो जस्तो शरीर हो । कति गाह्रो भयो होला, दयामाया लागेन ?’
उनीहरूले यसरी यातनापूर्वक पशु ढुवानी गर्न नहुने भन्दै ‘पशु ढुवानी मापदण्ड’को बुँदा पढेर सुनाए । चालक रसाइलीले भने, ‘यो पहिला पनि हामीलाई थाहा थियो । तर, हाम्रो काम गाडी चलाउने मात्र हो । २३ वर्षदेखि म यही काम गरिरहेको छु ।’
हामीले नागढुंगास्थित पशु क्वारेन्टाइनका कर्मचारी जनक रावललाई फोन गरेर पशुलाई यातनापूर्वक ढुवानी भइरहेको सुनायौं । उनले यसलाई खासै गम्भीरतापूर्वक लिएनन् । भने, ‘बाटोको हालत यस्तो छ, अलि अलि बाँध्न त परिहाल्यो । पुच्छरमा चाहिं बाँधेको हुनुभएन । त्यस्तो भेटिएमा कारबाही गर्छौं ।’
केही समय नबित्दै त्यहाँ दुई प्रहरी आइपुगे । ट्रक रोकेर घाइते भैंसी ओरालिएको भन्दै उनीहरूले कसैलाई फोनमा रिपोर्टिङ गरे । पत्रकार को–को छ भनी भिडियो बनाउन र नाम टिपोट गर्न अह्राएको भन्दै ती प्रहरीले मोबाइल झिकेर भिडियो खिच्न थाले । ‘अनलाइनखबरबाट कुन–कुन व्यक्ति आएको छ, जाहेरी बनाइदिनु । उनीहरूले त्यहाँ जाँच गर्ने हो वा होइन, फोटो खिच्ने हो वा होइन ?’ उताबाट कसैले फोनमा भन्यो ।
रातको २ बजे । ट्रक चालकले दुई वटा पिकअप भ्यान मगाए । ट्रकबाट निकालिएका केही राँगा–भैंसी चढाउन थाले । शिथिल भई लडेको भैंसी केही गर्न सकिन्छ कि भनी पशु कल्याण संघका प्रतिनिधिहरूले सहयोग लिन चाहे । तर, क्वारेन्टाइनका कर्मचारीले उल्टै झपारे, ‘यहाँ क्वारेन्टाइन हुँदाहुँदै त्यहाँ ट्रक रोकेर राँगा–भैंसी ओराल्ने अधिकार कसले दियो ?’
त्यसपछि चार खुट्टा टेक्नै नसक्ने गरी घाइते भएका भैंसीलाई पुच्छर र सिङमा समातेर जबरजस्ती घिसार्न थालियो । असह्य दुखाइ र डरले हुनुपर्छ, त्यो कराउन खोज्यो । तर, सकेन । त्यसलाई बलजफ्ती भ्यानमा हालियो । क्षणभरमै भ्यान नागढुंगातर्फ बत्तियो ।
क्रूरतापूर्वक पशु ढुवानी, एक अन्त्यहीन शृंखला
तथ्यांक भन्छ-दिनहुँ औसत एक हजारको संख्यामा राँगा–भैंसी काठमाडौं भित्र्याइन्छन् ।
बुढो एवं रोगी भएर खेत जोत्न नसक्ने, बयलगाडा तान्न नसक्ने, दूध दिन छाडेका, थारो राँगा–भैंसी बिक्रीका लागि तराईका हाटबजारमा जम्मा गरिने चितवनका सुराजन श्रेष्ठले बताए । उनी पशुमाथि हुने दुर्व्यवहार, यातनापूर्ण ढुवानीको विरुद्धमा आवाज उठाउँदै आएका छन् ।
‘यी राँगा–भैंसीलाई व्यापारीले मोलतोल गरेर उठाउँछन् र ट्रकमा कोचेर काठमाडौं ल्याउँछन्’ उनी सुनाउँछन्, ‘खासगरी बारा, पर्सा, कपिलवस्तु र कैलालीबाट राँगा–भैंसी ढुवानी हुन्छ ।’
यी राँगा–भैंसी भित्र्याइने काठमाडौंमा मुख्य दुई नाका छन्— नागढुंगा र ललितपुरको चापागाउँ दोबाटो । यी नाकाहरूबाट सोमवार सबैभन्दा बढी राँगा–भैंसी भित्र्याइन्छ । त्यसपछि बुधवार र शुक्रवार । यी तीन दिनबाहेक पनि नियमित जसो राँगा–भैंसी ढुवानी हुन्छ ।
भारतबाट समेत काठमाडौंमा राँगा–भैंसी ल्याइने गरेको पाइएको छ । यसरी राँगा–भैंसी ढुवानी गर्दा एउटा ट्रकमा २०–२५ वटा राख्ने गरिन्छ । एउटा ट्रकमा जति धेरै राँगा–भैंसी राख्न सकिन्छ, व्यापारीलाई उत्तिनै मुनाफा हुने भएकाले सकेसम्म बस्न र हलचल गर्न नमिल्ने गरी राख्ने गरेको पाइन्छ ।
बस्दा ठाउँ ओगट्ने भएकाले यिनीहरूलाई बस्न नदिन पुच्छर र नाकमा बाँधेर झुन्ड्याइन्छ । दुई वा तीन दिनसम्म यी राँगा–भैंसीले ट्रकमा कोचिएर अत्यन्तै कष्टकर यात्रा गर्नुपर्ने हुन्छ । यस अवधिमा उनीहरूले घाँस, पानी खान त के आरामले बस्न पनि पाउँदैनन् ।
मापदण्ड छ, कार्यान्वयन हुँदैन
मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ मा ‘पशुपक्षी सम्बन्धी कसुर’ मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नपाइने व्यवस्था स्पष्ट किटान गरिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘पशुपक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद अथवा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।’
पशु ढुवानी मापदण्ड २०६४ परिच्छेद–४ मा लेखिएको छ– ‘फरक जात र आकार–प्रकारका पशुलाई एकै ठाउँ राखेर ढुवानी गर्न पाइने छैन । पशुलाई अस्वाभाविक रूपमा शरीर, नाक, पुच्छर, खुट्टामा बाँध्न हुँदैन ।’ यसका साथै कति अवधिमा उनीहरूलाई घाँस–पानी खुवाउनुपर्ने, आराम गराउनुपर्ने, कस्तो गाडीमा कसरी राख्नुपर्ने जस्ता स्पष्ट प्रावधान छ ।
यी मापदण्ड पालना भइरहेको छ वा छैन भनी ठाउँ–ठाउँमा पशु क्वारेन्टाइन स्थापना गरिएको छ । मापदण्ड विपरीत ढुवानी गरेको पाइएमा क्वारेन्टाइनका कर्मचारीले कारबाही गर्न सक्छन् । तर, पशु ढुवानीमा हुने यस्तो अत्याचार वर्षौंदेखि उस्तै रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
श्रेष्ठ भन्छिन्, ‘निर्दोष पशुलाई यसरी यातना नदिऔं, मारेर खानु नै छ भने पनि सहज हुने गरी ओसारपसार गरौं भनेर सम्बन्धित निकायमा गुहार माग्यौं । ट्रक चालक, व्यवसायीहरूलाई पशु ढुवानी मापदण्ड के छ भनी बुझायौं । तर, यो अपराध रोकिएन ।’
पशु क्वारेन्टाइन प्रमुख डा. मोदनाथ गौतमसँग हामीले यही विषयमा सोधीखोजी गर्दा उनले पशु ढुवानी मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको स्वीकार गरे । ‘अस्वाभाविक ढङ्गले पशुलाई बाँध्न पाइँदैन भनेर मापदण्डमा उल्लेख छ’ उनको तर्क थियो, ‘तर, हाम्रो सडकको अवस्था राम्रो छैन काठमाडौंबाट नागढुङ्गासम्म गाडीमा पुग्दा मान्छेहरूले त सिट बेल्ट बाँध्छन् भने पशुलाई अड्याउनलाई बाँध्नु त पर्यो नि !’
अली सप्लायर्सले तराईबाट काठमाडौंमा राँगा–भैंसी आपूर्ति गर्दै आएको छ । अली सप्लायर्सका उस्मान अली भन्छन्, ‘कैलालीबाट हप्तामा दुई पटक ढुवानी हुन्छ । पशु ढुवानी सम्बन्धी मापदण्ड अनुसार गर्नुपर्छ भन्ने त सुनेको छु । तर, त्यो मापदण्डमा के के गर्ने भनिएको छ केही थाहा छैन ।’
उनका अनुसार हप्तामा दुई पटक राँगा–भैंसी ल्याउँदा एक लाख १० हजार रुपैयाँ खर्च हुन्छ । ‘यति धेरै खर्च गरेपछि एउटा ट्रकमा धेरै भन्दा धेरै राँगा–भैंसी राख्नुपर्छ’ उनी सुनाउँछन्, ‘नभए त घाटा लागिहाल्छ नि !’
व्यापारीले एउटा ट्रकमा ३२ देखि ३५ वटासम्म कोचेर पठाउने उनले बताए । जबकि हाल राँगा–भैंसी ढुवानी भइरहेको ट्रकमा २० वटा राँगा–भैंसी राख्दा पनि हलचल गर्ने ठाउँ हुँदैन ।
पशु ढुवानीलाई नियमन गर्ने निकायमा रहेका डा. मोदनाथ गौतम भने ‘मापदण्ड विपरीत ढुवानी गरे कारबाही भइरहेको’ बताउँछन् । उनी भन्छन्, ‘तर, जतिसुकै मापदण्ड मिचे पनि ५ हजार रुपैयाँभन्दा धेरै जरिवाना लिन पाइँदैन ।’ अहिलेसम्म ३ लाख ९१ हजार रुपैयाँ जरिवाना चितवनको रामनगरबाट मात्र जम्मा भएको उनले बताए ।
चितवनको रामनगर र नागढुङ्गा गरेर दुई वटा क्वारेन्टाइन छन् । ‘व्यवसायीहरूले राँगा–भैंसीलाई पुच्छरमा, नाकमा, खुट्टामा बाँधेर ल्याएका छन् भने पनि क्वारेन्टाइन नजिक आइपुग्दा खोलिदिने अनि पछि बाँधिदिने पनि गर्छन्’, उनी सुनाउँछन् ।
मासुका लागि पशु ढुवानी गर्नुपूर्व त्यसको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । यसका निम्ति सरकारले पशु चिकित्सक पनि खटाएको छ । यद्यपि पशु चिकित्सकले व्यवसायीको प्रभाव र दबाबमा परेर भेटेरिनरी प्रमाणपत्रमा हस्ताक्षर गरिदिने पशु अधिकारकर्मीहरूको भनाइ छ ।
‘तलदेखि माथिसम्मका कर्मचारी, प्रहरी मिलेर यस्तो काम गरिरहेका छन्’ एक अधिकारकर्मी प्रश्न गर्छन्, ‘नभए राँगा–भैंसीलाई मरणासन्न हुने गरी ढुवानी गर्दा पनि किन कसैले देखेको वा रोकेको छैन ? सानो झोलामा अवैध बस्तु लुकाएर ल्याएको त पत्ता लाग्छ भने त्यतिका ठूल्ठूला ट्रकमा त्यति बिजोग अवस्थामा ल्याएका राँगा–भैंसी देखिंदैन ?’
‘निर्दोष प्राणीमाथि क्रूर यातना बन्द गरौं’
एनिमल नेपालकी अध्यक्ष प्रमदा शाह आफूहरूले पशु अधिकारको लागि कानुन बनाउने मामिलामा दबाब दिइरहेको तर त्यो सफल हुन नसकेको बताउँछिन् । तर पनि आफूहरू यसनिम्ति प्रयत्नरत रहेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ बाट हामीले प्राथमिकताका १० वटा बुँदा निकालेका छौं ।’ उनका भनाइमा हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्छ । शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नुहुँदैन । राँगा–भैंसी पाडा–पाडी मिसाउन हुँदैन । सबै राँगा, भैंसी, बोका, खसीको टाउको र मुख अगाडि चालकतर्फ फर्केको हुनुपर्छ ।’
उनले भनिन्, ‘नाक र पुच्छरमा बाँध्न हुँदैन । राँगा–भैंसी, बोका–खसीले टेक्ने भुईंमा ६ इन्च बाक्लो भुस पराल वा सोत्तर हालेको हुनुपर्छ । गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनुपर्छ ।’
मापदण्डबारे जानकारी गराउँदै उनले भनिन्, ‘एउटा ट्रकमा २० वटा मात्र राँगा–भैंसी ढुवानी गराउनुपर्छ । गाडीमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना–पानी खुवाउनुपर्छ । गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । गाडी ४० किलोमिटरको रफ्तारमा वा सोभन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने, नउफ्रने गरी आरामसँग ढुवानी गर्नुपर्छ ।’
उनले भनिन्, ‘यी १० आधारभूत कुरामा चाहिं ध्यान दिनैपर्छ भनेर हामीले क्वारेन्टाइनलाई सचेत गराउँछौं, सहकार्य पनि गर्छौं । मापदण्ड पालना भएको छ कि छैन भनेर अवलोकन पनि गर्छौं ।’
तर स्पष्ट छ पशु ढुवानी मापदण्ड अनुसार काम भएको छैन । पशुलाई ढुवानी गर्दा नाक र पुच्छरमा बाँध्दा उनीहरूलाई कति पीडा हुन्छ भन्ने कुरामा कसैले ध्यान नै दिएको छैन । निर्दोष प्राणीलाई अत्यन्तै यातना दिएर ढुवानी गरिन्छ भन्ने चन्द्रागिरि घटनाले नै देखाउँछ ।
अधिकारकर्मी शाहका भनाइमा, ‘पशु ढुवानी मापदण्ड अनुसार हुनुपर्छ भनेर एनिमल नेपालको टिम बारा र चितवनमा क्रियाशील छ । अब कैलालीमा पनि हामी काम सुरु गर्दैछौं । कैलालीदेखि काठमाडौंसम्म यति लामो दूरीमा पशुहरूलाई ढुवानी गर्दा उनीहरूलाई धेरै गाह्रो हुन्छ ।’
जनावरहरूको पीडा कम गरिदिनुपर्छ भन्ने उद्देश्य एनिमल नेपालको हो । उनका भनाइमा, मर्ने बेलासम्म पीडा दिएर ढुवानी गरेको जनावरको मासु स्वस्थकर पनि हुँदैन । मासु उपभोग गर्ने व्यक्तिहरूले पनि पशु ढुवानी मापदण्ड पालना हुनुपर्छ भन्नेमा ध्यान दिनुपर्छ भन्ने संस्थाको मान्यता छ ।
शाहले भनिन्, ‘उपभोक्ताले पनि मासु प्लेटसम्म आइपुग्ने प्रक्रिया बुझेर सफा र स्वस्थ मासुको माग गर्नुपर्छ । मुख्य कुरा जिउँदो जनावरको ढुवानी गर्नुभन्दा मासुको ढुवानी गर्नु राम्रो हुन्छ । त्यसले जनावरको पीडा कम हुन्छ ।’
तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4