+
+
कभर स्टोरी :

कलिलै उमेरमा डिजिटल अपराध

नाबालक–नाबालिकाहरू साइबर अपराधमा पीडित हुने क्रम किन बढ्यो ? बालबालिका विज्ञ, अपराध अनुसन्धानकर्ता र चिन्तकहरूको विश्लेषणमा प्रविधिप्रतिको कौतूहल र दुरुपयोग अनि बाबुआमाको कमजोर निगरानीले उनीहरूलाई कलिलैमा प्रहरी कार्यालय पुर्‍याउन थालेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ ७ गते १७:५३

७ भदौ, काठमाडौं । करिब चार वर्षअघिको कुरा हो, १७ वर्षीय रमेशले सामाजिक सञ्जाल ‘लाइकी’मा आफू सरहको उमेरकी संगीताको भिडियो देखे । केही भिडियोमा लाइक गरे, केहीमा ‘लुकिङ नाइस’ भन्दै कमेन्ट पनि गरे । एक/दुई वटा भिडियोमा कमेन्टमा निकै लामो रिप्लाई पनि हुन थाल्यो ।

विस्तारै उनीहरू एकआपसमा सिधा म्यासेजमा गफिन थाले । भौतिक भेट भएकै थिएन, दुई/तीन सातामै प्रेम सम्बन्धमा गाँसिए । अनलाइनबाटै प्रेमी, प्रेमिका बनेपछि उनीहरूबीच अश्लील कुराकानी पनि हुन थाल्यो । एकअर्काका गोप्य तस्वीरहरू पनि आदानप्रदान भए ।

तर, राजधानीको एक विद्यालयमा अध्ययनरत उनीहरूको डिजिटल माध्यमबाट जोडिएको सम्बन्ध लामो समय टिकेन । सम्बन्ध टुटे पनि दुवैले सामाजिक सञ्जालबाट एकअर्कालाई हटाएका थिएनन् । रमेशले उनलाई नियमित म्यासेज पठाइरहे । संगीता वाक्कदिक्क भइन् ।

त्यसबेला उनी अर्कै युवकसँग नजिक हुन थालिसकेकी थिइन् । संगीताले अन्तिममा उनलाई सबै सामाजिक सञ्जालका प्लेटफर्मबाट ब्लक गर्ने निर्णय लिइन् । संगीताले सबैतिरबाट आफूलाई हटाएपछि रमेशले सहन सकेनन् ।

फेसबुकमा नक्कली खाता खोलेर उनको म्यासेज मार्फत ‘मलाई वास्ता गरिनस् वा ब्लक गरिस् भने एक महिनाभित्र तेरो बुबाआमाको अगाडि दुर्व्यवहार गर्छु’ भन्दै धम्की दिए । त्यति मात्र होइन, तत्काल म्यासेज नहेरे आमाबुबालाई ‘डार्क वेब’को अर्डर बनाइदिन्छु भनेर समेत धम्क्याए ।

‘डार्क वेब’ इन्टरनेटभित्रको पनि यस्तो सञ्जाल हो, जुनमा प्रवेश गर्न छुट्टै ब्राउजर चाहिन्छ । त्यहाँ परिचय नखुल्ने गरी गतिविधिहरू गर्न सकिन्छ । रमेशले त्यही सञ्जालमा पूर्वप्रेमिकाका आपत्तिजनक तस्वीर र भिडियोहरू राख्ने भन्दै धम्क्याएका थिए । र, बुबाआमाको अगाडि दुर्व्यवहार गरेर त्यो भिडियो पनि राखिदिने उनको धम्की थियो ।

यस्तो धम्कीयुक्त सन्देश आएपछि संगीताले आमाबुबालाई सुनाइन् । भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर उनीहरूले जाहेरी दिए । प्राविधिक जाँचबाट पनि त्यो फेक आईडी उनका तिनै पूर्वप्रेमीले चलाएको पुष्टि भयो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

एआई सृजित तस्वीर 

बयान दिने क्रममा उनले आफूलाई ब्लक गरेपछि आवेगमा आएर धम्कीपूर्ण म्यासेज पठाएको बयान दिएका छन् । ‘मेरो दिमागमा धेरै कुरा खेलेर अनेक सोच आएपछि मैले त्यस्तो गरें’, उनले बयानमा भनेका छन् ।

पीडितले उपलब्ध गराएको म्यासेजको स्क्रिन सट, प्राविधिक विश्लेषणको प्रतिवेदन, जाहेरी, सम्बन्धित व्यक्तिहरूको कागज लगायतलाई आधार बनाउँदै प्रहरीले साइबर अपराध गरेको पुष्टि भएको निष्कर्ष सहित उनी विरुद्ध मुद्दा दर्ता गर्‍यो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नाबालिकालाई मानसिक तनाव, दुःख–हैरानी दिएको भन्दै ८ साउनमा उनी विरुद्ध जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ । आरोप पुष्टि भए उनलाई ५ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

०००

२०७७ सालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेट कम्युनिकेसन प्रा.लि.को झण्डै १ लाख ७५ हजारभन्दा बढी डेटा सामाजिक सञ्जालमा लिक भयो । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो ‘डेटा ब्रिच’ मानिएको यो प्रकरणमा ‘नरपिचास’ नामक ट्वीटर (हालको एक्स) ह्याण्डलबाट विवरणहरू बाहिर आएका थिए ।

‘डेटाका भोगी मानवहरू, लौ मोज गर’ भन्दै उनले त्यो विवरण सामाजिक सञ्जालमा राखेका थिए । साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार, आईएसपीले निवेदन दिएपछि अनुसन्धान गर्दा थाहा भयो– यसमा १६ वर्षका किशोर संलग्न रहेछन् ।

‘उनलाई त्यो काम गर्दा आफूले अपराध गरिरहेको छु र प्रहरी समात्न सक्छ भन्ने हेक्का थिएन’ उनले सुनाए, ‘पछि उनले आफूले गलत भइरहेको देखाउँदा पनि वास्ता नगरेपछि सन्देश दिन त्यस्तो काम गरेको बयान दिएका थिए ।’

यो डेटा लिकपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा हंगामा मच्चिएको थियो भने प्रहरीलाई पनि ह्याकर पत्ता लगाउन चुनौती भएको थियो । त्यो बीचमा आफू डिप्रेसनमा समेत गएको नरपिचासले एक ब्लगमा लेखेका छन् ।

‘मैले सही गरें भन्ने म भन्दिनँ । तर, यसको पछाडि मेरो नियत गलत थिएन, कसलाई दुःख दिउँ भन्ने थिएन’ उनले भनेका छन्, ‘म डेटा लिक भएका सबै प्रयोगकर्ताप्रति माफी पनि माग्न चाहन्छु र भन्न चाहन्छु कि तपाईंहरूको निजी सूचना कुनै पनि बेला सजिलै एक्सेस हुनसक्छ ।’

यो ‘सबै गैरजिम्मेवार डेभलपरहरूका कारण’ भएको उनले भनेका छन् । अन्य मुलुकमा वेबसाइटका कमजोरी पत्ता लगाउँदा पुरस्कृत गर्ने गरिन्छ । तर, नेपालका वेबसाइटका कमजोरी पत्ता लगाएर बताइदिंदा उल्टै गाली र बेवास्ता गर्ने गरेको अनुभव उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यही भएर मैले डेभलपरहरूलाई सन्देश दिन खोजेको थिएँ ।’

प्रहरी उनको घरमा पुग्ने वित्तिकै उनले आफ्नो कसुर स्वीकार गरे । ‘मलाई चुपचाप बस्न एकदम गाह्रो भइरहेको थियो, प्रहरी आएपछि मैले सबै कुरा खोलें’ उनले एक अन्तर्वार्तामा पनि भनेका छन्, ‘अदालतमा पनि त्यही बताएँ ।’

प्रहरीले उनले अरू वेबसाइटको डेटामा अनधिकृत पहुँच पुर्‍याएकोमा विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुरमा मुद्दा चलायो ।

०००

२०७७ सालमा तेस्रोलिंगी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तरंगित भयो । प्रहरी प्रधान कार्यालयले छानबिन गर्न साइबर ब्यूरोलाई निर्देशन दियो । जाँचका क्रममा उनलाई दुर्व्यवहार गरेर सामाजिक सञ्जाल युट्यूब र फेसबुकमा भिडियोहरू अपलोड गर्ने कार्यमा भक्तपुरका १९, १६ र १७ वर्षका तीन जना किशोर संलग्न देखिए ।

स्कुल भवनमा चढेर निकिशालाई जिस्क्याउँदै उनीहरूले भिडियो बनाएका थिए । पक्राउ परेपछि बयानका क्रममा उनीहरूले त्यसो गरेबापत प्रहरीले पक्राउ गर्छ भन्ने थाहा नभएको जिकिर गरे ।

त्यही साल राजधानीमा महिला हिंसा विरुद्ध आन्दोलन चलिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा एकाएक एउटा ग्रुप देखा पर्‍यो, जसको नाम थियो– बलात्कारी संगठन । महिला हिंसा विरुद्ध ‘बलात्कारी होस् तँ’ भन्दै गीत गाएर विरोध प्रदर्शन भइरहेका बेला फेसबुकमा यो ग्रुप बनेको थियो ।

बलात्कार जस्तो गम्भीर विषयमा सामाजिक सञ्जालमा यस्तो समूह बनेपछि साइबर ब्यूरोले निगरानी बढायो । प्राविधिक विश्लेषणका आधारमा फेला पर्‍यो, यस्तो समूह बनाउन १८ वर्षका किशोर संलग्न थिए । ग्रुपमा जोडिएका अन्य सदस्यहरू १६, १७, १९ वर्षका रहेको ब्यूरोको अनुसन्धानबाट देखिएको थियो ।

कैलालीमा पनि २७ जेठ २०८१ मा एक जना नाबालक बिग्रिएको मोबाइल मर्मत गर्न दिएकी युवतीको फोटो जोडेर अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका थिए । मोबाइल मर्मत पसलका सञ्चालकसँगै उनलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । उनीहरूले अश्लील भिडियो बनाएर ती युवतीलाई ब्ल्याकमेल गरेको प्रहरीको भनाइ छ ।

कलिलैमा ‘भर्चुअल प्रेम’

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख नविन्द अर्यालका अनुसार, पछिल्लो समय किशोर–किशोरीबाट इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गर्ने क्रम बढ्दो छ । उनका अनुसार, कतिपय घटनामा अपराध गरिरहेको छु भन्ने थाहै नभई समेत उनीहरू गलत क्रियाकलापमा संलग्न देखिन्छन् ।

ब्यूरोको तथ्यांक अनुसार, अहिले साइबर अपराधमा पीडित र पीडक दुवैमा नाबालिगको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७९/८० मा ब्यूरोमा साइबर अपराधको शिकार भएको भन्दै १७६ नाबालिगले निवेदन दिएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा ६३५ जनाको निवेदन पर्‍यो । २०८१/८२ को हालसम्मको अवधिमा ६८ नाबालिगको निवेदन परिसकेको छ ।

अर्यालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै ५ जना नाबालिग साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । ‘यो आर्थिक वर्षमा पनि एक जना पक्राउ परेका छन्, तर नाबालिगको हकमा धेरैमा नजिकै बालक वा बालिका संलग्न हुने र पत्ता लागेपछि जाहेरी नदिने प्रवृत्ति छ’ उनी भन्छन्, ‘कतिपयमा अभिभावकको जिम्मा लगाएर छाडिएका छन्, त्यसैले संख्यात्मक रूपमा कम देखिन्छ ।’

किशोरकिशोरीहरू स्वभावले नै जिज्ञासु हुन्छन् । उनीहरू जतिबेलै नयाँ कुरा सिक्न खोजिरहेका हुन्छन् । तर, इन्टरनेटमा उनीहरूले के गरिरहेका छन् भन्ने कुरा कसैले पनि ध्यान नदिंदा उनीहरू थाहै नपाई अपराधमा संलग्न भइरहेका छन् ।

२०७९ सालमा ‘भ्वाइस अफ चिल्ड्रेन’ र इपीलक्जम्वर्ग नामक दुई संस्थाले उपत्यकाका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकासँग गरेको सर्वेक्षणमा सहभागीमध्ये ७५ प्रतिशतले अनलाइनबाट हुने दुर्व्यवहारबारे सुरक्षित हुने उपाय थाहा नभएको बताएका थिए ।

अध्ययनमा संलग्न कृष्ण थापाका अनुसार, १० देखि १८ वर्षसम्मका बालबालिका धेरैजसो म्यासेज मार्फत हुने यौनजन्य सन्देश आदानप्रदान, नग्न फोटो र भिडियो पठाउने, त्यही देखाएर धम्क्याउने र फकाउने जस्ता गतिविधिमा जोडिएका देखिन्छन् ।

ब्यूरोका डीआईजी अर्याल भने प्रहरीकहाँ अहिले सबैभन्दा बढी उजुरी कसैले आफ्नो नक्कली सोसल मिडिया प्रोफाइल बनाइदियो भनेर आउने गरेको बताउँछन् । तीमध्ये अधिकांश केसहरू कलिलैमा भएको ‘भर्चुअल प्रेम’ सँग जोडिने उनको अनुभव छ ।

‘सानै उमेरमा सोसल साइटबाट प्रेममा पर्ने, अश्लील कुराकानी गर्ने र तस्वीरहरू साटासाट गर्ने प्रवृत्ति छ’ उनी भन्छन्, ‘सम्बन्ध बिग्रिएपछि नक्कली आईडी बनाएर त्यो तस्वीर हालिदिने वा आफन्तलाई पठाएर ब्ल्याकमेल गर्ने गरेका घटना थुप्रै छन् ।’

कतिसम्म भने आर्टिफिसियल इन्टलिजेन्स (एआई) दुरुपयोग गरेर चरित्रहत्या गरेको घटनामा पनि नाबालिगहरू नै संलग्न देखिन्छन् । नयाँ पुस्ता प्रविधिमा जति अगाडि छ, यसको दुरुपयोगमा पनि उत्तिकै अगाडि रहेको अर्याल बताउँछन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले गरेको एक अध्ययन अनुसार, संसारभर औसतमा हरेक आधा सेकेन्डमा एक जना बालबालिका पहिलो पटक अनलाइनमा जोडिन्छन् । सन् २०२३ मा भएको अध्ययनमा संसारभरिका १५ देखि २४ वर्षका युवामध्ये ७९ प्रतिशत अनलाइनमा रहेको पाइएको थियो । यही अध्ययनमा ३० देशका एक तिहाइ बढी बालबालिका साइबर बुलिङबाट पीडित रहेको देखिएको थियो ।

अनलाइनमा बालबालिका माथि हुने दुर्व्यवहार सम्बन्धमा काम गरिरहेको संस्था चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीका अनुसार, अनलाइनबाट प्रेममा पर्ने किशोरकिशोरी सम्बन्ध टुटेपछि हिंसाको शिकार भइरहेका छन् ।

‘रोचक कुरा त, यसबाट किशोरी मात्रै पीडित छन् भन्ने तथ्यांक आइरहेका बेला हाम्रो अध्ययनले किशोर पनि पीडित रहेको देखाएको छ’ उनी भन्छन्, ‘विभिन्न कारणले प्रायः किशोरीहरूको उजुरी मात्र प्रहरीकहाँ पुग्दो रहेछ, तर खासमा किशोर पीडितको संख्या अझ धेरै रहेछ ।’

साइबर ब्यूरोमा परेको उजुरीमा पनि पछिल्लो तीन आर्थिक वर्षको हालसम्मको अवधिमा ३३२ जना नाबालकले आफू साइबर अपराधको पीडित भएको उल्लेख गरेका छन् । डीआईजी अर्याल भन्छन्, ‘पहिले उजुरी दिन आउने क्रम नै न्यून थियो, अहिले विस्तारै उजुरी गर्नुपर्छ भन्ने जानकारी हुँदै गएको छ । त्यसैले बालक र बालिका दुवैले यस विषयमा बोल्ने क्रम बढ्दो छ ।’

‘भर्चुअल भेटघाट’ का जोखिम

पहिले सामाजिक सञ्जाल दुरुपयोग गर्नेमा कलेजमा अध्ययन गर्ने तहका किशोर–किशोरी अगाडि देखिए पनि अहिले त्यो विद्यालय तहसम्म ओर्लिएको छ । कतिसम्म भने ललितपुरको एक प्रख्यात विद्यालयमा दुई वर्षअघि कक्षा ९ मा पढ्ने एक जना विद्यार्थीले साथीको अश्लील भिडियो सार्वजनिक गरिदिए । उनले त्यो भिडियो स्कुलका विद्यार्थीहरूको म्यासेन्जर ग्रुपमा हालिदिएका थिए ।

‘लकडाउन यता अध्ययनका लागि मोबाइल फोन र सोसल मिडिया अनिवार्य जस्तै भयो, त्यसले विकृति पनि ल्यायो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनले झुक्किएर त्यस्तो तस्वीर ग्रुपमा गयो भन्ने बयान दिएका थिए ।’

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माका अनुसार, पहिले एकअर्कामा भेटेर कुरा गर्नुपर्थ्यो, बालबालिका कहाँ गइरहेका छन् र के गरिरहेका छन् भन्नेमा अभिभावक वा अन्यको चासो हुन्थ्यो । सोधीखोजी हुन्थ्यो । आज अवस्था त्यस्तो छैन ।

‘अहिले मोबाइलमा बसेको मात्रै देखिन्छ, त्यहाँभित्र के गरिरहेका छन् भन्ने अभिभावकलाई थाहा हुन्न’ शर्मा भन्छन्, ‘अभिभावक आफैं पनि त्यही प्रविधिमा अल्झिरहने हुनाले के फरक पर्छ र भन्दै बालबालिकालाई स्वच्छन्द छाडिदिंदा दुर्घटना निम्तिरहेको छ ।’

अर्थात्, पछिल्लो समय नेपाली समाजमा बालबालिकाप्रति पारिवारिक ‘कन्ट्रोल मेकानिजम’ फुत्किंदै गएको छ । मुख्य कुरा अपराध हुनै नदिनु हो, भइहाले पनि प्रहरीसम्म पुगेर अनुसन्धान हुन्छ र कारबाहीको दायरामा पुगिन्छ भन्ने सन्देश दिन सके अनलाइनबाट किशोर–किशोरीमाथि हुने हिंसा कम गर्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशक तारक धितालको बुझाइमा, बालबालिका माथि हुने दुर्व्यवहारको घटनामा उजुरी गर्ने प्रक्रिया बालमैत्री नहुँदा कतिपयले कानुनी प्रक्रियामा जान समेत चाहँदैनन् ।

झन्झटिलो प्रक्रिया र पटक–पटक आफूमाथि भएको दुर्व्यवहारबारे भन्नुपर्ने र तस्वीर, भिडियोहरू देखाउनुपर्ने भएकाले पनि कतिपयले उजुरी प्रक्रियामा जान अप्ठ्यारो मान्ने गरेको बालअधिकारकर्मी सञ्जीव न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘बाल अनलाइन दुर्व्यवहारबारे उजुरी लिने साइबर ब्यूरो वा अन्य निकायमा बालमनोविज्ञान बुझेको व्यक्तिहरू पनि हुनुपर्छ ।’

उनका भनाइमा एउटा दुर्व्यवहार सहनु भनेको थप १० जनालाई गलत काम गर्न उसलाई छुट दिनु हो भन्ने कुरा किशोरकिशोरीहरूलाई बुझाउन जरूरी छ । ‘त्यस्ता घटनाबारे विशेष गोपनीयता अपनाएर दोषीलाई कारबाही हुन्छ भन्ने सन्देश दिनु पनि प्रहरी प्रशासनको कर्तव्य हो’, न्यौपाने भन्छन् ।

परिवार, समाज र राज्यको दायित्व

चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीका अनुसार, अनलाइन मार्फत किशोरकिशोरी माथि हुने हिंसा रोक्न अनलाइनमा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने विषयमा उनीहरूलाई शिक्षा दिन जरूरी छ ।

‘अहिलेको किशोरकिशोरीमा एकदमै बढी देखासिखी र नकारात्मकपन छ, साथीहरू गरिरहेका छन्, केही भएको छैन भने मैले गर्दा के हुन्छ भन्ने छ’ उनी भन्छन्, ‘त्यसैले विद्यालयतहदेखि नै पाठ्यक्रममा राखेर समेत बालबालिकालाई यसबारे जानकारी दिनु जरूरी छ ।’

साइबर ब्यूरोका प्रमुख डीआईजी अर्याल पनि उनको भनाइसँग सहमत छन् । उनी भन्छन्, ‘ब्यूरो आफैंले पनि विद्यालयहरूमा सचेतनामूलक कक्षाहरू चलाउँदै आएको छ, तर प्रहरीबाट मात्र यो काम सम्भव छैन ।’ पाठ्यक्रममै राखेर साइबर अपराधको विषय पढाउनुपर्छ भनेर आफूहरूले विभिन्न पालिकाका प्रमुखहरूसँग पनि पटक–पटक भन्दै आएको उनी बताउँछन् ।

चाइल्ड सेफ नेटका रघुवंशीका अनुसार, परिवारमै समेत आफ्ना बालबालिकाले मोबाइल फोनमा के गरिरहेका छन् भन्नेमा ध्यान दिनुपर्छ । ‘कन्ट्याक (कोसँग सम्पर्क गर्छ), कन्टेन्ट (के हेर्छ, कस्तो साइटमा हेर्छ) र कन्डक्ट (कस्तो कुरा गर्छ ? आफ्नो फोटो, पासवर्डहरू कोसँग शेयर गर्छ ? कस्तो कुरा गर्छ ?) त्यो विषयमा अभिभावकहरू सचेत हुनुपर्छ’, उनी भन्छन् ।

भ्वाइस अप चिल्ड्रेन नामक संस्थाले २०२२ मा गरेको अध्ययनमा भने अनलाइन मार्फत बालबालिकामा हुने हिंसालाई सम्बोधन गर्न बेग्लै कानुन ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

‘यसको विकल्पमा अनलाइन बाल हिंसालाई सम्बोधन गर्न कानुनमा भएका कमजोरीलाई बालबालिका ऐनलाई पनि संशोधन गरेर समेट्न सकिन्छ’, प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ– ‘बालबालिका सम्बन्धी उजुरी लिने ठाउँमा बालमनोविज्ञ हुनै पर्ने प्रावधान राख्न सुझाव दिन्छौं, यस्तो व्यवस्था गर्नुपर्ने विषयमा कानुनबाटै बाध्यकारी बनाउनुपर्छ ।’

पहिले साइबर अपराधको अनुसन्धान राजधानीबाट मात्र हुँदै आएकोमा अहिले सबै जिल्ला प्रहरी कार्यालयले उजुरी लिने व्यवस्था छ । तर, प्राविधिक ज्ञान भएको जनशक्ति पर्याप्त नहुँदा गम्भीर उजुरीका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

‘जतिबेलासम्म साइबर अपराध अनुसन्धानबारे जानकार प्रविधिमैत्री जनशक्ति जिल्ला–जिल्लामा हुँदैनन्, त्यतिबेलासम्म यसको अनुसन्धानको जिम्मा दिएर मात्र अर्थ हुँदैन’ बालअधिकारकर्मी सञ्जीव न्यौपाने भन्छन्, ‘त्यसैले धेरैभन्दा धेरै प्रहरीलाई यसबारे विशिष्टीकृत तालिम दिनुपर्छ र उनीहरूलाई बालमैत्री ढंगले कसरी प्रस्तुत हुने भन्ने पनि सिकाउनुपर्छ । तब मात्रै यसको न्यूनीकरण सम्भव हुनसक्छ ।’

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?