 
																			प्रविधिमा आएको सहजताले धेरै कुरा सजिलो भएको छ । नयाँ पुस्तालाई कलिलै उमेरदेखि इन्टरनेटसँग जोडिने मौका छ । विशेषतः कोभिडपछि अध्ययनका लागि पनि विद्यार्थीलाई इन्टरनेट र मोबाइल फोन अनिवार्य जस्तै भयो ।
बालबालिका आफैं पनि नयाँ प्रविधिसँग जोडिन खोज्छन् । नयाँ–नयाँ कुराहरू जान्न र सिक्न खोज्छन् । तर, उनीहरूले सदुपयोग भन्दा पनि दुरुपयोग बढी गरिरहेको साइबर ब्यूरोमा दैनिकजसो पर्ने उजुरीहरूले देखाउँछन् ।
कतिपय घटनामा कलिलै उमेरमा उनीहरू ‘भर्चुअल’ प्रेममा परेर अपराध कर्मसँग जोडिएका छन् भने कतिपयले अर्काको तस्वीर राखेर आर्थिक लाभ लिने गलत बाटो अपनाएका छन् । कतिपय त ‘फेक आईडी’ बनाएर साथीलाई ‘क्यूआर’ पठाउने र पैसा ‘डिपोटिज’ गराउने काममा समेत संलग्न रहेको देखिन्छ ।
पहिले ह्वाट्सएप, ट्वीटर, फेसबुक मात्रै भन्थ्यौं, अहिले टेलिग्रामदेखि नयाँ–नयाँ सोसल साइटहरू आएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आएको छ । तिनको दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ र यसमा नयाँ पुस्ता अगाडि रहेको देखिन्छ ।
नयाँ पुस्तामा ‘साइबर बुलिङ’ र ‘साइबर स्टकिङ’ बढ्दो छ । साइबर बुलिङ भन्नाले इन्टरनेट मार्फत एकअर्कामा होच्याउने प्रवृत्ति बुझिन्छ । साइबर स्टकिङ भनेको चरित्रहत्या नै हो । फोटो भिडियो नै आपत्तिजनक हाल्नु हो । साइबर स्टकिङको हकमा विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा चल्छ ।
साइबर बुलिङमा चाहिं काउन्सिलिङको पाटो रहन्छ । साइबर स्टकिङमा उपत्यकाभित्रकै बालबालिकाको हकमा कुरा गरौं, धेरै टाढा पनि जानुपर्दैन । १४ वर्षको बालकले फोटो एडिट गरेर तीन÷चार जना बालिकाको टाउको ओरिजिनल राख्ने र जीउ चाहिं आपत्तिजनक वेबसाइटबाट डाउनलोड गरेर जोडेर विभिन्न ग्रुपहरूमा सेन्ड गरिदिएको भेटिएको छ ।
कतिपयको हकमा ब्ल्याकमेल गरेको पनि देखिन्छ । यसमा मुख्यतः आर्थिक प्रलोभन कारण देखिन्छ । कतिपयले चाहिं भर्चुअल प्रेम सम्बन्धमा ब्रेक लागेपछि पनि यस्तो गतिविधि गरेका छन् । स्कुल पढ्ने किशोरकिशोरीमा यो प्रवृत्ति एकदमै धेरै देखिन्छ ।
दुई वर्ष अगाडिको अर्को एउटा घटना छ । सामाजिक सञ्जालमा फुडमान्डू, भायोनेट लगायतको वेबसाइट ह्याक गरेर डेटा सार्वजनिक गरिएको थियो, त्यो गर्ने मान्छे जम्मा १५ वर्षको थियो । ऊ कक्षा १० को विद्यार्थी थियो । उसले ‘यतिसम्म पनि मैले गर्न सक्छु भनेर देखाउन गरेको हुँ’ भनेर बयानमा भनेको थियो ।
उनी यो घटनामा संलग्न हुनुको कारण प्रविधिप्रतिको ‘एडिक्सन’ र संरचनामा छिरौं न त भनेर सिक्दै गर्दा अपराध गर्न पुगेको हो । प्रविधिप्रतिको एडिक्सनसँग उसले गलत काम गर्न थाल्यो । त्यसको संरचनामा छिरौं भनेर हेर्दै जाँदा वेबसाइटको स्क्रिप्ट लेख्न थाल्यो र सफल भयो । त्यसपछि गर्न सकिंदो रहेछ भन्ने लत लाग्यो ।
आखिर उसलाई यो कामबाट कुनै फाइदा थिएन । प्रविधिमा यतिसम्म म गर्न सक्छु भन्ने उसलाई आत्मबल मात्र पुगेको थियो । यो घटनामा उसलाई आर्थिक प्रलोभन कतै पनि थिएन । जस्तै, १ लाख ७० हजार जनाको सूचना उसले ट्वीटरमा एक्सपोज गरिदिएको थियो ।
साइबर ब्यूरोले अहिले महिला र बालबालिकामाथि हुने डिजिटल हिंसाको अनुसन्धानलाई प्राथमिकता दिएको छ । सबैभन्दा ठूलो चुनौती भनेको हामीले बालबालिका पीडित मात्र भन्थ्यौं, तर हाम्रो तथ्यांकले पीडक पनि देखाइदियो । यसको कारण चाहिं जनचेतनाको कमी, अभिभावक र स्कुलको पनि कमी–कमजोरी हुनसक्छन् ।
स्कुलमै पढ्नेहरूको हकमा कुरा गर्दा फोटो मफिङ (एउटाको तस्वीरमा अरूकै शरीरको भागहरू जोडिदिने), फेक आईडी बनाइदिने, त्यस मार्फत विभिन्न व्यक्तिलाई समस्यामा परें भनेर रिचार्ज गर्न लगाउने, क्यूआर कोड पठाएर डिपोजिट गराउने जस्तो प्रवृत्ति देखिन्छन् ।
कतिपय अवस्थामा उनीहरूलाई डिजिटल माध्यमबाट अपराध गरिरहेको छु भन्ने पनि थाहा हुँदैन । कति किशोर–किशोरीलाई नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ छ भन्ने पनि थाहा छैन । त्यही कारणले पनि हामीले अहिले प्रत्येक स्कुलमा सचेतनामूलक अभियान चलाइरहेका छौं ।
यो महिना ब्यूरोले उपत्यकाका २०० वटा विद्यालयमा सचेतनामूलक कक्षा सञ्चालन गर्न लागेको छ । यो अभियानलाई प्रदेशस्तरमा पनि लैजाने तयारीमा छौं । अहिले साइबर अपराधको अनुसन्धान हरेक जिल्लाको प्रहरी कार्यालयले गर्न सक्ने व्यवस्था भइसकेको छ । तर, ब्यूरो चाहिं केन्द्रीयस्तरमा मात्रै छ ।
त्यसैले ब्यूरोलाई कम्तीमा प्रादेशिक अथवा संघीय स्तरसम्ममा लैजाने तयारी छ । आउने आर्थिक वर्षदेखि प्रदेश वा संघीय प्रहरी कार्यालयमा स्ट्याटलाइट युनिट राख्ने गरी गृहकार्य गरिरहेका छौं । त्यही युनिटले नजिकका जिल्ला प्रहरी कार्यालयमा आउने मुद्दाको अनुसन्धानमा सहयोग गर्ने व्यवस्था गर्न लागिएको छ ।
जनशक्तिको हकमा पनि तालिमलाई सकेसम्म बढाउने योजना लिएका छौं । अहिलेको सबैभन्दा चुनौतीको विषय नै साइबर अपराध हो । यसको अनुसन्धानका लागि विशिष्टीकृत प्राविधिक विषयको जाँच गर्न योग्य जनशक्ति चाहिन्छ । त्यसैले योग्य जनशक्तिको उत्पादनका लागि काम गर्ने योजना छ ।
अहिले जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता, जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् । त्यो नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि देखाउँछ । साइबर ब्यूरोले कस्ता कुराहरू बढी बुस्टिङ भइरहेको छ, भाइरल भइरहेको छ भन्ने हेर्ने काम गर्छ । तर, यो किसिमको अपराध नियन्त्रणका लागि प्रहरी, साइबर ब्यूरो मात्र लागेर हुँदैन । अभिभावक, स्कुल र अन्य सरोकारवालाले पनि यसमा ध्यान दिनुपर्छ ।
अझ म त के भन्छु भने सबै ठाउँमा गएर तालिम दिएर पनि सम्भव हुँदैन । स्कुलको पाठ्यक्रममै साइबर अपराध सम्बन्धी विषय राख्नुपर्छ । यो विषयमा विद्यालय तहदेखि नै जानकारी दिएर बालबालिकालाई सचेत गराउनुपर्छ, ताकि उनीहरू त्यस्ता गतिविधिमा संलग्न नहुन्, कसैले आफूहरूमाथि अनलाइन मार्फत दुर्व्यवहार गरिरहेको छ भने पनि रिपोर्ट गरुन् ।
मैले त धेरै ठाउँमा जाँदा स्थानीय पालिकाका जनप्रतिनिधिहरूलाई पनि भनेको छु कि स्कुलको पाठ्यक्रममा साइबर अपराधको विषय समावेश गरौं । किनभने, कतिपयलाई कहाँ उजुरी गर्ने भन्ने पनि थाहा छैन । त्यो विषयमा सचेत गराउने जिम्मेवारी त सबैको हो ।
(साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्यालसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4