+
+

बजेटमा सुरुङका दर्जन परियोजना, बानेश्वर अन्डरपासदेखि जुम्लासम्म

आगामी वर्ष सुरुङका १४ योजना बजेटमा समेटिएका छन् । जसका लागि ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असार २० गते १७:३०
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग/फाइल तस्वीर

२० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले सुरुङका एक दर्जन परियोजनामा काम गर्ने योजना बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यसमध्ये कतिपय आयोजनाको काम प्रारम्भ भई अन्तिम चरणमा पुगेको छ भने कतिपय आयोजनामा सम्भाव्यता अध्ययनदेखि पूर्वतयारीको काम मात्र गर्ने योजना छ ।

सोहीकारण चालु आर्थिक वर्ष २०८०/८१ को तुलनामा आगामी आवमा सरकारले सुरुङको बजेट समेत घटाएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष सुरुङका १४ योजना बजेटमा समेटिएका छन् । जसका लागि मात्र ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकम चालु आवमा विनियोजन भएको रकमको तुलनामा आधा भन्दा कम हो ।

चालु आवमा सुरुङतर्फ २३ परियोजनामा १ अर्ब ९४ करोड रकम विनियोजन भएको छ । मन्त्रालयका अनुसार विगतमा सम्भाव्यता अध्ययन तथा पूर्वतयारीका लागि बजेट राखिएका आयोजनाहरू निर्माण गर्न स्रोत सुनिश्चितता नभइसकेका कारण त्यस्ता आयोजना बजेटमा समावेश गरिएको छैन । सोहीकारण आगामी वर्ष सुरुङ आयोजनाहरुको संख्या नै कम देखिएको छ । यसरी बजेटमा समावेश हुन नसकेका सुरुङ आयोजनामा टोखा छहरे सुरुङमार्ग, प्रवास–जोर्ते, बागलुङ–ब्यु–नरेठाँटी सुरुङमार्ग लगायत छन् ।

निर्माणाधीन ग्वार्को ओभरपास/फाइल तस्वीर

उपत्यकामा अन्डरपास र फ्लाइओभर

बजेटमा सुरुङ आयोजनातर्फ नयाँ बानेश्वरमा अन्डरपास बनाउने योजना समेटिएको छ । यो योजना चालु आवको बजेटमा समेत समेटिएको थियो । यस आयोजनालाई चालु आवमा १० लाख र आगामी आवमा ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन पूर्वतयारीको काममा मात्र सीमित हुने छ ।

ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । यस आयोजनालाई चालु आवमा १२ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आवमा ८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो आयोजना चालु आव भित्रै सक्ने योजना रहेपनि सक्ने गरी काम भने हुन सकेको छैन । यो आयोजनाको कुल लागत १७ करोड ६ लाख अनुमान गरिएको छ ।

सिद्धबाबामा धमाधम काम

ठेक्का लागेको लामो समयपछि काम सुरु भएपनि अहिले सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबामा सुरुङ निर्माणको कामले भने गति लिएको छ । यो आयोजनामा सर्वाधिक बजेट विनियोजन भएको छ । आगामी आवमा सिद्धबाबामा मात्र ६५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा यस सुरुङलाई ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पछिल्लो अपडेट अनुसार सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिसकिएको छ । यो सुरुङको लम्बाइ १ हजार १३६ मिटर रहेको छ । यहाँ उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

सम्भाव्यता अध्ययनको काम सम्पन्न भइसकेका मध्ये धरान–लेउती सुरुङ मार्गले आगामी आवमा ५० लाख रुपैयाँ बजेट पाएको छ । यस आवमा समेत ५० लाख रुपैयाँ मात्र पाएको यो सुरुङको काम आगामी वर्ष पनि औपचारिकतामा मात्र सीमित हुने देखिन्छ । यो सुरुङको लागत १० अर्ब भन्दा बढी हुने अनुमान सम्भाव्यता अध्ययनले देखाएको थियो । करीव ४ किलोमिटर लम्बाईको यो सुरुङलाई सरकारले अझै प्राथमिकता दिन सकेको छैन ।

अध्ययनको चरणमा कुन कुन सुरुङ ?

सरकारले देशका विभिन्न सडक खण्डमा सुरुङ मार्ग बनाउने गरी अध्ययन गर्दैछ । यसमध्ये आगामी आवमा दुम्कीबास–बर्दघाट सुरुङ समेत समेटिएको छ । यस आयोजनालाई आगामी वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवको बजेटमा समेत राखिएको यस आयोजनालाई १ करोड रुपैयाँ राखिएको थियो ।

हेम्जा–नयाँपुल खण्ड सडक खण्ड सुरुङ मार्गका लागि समेत आगामी आवमा २५ लाख विनियोजन गरिएको छ । यो सुरुङमा यस वर्ष १ करोड विनियोजन गरिएको छ । मझिमटार–शक्तिखोर सुरुङमार्ग समेत आगामी बजेटमा अटाएको छ । यस आयोजनाले १२ लाख रुपैयाँ बजेट पाएको छ । चालु आवमा यस सुरुङमा ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अध्ययनकै क्रममा आगामी बजेटमा बबई–छिन्चु सुरुङ योजना समेत समेटिएको छ । जसमा १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस आयोजनालाई चालु आवमा समेत १० लाख रुपैयाँ छुट्याइएको थियो । बीपीनगर–खुटिया सुरुङलाई ४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा यस आयोजनाले १० लाख पाएको थियो । फुस्रेखोला छोरेपाटनदेखि स्याङ्जा गुडीकोला टनेल अध्ययनको योजना समेत सरकारले बजेटमा राखेको छ । यस आयोजनालाई २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चालु आवमा यस आयोजनाले ४० लाख रुपैयाँ बजेट पाएको थियो । रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला इमिलचा खोला टनेल) को विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने योजना आगामी बजेटमा समेटिएको छ । सो प्रयोजनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो आयोजनामा चालु आवमा ४० लाख विनियोजन गरिएको छ । लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङमार्गमा आगामी वर्ष २५ लाख विनियोजन गरिएको छ । चालु आवमा यस आयोजनामा २० लाख विनियोजन गरिएको छ ।

यी आयोजनामा समेटिएनन् आगामी आवको बजेटमा

चालु आवको बजेटमा समेटिएका कतिपय सुरुङ आयोजना आगामी आवको बजेटमा समेटिएका छैनन् । मन्त्रालयका अनुसार पाँडिणी गाउँपालिकादेखि दुर्गा फाँट सुरुङ मार्ग आगामी बजेटमा राखिएको छैन ।

टोखा–छहरे सुरुङलाई चालु आवमा १ अर्ब २५ करोड विनियोजन गरिएको थियो । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च प्राथमिकता दिएको यो आयोजनाले यस वर्ष समेत कुनै बजेट नपाएको देखिन्छ ।

जाजरकोट–ब्याउलीढुंगा सुरुङ समेत यस वर्ष बजेटमा राखिएको छैन । बेसीसहर–नाल्म बेसी सुरुङमार्ग, सुनमाई–राजदुबोल सुरुङ, गोदावरी–मानचौर सुरुङ, ताथली–रविओपी सुरुङ, प्रवास–जोर्ते सुरुङ समेत आगामी आवको बजेटमा राखिएका छैनन् ।

मन्त्रालयले सुरुङमार्ग विकास कार्यक्रमका लागि ४ करोड र विभिन्न प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै एकमुष्ट १ करोड २३ लाख बजेट भने विनियोजन गरेको छ ।

यी हुन चालु आवको बजेटमा समेटिएका सुरुङमार्ग र विनियोजित बजेट

  • सिद्धबाबा सुरुङ : ६८ करोड ८१ लाख
  • ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर : ८ करोड १० लाख
  • सुरुङमार्ग विकास कार्यक्रम : ४ करोड
  • प्रस्तावित सुरुङमार्ग सम्भाव्यता अध्ययन : १ करोड २३ लाख
  • धरान–लेउती : ५० लाख
  • तुल्सीपुर–लुहाम : २५ लाख
  • छोरेपाटन–गुडीकोला टनेल : २५ लाख
  • हेम्जा–नयाँ पुल : २५ लाख
  • दुम्किबास–बर्दघाट : २५ लाख
  • बबई–छिन्चु : १५ लाख
  • मझिमटार–शक्तिखोर : १२ लाख
  • कुशेपाटन टनेल : १० लाख
  • नयाँ बानेश्वर अन्डरपास : ९ लाख
  • बीपीनगर–खुटिया : ४ लाख
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?