+
+

कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षाको विभागले अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते २१:१२
Photo Credit : RSS

२५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्ने भएको छ ।

असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म रेकर्ड भएको अधिक वर्षाको सबै रेकर्ड तोडेको थियो । अति भारी वर्षासँगै आएको बाढी-पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको थियो ।

विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले कञ्चनपुरको वर्षाको विस्तृत अध्ययन आवश्यक रहेको बताइन् । ‘यो अध्ययनको विषय हो,’ डा. श्रेष्ठले अनलाइनखबरसँग भनिन्, ‘विभागले विस्तृत अध्ययन गर्छ ।’

विभागका मौसमविदहरुले प्रारम्भिक विश्लेषणबाट कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे वर्षा) जस्तो देखिएको बताएका छन् । तर यसको मापदण्ड नेपालमा नभएकाले मापदण्ड बनाउने, स्थलगत अवलोकन गर्ने र निष्कर्ष सार्वजनिक गर्ने विभागको तयारी छ । स्थलगत अवलोकनका लागि विभागका मौसमविद कञ्चनपुर जाने तयारीमा छन् ।

‘क्लाउड ब्रस्ट’मा विद्यावारिधि गरेकी विभागकी उपमहानिर्देशक डा. श्रेष्ठले कञ्चनपुरको वर्षा मकवानपुरकोभन्दा विशिष्ट भएकोले अध्ययन आवश्यक रहेको बताइन् । ‘मकवानपुरको पहाडी भूगोल थियो । कञ्चनपुरको तराईको भूगोल हो, कञ्चनपुरमा मेघगर्जन/ चट्याङको अवस्था कस्तो थियो, माथिल्लो वायुमण्डलको अवस्था कस्तो थियो सबै डेटा अध्ययन विश्लेषण गर्नुपर्छ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय ‘क्लाउड ब्रस्ट’को मापदण्डको सूचक एक घण्टामा एक सय मिलिमिटर वर्षा हो । सन् १९९३ मा मकवानपुरको टिस्टुङमा एक घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (२० जुलाई १९९३) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो ।

यसैगरी २०७४ साल साउन २९ गते (१३ अगष्ट २०१७) मा  मकवानपुरको हेटौंडामा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।

यही असार २३-२४ गते कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा भएको वर्षाले त्यो रेकर्ड तोडेको थियो। २४ घण्टाको अवधिमा दोधारामा ६२४, हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा रेकर्ड भएको थियोे । यो वि.सं.२००३ (सन् १९४७) देखि विभागलाई उपलब्ध तथ्यांकको सबैभन्दा बढी वर्षाक‍ो रेकर्ड हो ।

विभागकी सूचना अधिकारी विभूति पोखरेलका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानमै थियो । तर सुदूरपश्चिम प्रदेशको दक्षिण-पश्चिमी भूभागको तल्लो वायुमण्डलमा पनि न्यून चापीय रेखा सक्रिय थियो । अरब सागर र बंगालको खाडी दुबै तर्फबाट आउने जलवाष्पयुक्त हावासमेत त्यसमै मिसिएर घनघोर वर्षा भएको प्रारम्भिक विश्लेषण छ ।

त्यसैले विभागले आज विज्ञप्ति निकालेर भनेको छ, ‘यस मौसमी घटना सम्बन्धमा विभागले थप अध्ययन गरी जानकारी सार्वजनिक गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?