 
																			२८ असार, काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।
शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो ।
जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए ।
यो निर्णयसँग बाढी–पहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन ।
यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताए ।
त्यसैगरी अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ ।
पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।
त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको भूसालले अनलाइनखबरलाई जानकारी दिए ।
सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको भूसालले बताए ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
अहिलेसम्म दुवै बसको अवस्था पत्ता लागेको छैन । बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि तीन जना पौडिएर निस्किएका छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4