काठमाडौं । निर्देशक सौरभ चौधरीले ‘अगस्त्य’को दोस्रो श्रृंखलाअघि एक्सन फिल्म ‘कर्मा’ निर्देशनको घोषणा गरेका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै उनले नयाँ फिल्मबारे जानकारी दिएका हुन् ।
यो फिल्मको कथा उनी आफैंले लेखेका हुन् । टिजर पोस्टरको पृष्ठभूमिमा युद्ध लड्न हिंडेका सिपाहीलाई धमिलो गरी दर्शाइएको छ । लभ डायरिज र गत वर्ष प्रदर्शनमा आएको ‘अगस्त्य’पछि यो उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ ।
फिल्मको घोषणा गर्दै निर्देशक चौधरीले भनेका छन्, ‘अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ ।’
उनले यसलाई एक्सन फिल्मको हिस्सा भएको बताएका छन् । ‘स्क्रिप्ट यसको बलियो पक्ष हो । यसको पटकथा कसिलो छ,’ उनले भने, ‘यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो ।’
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा वसन्त लम्सालले लगानी गर्नेछन् । कथावस्तु र कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए ।
प्रतिक्रिया 4