काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले आगामी फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन थालेका छन् । शुक्रबार ललितपुरको गोदावरीबाट छायांकन सुरु गरिएको हो ।
पहिलो दिन आर्यन सिग्देल र केकी अधिकारीले आफ्नो भागको छायांकन गरिरहेका छन् । शनिबारदेखि निश्चल बस्नेत र उपासना सिंह ठकुरीले सेट ज्वाइन गर्ने निर्देशक खनालले बताए ।
३० दिन छायांकन तालिका तय गरिएको फिल्मको सबै छायांकन काठमाडौंमा हुनेछ । छायांकनअघि कार्यविनायक मन्दिरमा पूजाआजा गरिएको थियो, जहाँ कास्ट एण्ड क्रूले सहभागिता जनाए ।
निर्देशक खनालले यो फिल्म ‘के घर के डेरा’ भन्दा भिन्न रहेको बताए । ‘यसपटक फिल्म कथामा धेरै केन्द्रित छ । घरबेटी र डेरावालकै कथा यसमा छ । समसामयिक विषय समेटेका छौं,’ खनालले भने, ‘अघिल्लो भाग बढी कमेडी र स्टाइलमा केन्द्रित थियो । यसपटक शैली बदलिएको छ ।’
फिल्ममा राम्रा कलाकारको सहभागिता भएकाले पर्फमेन्स उत्कृष्ट हुने आशा खनालले व्यक्त गरे । यो फिल्मको कथा बुद्धिसागरले लेखेका हुन् । प्रदर्शन यसैवर्ष गर्ने तयारी छ ।
दीपेन्द्र तिहारपछि नयाँ फिल्मको छायांकनमा व्यस्त हुनेछन् ।
प्रतिक्रिया 4